राजधानीमा भारतीय कवि भीम दाहालका कविता
काठमाडौं : राजधानीकनीमा भारतीय कवि भीम दाहाल सुनिएका छन्। भारतीय लोकसभाका पूर्व संसद् एवम् सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका दाहाललाई त्रिपुर साहित्य समाजले निमन्त्रणा गरेको थियो।
प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्य एवम् समाजका अध्यक्ष महेश प्रसाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दाहालले बबिनको धागो, खोज्दैछु नयाँ मुलुक, कागजको मन, मलाई एउटा नयाँ मुलुक देऊलगायत आधा दर्जन कविता वाचन गरे।
दाहाल भारतीय कविता परम्पराका समकालीन प्रतिनिधि कवि भएको चर्चा गर्दै प्रमुख अतिथि राजेन्द्र सुवेदीले दाहालको सिर्जनशील सामथ्र्यको चर्चा गरे। सुवेदीले यस्ता कार्यक्रममले नेपाली जातिलाई महाजाति बनाउने र नेपाली साहित्य संस्कृतिलाई विश्व साहित्यमा पुर्याउने बताए।
दाहालका वाचित कविताबारेमा कवि एवम् समालोचक रमेश शुभेच्छुले टिप्पणी गरेका थिए। त्यस्तै दाहालकाबारे कवि दिव्य गिरी, शित्तल गिरी, श्रीओम श्रेष्ठ ‘रोदन’ र दिल पौडेलले बोलेका थिए। कविता वाचनका क्रममा रचना गर्भ समेत बताउनुहुँदै दाहालले नेपाली साहित्यकर्मीले काठमाडौंलाई भाषासाहित्यको विश्व राजधानी मान्ने गरेको र यहाँ आउँदा माइत पुगेको अनुभव भएको बताए। कार्यक्रममा बोल्दै महेश प्रसाईँले नेपाल र भारतका साहित्यकार बीचको अन्तरक्रियालाई निरन्तरता दिइने बताए।