ललितपुर ३ मा पम्फा र मदनको प्रतिस्पर्धा, कसको पल्ला भारी ?

ललितपुर ३ मा पम्फा  र मदनको प्रतिस्पर्धा, कसको पल्ला भारी ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशैभर चुनावी गर्मी बढेको छ। मंसिर १० र २१ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवार मत माग्न आआफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न व्यस्त छन्।

देश निर्वाचनमय भए पनि केही खास निर्वाचन क्षेत्रको चर्चा बढी छ। नेकपा (माओवादी केन्द्र) की प्रवक्ता एवं प्रभावशाली महिला नेतृ पम्फा भुसाल वाम गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ को चुनावी मैदानमा भएकाले यसलाई हेभिवेट क्षेत्रको रुपमा हेरिएको छ।

प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका थोरै महिला नेतृमध्ये भुसाल एक हुन्। ललितपुर ३ मा भुसालका थुप्रै प्रतिस्पर्धाी छन्। भुसालको खास प्रतिस्पर्धा भने कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यसँग हुँदैछ। राष्ट्रिय राजनीतिमा नचिनिए पनि अमात्य स्थानीय मतदातासँग परिचित छन्। भुसालको भने राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव छ।

भुसाल पहिलो संविधानसभा निर्वाचनमा ललितपुर ३ बाट निर्वाचित नेतृ हुन्। दोश्रो संविधानसभा निर्वाचनमा भुसालले चुनाव बहिष्कारको झण्डा उठाउँदै गर्दा अमात्य एमालेका रघु पन्तलाई पराजित गर्दै ललितपुर ३ बाट सांसद बनेका थिए।

पहिलो संविधानसभामा निर्वाचित भुसाल दश वर्षपछि आफ्नो निर्वाचन क्षेत्र फर्किएकी हुन् भने दोश्रो संविधानसभामा निर्वाचित अमात्य आफ्नो पकडलाई अझ मजबुत बनाउन लागिपरेका छन्। राष्ट्रिय राजनीतिमा भुसालजति स्थापित अनुहार नभए पनि अमात्य स्थानीय तहमा लोकप्रिय नेता हुन्।

यस्तो छ स्थानीय तहको निर्वाचनको अंकगणित

ललितपुर ३ मा २२ वडा छन्। गोदावरी नगरपालिकाका वडा नम्बर १२ र १४ साथै ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ नम्बर वडा ३ नम्बर क्षेत्रमा पर्छन्। स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो पार्टी हुन्। यद्यपी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादी वाम गठबन्धन बनाएर चुनावी मैदानमा छन्। एमालेको सबै मत पाए अमात्य भन्दा भुसाल शक्तिशाली देखिन्छिन्।

स्थानीय तह निर्वाचनमा ललितपुर ३ का २२ मध्ये कांग्रेस ६, एमाले १०, माओवादी केन्द्र ५ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन्। कांग्रेसले माओवादी केन्द्रभन्दा १ वडा बढी जितेको छ। यद्यपी मतपरिणाममा कांग्रेस माओवादी केन्द्रभन्दा करिब ५ हजार अन्तरले अगाडि छ। तर, गठबन्धन बनेकाले कांग्रेस भन्दा गठबन्धन शक्तिशाली देखिन्छ।

कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ३ का वडामा प्रतिस्पर्धा गरेका उम्मेदवारको कुल मत १६ हजार ८६५ मत छ भने एमालेका वडाध्यक्षका उम्मेदवारको कुल मत २० हजार २८५ छ। यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ११ हजार ८३९ मत छ। एमाले र माओवादीका वडाअध्यक्षका उम्मेदवारको मत ३२ हजार १२४ छ। यो मत कांग्रेसको भन्दा १५ हजार २ सय ५९ बढी हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.