आईओएमबारे शीघ्र निर्णय
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । सो प्रवेश परीक्षामा ‘म्याग्नेटिक डिभाइस’ प्रयोग गरेर चिट चोराएको खुलासा भएको थियो । परीक्षाको नतिजा सार्वजनिक गर्ने कि रद्द गरेर पुनः परीक्षा लिने, निर्णय हुन नसक्दा भविष्यमा चिकित्सक बन्न चाहने विद्यार्थी समस्यामा परेका छन् । त्रिविले चिट चोरीकाण्डको छानबिन गरेर प्रतिवेदन बुझाउन गठन गरेको समितिले समयमै काम नसक्दा उसलाई निर्णय लिन गाह्रो भएको छ ।
समितिलाई दुई हप्तामा प्रतिवेदन बुझाउन भनिएकोमा चार हप्ता बितिसक्दा पनि काम हुन सकेको छैन । त्रिविसँग सम्बन्धन लिएका सरकारी र निजी मेडिकल कलेजहरूले आईओएमको प्रवेश परीक्षामा उत्तीर्ण हुनेलाई मात्र भर्ना लिन पाउँछन् । परीक्षाफलमा ढिलाइ हुँदा उनीहरूको शैक्षिक सत्र नै लम्बिने खतरा बढेको छ । अन्योलले गर्दा विद्यार्थी महँगो शुल्क (डोनेसन) तिरेर विदेश पढ्न जाने तयारीमा लागेका छन् ।
यस प्रकरणले चिकित्सा शास्त्र अध्ययन गर्न चाहने युवाको मनमस्तिष्कमा नराम्रो प्रभाव पारेको त छ नै मुलुकमा व्याप्त अराजकता, दण्डहीनता, बेथिति र भ्रष्टीकरण समेत देखाउँछ । चिट चोरीमा काठमाडौंका शिक्षासम्बन्धी परामर्शदाता र चिकित्सकको संलग्नता र आधुनिक प्रविधिको प्रयोगले नेपाली समाजको कुनै पनि क्षेत्र चोखो नरहेको सन्देश दिन्छ । लामो राजनीतिक संक्रमणको असर समाजमा पनि पर्न थालिसकेको छ । राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संवैधानिक निकाय र संवैधानिक आयोगहरूको निष्पक्षतामाथि समेत प्रश्न उठाइएका छन् ।
यस्ता प्रश्न असान्दर्भिक नै छन् भन्न नसकिने अवस्था छ । यो विकृतिको जालोबाट शिक्षा र स्वास्थ्यक्षेत्र पनि मुक्त हुनसक्ने कुरै भएन । लक्ष्य प्राप्तिका लागि माध्यमको पवित्रता र स्वच्छतालाई बेवास्ता गर्न थालिएको छ, सामाजिक जीवनका हरेकजसो क्षेत्रमा । यस्तो प्रवृत्ति समाजले स्वीकार गर्दै जानु गम्भीर चिन्ताको विषय हो ।
चिकित्सा शास्त्र अध्ययन संस्थानबाट लिइने प्रवेश परीक्षामा हुने अनियमितताका बारेमा विगतका वर्षमा पनि प्रश्न उठाएइका थिए । तर यस वर्ष विद्यार्थीलाई उच्चस्तरीय प्रविधिको उपकरण प्रयोग गरेर चिट चोरिरहेको अवस्थामा भेटिएको थियो । चिट चोराउने व्यक्तिले बाहिरबाट उत्तर टिपाउने गरेकाले प्रश्नपत्र पहिलेनै बाहिरिसकेको देखिन्छ । यसरी यो क्रियाकलाप योजनाबद्ध रूपमा गरिएको देखिन्छ र यसमा प्रहरीले पक्डिएकाबाहेक अन्य पहुँचवालाको समेत संलग्नता हुन सक्छ ।
नेपालमा स्वास्थ्य क्षेत्रमाथिको विश्वसनियता घट्दै गइरहेको छ । चिकित्सा शिक्षा महँगो हुँदै जाँदा स्वास्थ्यजस्तो संविधानले सबै नागरिकको आधारभूत अधिकार मानेको क्षेत्र गरिबगुरुवाको पहुँचबाहिर पुगिसकेको छ । चिकित्सा पेसा संवेदनशील र कम गल्ती गर्न मिल्ने क्षेत्र हो । यसका लागि उच्चस्तरको ज्ञान र सीपको जरुरत त पर्छ नै, मानवीय संवेदनशीलता र इमानदारी पनि चाहिन्छ ।
प्रवेश परीक्षामा चिट चोरेर छानिने व्यक्तिबाट यस्ता कुरा अपेक्षा गर्न सकिँदैन । यस्तो संवेदनशील विषयमा यो या त्यो निहुँमा दोषीलाई उन्मुक्ति दिनु हुँदैन । छानबिनको प्रतिवेदन आउन ढिला भएको, उपकुलपति बाहिर भएको जस्ता कारण देखाएर त्रिविले निर्णय लिन समय लगाएको छ । हजारैाँ विद्यार्थीको भविष्यसँग जोडिएको यो विषयमा सकेसम्म छिटो र उचित निर्णय लिन ढिला गर्नु हुँदैन ।