उमेदवारका आश्वासन पत्याउँदैनन् मतदाता
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–७ जोगीधापकी शारदा ओलीलाई चुनावका बेला उमेदवारले दिने आश्वासन पत्यार नै लाग्दैन । चुनाव जितेर जाने तर फर्केर नआउने आम समस्या भएका नेता गाउँमा आउँदा के के, कहिलेसम्ममा गर्ने भनेर ठाडठाडै प्रश्न गर्छिन् । ओली भन्छिन्,‘चुनावका बेला चिल्लाचाप्ला कुरा घसेर मत माग्छन् जितेपछि फर्केर आउँदैनन् ।उनले काम गरेर देखाउने उमेदवारको मात्र विश्वास गर्न सकिने बताइन् ।
सुनवर्षी चाप्रमारीका विष्णुदेव यादवको बस्तीमा हरेक वर्ष बाढीले कटान गर्छ । अघिल्लो वर्ष बक्राहा खोलामा आएको बाढीले बस्ती नै डुबानमा पर्यो । त्यसबेला पनि नेता आए, आश्वासन दिए कटानको समस्या स्थायीरुपमै समाधान गरिन्छ । तर, यो आश्वासन पूरा भएन । यादव भन्छन्,'गाउँमा भोट माग्न आउने उमेद्वारले आफ्नो पहिलो चुनावी भाषण नै कटान नियन्त्रण भन्ने गरेका छन् तर हामीलाई विश्वासन नै लागेको छैन । उनले चुनावमा भाषण गर्दा सबै विकासका मुद्धालाई सम्बोधन गर्ने भन्ने गरेपनि व्यवहारमा भने काम नहुने गरेको बताए ।
मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हुने तय भएको मोरङका गाउँगाउँमा प्रमुख दलका उमेद्वार आफ्ना चुनवी एजेन्डा लिएर मत माग्न व्यस्त छन् । गाउँका टोलटोलमा चुनावी कोणसभा, समूह बैठक र घरदैलो चलिरहेका छन् । तर, कार्यक्रम हुँदा उमेदवारले भाषणका क्रममा विकासका विषयलाई अमूर्त रुपमा प्रस्तुत गरिदिँदा मतदाताले पत्याउन छाडेका छन् ।
मोरङको बेलबारीमा भएको एक कार्यक्रममा वाम गठबन्धनबाट मोरङ २ को प्रदेश सभा १ बाट उमेदवार बनेकी माओवादीकी गीता तिम्सिना आफ्नो भाषणमा ‘गरिब जनतालाई भोको नराख्ने’ आश्वासन दिइन् तर, के कस्ता कार्यक्रम ? कसरी भोक मेटाउने भन्ने प्रस्ट नपार्दा उपस्थितहरु नै अलमलमा परे । तिम्सिना मात्र होइन अक्सर अधिकांश उमेदवारले अमूर्त र अस्पष्ट रुपमा विकासका कुरा गरिदिँदा मतदाताले पत्याउन छाडेका हुन ।
बुढीगंगा गाउँपालिका–७ की बालोदेवी खवासले नमस्कार चिन्हका उमेदवारलाई मत खसालेकी थिइन । उमेदवार आएर उनको खोलाटोलीको सामुदायिक क्लबलाई भाँडावर्तन खरिद गरिदिने आश्वासन दिएका थिए । खोलाटोलीमा विवाह, व्रतबन्ध, पासनी र किरिया कर्म गर्दा भोजका लागि भाँडावर्तन थिएनन् तर उमेदवारले मत पाएर गएपछि फर्किएर नहेरेको बताउँदै खवासले भनिन्, 'यो पटक फेरि उमेदवार गाउँ आउन थालेका छन् । सहयोग गर्ने गाउँमा विकास ल्याइदिने भन्दैछन् तर खै कसरी पत्याउने होला ।' खवासले जनताले पत्याउने र विश्वास गर्नसक्ने कुरामात्र गर्न आग्रह गरिन ।
कन्तलाल चौधरी पनि उमेद्वारले चुनावमा बेला 'यो गरिदिन्छु त्यो गरिदिन्छु' भनेर भाषण गरेको सुन्दा विश्वास नै लाग्दैन । चौधरी भन्छन्, 'हामी गाउँमा बस्नेलाई के के न गरिदिन्छु भन्दै आश्वासन दिन्छन् तर जितेर गएपछि आफूले भनेका सबै कुरा बिर्सन्छन् ।' मत माग्न खटिएका नेता÷उमेदवारले विराटनगरलाई प्रदेशको राजधानी बनाउने, तमोर खोलाको पानी सुरुङ बनाएर मोरङको चिसाङ खोलामा मिसाई विद्युत निकाल्ने र सिंचाई सुविधा दिने,बक्राहा, चिसाङ, मावा, डाँसमा तटबन्धन गर्ने, विराटनगरको केसलिया र सिगियामा बाँध बाँधेर ग्रीनबेल्ट विकास गर्ने, भित्री सडक पीच गर्ने, रिङरोड बनाउने, चुरेको फेदीबाट सडक बनाई दिने आदि आश्वासन दिँदै भाषण गर्ने गरेका छन् ।