एउटै मालामा ओली र प्रचण्ड, भन्छन्- हाम्रो दिल एक भइसक्यो

एउटै मालामा ओली र प्रचण्ड, भन्छन्- हाम्रो दिल एक भइसक्यो

कुश्मा : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै स्वरमा आत्मा एउटै भएको बताएका छन्। संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नका लागि आएका दुई अध्यक्षले अहिले दुवै दलको दिल एक भएको र चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा समेत गरे। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले प्रचण्ड र ओलीलाई एउटै माला लगाएर स्वागत गरेका थिए।

ओलीले सम्बोधन गर्दागर्दै पुगेका दाहाल र ओलीले मञ्चमै एक मिनेटसम्म अंकमाल र भलाकुमारी गरिसकेपछि दुवै दल एक भइसकेको उद्घोष गरेका हुन्। उनीहरुले मुलुकको समृद्धिका लागि एक्लाएक्लै लडेर सम्भव नदेखेपछि एकता हुनुको विकल्प नभएको बताएका हुन्।

सभामा ओलीले वामपन्थीको एकताबाट आत्तिएको कांग्रेसले कम्युनिस्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाए। उनले वाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन दिँदै वाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, विकास र सम्बृद्धि ल्याउने बताए। ‘देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र सम्बृद्धि सबै वाम गठबन्धनले दिन्छ’, उनले भने कांग्रेसले समाजवाद बिर्सिसकेको छ।

कांग्रेसले मुलुकलाई रेमिट्यान्सबाट चलाउन खोजेको बताउँदै चालीस लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न र राजनीतिक आर्थिक र सामाजिक स्थायित्वका लागि पनि वाम गठबन्धनको सरकार अत्यावश्यक रहेको बताए।

अर्को प्रसंगमा ओलीले उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताए। वाम गठबन्धनले चुनाव जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने, ‘उत्तर दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन।’ उनले उत्तर तर्फ खोलिएका नाका पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज व्यापार गर्न सक्ने बताए। ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तीब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैयाँ बजेट समेत विनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरी सक्ने आश्वासन पनि दिए।  मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिर्वतन ल्याउँने बताउँदै उनले काठमाडौंदेखि पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्‍याउने बताए।

सभामा ओलीपछि सम्बोधन गरेका माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माण अब सुरु भएको बताए। ‘केपी ओलीजीले बोलेका कुरामा म सतप्रतिशत सहमत छु। किनभने अब हाम्रो मन मुटु एक भइसकेको छ’, प्रचण्डले भने। दाहालले राष्ट्रको हित र जनताको हित बाहेक अरु नसोच्ने र जनताको समृद्धिमा केन्द्रित रहनेगरी एमाले र माओवादी केन्द्र एकता गर्न लागेको बताए। उनले विभाजित भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिको बहुमत नआउने देखिएर एकता गरिएको बताउँदै यो एकताले विश्वमा नयाँ सन्देश दिएको बताए।

दाहालले कम्युनिष्ट र कांग्रेसको एकता कहिल्यै पनि सम्भव नभएको बताउँदै कम्युनिष्ट विभाजित नभई एकताबद्ध भएर अघि बढ्ने उद्घोष गरे। उनले लामो समयदेखि एमाले र माओवादी बीच एकता गर्ने विषयमा छलफल भए पनि सम्भव नभएको बताउँदै दाहालले अहिले दुई दलबीच परिपक्व अवस्था आएकाले एकता भएको बताए।

आसन्न निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने सुनिश्चित भएको बताउँदै दाहालले यो नेपाली जनताका लागि ऐतिहासिक अवसर भएको बताए। स्थायी सरकार बिना मुलुकको दीर्घकालीन विकास सम्भव नभएको बताउँदै उहाँले राष्ट्र निर्माणका लागि खेत रोप्ने बेला आएको बताए।

दाहालले नेपाललाई आगामी दश वर्ष भित्र संसारकै समृद्ध मुलुक बनाउनका लागि पनि वाम गठवन्धनलाई विजयी गराउने आग्रह गरे। उनले नेपाली कांग्रेसबाट विकास र समृद्धिको आश नगर्न समेत आग्रह गरे। नेपाली कांग्रेस, गिरीजा, गणेशमान र बीपीभन्दा विपरित दिशाबाट अघि बढ्न खोजेको भन्दै त्यसबाट अब नेपाली जनताले कुनै पनि परिवर्तन पाउन नसक्ने समेत बताए।

मुलुकलाई औद्योगिकिकरण गर्न तथा ऊर्जा, पर्यटन, यातायात क्षेत्रको विकासका लागि अब बन्ने सरकारले दीर्घकालीन योजनासहित काम गर्ने पनि बताए। उनले सरकारले अहिले मुलुक समृद्धि भन्दा पनि आफ्नो सत्ता स्वार्थमा लागेको बताए।

उनले कम्युनिस्टको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रवादी शक्ति संग सहकार्य गर्न आग्रह गरे। ‘कम्युनिस्टलाई विभाजित गरेर शासन गर्ने सपना नदेख्नुहोस्’, उनले भने ‘अब कम्युनिस्टले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन्।’ उनले एकता बहुमतको सरकारलाई मात्रै नभई राजनीतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.