मतदाताको प्रश्नः ‘हामीले भोट किन दिने?

मतदाताको प्रश्नः ‘हामीले भोट किन दिने?

नेपालगन्ज: विहानको घरधन्दा सकेर बाँके सुन्दरपुरवाकी गुरमीत कुँवर भैसी चराउन जाँदै थिइन्। गाउँ पारीको आकाश धुलाम्मे भयो। आँखामा सिधै परेको सूर्यको किरण हातले हल्का छेक्दै उनले पारितिर हेरिन । केहीबेरमै एक लस्कर गाडीहरु धुलो उडाउँदै उनकै छेउमा आइपुगे । धोतीको सप्कोले मुख छोप्दै उनले भनिन्, ‘ऊ फेरि भोट माग्न आइपुगे।'

धुलाम्मे गाडीबाट सफा र चम्किलो सेतो कुर्तामा सजिएका एकजना नेता हात जोड्दै ओर्लिए अनि भने ‘म मोहम्मद इस्तियाक राई । तपाईहरुले मलाई फेरि भोट दिनुपर्‍यो।'

धुलाम्मे भएर छेउको घरबाट निस्किएका एकजना अधवैंशेले भने ‘के फेरि चुनाव लाग्यो र ? ' हात जोडिरहेका इस्यिाकले फेरि भने ‘हो चुनाव आइसक्यो त, म प्रतिनिधिसभाका लागि लड्दैछु, तपाईहरुले भोट दिनुहोला ।' कार्यकर्ताले पर्चा र पम्प्लेट बाँडे । गाडीले उडाएको त्यही धुलोभित्र गाउँका केटाकेटी जम्मा भएर कार्यकर्ताले बाँडेका पर्चालाई ‘चङ्गा' बनाइरहेका थिए ।

पूर्व श्रम तथा यातायात मन्त्रीसमेत भइसकेका इस्तियाक फेरि यसपटक संघीय समाजवादी फोरम नेपालबाट बाँकेको क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि लड्दैछन्। यो क्षेत्रमा पर्ने साविकको हिरमिनिया गाविसको त्यो गाउँमा चुनावी अभियान लिएर पुग्ने उनी पहिलो उम्मेदवार हुन् । सहर–बजारमा दलहरुका झन्डा र होर्डिङबोर्डहरु बाक्लिएका छन् तर, गाउँमा भने आममतदातालाई चुनावको कुनै चासो नै छैन।

उनीहरुलाई न त चुनाव आएको थाहा छ न त, चुनावमा कसरी भोट हाल्ने भन्ने नै थाहा छ । बरु, उनीहरुलाई चुनावबारे सोध्यो भने सबैको एउटै जवाफ हुन्छ ‘हामीले किन भोट दिने ? भोट दिएर के हुन्छ र ? '

‘भोट त हाल्नुपर्छ तपाईरुको अधिकार हो, मन लागेकालाई हाल्नुपर्छ' आम मतदातालाई बुझाइका यी कुराहरुले खासै असर गर्दैन । अनि उनीहरुको जवाफ हुन्छ ‘कतिपटक भोट दिइयो त भोट दिएर हामीले के पायौं ? बाटोभरि धुलो उड्छ। न खाने गास जुट्छ ।'

आममतदाताका माग धेरै ठूला पनि छैनन् । उनीहरु पिउनेपानी, साँझबिहानको छाकको जोहोको उपाय सोधिरहेका छन्, भोट माग्ने उमेदवारहरुलाई । अनि बाटो, पुल बनाउनुपर्ने, शौचालय कसरी बनाउने ? भन्नेजस्ता प्रश्नहरु उम्मेदवारलाई तेर्साइरहेका छन् । सबै उम्मेदवारका एउटै खाले रेडिमेड जवाफ हुन्छन्, ‘मलाई भोट दिनुस् जितेँ भने सबै कुरा हुन्छ ।'

उम्मेदवार राई भन्छन् ‘म अब बोल्नेमात्रै होइन, जिते पनि हारे पनि जनस्तरबाटै काम सुरु गर्छु, यो मेरो पहिलो बाचा हो ।' बाँकेबाट प्रत्यक्ष चुनाव लड्ने उनी मुश्लिम समुदायका एकमात्रै उमेदवार हुन् ।

सिखनपुरवाका गोपी पासीले अहिलेसम्म सबैजसो चुनावमा भोट हालेका छन् । तर, हरेकपल्टको चुनावमा उनले फरकफरक उमेदवारलाई भोट दिए । तर, जीवन उस्तै रह्यो । दिनभरि मजदूरी गरेमात्रै उनको घरमा चुल्हो बल्छ, छोराछोरीले पढ्न पाउँछन् । उनले भोट दिएका नेताहरु भने कहाँ कहाँ पुगिसके ।

तर, उनीहरु कहिल्यै फेरि त्यो गाउँमा फर्किएनन् । गोपी यस पटक कसैलाई पनि भोट नहाल्ने विचारमा छन् । ‘हामीले किन भोट दिने र ? हाम्ले भोट दिएका नेताहरु कहाँकहाँ पुगिसके, हामी त यही धुलोमाटोमै छौँ' गोपी भन्छन् ‘अब त भोट नहाल्ने, चुनावसुनाव आउँछ जान्छ ।' क्यामेरामा एकपोज दिएपछि उनी एकछिनपछि खाली खुट्टै खेततिर हिँडे । पर खेतमा ट्याक्टरले जोतिरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.