विकास गर्नेलार्इ मात्रै भोट

विकास गर्नेलार्इ मात्रै भोट

महेन्द्रनगर: धुलाम्मे सडक, बिजुली कतै छैन । भएका ठाउँमा पनि बल्दैन न त खानेपानी नै पुगेको छ । महाकालीपारिको बस्ती दोधारा–चाँदनी क्षेत्रको समस्या हो यो।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को निर्णायक मतदाता मानिने दोधारा–चाँदनीबाटै प्राप्त भोटले धेरै सांसद भए । कति मन्त्री बने तर यहाँको मुहार फेरिन सकेको छैन । ‘हामीले धेरैपटक भोट दिएर विभिन्न दलका नेतालाई जितायौं', महाकाली नगरपालिका–४ की ६७ वर्षीया मैनादेवी जोशीले भनिन्, ‘नेतालाई जिताएर पठाए पनि उनीहरूले यस क्षेत्रका जनताका लागि केही गरेनन्'।

०४६ सालयता भएका सबै निर्वाचनमा भोट हाल्दै आएकी जोशी अहिलेसम्म जनताले महसुस गर्ने विकास हुन नसकेको बताउँछिन् । ‘मैले भोट हाल्न सुरु गर्दा यहाँका सडक धुलै धुलो थिए । अहिलेसम्म पनि उस्तै छ', ६७ वर्षीया मैनादेवीले भनिन्, ‘सबैजसोले दोधारा चाँदनीको मुहार फेर्छौं भनेरै भोट मागेका थिए तर अहिलेसम्म मुहार फेर्ने कुनै काम हुन सकेको छैन।'

चुनाव नजिकिएसँगै नेता अहिले मतदातालाई विभिन्न आश्वासन बाँड्न आइसकेको स्थानीय जितसिंह घटालको भनाइ छ । ‘सधँै भोट दिएर हामीले जिताउने तर हामीचाहिँ सधँै पीडामा बस्नुपर्ने बाध्यता छ', उनले भने । दोधारा–चाँदनी जोड्ने मुख्य सडकसमेत अहिलेसम्म कालोपत्रे हुन नसकेको उनको गुनासो छ । ‘हामी सदरमुकामदेखि टाढा भारतीय बजारमै निर्भर भएर बस्नुपरेको छ', महाकाली–७ की इन्द्रा जोशीले भनिन्, ‘अहिलेसम्म सदरमुकाम जोड्ने सडक बनेको छैन, उपचार गर्न अस्पताल छैन।' अहिलेसम्म जितेर गएका कसैले पनि प्रतिबद्धताअनुसार काम नगरेको बताइन् ।
महाकाली नगरपालिकाको बस्ती ०२२ सालमा बसेको हो ।

यस क्षेत्रका स्थानीयले यसपटकको चुनावमा भोट माग्न आउनेसँग विकासको ग्यारेन्टी गराएर मात्रै भोट दिने पक्षमा छन् । ‘दोधारा चाँदनी जोड्ने सडक कालोपत्रे हुनुपर्‍यो, यहाँ अस्पताल सञ्चालन हुनुपर्‍यो, शिक्षाको व्यवस्था हुनुपर्‍यो', ७७ वर्षीय गोपालसिंह गुरुङले भने, ‘यो ठाउँको विकासका लागि सक्षम नेतृत्वको आवश्यक छ ।' सडकमा सामान्य ग्राभेल, कहीँ कल्भर्ट र बिजुलीका तार बिछ्याउनेबाहेक केही नभएको उनको भनाइ छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग सडक यातायातले जोडिन नसकेको महाकालीपारिको गाउँ दोधारा–चाँदनीका सडक कालोपत्रे हुन सकेका छैन । स्थानीय उपचारका लागि भारत जानुपर्ने बाध्यता छ । सदरमुकामसँग जोड्न केवल एउटा झोलुंगे पुल बनेको छ । केही ठाउँमा नदी नियन्त्रणका लागि काम भएका छन् तर दल र नेता भने आफूले विकास गरेको भन्दै लाजैबिना भोट माग्ने गरेका छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले दोधारा–चाँदनी आफ्नो पहिलो प्राथमिकतामा रहने दाबी गरिरहेका छन् ।

दोधारा–चाँदनीको भोट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का लागि निर्णायक मानिन्छ । यस क्षेत्रबाट २०५१ मा एमालेले चुनाव जितेको थियो । त्यसयता संसद्मा यस क्षेत्रको प्रतिनिधित्व कांग्रेसका रमेश लेखकले गर्दै आएका छन् । ०५६ र ०७० सालमा प्रत्यक्षबाट चुनाव जितेका लेखक ०६४ मा समानुपातिकबाट सभासद् बने । प्रतिनिधिसभाका लागि अहिले पनि उनी उम्मेदवार छन् । वाम गठबन्धनले उनका प्रतिस्पर्धीका रूपमा एमालेका विदेश विभाग सदस्य डा. दीपकप्रकाश भट्टलाई अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.