केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

सिन्धुपाल्चोक : प्रतिनिधिसभा सदस्य पदमा दुवै गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता प्रतिस्पर्धामा छन्। उनीहरूलाई साख जोगाउन धौधौ देखिएको छ। संविधानसभा निर्वाचनमा तीन क्षेत्र रहेको सिन्धुपाल्चोकमा यसपटक दुई क्षेत्र मात्र कायम भएकाले केन्द्रीय नेता नै आमनेसामने भएका हुन्। क्षेत्र नम्बर १ मा वर्तमान र पूर्वमन्त्री प्रतिस्पर्धामा छन्। लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटा प्रतिस्पर्धामा उत्रिएका छन्। साविकको क्षेत्र नम्बर १ का विजेता बस्नेत अनि २ का विजेता सापकोटा पहिलो पटक आमनेसामने भएका हुन्। साविकको क्षेत्र नम्बर १ मा २ को आधा भूभाग जोडिएको छ।

संविधानसभा निर्वाचनमा बस्नेतले एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र सापकोटाले एमालेकै सुभाष कर्माचार्यलाई पराजित गरेका थिए। यसपटक दुवै नेताले आआफूले जित्ने दाबी गरिरहेका छन्। कांग्रेसका मतदाता धेरै भएको र आफूले विगतमा गरेको कामका कारण जित सहज रहेको बस्नेतको दाबी छ। स्थानीय निर्वाचनमा आएको मतकै आधारमा पनि वाम गठबन्धनले सहजै जित्ने सापकोटानिकट एक नेताले बताए।

२०४८ सालपछि बस्नेत दुईपटक क्षेत्र नम्बर १ बाट निर्वाचित भए भने सापकोटाले शान्ति प्रक्रियापछि दुवै संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गरेका छन्। यो क्षेत्रबाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक गठबन्धनले उद्योग वाणिज्य महासंघका पूर्व र वर्तमान केन्द्रीय सदस्य विष्णुबहादुर खत्री र राजेन्द्रकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ। वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य नेपाल र जिविसका पूर्वसभापति सुरेश नेपाल प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा एक लाख १४ हजार तीन सय २३ मतदाता छन्।

क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभा निर्वाचनमा पराजित गर्ने शेरबहादुर तामाङसँग राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा चुनावी मैदानमा छन्। एमाले केन्द्रीय सदस्य तामाङ वाम गठबन्धनबाट र राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। वाम गठबन्धनको बलियो संगठन अनि कांग्रेसको साथ पाएका राणाको पुरानो साखले प्रतिस्पर्धालाई रोचक बनेको छ।

अघिल्लो पटकको हारको बदला लिने अवसरका रूपमा राणा चुनावी अभियानमा होमिएका छन् भने जितको यात्रा निरन्तर राख्ने योजनामा तामाङ देखिन्छन्। विगतमा क्षेत्र नम्बर ३ बाट राजनीति गरेका दुवैका लागि २ बाट गाभिएको क्षेत्र चुनौती देखिएको छ। स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिका कांग्रेस र चौतारा साँगाचोक गढी नगरपालिकाका यस क्षेत्रमा गाभिएका अधिकांश वडा एमाले र माओवादी केन्द्रले जितेका थिए।

कांग्रेसको मत र आफ्नो पुरानो साखले आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको राणाको भनाइ छ। अघिल्लो निर्वाचनमा आफू एक्लै लड्दा निकटतम प्रतिद्वन्द्वी बनेको उल्लेख गर्दै यसपटक कांग्रेससँगको सहकार्यले आफूलाई सहज बनाएको उनले बताए। वामपन्थीको मत तल-माथि नहुने भएकाले आफ्नो जित पक्का रहेको तामाङको दाबी छ।

२०२५ सालमा थुम्पाखर गाउँ पञ्चायतको उपप्रधानपञ्चबाट राजनीतिक यात्रा थालेका राणा दसौं पटक चुनावी प्रतिस्पर्धामा छन्। चारपटक राष्टिय पञ्चायत सदस्य जितेका राणाले २०४८, ५१ र ५६ मा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा तामाङसँगै प्रतिस्पर्धा गरेका राणा तेस्रो भएका थिए। दोस्रो संविधानसभामा उनले दोस्रो स्थान हासिल गरेका थिए।

विद्यार्थी, युवा संघ हुँदै एमाले केन्द्रीय राजनीतिमा प्रवेश गरेका तामाङ चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। २०५६ सालमा तत्कालीन मालेबाट प्रतिनिधिसभा सदस्यमा तामाङले उम्मेदवारी दिएका थिए। २०६४ सालको संविधानसभामा माओवादीका दावा तामाङसँग पराजित उनी २०७० मा राणालाई हराउँदै विजय भएका थिए।

यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका विकास तामाङ र निमा लामा अनि वाम गठबन्धनबाट माओवादी केन्द्रका युवराज दुलाल र दावा तामाङ प्रदेशसभा सदस्य उम्मेदवार छन्। यस क्षेत्रमा एक लाख १२ हजार एक सय ९२ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.