काठमाडौं ७- वाम गठबन्धनलाई राप्रपाको चुनौती

काठमाडौं ७- वाम गठबन्धनलाई राप्रपाको चुनौती

काठमाडौं : काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै क्षेत्रमा पर्छ। चर्चित नागार्जुन, शिवपुरीजस्ता पर्यटकीय क्षेत्र तथा इंचगुनारायण र पुरानो गुह्येश्वरीजस्ता धार्मिक स्थल रहेकाले पनि यहाँका मतदाता यस क्षेत्रको विकास र समृद्धिमा समर्पित हुने व्यक्तिलाई जिताउन आतुर छन्।

यस क्षेत्रमा एमालेको प्रमुख प्रतिस्पर्धी मानिने कांग्रेसले उम्मेदवार नउठाएपछि वाम गठबन्धनका मानन्धरको जित सहज हुने आकलन गरिएको छ। तर कांग्रेसको पूर्ण समर्थनसहित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थापाले प्रचार अभियानलाई आक्रमक पारेर मानन्धरलाई चुनौती दिएका छन्। दुवै उम्मेदवार दैनिक आठ घन्टासम्म घरदैलो अभियान गर्दै प्रत्येक मतदाताको घरसम्म पुग्ने प्रयास गरिरहेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार मानन्धरले तत्कालीन माओवादी नेतृ एवं मन्त्री हिसिला यमीलाई हराएका थिए। त्यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी नेतृ यमीले जितेकी थिइन्। एमालेका उम्मेदवार मानन्धर दोस्रो जितका लागि ढुक्क देखिन्छन्। पटक-पटक राज्यमन्त्री हुँदै हाल महिला बालबालिका तथा समाजकल्याण मन्त्री रहेका थापा पुराना र अनुभवी राजनीतिज्ञ भएकाले उनी मानन्धरका लागि कमजोर उम्मेदवार भने पक्कै होइनन्।


उम्मेदवारहरू दैनिक आठ घन्टासम्म घरदैलो गर्दै प्रत्येक मतदाताको घरसम्म पुग्ने प्रयास गरिरहेका छन्।

कांग्रेसमा देखिएको असन्तुष्टि व्यवस्थापन भइसकेको, कांग्रेसको मात्रै नभएर एमालेप्रति असन्तुष्ट देखिएकाको मत पनि आफूलाई आउने भन्दै थापाले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका उम्मेदवारले २१ सय मत मात्रै ल्याएका थिए। स्थानीय तह निर्वाचनमा यस क्षेत्रको १० वटै वडा तथा वडा सदस्य गरी कुनै पनि पद जित्न नसकेको राप्रपाको जित्ने प्रमुख आधार कांग्रेस नै हो।

क्षेत्र ७ मा ५७ हजार पाँच सय ५८ मतदाता छन्। यस क्षेत्रमा काठमाडौंको १६, १७, १८, २५ वडा, नागार्जुनको १, २ र ३ तथा तारकेश्वरको ३, ४ र ५ वडा पर्छन्। गत स्थानीय तह निर्वाचनको नतिजा हेर्दा वाम गठबन्धनले १४ हजार नौ सय ७६ र लोकतान्त्रिक गठबन्धनले १२ हजार नौ सय ७९ मत ल्याएको थियो।

राप्रपाका थापाले विगतमा निर्वाचन जितेर पनि मानन्धरले क्षेत्र ७ को समस्या समाधान गर्न नसकेकाले यहाँका जनताले अब विकल्प रोज्ने बताए। ‘हामीले हिजो भोट हालेका एमालेका उम्मेदवारले काम गर्न सकेनन्। त्यसैले यसपटक तपाईंलाई अवसर दिने हो भन्ने जनताको संख्या ठूलो छ', उनले भने।
मानन्धरले ०४९ सालदेखि ०५९ सम्म त्यस क्षेत्रमा वडाध्यक्षको रूपमा काम गरेका थिए। ‘म साझाजस्तै हुँ, हिजो लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा स“गै होमिएकाले यहाँका कतिपय इमानदार र पुराना कांग्रेसी साथीले मलाई भोट हाल्नुहुनेछ। उहाँहरूबाट मैले वचन पाइसकेको छु', मानन्धरले भने।

मानन्धरका मुद्दा
- पूरै क्षेत्रमा सडक र ढलको उचित व्यवस्थापन
- खानेपानीको समस्या समाधान, स्रोत व्यवस्थान
- स्वास्थ्य शिक्षाको विकास, अस्पताल निर्माण
- सुरक्षामा जोड, थप प्रहरीचौकी स्थापना
- धार्मिक र पर्यटकीय हब निर्माण
- बालाजु बाईसधारा पुनर्जीवन

थापाका मुद्दा
- क्षेत्रको समग्र विकासमा समर्पित हुने
- बाटो, खानेपानी समस्या समाधान
- स्वास्थ्य, शिक्षालगायत समस्या समाधान
- पर्यटकीय क्षेत्रको विकास र संरक्षण
- ढल व्यवस्थापन
- धार्मिक क्षेत्रको विकासमा जोड


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.