महिलाले छान्न पाउँदैनन् उम्मेदवार
जुम्ला : निर्वाचनभन्दा अघि-पछि गाउँमा नझुल्किने नेताहरू मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । मतदातामा भने उत्साह देखिएको छैन । यसअघि भोट पाएर गएका नेताहरू फर्केर गाउँ नआएपछि मतदाता जो आए पनि फरक नपर्ने गुनासो गर्छन् । ‘यसअघि पनि भोट हाल्यौं, जितायौं', तातोपानी-४, नियापानीकी कुइरी नेपालीले भनिन्, ‘नेताहरू अहिले पनि नमस्कार गर्दै आएका छन् । भोट मात्र लिने हुन्, केही दिँदैनन् ।'
करिब डेढ सय दलित परिवारको बसोबास रहेको उक्त गाउँका महिलाले भोट पाएअनुसार नेताले जनताको जीवनस्तर परिवर्तनमा काम गर्न नसकेको गुनासो गरेका छन् । त्यसो त उनीहरूले आफूखुसी भोट हाल्न पनि पाउँदैनन् । श्रीमान्ले जहाँ भन्छन् श्रीमतीले त्यसमै भोट दिनुपर्छ ।
‘पहिलाको निर्वाचनमा श्रीमान्ले भनेकै ठाउँमा भोट हालें', उनले भनिन्, ‘अहिले पनि त्यही ठाउँमा भोट हाल्नुपर्ने होला । भोट नहाली सुख पाइँदैन । भनेको ठाउँमा भोट नहाले घरबारै नहोला भन्ने डर ।' उनका अनुसार श्रीमान्ले भनेको पार्टीका उम्मेदवारलाई भोट नहालेपछि घरमा ‘ठूलो विषय' बन्ने गर्दछ । उनीहरूलाई निर्वाचनभन्दा पनि खेतबारी बाँझै रहला कि भन्ने चिन्ता रहेछ । यहाँको दोस्रो खाद्यान्न बाली जौ लगाउने बेला भएको छ । घरका पुरुष सदस्य भने नेताका पछि निर्वाचन प्रचारमा लागेका छन् ।
‘पहिलाको निर्वाचनमा श्रीमान्ले भनेकै ठाउँमा भोट हालें । अहिले पनि त्यही ठाउँमा भोट हाल्नुपर्ने होला । भोट नहाली सुख पाइँदैन ।'
कुइरी नेपाली, तातोपानी-४, नियापानी
‘हामीलाई घरमा खाने छैन, यही मंसिरमा बाली नलगाए बाँच्न मुस्किल छ', स्थानीय गौरीकला सार्कीले भनिन्, ‘नेतालाई भने चुनाव लागेको छ । हाम्रा घरका पनि उनीहरूकै पछि लागेका छन् ।' घरजग्गा कम भएका दलित परिवारले प्रायः अरूकहाँ मजदुरी गरेरै गुजारा चलाउँछन् । तर, मजदुरीको समय भए पनि पुरुष सदस्य नेताका पछि लाग्दा बाली लगाउन समस्या भएको सार्कीको भनाइ छ ।
जित्नका लागि महिलाको मत प्रयोग गरे पनि स्वतन्त्र मतदान गर्न नपाउने प्रवृत्तिप्रति नियापानीका महिला असन्तुष्ट छन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ का महिलाको गुनासो पनि उस्तै छ । गाउँमा खानेपानीको संकट भएको वर्षौं बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । नेताहरू प्रत्येक निर्वाचनमा ‘विकास बाँड्छौं' भन्दै दैलोमा भोट माग्न आएको देख्दा पीडा महसुस हुने उनीहरू बताउँछन् ।
‘गाउँमा खानेपानी नभएर संकट छ, सिँचाइ गर्न नपाउँदा घरआँगनकै बारी बाँझै राख्नुपरेको छ', हियाँखोलाकी देवीकन्या आचार्यले भनिन्, ‘भोट माग्ने बेला मात्र गाउँमा अनुहार देखाउँछन्, नत्र अघि-पछि बोलाउँदा पनि नचिनेझैं गरी मुन्टो बटार्छन् ।' मताधिकार प्रयोग गर्न पाए पनि खासै उत्साह नभएको उनको भनाइ छ । ‘संविधानले मताधिकार दिएकै छ । त्यसको प्रयोग त जसरी पनि गर्छौं', उनले भनिन्, ‘तर, पहिलाकाले पनि खासै केही विकास गर्न सकेनन्, अब पनि गर्लान् भन्ने विश्वास भने छैन ।'
जुम्लामा हिउँदे बाली लगाउने समय भएकाले स्थानीयवासी खेतबारीमै व्यस्त छन् । खेत जोत्न गएका बेला त्यहीं पनि पुगेर पनि नेताहरूले भोट माग्न थालेका छन् । एक सातायता गाउँ चुनावमय हुँदै गएको छ । सबै दलले आआफ्नो जितको दाबी गर्दै प्रचारलाई तीव्रता दिएका छन् ।
आफ्ना अधिकारबारे सामूहिक छलफल गर्दै नियापानीका महिला । अन्नपूर्ण