त्यसैले म कविता लेख्छु
कविता
अरूका लागि यो
मात्र एउटा कविता हो
मेरो लागि यो छुट्टै संसार हो
कहिल्यै नहाँसेका खुसीहरू
म कवितामा हाँस्छु
कहिल्यै नदेखेको प्रेमको झलक
म कवितामा पाउँछु
जिन्दगी अँध्यारो लाग्दा
कविताभित्र मिर्मिरे घाम लाग्छ
जिन्दगी उजाड हुँदा पनि
कविताभित्र रंगैरंगमा
फूलहरू फूल्छनकविताको गुलाफमा काँडा हुँदैन
कविताको फूल
कहिल्यै झर्दैन
मेरो कविता भित्रको विश्व
सबैको हो
मेरो कविता भित्रको मन्दिरमा
प्रवेश निषेध छैन
धारामा कसैलाई
प्रतिबन्ध छैन
म कविताभित्र दसैंमा इद मनाउँछु
इदमा चंगा उडाउँछु
न सिमाना, न पर्खाल
जुन बेला चाहन्छु म उडेर
अमेरिकाको यल्लो स्टोन नेसनल पार्क
घुमेर आउँछु
चीनको ग्रेटवालमा गएर
सेल्फी लिन्छु
भिसा चाहिँदैन
कविताभित्र
यौटा देश
यौटा भाषा छ
त्यहाँ अमेरिका, रसिया छैन
साउथ कोरिया, उत्तर कोरिया छैन
मात्र साझा विश्व छ
कविताको दुनियाँमा जे छ
त्यो बाहिरको दुनियाँमा छैन
बाहिरको दुनियाँमा जे देखिन्छ, त्यो हुँदैन
जे हुन्छ, त्यो देखिँदैन
मेरो कविता हिम नदीजस्तै कञ्चन छ
निर्वस्त्र छ
तर अश्लील छैन
स्वतन्त्र छ, अराजक छैन
कविता त त्यो परम शान्त मानसरोवर हो
जहाँ सिरियामा जस्तो आक्रमण हुँदैन
शरणार्थी हुँदैनन्
सबै निश्चिन्त बाँच्छनम पनि निर्भय श्वास फेर्छु
बाहिरको संसार
मलाई साँघुरो लाग्छ
संकीर्ण लाग्छ
असुरक्षित लाग्छ
पाखण्डी लाग्छ
ठीक विपरीत मेरो कविताभित्रको संसार छ
त्यसैले म कविता लेख्छु ।