राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

 

अबुधावी : राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गरेको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा विमला राई पौड्यालले जानकारी दिइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गर्नुभएको स्वकीय सचिव राईले जानकारी बताइन् ।

उक्त अवसरमा युएईका सभामुख डा अल कुबैसीले पनि राष्ट्रपति भण्डारी प्रथम नेपाली महिला राष्ट्रपति भएकोमा वधाई दिँदै यस भ्रमणबाट दुई मुलुकबीच सहयोगको क्षेत्र अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । भेटवार्तामा आपूर्ति मन्त्री जयन्त चन्द पनि उपस्थित थिए ।

उक्त अवसरमा युएईका अन्य केही सांसदहरूको पनि उपस्थिति थियो भने नेपालका लागि युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित भएका थिए ।


राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

यसैबीच संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।

राष्ट्रपति भण्डारी शहीद स्मारक पुग्दा उनलाई शहीदका परिवार मामिला कार्यालयका निर्देशक शेख खलिफा बिन तहनुन बिन मोहम्मद अल नेह्यानले स्वागत गरे । उक्त अवसरमा राष्ट्रपति भण्डारीले शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएईं)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित थिए । ‘वाहत अल करम’ नाम दिइएको यो शहीद स्मारक संयुक्त अरब इमिरेट्स (युएई) का बहादुर शहीदको सम्मानमा निर्माण गरिएको हो ।

यो शहीद स्मारक करिब शेख जायद ग्रान्ड मस्क र युएईको सशस्त्र बलको सामान्य मुख्यालयबीच करिब ४६ हजार वर्गमिटर क्षेत्रमा अवस्थित छ । यहाँ वार्षिकरूपमा शहीद दिवसमा शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चारहजार वर्गमिटर क्षेत्र रहेको छ भने केन्द्रमा एक वृत्ताकारको पोखरी पनि छ ।

यसमा ३१ वटा एल्मुनियमका पाता जडान भएको छ र यसले एकता, भाइचारा र नेतृत्व तथा नागरिकप्रति आपसी सहयोग प्रदर्शन गर्ने धारणा राखिएको छ । यस स्मारकको डिजाइन बेलायती कलाकार इद्रिस खानले तयार गरेका हुन् ।

यसमा रहेको श्रद्धाञ्जलि मञ्च (प्याभिलियन अफ अनर) को छत्मा आठवटा ठूला पाता छन् र यी पाताले युएईको सात इमिरात तथा आठौँले राष्ट्रिय शहीदको प्रतिनिधित्व गर्छन् ।

मञ्चको केन्द्रमा सातवटा ठूला सिसाका पाता राखिएका छन् र तिनीहरूले सात इमिरातको प्रतिनिधित्व गर्छन् । त्यसमा सशस्त्रबलको दृढ समर्थन कोरिएका छन् ।

मस्दार नगरको पनि भ्रमण

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अबुधावीस्थित मस्दार नगरको पनि भ्रमण गरिन् । राष्ट्रपति भण्डारी मस्दार नगर पुग्दा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाका महानिर्देशक अदनान अमिन तथा त्यहाँका अन्य अधिकारीहरुले उनलाई स्वागत गरे । उक्त अवसरमा महानिर्देशक अमिनले उक्त नगरमा भइरहेका क्रियाकलापका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिए ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कम्प्युटर पर्दामा आफ्नो औँलाबाट हस्ताक्षर गरी त्यसलाई डिजिटल रूपमा दर्ता गरेकी थिइन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित थिए ।

‘मस्दार नगर’ अबुधावीको योजनाबद्ध रूपमा निर्माण गरिएको नगर हो । यस नगरको केन्द्रीय भाग मुबादला डेभलपमेन्ट कम्पनीको सहायक संस्था मस्दारले निर्माण गरिरहेको छ । यस कम्पनीको प्रारम्भिक पूँजीको अधिकांश भाग अबुधावी सरकारले उपलब्ध गराएको छ । यस नगरको डिजाइन बेलायती वास्तुनिर्माण संस्था फोस्टर एन्ड पार्टनर्सले तयार गरेको हो ।

मस्दार नगर पूर्णतया सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जामा निर्भर छ । यो नगर अबुधावी अन्तरराष्ट्रिय विमानस्थल नजिकै निर्माण भइरहेको छ । यस नगरमा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाको मुख्यालय पनि अवस्थित छ । मस्दारमा पहिलो कार्यालय स्थापना गर्ने संस्था मस्दार विज्ञान तथा प्रविधि अध्ययन संस्थान हो ।

भ्रमणमा राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि रहनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.