मुस्लिम समुदायका एक्ला उमेदवार

मुस्लिम समुदायका एक्ला उमेदवार

नेपालगन्ज : त्यो एउटा मोड थियो, उनको जीवनमा जसले उनको जिन्दगीलाई राजनीतिमा ल्याएर बिसाइदियो। तर, उनी बिसाएनन्, हिँडेनन्मात्रै दौडिरहे। र, त ३१ वर्षकै उमेरमा उनी मन्त्री बने, त्यो पनि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री।

उनै मोहम्मद इस्तियाक राई। जसलाई उनको परिवार डाक्टर बनाउन चाहन्थे। डाक्टरी सपना बोकेको परिवारले उनलाई एसएलसीपछि ‘साइन्स' पढ्न भर्ना गरिदियो। २०५६ सालको निर्वाचनमा उनका बुवा चुनाव लड्नका लागि स्वतन्त्र उमेदवार भएर मैदानमा थिए। बुवाको प्रचार गर्न बिदामा जिल्ला फर्किएका इस्तियाक त्यसपछि राजनीतिमै होमिए।

‘त्यसपछि राजनीतिको नशा लाग्यो, बुवाले पनि जित्नु भएन' उनले भने, ‘अनि एकदिन राजनीतिमा पक्कै मैले जित्नेछु भन्ने लागेर यतातिर लागेँ।' डाक्टरको सपना त्यसपछि कहिल्यै ब्यूँतिएन, उनी सधैँ राजनीतिमार्फत् समाजसेवामा लागिरहे। र, उनै इस्तियाक अहिले बाँकेबाट चुनाव लड्ने एक्ला मुस्लिम उम्मेदवार भएका छन्। अरु कुनै पनि ठूला राजनीतिक दलहरुले मुस्लिम समुदायबाट प्रत्यक्षतर्फ उमेदवार बनाएका छैनन्। संघीय समाजवादी फोरम नेपालले उनलाई यसपालि बाँके क्षेत्र २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचनको उमेदवार बनाएको छ। बाँकेको यो क्षेत्रमा मात्रै ८२ हजार ८ सय १८ मतदाता छन्। तीमध्ये ३० हजार मतदाता मुस्लिम समुदायका छन्। जिल्लभरका दुई लाख ७६ हजार आठ सय मतदातामध्ये यहाँ करिब ८० हजारजति मुस्लिम समुदायका मतदाता छन्।

यी मुस्लिम समुदायका एक्ला उमेदवार हुन् तर, यिनको चुनावी प्रचारमा अहिले मुस्लिममात्रै होइन, पहाडी समुदाय अनि मधेसी समुदायका अनुहारअरु उमेदवारका भन्दा कम्ती छैनन्। त्यसैले पनि हौसिएका छन्, इस्तियाक भन्छन् ‘जाति र समुदायको नारा उचालेर म खोक्रो राष्ट्रवादी हुन चाहन्न, म मुस्लिम समुदायकोमात्रै होइन, सबै समुदायबाट आएको मान्छे हुँ।'

६ जना दाजुभाई मध्ये उनी घरका माइला हुन्। उनका आमा बुवा चाहन्थे उनी डाक्टर बनून्। सबै छोराहरुलाई परिवारले डाक्टर, इन्जिनियर वा अरु कुनै न कुनै प्रतिष्ठित पेशामा भएको देख्न चाहन्थे। राजनीति र उनका बाबुका बाबुले पनि गरिरहेकै थिए। २०३६ साल कात्र्तिक १६ गते जन्मिएका उनी बाबुआमाले देखेको सपना होइन, आफ्नै बिपनामा उत्रिए। अनि राजनीतिमा होमिए।

राजनीतिशास्त्रबाट एमएसम्म अध्ययन गरेका उनी २०६४ सालमा फोरमबाटै संविधानसभाको निर्वाचन लडे। बाँकेको क्षेत्र नं. २ बाट उनले भारी मत लिएर बिजयी भए। त्यो बेला उनले प्रतिद्वन्द्वीलाई १४ हजार ८ सय ३१ मतले पछि पारेर चुनाव जितेका थिए। त्यसपछि २०६८ सालमा वैशाखमा उनी श्रम तथा यातायात मन्त्री बने।

मन्त्री बनेपछि उनले धेरै नीतिगत सुधारका कामहरु गर्न खोजे। तर, संयुक्त सरकार थियो, उनको मात्रै केही लागेन। उनी त्यसमा सफल हुन सकेनन्। त्यो बेला एमालेको नेतृत्वमा सरकार थियो। झलनाथ खनाल प्रधानमन्त्री थिए। उनले मन्त्रीपरिषदमा एउटा प्रस्ताव ल्याए, त्यो प्रस्ताव नेपालमा बस्ने विदेशी कामदारहरुको बारेमा थियो। ‘नेपालमा पनि लाखौँ भारतीय अनि अन्य देशका नागरिक कामदारका रुपमा छन्, उनीहरुलाई पनि श्रम ऐनअन्तर्गत ल्याउनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ' उनले भने ‘मेरो सिधा उद्देश्य के थियो भने देशमा भएका विदेशी कामदारहरुलाई निरुत्साहित गरेर, लाखौंको संख्यामा खाडीमा रहेका नेपाली युवालाई स्वदेशमै काममा लगाउने।'

