युवा क्रिकेटरले ल्याएको उत्साह
मलेसियामा जारी एसीसी यू- १९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली सेमीफाइनलमा प्रवेश गरेको छ । सन् २०१२ बाट सुरु भएको युथ एसिया कपको चौथो संस्करणमा नेपाली टोली पहिलोपटक सेमीफाइनलमा पुगेको हो । उमेर समूहको प्रतियोगिता, त्यो पनि सेमीफाइनलको यात्रा खासगरी टेस्ट मान्यता प्राप्त राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि नहुन सक्छ, तर नेपालका लागि यो उपलब्धि महत्वपूर्ण छ । यसकारण पनि सिंगो देशले खुसी मनाइरहेको छ । नेपाली युवा टोलीले एसोसिएट राष्ट्रका युवा टोलीसम्मिलित प्रतियोगितामा यसअघिबाटै आफ्नो बलियो उपस्थिति जनाउँदै आएको हो । त्यसो त नेपालले यू- १९ विश्वकपमा पनि यसअघि पनि सशक्त प्रदर्शन गरेको हो ।
सन् २००० मा श्रीलंकामा भएको यू- १९ विश्वकपमा ‘डेब्यु' गरेको नेपाली युवा टोलीले त्यससँगै सातवटा विश्वकप पनि खेलिसकेको छ । सन् २००६ को विश्वकपमा त ‘प्लेट च्याम्पियन' (समूह चरणमै पराजित हुने टोलीमध्येको उत्कृष्ट) बनेको नेपालले विश्वकपमै पनि टेस्ट मान्यता पाएका पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेशलगायत राष्ट्रका युवा टोलीलाई समेत पराजित गरिसकेको छ ।
टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित हालै मात्र आईसीसीको पूर्ण सदस्य राष्ट्रको मान्यता पाएको अफगानिस्तानको युवा टोली सहभागी हुने युथ एसिया कप पनि ‘मिनी' विश्वकपभन्दा कम छैन । त्यही मिनी विश्वकपमा नेपालले पहिलोपटक सेमीफाइनलमा स्थान मात्रै सुरक्षित गरेन, समूहगत चरणको खेलमा भारतजस्तो क्रिकेटको शक्तिशाली राष्ट्रको युवा टोलीलाई १९ रनले पराजित गर्यो ।
त्यसमाथि यो सफलता त्यस्तो स्थितिमा प्राप्त भएको छ, जतिबेला घरेलु क्रिकेटको प्रशासनिक निकाय नेपाल क्रिकेट संघ (क्यान) झन्डै पछिल्लो सात महिनादेखि आईसीसीको निलम्बनमा छ । त्यसकारण नेपालको घरेलु क्रिकेट लथालिंग अवस्थामा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निजी क्षेत्रबाट भएका सीमितबाहेक क्रिकेटका अन्य प्रतियोगिता हुन सकेका छैनन् । यू- १९ र अन्य उमेर समूहका प्रतियोगिता त भएकै छैन भन्दा पनि हुन्छ । यस्तो अवस्थामा युवा टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्नु महत्वपूर्ण हो । घरेलु प्रतियोगिता नभई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुअघिको तयारी निकै छोटो हुन्छ । त्यही छोटो अवधिमा मिलाइएका अभ्यास खेल पनि भारतका स्थानीय टोलीसँग मात्र सीमित हुन्छन् ।
त्यतिमात्रै होइन, प्रतियोगिताका लागि मुलुकमै हुने बन्द प्रशिक्षणका लागि आईसीसीले कहिले रकम निकासा गर्ला भनेर आशा गरेर बस्नुपर्ने अवस्था छ । रकम प्राप्त भएपछि खेलाडी बस्ने होटेल र होटेलबाट मैदानसम्म आउनेजाने व्यवस्थालगायत व्यावहारिक पाटो मिलाइदिने आधिकारिक व्यक्तिसमेत हुँदैनन् । यस्तो समस्या नेपाली सिनियर र महिला राष्ट्रिय टोलीमा पनि छ । यस्तो अवस्थामा हामीले कहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको आशा गर्न सक्छौं ? आवश्यक पूर्वाधारको व्यवस्था, उपलब्ध प्रतिभाको संरक्षण र नयाँ प्रतिभाको खोजी गर्नेतर्फ ध्यान नदिने अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजाको मात्रै आशा गर्नु अव्यावहारिक मात्रै हुनेछ ।
त्यसैले क्यानको निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन अब ढिलाइ गर्नु हुँदैन । निलम्बनका कारण घरेलु प्रतियोगिता मात्रै रोकिएका छैनन्, आईसीसीबाट प्राप्त हुने करोडौं रुपैयाँबराबरको रकम पनि रोकिएको छ । त्यसैले आईसीसीको सहभागितामा क्यानमाथिको निलम्बन फुकुवा प्रक्रिया यथाशीघ्र टुंग्याउने दिशामा सम्बद्ध निकाय लाग्नुपर्छ । कम्तीमा सिनियर, उमेर समूह र महिला खेलाडीका लागि नियमित प्रतियोगिता आयोजना हुने वातावरण बनाउनुपर्छ ।
हामीसँग रहेका सीमित भौतिक पूर्वाधार विकासमा जोड दिने र खेलाडीको हौसला बढाउन उनीहरूको सुविधामा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसो हुँदा नेपाली खेलाडीले आगामी दिनमा अन्तर्राष्ट्रिय खेलवृत्तमा देशको प्रतिष्ठा बढाउँदै थप उपलब्धि हासिल गर्न सक्नेछन् ।