‘तपाईंलाई भोट किन दिने ? ’

 ‘तपाईंलाई भोट किन दिने ? ’

काठमाडौं : दुई हात जोड्दै मतदाताका घरआँगन पुगिरहेका उम्मेदवारहरूलाई समाजिक सञ्जालमा आफूहरूबारे सोधिएका प्रश्नको जवाफ दिने फुर्सद कहाँ ? र, पनि अन्नपूर्ण मिडिया नेटवर्कको ‘आस्क नेताज्यू’ अभियानमा नेताहरूलाई प्रश्न गर्न मतदाता रोकिएनन् ।प्रश्न सोध्नेहरूले उम्मेदवारले विगतमा गरेका कामदेखि आम नागरिकले भोग्नुपरेका समस्यासम्म उठाएका छन् ।

बर्दियाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता सन्तकुमार थारूले दुई पटकसम्म निर्वाचन जिते पनि विकासको मुख देख्न नपाएको मतदाता शंकर आचार्यले गुनासो गरे ।

‘बेलायती राजकुमार ह्यारीदेखि टाइटानिक फिल्मका अभिनेता लियोनार्दोसम्म पुगेको बर्दिया २ ले साँच्चिकै विकास कहिले देख्न पाउने हो ? ’, बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने ओराही खोलामा पुल नबनेको विषयलाई महत्वका साथ उठाउँदै बिनाविभागीय मन्त्रीसमेत रहेका थारूलाई आचार्यले फेसबुकमा प्रश्न गरेका छन् ।

आचार्यको जिज्ञासा अन्नपूर्णले बर्दिया २ का उम्मेदवार थारूसमक्ष राख्यो । पछिल्ला दुइटा निर्वाचनमा आफू विजयी भएपछि विकासको लहर चलेको दाबी गर्दै थारूले काठमाडौंमा बसेर टिप्पणी गर्नेहरूलाई एकपटक बर्दिया भ्रमण गर्न सुझाए ।

पञ्चायती व्यवस्थादेखि गणतन्त्र घोषणा सम्मको अवस्था र त्यसपछिका वर्षहरू मूल्यांकन गर्दा पछिल्लो अवधिमा बर्दियामा विकासको लहर आएको उनको दाबी छ । ‘ओराही खोलामा पुल निर्माणका लागि टेन्डर आह्वान भएको छ, साविक सूर्य कटुवा गाविसबाट अमरपुर जोड्ने पक्की पुल बनेको छ, बबई नदीमा पुल सम्पन्न हुँदैछ’, थारूले भनेका छन्, ‘ठाकुरद्वाराको कालोपत्रे सडकमा हिँडिदिनुहोला, म दुई पटक निर्वाचित भएपछि विकासका उपलब्धिमूलक काम भएका छन् ।’

मतदाता र उम्मेदवारहरूबीच अन्तर्क्रिया गराई दलका सम्बन्धित नेतालाई जवाफदेही बनाउन अन्नपूर्ण मिडिया नेटवर्कले अभियान थालेको हो । अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण नेपालले मतदाता र उम्मेदवारबीचको अन्तक्र्रियालाई सहजीकरण गरिरहेका छन् ।

ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशम्शेर राणालाई विवेक महतले ट्विटरमा सोधेका छन्, ‘दक्षिण ललितपुरले आजसम्म सडक, इन्टरनेट, फोन, स्वास्थ्य सेवा पाएकै छैन । कान्ति राजपथको चापागाउँ-सातदोबाटो खण्ड नबनाउने ? ’

राणाले ट्विटरमै जवाफ लेखेका छन्, ‘राजधानीसँग जोडिएर पनि दक्षिण ललितपुर विकासमा निकै पछाडि परेको कुरा सत्य हो । म निर्वाचित भइसकेपछि चार वर्षको बीचमा पूर्वाधारलगायत क्षेत्रमा विकासको सुरुवात भएको छ । अहिले भइरहेका कामलाई समयमै सम्पन्न गर्न र थप विकास तथा समृद्धिको लागि मेरो उम्मेदवारी हो ।’

दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा समानुपातिक समावेशीताको प्रावधान कुल्चिएको जिकिर गर्दै नरेन्द्र राई फेसबुकमा सोध्छन्, ‘समानुपातिक समावेशी प्रावधानको मूल मर्मलाई लत्याउने तपाईंहरूको कदमलाई जनताले कसरी बुझ्नुपर्ने हो ? ’

शुभम् अमात्य ट्विटरमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मेन्सन गर्दै लेख्छिन्, ‘प्रतिनिधिसभाका लागि १ हजार नौ सय ४५ उम्मेदवारमध्ये एक सय ४६ जना (७.५ प्रतिशत) मात्र महिला छन् । यस्तो किन ? ’

