नारायणकाजीलाई भोट माग्दै ओली-प्रचण्ड

नारायणकाजीलाई भोट माग्दै ओली-प्रचण्ड

पालुङ्टार : नयाँ शक्तिका संयोजक तथा प्ूर्वसहयोद्धा बाबुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गोरखा-२ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठका लागि भोट माग्न कम्युनिस्ट गठबन्धनका मुख्य नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बुधबार गोरखा आएका छन् । अलग-अलग हेलिकोप्टर चढेर उनीहरू गोरखाको भच्चेक, पालुङ्टार, आरुघाट र घैरुङ पुगेका हुन्।

मध्याह्न १२ बजेदेखि सुरु हुने भनिएको पालुङ्टारको कार्यक्रममा दाहाल ३ बजे पुगेका थिए । करिब आधा घन्टापछि ओली अर्को हेलिकोप्टर चढेर पुगेका थिए । पछिल्लो चरणमा घैरुङ र आरुघाटमा आयोजित कार्यक्रममा दुवैजना जाने कार्यक्रम रहे पनि समय अभावका कारण आरूघाटमा ओली मात्र र घैरुङमा दाहाल सम्बोधन गर्न पुगेका थिए ।पालुङ्टारमा आयोजित कार्यक्रममा करिब पाँच हजार जनाको उपस्थिति थियो ।

चुनावी सभामा करिब ४५ मिनेट सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले लामो समय कांग्रेस र नयाँशक्तिलाई गाली गरेर बिताएका थिए । ‘वाम एकताले नेपालबाट कांग्रेसको बुढो रूख ढल्यो-ढल्यो । कांग्रेसलाई नेपालबाट बढार्‍यो-बढार्‍यो' ओलीले थपे, ‘म भन्छु नेपालको इतिहासमा कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । मिति तोक्नुपर्छ भने तोकिदिन्छु । नेपालमा कांग्रेसले शासन गर्ने भनेको पुस मसान्तसम्म मात्र हो । त्यसपछि नेपालको इतिहासमा कांग्रेसको शासन कहिल्यै आउँदैन । कांग्रेसका साथीप्रति म एकदमै समवेदना प्रकट गर्न चाहन्छु ।'

उनले कांग्रेसको टाट पल्टिसकेको भन्दै आलोचना गरे । ‘बिपी कोइरालाको, गणेशमानको पालाको कांग्रेसको कुरा गरेर हुन्छ आज टाट पल्टिएको कांग्रेसले नयाँ शक्तिसँग गठबन्धन गरेर अर्को हास्यास्पद खेल खेलेको टिप्पणी उनले गरे । ‘कांग्रेस आत्तिएको छ । यो ठाउँका कांग्रेसलाई देखेर टीठ लागेको छ', उनले भने, ‘यता वाम एकता भयो भने शेरबहादुरजीले जो पायो, त्यहीसँग एकता गरेका छन् । पार्टीसँग एकता गरेको भए पनि हुन्थ्यो नि ! नयाँ शक्तिमा अध्यक्ष एक जना र केही कलाकारबाहेक कोही पनि बाँकी छैन । अलि अलि थिए, त्यही पनि मैले हिजो एमालेमा समावेश गर्दिसकें । अब एकजना अध्यक्ष मात्र छ बाँकी केही पनि छैन । यस्तोसँग कांग्रेसले के गठबन्धन गरेको होला वाम गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारलाई मत दिन उनको आग्रह थियो ।

सम्बोधनकै क्रममा माओवादी अध्यक्ष दाहालले कम्युनिस्ट केन्द्रको विकल्प नभएको बताए । कम्युनिस्ट केन्द्र बनाउनेबारे पार्टीसचिव मदन भण्डारी रहेकै बेला थालनी भएको दाहालले बताए । ‘तत्कालीन पार्टीसचिव मदन भण्डारीसँग पार्टी एकताबारे छलफल भएको थियो र जेठ ११ गते टुंगो लगाउने समझदारी बनेको थियो । त्यो डिनर मिटिङ कुन घरमा गर्ने, कसले आयोजना गर्ने भन्ने पनि टुंगो लागिसकेको थियो', उनले भने, ‘तर दुर्भाग्य, त्यो जेठ ११ गते आउनै पाएन । कमरेड भण्डारीको जेठ ३ गते नै देहाबसान भयो । त्यो जुन अधुरो सपना हामीले देखेका थियौं, कमरेड केपी ओली पार्टी अध्यक्ष भएको बेला साकार भएको छ । राजनीतिक स्थिरताका निम्ति, नेपालको कम्युनिस्ट आन्दोलन सफलताका निम्ति र जनताको आर्थिक विकास र समृद्धिको निम्ति कम्युनिष्ट केन्द्रको जरुरी छ भनेर यो कदम चालिएको छ ।'

कम्युनिस्ट केन्द्र बनाउने अभियानले कांग्रेस अत्तालिएको उनले टिप्पणी गरे । ‘क्रान्तिकारी, परिवर्तनकारी कम्युनिस्टहरूको शतप्रतिशत सफल हुने गरी एउटा बलियो कम्युनिस्ट केन्द्र बनाउने संकल्प गरेका छौं', उनले भने, ‘यसले देशभक्त कांग्रेस र देशभक्त अन्य पार्टीले पनि सर्वत्र स्वागत गरेका छन् तर अर्काथरी प्रतिक्रियावादी र अवसरवादी तत्वको निद खल्बल्लिएको छ, उनीहरू आतंकित भएका छन् । अझै पनि म कांग्रेसका निष्ठावान, इमानदार कार्यकर्तालाई उल्टो बुद्धितिर नलाग्न आग्रह गर्छु ।'

गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयमा शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न आफूलाई जिम्मा लगाएको उनले दोहोर्‍याए । ‘यदि, तपाईंहरू शान्ति प्रक्रियाप्रति साँच्चै इमानदार हो, गिरिजाप्रसाद कोइरालाले अपनाएको बाटोमा हो भने सक्नुहुन्छ हँसिया-हथौडामा भोट हाल्नुहोस्, सक्नुहुन्न भने चुनाव चिह्न रूखै लिएर आउनुहोस् हामीसँग प्रतिस्पर्धा गर्न । अरूथोक बोकेर नहिँड्नुहोस् । मलाई लाग्छ, इमानदार कांग्रेसले यो कुरा बुझेका छन् । उनीहरू सबैले उल्टो बाटो हिँड्ने पार्टी केन्द्रको निर्णयको विद्रोह गर्नेछन् । त्यो विद्रोह न्यायको पक्षमा हुनेछ । त्यो विद्रोह राष्ट्रको पक्षमा हुनेछ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.