ललितपुर- १ : हिजोका सहकर्मी, आज प्रतिस्पर्धी

ललितपुर- १ : हिजोका सहकर्मी, आज प्रतिस्पर्धी

ललितपुर : पार्टी सभापति शेरबहादुर देउवा नै अनिच्छुक भए पनि उदयशमशेर राणाचाहिँ नवराज सिलवाललाई नै प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने लबिङमा सक्रिय थिए। राणाकै भनाइमा उनी सिलवाललाई लिएर पार्टी सभापति देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कहाँ पुगेका थिए।
‘सिलवाल मेरो क्षेत्रका मान्छे, उनको नातागोताले यसअघिका चुनावमा मलाई सघाएका थिए', आइतबार टौखेलमा कार्यकर्ता भेटघाटमा व्यस्त राणा अन्नपूर्णसँग भन्दै थिए, ‘क्षेत्रको र योग्य ठानेर उनका लागि दौडिएको थिएँ।'

१० महिनाअघि एउटै अभियानमा सँगसँगै हिँडेका उनीहरू अहिले आमने-सामने छन्, ललितपुर-१ मा। राणा र सिलवाल कांग्रेस र वाम गठबन्धन उम्मेदवारको रूपमा प्रतिनिधिसभाका लागि भिड्दै छन्। सिलवाललाई नबनाई जयबहादुर चन्दलाई आईजीपी बनाउने देउवाको हठले इतिहासका किताबमा लेखिन लायक एउटा अध्याय नै रच्यो। चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय न्यायालयमा पुगेपछि कार्यपालिका-न्यायपालिका विवाद हुँदै प्रधानन्यायाधीशमाथि महाभियोग र न्यायपालिकाको संसद्को विशेषाधिकारसम्मको विवादमा पुगेर सुलहमा टुंगियो। सिलवाल त आखिरमा मुद्दा पनि हारे, नायब महानिरीक्षक (डीआईजीपी) बाटै जागिर सकियो।

महिनौं चर्चामा रहेको त्यही विवादको कारण ‘सेलिब्रिटी' बनेका उनलाई एमालेले अघि सारेको छ। हुन पनि ललितपुर-१ अर्थ राज्यमन्त्री रहेका राणाको कारणले होइन, सिलवाल उम्मेदवार भएको कारणले देशैभरि चासो लिइएको क्षेत्र बनेको छ। राजनीतिको बाटो अनिश्चयपूर्ण हुन्छ। चुनावमा होमिएपछि राणा र सिलवालको सहकार्य हुने त कुरै भएन, एक अर्काविरुद्ध व्यक्तिगत टीका टिप्पणीमै ओर्लिएका छन्। बडीखेलमा घरदैलोका क्रममा कोणसभामा सिलवालले राणा अभिजात्य वर्गको हुनुमै कटाक्ष गरे। ‘यही माटोमा घाँस÷दाउरा गर्दै हुर्किएको मेरो हातमा त्यसको छाप छ', उनी भाषणमा भन्दै थिए, ‘कुपण्डोलमा दरबारमा जन्मे हुर्केका उनलाई पो सबै थोकले पुगिसरी छ।'

टौखेलमा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीको घरमा कार्यकर्ता भेट्दै गरेका राणाले पनि सिलवालको विवादास्पद छवि आफूले पछि मात्र थाहा पाएको भन्दै प्रतिद्वन्दीप्रति कटाक्ष गरे। गोदावरीमा जन्मे हुर्के पनि काठमाडौंमा बसोवास गरिरहेका सिलवाल यहाँका लागि टुरिस्ट उम्मेदवार हुन् भन्ने राणाको आरोप छ। ललितपुर-१ मा कुनै बस्ती÷घर छैनन् जहाँ म नपुगेको हुँ', उनी भन्छन्, ‘तर सिलवालले गोदावरीबाहेक क्षेत्रको भूगोल बल्ल यसपालि थाहा पाउने हुन्।'

बुबा सागरशमशेर राणा लगातार तीन चुनाव (०४८, ०५१ र ०५६) मा कांग्रेस उम्मेदवारको रूपमा पराजित भएपछि उदय राजनीतिमा सक्रिय भएका थिए। ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका वर्षमान पुनसँग झिनो मतान्तरले पराजित भएका उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवारभन्दा झन्डै ८ हजार बढी मत पाएर जितेका थिए। बाबु असफल भएको ठाउँमा उदय सफल हुनुमा उनको सरल स्वभाव र जनतासँग जोडिनसक्ने खुबी नै ठानिएको छ। अभिजात वर्गमा जन्मे÷हुर्केर शिक्षा विदेशमै पाए पनि राजनीतिमा पारिवारिक विरासतको आभास पर्न नदिन सचेत छन्।