तर, उनको प्रस्ताव प्रधानमन्त्री खनालले सिधै अस्वीकृत गरे। र, थर्काएको पारामा भने ‘तपाईँलाई मन्त्रीबाटै हटाइदिन्छु।' तै पनि उनले हिम्मत हारेनन्, दक्ष जनशक्ति बटुल्ने हिसाबले उनले देशभरबाट क्षमतावान युवाहरुको आवेदन माग गरे। पत्रिकामा त्यो सूचना निस्किएको ३ दिनमै आधा लाखभन्दा बढी युवाहरुले आवेदन दिएका थिए। बिडम्बना केही दिनपछि सरकार ढल्यो। अनि बाबुराम भट्टराई प्रधानमन्त्री भए।

त्यो बेला संविधान बन्न सकेन। उनलाई लाग्थ्यो मन्त्रीसमेत भइयो तर, खै देशका लागि के नै गर्न सकियो र ? फेरि समाजका लागि केही गर्ने सोच लिएर उनी २०७० सालको संविधानसभाको निर्वाचनमा पनि चुनाव लडे। तर, उनले जित्न सकेनन्। ‘चुनावबाट हारेको थिएँ तर, राजनीतिबाट हैन म राजनीतिक मैदानमा रहेँ' उनले भने ‘त्यसपछि केही व्यापार गर्ने भन्ने सोच आयो, त्यो पनि देशकै युवाहरुलाई स्वरोजगार दिनेखालको।'

निर्वाचनमा पराजित भएपछि राजनीतिबाट केही फुर्सद थियो। मन्त्री हुँदासमेत देशका बेरोजगार युवाहरुको केही गर्न नसकेको थकथकी मेटाउनु थियो। उनले नेपालगन्जमा ‘सादवा एण्ड कम्पनी' खोले अनि सुरु भयो इ-रिक्सा। नेपालमै उनले पहिलोपटक अटो रिक्सा भित्राए। अहिले देशभरि लाखौंँ युवाहरु त्यही रिक्सा चलाएर स्वरोजगार बनेका छन्। ‘पैसामात्रै कमाउने मेरो उद्देश्य थिएन, सम्पत्ति त बाउबाजेकै थियो, आफैँले पनि केही व्यवसाय गरौँ भनेर इरिक्साको व्यापार थालेको हुँ' उनले भने,‘मान्छेहरु त सकारात्मक सोच्दैनन्, मन्त्री बन्यो कि कमाइहाल्यो भन्ने सोच्छन् तर, म त्यस्तो हैन मेरा सारा जनताले मलाई चिनेका छन्।'

फोरममा आउनुअघि उनी राप्रपामा थिए। त्यो बेला माओवादीको सशस्त्र द्वन्द्वको समय थियो। बाँकेको साविक साई गाउँमा उनको खानदानी घर थियो। उनका बाबु धेरैपटक वडाअध्यक्ष भइसकेका थिए। उनका बाजे पनि एकपटक जिल्ला विकास समितिको सभापति भइसकेका थिए। त्यो भन्दा पनि अझैँ उनीहरुको बाँके र बर्दियामा ठूलो मौजा थियो। त्यहाँ उनका बाजेले सयौँ बिगाह जमिनमा खेती लगाउँथे, तरकारी फलाउँथे। त्यो समयमा जर्मन सरकारको सहयोगमा उनको सयौँ बिगाह खेतमा आलु खेती थियो। अनि हजुरबाको नामै ‘किसान' रहन गयो।

गाउँमा रहँदा युद्धको समयमा कहिले माओवादी पुगेर सताउँथे त कहिले शाही सेनाले दुःख दिन्थ्यो। पछि उनीहरु सपरिवार भारतमै विस्थापित भए। तर, टाढा भने गएनन्। नजिकैको रुपडिहामा बसेर उनीहरुले देशमा शान्ति आउने बाटो हेरिरहे। २०६३ सालमा शान्ति सम्झौता भएपछि उनीहरु नेपाल फर्किए। अनि फोरममा छिरेपछि उनको सक्रिय राजनीति सुरु भयो।

‘जीरो' ग्राउण्डबाट राजनीति सुरुवात गरेका इस्तियाकका लागि चुनाव जित्नुमात्रै ठूलो कुरा होइन। तर, हाम्रो देशमा केही गर्नका लागि राजनीतिक शक्ति नै चाहिन्छ। ‘सुशिल कोइरालापछि राष्ट्रिय राजनीतिमा बाँकेको आवाज बोल्ने अरु कोही छैन, मैले केही सुरुवात पहिला मन्त्री हुँदा पनि गरिसकेको छु',उनी भन्छन्‘,यसपालि पनि आशा छ त्यही अधुरो काम पूरा गर्नका लागि जनताले मलाई पक्कै जिताउनेछन्।' यद्यपि जित्नका लागि चुनावी चुनौति कम्ती छैनन्।

उनकै भाषामा एकातिर वाम गठबन्धनको ‘हाउगुजी' छ यतिबेला अर्कोतिर कांग्रेससँग मिलेर राप्रपा पनि सँगै उभिएको छ, उनका अघि। वाम गठबन्धनबाट इतियाकसँग पशुपति दयाल मिश्रा अनि कांग्रेस र रप्रपाको गठबन्धनबाट आमप्रकाश आजाद भिड्दैछन्। अनि राजपाबाट विजयकुमार गुप्ता पनि उनीसँग लड्दैछन्। तर, कत्ति पनि डर छैन, राईलाई भन्छन् ‘चुनौति छ र त, चुनाव लड्नुको मजा छ, लोकतन्त्र भनेको यही हो, जनतासँग धेरै अप्सन हुनुपर्छ।'

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.