उम्मेदवारसँग रोजगारी माग्दै मुक्तकमैया

उम्मेदवारसँग रोजगारी माग्दै मुक्तकमैया

कञ्चनपुर: बेलौरी नगरपालिका-५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएको छ। तरकारी खेतीका लागि आवश्यक पर्ने मलखाद, उन्‍नत बीउबिजन, कीटनाशक औषधी, पोषक तत्व र सिँचाइ गर्न बोरिङ जडानका लागि अनुदान रकम उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्न उनी आतुर देखिएका छन्।

सरकारले पुनःस्थापना हुँदा उपलब्ध गराएको पाँच कट्ठा जग्गामा बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएका चौधरी थोरै जग्गामा उत्पादन गरेको तरकारीले घरपरिवारको खर्च चलाउन मात्र ठिक्क हुने भएकाले अनुदान रकम उपलब्ध भए अझै बढी जग्गा भाडामा लिएर तरकारी खेतीलाई विस्तार गर्ने बताए।

'बस्तीमा अहिलेसम्म उम्मेदवार पुग्नुभएको छैन,' उनले भने, 'मत माग्न आउनेलाई अनुदान र जग्गा भाडामा लिन सहयोग माग्ने सोच बनाएको छु।'

आफूहरु पुनःस्थापित हुँदा पाएको जग्गाको लालपूर्जा बैंकमा राखेर ऋण निकाल्न खोज्दा बैंकले नमानेको मुक्तकमैया रुपानी चौधरीले बताए। तरकारी खेतीका लागि थप रकम जुटाउन नसक्दा घरमा भएको जनशक्तिलाई दैनिक रु ३०० पाउने गरी मजदुरीमा पठाउनु परेको उनको भनाइ छ।

थोरै जग्गामा तरकारी उत्पादन गरी यहाँका मुक्तकमैया परिवारले वार्षिक रु ७० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन्।सरकारले मुक्तकमैया परिवारलाई पुनःस्थापन गरी घरबासका लागि जग्गाको व्यवस्था गरे पनि रोजगारीको माध्यम नहुँदा टाढाको बजारमा मजदुरीका लागि जानु पर्ने बाध्यता छ।

धेर थोर तरकारी बिक्री गरी कमाएको पैसाबाट छोराछोरीलाई पढाउन भ्याए पनि मुक्तकमैयाका युवा बेरोजगारै बस्नु परेको छ। रोजगारीमा प्रवेश गर्ने अवसर सिर्जना गर्नका लागि प्रतिबद्धता गरी विश्वास दिलाउने उम्मेदवारलाई भोट दिने मोतीकला चौधरी बताए।

तरकारी खेतीका लागि अनुदानको व्यवस्था, ऋणका लागि बैंकमा लालपूर्जा राख्न पाउने वातावरण सिर्जना गर्ने र युवालाई सरकारी नोकरीमा प्रवेशका लागि कार्य गर्न प्रतिबद्धता गरी कार्यान्वयन गर्ने उम्मेदवार नै मुक्तकमैयाको रोजाइमा पर्ने निश्चित भएको लालबहादुर चौधरीले बताए।

'धेरैजनाले घर निर्माणका लागि काठ नपाउँदा झुपडीमा बस्नुपरेको छ, आवासको व्यवस्था मिलाइदिन प्रचारका लागि पुग्ने उम्मेदवारसँग माग गरेका छौँ,' उनले भने। मीठो सपना बाँडेर मत माग्ने उम्मेदवारबारे बुझ्दै गएकाले सक्षमलाई मात्रै यसपटक एकमुष्टरुपमा मत दिने बस्तीमा छलफल गरी निधो गरिएको चौधरीले बताए।

बाह्रै महिना तरकारी खेतीमा संलग्न १९ परिवार मुक्तकमैयाले करेला, बन्दागोभी, काउली, खुर्सानी, काँक्रा, गोलभेँडा, लौका, भिन्डी, फर्सी र तरभुजाको मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन्।

अरुको मुख ताक्ने विगतको परिपाटी अन्त्य गर्दै आफैँ स्वावलम्बी बनेर आफ्नै पौरखले यहाँका मुक्तकमैया परिवार अगाडि बढ्दै आएका छन्।उत्पादित तरकारीले बजार नपाउँदा मुक्तकमैया परिवारले सास्ती खेप्दै आएका छन्। बस्तीमा ६०० परिवार मुक्तकमैयाको बसोबास छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.