रामहरि शर्मा ट्विटरमा लेख्छन्, ‘पुरानो घोषणापत्रको कति उपलब्धि गर्नुभो ? त्यसको विवेचना गर्नुस्, अनि मात्र तपाईंलाई भोट दिइन्छ ।’ मत माग्न मतदाताका खेत र गोठमै पुग्ने तर चुनाव जितेपछि नफर्कने नेताहरूको प्रवृत्तिमाथि पनि कतिपयले प्रश्न गरेका छन् ।

अंशल शेर्पा फेसबुकमा लेख्छन्, ‘चुनाव जितेपछि कोही पनि मतदाताको घरदैलो पुग्दैनन् । अर्को चुनाव पनि त्यही गाउँसहरका जनताको घरमा जानुपर्छ भनेर बिर्सने परिपाटी कहिले अन्त्य होला ? ’ प्रश्न सोधे पनि चित्तबुझ्दो जवाफ नआउने भन्दै कतिपयले प्रश्न सोध्न अनिच्छा पनि देखाएका छन् । ‘प्रश्न सोधेर के गर्नु ? उही आश्वासन र मीठो-मीठो गफ हाँकिदिन्छन्’, एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘आफू नभए देशै चल्दैन भन्दिन्छन् ।’

मतदातका प्रश्नले भन्छन्, ‘सम्पन्न भएका भनिएका र निर्माणाधीन परियोजनामाथिसमेत नेताहरूको अनुगमन छैन ।’ ‘केर्खा चुलाचुली सडक कागजमा कालोपत्रे भएको छ तर फिल्डमा छैन’, इलाम २ का मतदाता बुद्धराज बोहोरा आफ्ना उम्मेदवार सुवास नेम्बाङलाई प्रश्न गर्छन्, ‘के नेताले भ्रष्टाचार गरेर फेरि भोट माग्न लाज लाग्दैन ? ’

कांग्रेस नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेललाई ट्विटरमा प्रमिस प्रश्न गर्छन्, ‘जितेर गएपछि फर्कनुहुन्न, न राष्ट्रिय राजनीतिमा भूमिका छ । तपाईंलाई किन भोट दिने ? ’
प्रदीप कँडेलको प्रश्न छ, ‘६० देखि ७० प्रतिशत सरकारी बजेट भ्रष्टाचारीको हातमा जान्छ अनि कसरी भ्रष्टाचार निर्मूल गर्नुहुन्छ ? ’

काभ्रे १ ‘ख’ बाट प्रदेशसभा कांग्रेसका उम्मेदवार गणेश लामालाई ट्विटरमा कुमार प्रश्न गर्छन्, ‘तपाईं रक्तचन्दन तस्करीलगायत गैरकानुनी काममा संलग्न हुनुहुन्छ । तपाईं निर्वाचित भएपछि कस्ता काम गर्नुहुन्छ ? ’

प्रश्न नेताज्यूहरूलाई मात्र छैनन्, प्रश्न राख्ने माध्यम अन्नपूर्णमाथि पनि उठाइएको छ । नेताहरूलाई प्रश्न सोध्ने अभियानको प्रशंसा गर्दै ‘आस्क नेताज्यू’ को जानकारीमूलक सन्देशमा पुरुष नेताहरूको मात्र तस्बिर राखिएकोबारे हिमा विष्टले प्रश्न गरेकी छन्, ‘कुनै पनि महिला नेता सक्षम देख्नुभएन कि फोटो राख्न ? ’ मतदाता स्वयंमाथि पनि प्रश्न छन्, ‘सही उम्मेदवार छान्न नसक्ने र हौवाका पछि लाग्ने भनेर ।’

‘तपाईं क्रिकेट नजानेको मानिसलाई खेलाडी बनाउनुहुन्छ अनि खेल जित्ने आस गर्नुहुन्छ ? ’ सौरभ भण्डारी मतदाताको चरित्रमाथि कटाक्ष गर्दै फेसबुकमा लेख्छन् ।नेताको गुण र दोषका आधारमा भोट दिनुपर्ने धारणा राख्दै ईश्वरकुमार भट्टराई आफू कार्यरत क्षेत्रमा एउटा मात्र सुधारको काम गर्ने हो भने पनि नेपाललाई स्वर्ग बनाउन सकिने बताउँछन् । ‘भिजन हुनेलाई कसले रोकेको छ ? ’,

पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्र्देशक कुलमान घिसिङको उदाहरण दिँदै उनले फेसबुकमा सोधेका छन्, ‘धुलोमान्डु, हिलोमान्डु, खाल्डामान्डुजस्ता हजार उपनाम पाएको देशैभरका नेता बसेको ठाउँ काठमाडौं त राजधानी सहर भन्न घिनलाग्दो भएको कसैले देखेका छैनन् भने राजधानीबाहिरको कुरा कसले देख्लान् र ? ’

आफ्नो पार्टीले बहुमत नपाएको वा प्रतिपक्षले काम गर्न नदिएको भन्ने रेडिमेड जवाफमात्र नेताहरूसँग रहेको भन्दै उनले सक्षम नेता रोज्न अपिल गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.