मारुनी जोगाउँदै युवा

मारुनी जोगाउँदै युवा

प्युठान : सय वर्ष पुरानो मारुनी नाच संरक्षण गर्न तिरामका स्थानीय एकजुट भएका छन्। स्थानीय बूढापाकाहरूका अनुसार १९७४ सालदेखि तिराम गाउँमा मारुनी नाच नाचिँदै आएको छ। गाउँकै पूर्वसांसद स्व.गिरिराज उपाध्यायले यो नाच सुरु गरेको इतिहास छ। गाउँलेहरूले यस वर्ष मारुनी नाच प्रतियोगिता सञ्चालन गरेर यसको संरक्षणमा सक्रियता देखाएका हुन्।

नाच संरक्षण गर्ने उद्देश्यले माण्डवी गाउँपालिकाले आर्थिक सहयोगसमेत गरेको छ। ‘हराउँदै गएको नाच जोगाउ प्रतियोगिता सञ्चालन गर्‍र्यौं', लामपोखरा मेला आयोजक तथा व्यवस्थापन समितिका संयोजक यामबहादुर घिमिरेले भने, ‘यसपालि गाउँपालिकाले सहयोग गरेपछि प्रतियोगिता चलायौं।' उनका अनुसार माण्डवी गाउँपालिका र छिमेकी सरुमारानी गाउँपालिकावासीले समेत प्रतियोगितामा सहभागिता जनाए। माझटोल खरिवाङ, रातापानी, पाङवाङ, बलवाङलगायतका स्थानबाट आएका युवायुवती र वृद्धवृद्धाले उत्साहजनक रूपमा मारुनी नाच देखाए। ‘नगद पुरस्कारले स्थानीयमा हौसला थपिएको छ', उनी भन्छन्, ‘मेरा बुवाले गाउँमा मारुनी नाचको थालनी गर्नुभएको हो।

यसको संरक्षणमा सबैजना जुट्नुभएको छ, धेरै खुसी छु।' सम्भवतः तिरामको मारुनी नाच यस क्षेत्रकै पहिलो र ठूलो नाच भएको समेत उनले दाबी गरे। ‘गाउँका युवाले अझ बढी चासो देखाएका छन्', उनले भने। वृद्धवृद्धाले मात्र यसको संरक्षण गर्न कठिन हुने अनुभव उनले सुनाए। मारुनी नाचमा सोरोठी, झमरा, कृष्णचरित्रलगायतका प्रस्तुति देखाएर दर्शकलाई मनोरञ्जन दिने गरिएको उनको भनाइ छ। यसभित्र थुप्रै प्रस्तुति हुने बताउँदै उनले जिल्लाका अत्यन्तै कम स्थानमा मारुनी नाचिने जानकारी दिए।

माझटोल खरिवाङ, रातापानी, पाङवाङ, बलवाङलगायतका स्थानबाट आएका युवायुवती र वृद्धवृद्धाले उत्साहजनक रूपमा मारुनी नाच देखाए।

‘अहिले गाउँमै स्थानीय सरकार आएको छ', उनी भन्छन्, ‘लोप हुँदै गएको कला, संस्कृतिको संरक्षण गर्ने प्रमुख दायित्व गाउँपालिकाको हो। यसमा साथ दिनु जनताको कर्तव्य हो। तिरामवासी मौलिक संस्कृति जगेर्ना गर्न तयार छन्।' आफ्ना पुर्खाले देखाउँदै आएको मौलिक संस्कृति मारुनी नाचको जगेर्ना गर्न आफूहरू क्रियाशील रहेको तिराम-१ का स्थानीय युवा दीपक घिमिरेले जानकारी दिए। ‘बाजेहरूले सुरुआत गरेको मौलिक पहिचानको संस्कृति जोगाउनु नयाँ पुस्ताको कर्तव्य हुन जान्छ', १७ वर्षीय उनले भने, ‘गाउँका युवा यसमा प्रतिबद्ध छौं।' यसपालिको मेलामा युवा मिलेर मारुनी नाच देखाएको उनले जानकारी गराए।

लामपोखरामा लागेको मेलामा दृश्यावलोकनका लागि हजारौं दर्शक उपस्थित थिए। नजिकको गाउँपालिका सरुमारानीका स्थानीयसहित छिमेकी जिल्ला दाङ, अर्घाखाँची, गुल्मीलगायतका सर्वसाधारण मेलामा सहभागी भए। १७÷१८ जनाको समूह बनाएर मारुनी नाच्ने गरिएको घिमिरेले जानकारी गराए।

आउँदा वर्षमा मारुनी नाचलाई अझ व्यवस्थित बनाएर लैजाने सोच बनाएको मारुनी नाचका गुरु मीनबहादुर खत्रीले बताए। ‘गाउँपालिकाको सहयोगमा यसपालि प्रतियोगिता भयो', उनले भने, ‘अहिलेको भन्दा दोब्बर बढी समूहलाई आउँदा वर्षमा सहभागी गराउने योजना बनाएका छौं।' पर्यटन प्रवद्र्धन गर्न पुराना मौलिक संस्कृतिको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण गर्नुपर्ने उनको तर्क छ। आफ्ना छोराछोरीलाई यसबारे जानकारी गराएर अघि बढ्नेसमेत उनले सुनाए।

जनप्रतिनिधि चुनिएपछि संस्कृति प्रवद्र्धन गर्ने गरी लामपोखरा मेलालाई बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी गराए। आर्थिक सहयोग वार्षिक रूपमा बढाउँदै लैजाने योजना बनाएको समेत उनले बताए। ‘भौतिक पूर्वाधार निर्माण गरेर मात्र गाउँपालिका सम्पन्न हुन सक्दैन्', उनले भने, ‘गाउँपालिकाभित्र भएका मौलिक कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्छ।' कला संस्कृति प्रवद्र्धन गर्न सके गाउँपालिकामा आन्तरिक एवं बाह्य पर्यटक भित्याउन सकिने उनको भनाइ छ। गाउँपालिकालाई आर्थिक रूपमा सम्पन्न बनाइराख्न यस्ता पुराना संस्कृतिको व्यवसायीकरण गर्नुपर्ने उनी बताउँछन्।

‘आगामी वर्षमा अझ बढी व्यवस्थित र प्रवद्र्धन गर्ने गरी कार्यक्रम बनाउने छौं', उनले भने, ‘गाउँपालिकाभित्र धेरै संस्कार र रीतिरिवाज छन्। तिनीहरूको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार प्रतिबद्ध छ।' स्थानीयको जीविकोपार्जनसँग जोडेर यस्ता मौलिक संस्कृतिको पहिचान गरी अगाडि बढ्नेसमेत उनले प्रतिबद्धता जनाए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.