सर्वसाधारणसँग सहज घुलमिल हुने उनको स्वभाव छ। यसबाहेक क्षेत्रको विकास निर्माणमा पनि उनी सक्रिय छन्। क्षेत्रको काम छ भने आफंै सहसचिवको कोठा चहार्दै फटाफट काम गराउने अहिले अर्थराज्यमन्त्री रहेका स्वभावको अर्थका अधिकारी चर्चा गर्छन्। उदयचाहिँ बुबा सागरशमशेरले चुनाव नजिते पनि उनकै मिहिनेतका कारण आफू सफल भएको ठान्छन्। उनका अनुसार ०१५ सालमा पनि कांग्रेस हारेको ललितपुरमा ०४८ सालमा संगठन कमजोर थियो, ०५१ र ०५६ मा बागी उम्मेदवारका कारण हार्नुपरेको थियो। ‘मैले बागी उम्मेदवारको सामना गर्र्नै परेन', उनी थप्छन्।

राणालाई सिलवालको चुनौती पार लगाउन भने सजिलो छैन। एक त वाम गठबन्धनको कारण माओवादीलाई जान सक्ने मत पनि सिलवालले पाउने सम्भावना छ। अर्कोतिर आईजीपी नियुक्त नगरी सरकारले अन्याय परेको भन्ने कुराले पनि सिलवाल फाइदामा छन्। ‘सरकारले अन्याय गर्‍यो, हामी न्याय गर्छौं भन्ने मतदाता टन्नै भेटेको छु,' सिलवाल भन्दै थिए। क्षेत्रका गोदावरी र विशंखुनारायणमा सिलवालकै ठूलो बस्ती छ, सिलवाल मतदाता नै हजार हाराहारीमा छन्। ती भोट एकलौटी आफूले पाउने आस नवराजले गरेका छन्। राणा उनका नजिकका नातेदारबाहेक सिलवाल मतदाता बाँडिने दाबी गर्छन्।

चार वर्षअघिको चुनावको कुरा गर्दा एमाले र माओवादीको भोट जोड्दाभन्दा राणाले बढी भोटले जितेका थिए। स्थानीय तहको चुनावको परिणाम पनि कांग्रेसका लागि त्यति प्रतिकूल भएन। क्षेत्रको एक मात्र गोदावरी नगरपालिका कांग्रेसले जित्यो। तीनवटा गाउँपालिकामा बाग्मती कांग्रेस, महांकालमा एमाले र कोन्जेसुममा माओवादी केन्द्रले सफलता हात पारेको थियो। गठबन्धन भए पनि माओवादीलाई पर्ने सबै भोट सिलवाललाई खप्टिने सम्भावना नभएको राणा दाबी गर्छन्। यसबाहेक कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा भएकाले राप्रपाको भोट आफूलाई पर्ने उनको विश्वास छ। ललितपुर-१ मा पञ्चायतका प्रभावशाली केशरबहादुर विष्टको थोरै प्रभाव बाँकी छ। समानुपातिकबाट सांसद भएका उनका छोरा विराज विष्ट राज्यमन्त्री छन्।

राणा आफ्नो पहलमा करिब ५ अर्ब रुपैयाँको सडकको योजना क्षेत्रमा पर्नुका साथै शिक्षा, स्वास्थ्यसम्बद्ध थुप्रै योजना आफ्ना पहलमा आएकाले विकासकै कारण पनि जित्ने दाबी गर्छन्। ‘देशभरमै धेरै योजना यो क्षेत्रमा सुरु भएका छन्,' उनको दाबी छ। अर्कोतिर सिलवाल चुनाव जितेपछि मतदाताले प्रतिनिधिको मुखै देख्न नपाएको, भूकम्पका बेला पनि साथ नपाएको गुनासो मतदातामा रहेको बताउँछन्। उपत्यकामै भए पनि ललितपुर-१ मा कर्णाली सम्झाउने दुर्गम ठाउँ रहेको र सुत्केरी गराउन स्वास्थ्य केन्द्र पनि अभाव भएकाले मतदाताले परिवर्तन चाहेको उनी दाबी गर्छन्।

७६ हजारभन्दा बढी मतदाता रहेको क्षेत्रमा ४० प्रतिशत मतदाता पहाडी भेगमा छन्, बाँकी उपत्यकामा। लगनखेल-गोदावरी र लगनखेल-चापागाउँको दुरवस्थालाई पनि सिलवालले चुनावी मुद्दा बनाएका छन्। राणाचाहिँ विकास निर्माणमा ढिलासुस्ती राष्ट्रिय समस्या बनेको र ती सडक विस्तारविरुद्ध न्यायालयमा मुद्दा पर्दा थप ढिला भएकाले एउटा सांसदको काबुको अवस्थै होइन भन्छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.