प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए।

‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएन', प्रधानमन्त्री निकट स्रोतले अन्नपूर्णसँग भन्यो। राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।

‘राष्ट्रपति ब्यक्ति मात्र नभएर संस्था पनि हो। संस्थाप्रति सम्मान गरेर भ्रमण नरोकिएको हो' जानकार सरकारी अधिकारीले भने। राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा.मदनकुमार भट्टराईले चाहीं प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई युएई भ्रमण नगर्न सुझाव आएको बारे अनभिज्ञता प्रकट गरे। ‘मैले थाहा पाएसम्म प्रधानमन्त्रीबाट त्यस खालको कुनै सुझाव राष्ट्रपतिलाई आएको छैन', उनले भने। उनले युएईसँग उच्चस्तरको भ्रमण आदानप्रदानले सम्बन्ध विस्तारमा सहयोग मिल्ने बताए।

परराष्ट्र मन्त्रालयका अधिकारीले समेत संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त नहुने सुझाव अनौपचारिक रुपमा राष्ट्रपतिलाई दिएका थिए। ‘राष्ट्रपतिलाई भ्रमण नगर्न पटक—पटक सुझाव दिएका थियौं। तर राष्ट्रपति कार्यालयले भ्रमण अघि बढाउन निरन्तर ताकेता गरेपछि प्रक्रिया अघि बढ्यो' मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने।

कतारले आतंकवादलाई प्र श्रय दिएको तथा इरानसँग सम्बन्ध बढाएको आरोपमा साउदी, युएई, बहराइन र इजिप्टले कतारमाथि मोर्चाबन्दी गरी ६ महिना यता आर्थिक नाकाबन्दी गरेका छन्। कतार र युएई दुवैतिर लाखौं नेपाली कामदार कार्यरत छन्। नाकाबन्दीका कारण कतारस्थित नेपाली कामदार समेत प्रभावित हुन थालेका छन्।

अहिलेको जटिल परिस्थितिमा युएई मात्र नभई कुनै पनि खाडी मुलुक भ्रमण नगरेको भए राम्रो हुने सन्देश राष्ट्रपतिलाई विभिन्न च्यानलबाट दिइएको सरकारी अधिकारीहरू बताउँछन्। ‘यो बेला युएई भ्रमण गर्दा त्यसले युएइको पक्षधरता लिएको सन्देश जानेछ। जसका कारण स्वाभाविक रुपमा नेपाली कामदारको मुख्य रोजगारीको गन्तब्य रहेको कतार हामीसँग चिढिन्छ', अर्का एक सरकारी अधिकारीले भने।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले राष्ट्रपतिको भ्रमणका सन्दर्भमा शनिबार नै वक्तव्य जारी गरिसकिएको भन्दै भ्रमणका अन्य पक्षबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए।

कतार असन्तुष्ट

नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको छ। दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको युएई भ्रमणप्रति असन्तुष्टि पोखेको दूतावास स्रोतले अन्नपूर्णलाई बतायो।

जानकार स्रोतका अनुसार कतारले भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन्। पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट। दो श्रो कतारको निम्तोप्रति राष्ट्रपतिको वेवास्ता।

दूतावासका एक अधिकारीका अनुसार कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्ष अघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए। त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्कने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन।
राष्ट्रपति गत अप्रिलमा भारतको राजकीय भ्रमणमा गएर फर्केपछि कतार भ्रमणको तयारी गर्ने भनिए पनि जुन महिनामा कतारमाथि चार खाडी मुलुकले नाकाबन्दी गरेसँग भ्रमणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

कतारले भ्रमणको निमन्त्रणा दिएपछि युएईले भण्डारीलाई निम्त्याएको हो। तर भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला किन रोजिन् भन्नेबारेमा सरकारी अधिकारी र राष्ट्रपति कार्यालयका अधिकारी खुल्न चाहँदैनन्।

दोहास्थित नेपाली राजदूत कोइरालासँग कतारी अधिकारीले ‘हामीले पहिले नै दिएको निमन्त्रणा नेपालले वेवास्ता गरिरह्यो। तर हामीसँग दुस्मनी साँधिरहेको मुलुक युएईको भ्रमणमा चाहीं नेपालका राष्ट्रपति एकाएक किन जान लागेको ? ' भनेर सोधेको स्रोतले बतायो।
राष्ट्रपतिका बिदेश मामिला विज्ञ भट्टराईले कतार र युएईसँग नेपालको सम्बन्धको आफ्नै खाले विशेषता रहेकाले युएई भ्रमणलाई बिशुद्ध सद्भावना भ्रमणमा रुपमा बुझ्नुपर्ने बताए।

‘अहिले युएई राष्ट्रपति जानु भनेको कतारसंगको संबन्धलाई महत्व नदिइएको रुपमा बुझ्नु हुँदैन। हामीले कतारसँगको सम्बन्धलाई उत्तिकै महत्व दिन्छौं' उनले भने। यसबेलाको राष्ट्रपतिको युएई भ्रमणलाई केही सरकारी अधिकारीले ‘बेमौसमको बाजा' को संज्ञा दिएका छन्। राष्ट्रपति भण्डारी युएईको औपचारिक भ्रमणमा सोमबार निस्कँदैछिन्। परराष्ट्र मन्त्रालयका अनुसार आबुधाविका युवराजधिराज शेख मोहम्मद बिन जइद अल नह्यान र राष्ट्रपति भण्डारीबीच आउँदो मंगलबार द्विपक्षीय भेटवार्ता हुनेछ।

तीनदिने युएई बसाइमा भण्डारी दुबई पनि जानेछिन्। राष्ट्रपति भण्डारीको यो पहिलो युएई भ्रमण हो। नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको चालिस बर्ष पुरा भएको अवसर पारेर भ्रमण हुन लागेको राष्ट्रपति कार्यालयका अधिकारीले बताए। युएई नेपाली कामदारको लागि सुरक्षित गन्तब्य मानिन्छ। बिभिन्न क्षेत्रमा गरी युएईमा तिन लाख नेपाली कामदार छन्।

खाडीका साउदी र कतारभन्दा युएई नेपाली कामदारका लागि तुलनात्मक रुपमा सुरक्षित गन्तब्य मानिन्छ। युएई नेपालको ते श्रो ब्यापारिक साझेदार मुलुक पनि हो। युएईका ब्यापारीले नेपालको जलस्रोत, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा राख्दै आएका छन्। राष्ट्रपति भण्डारीको प्रतिनिधीमण्डलमा आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका बिदेश मामिला विज्ञ डा. मदन कुमार भट्टराई, परराष्ट्र सचिव शंकर बैरागी लगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.