मालाको अराजनीति

मालाको अराजनीति

टाउकै छोपिने गरी मालाले पुरिएका उम्मेदवारले हात जोर्दै मतदातासमक्ष भोट मागेकोे र उसलाई पछ्याउने भरियाले थुन्चेभरि फूल बोकेर हिँड्दै गरेको राजेश केसीको कार्टुनको व्यंग्यात्मक सन्देश जति चोटिलो छ, उत्तिकै नसुहाउँदो छ ग्रामीण बस्तीमा भोट माग्न पुगेका नेताले ज्यानै थिचिने गरी माला लगाएका तस्बिर । फूलमाला पूर्वीय संस्कृतिको अभिन्न अंग हो । खुसी, सुख, समृद्धि, सम्पन्नता र उर्वरताको प्रतीक हो फूल । मान्यजन हुन् या कुनै उपलब्धि हासिल गरेका मानिस हुन्, माला र फूल लगाइदिँदाको शोभा छुट्टै हुन्छ ।

त्यस अर्थमा चुनावको मुखमा घरदैलोमा भोट माग्न आएका नेतागणलाई विजयको कामना गर्दै कार्यकर्ता र शुभेच्छुकले माला लगाइदिनुलाई अन्यथा नमानिनुपर्ने हो, तर राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकिएको आजको दिनमा डोकाका डोका माला खपत हुने गरी चुनावी कार्यक्रम खर्चिलो बनाइनु, चुनावमा आफू, आफ्नो पार्टी र एजेन्डाले जित्नुपूर्व नै मालाले पुरिएर ‘राजसी ठाँट’ देखाउनु उति शोभनीय होइन ।

पहिले प्रायः राजा-महाराजा, ठूलाठालू, विद्वान्-पण्डितका घाँटीमा सजिने मालालाई माओवादीले शान्ति प्रक्रियामा आएपछि बढ्ता प्राथमिकता दियो । अरू दलका नेताभन्दा भिन्न देखिन खोज्ने त्यो अभ्यास विपक्षी नेताहरूका लागि लघुताभासको विषय बन्न पुग्यो । त्यसयता अन्य दलका नेता र सामाजिक संस्था र अभियानका व्यक्तिले पनि यो या त्यो अवसरमा नेतालाई फूलका मालाले पुरिदिने गरेका छन् । विभिन्न पर्यटन र सांस्कृतिक महोत्सवमा ‘यति किलोको माला लगाइयो’ भन्ने समाचार आउने गरेका छन् ।

दाहालकै शैली पछ्याउँदै अरू नेताहरू पनि माला अभियानमा सामेल भए । प्रधानमन्त्री चुनिएपछि एमाले अध्यक्ष केपी ओलीले आफ्नो उमेरको संकेत गर्ने गरी ६४ किलोको माला लगाए । प्रधानमन्त्री भएताका एमाले वरिष्ठ नेता झलनाथ खनालले ४१ किलोको माला लगाएका थिए । शेरबहादुर देउवाले पनि सुदूरपश्चिम महोत्सव उद्घाटनमा २१ किलोको माला लगाए । राजपा नेता राजेन्द्र महतोले प्रेस मन्चको उद्घाटन गर्ने कार्यक्रममा एक सय २५ किलोको माला लगाए । एमाओवादीकै प्रभु साहले ५१ किलोको माला लगाए ।

कांग्रेस नेता दीपक गिरी, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख सुवास नेम्वाङलगायत धेरैले यस्ता गहुँ्रगा माला लगाएका छन् । सम्भवतः सोही कारण होला, एउटा हास्यव्यंग्य संस्थाले एक व्यंग्य लेखकलाई १०८ किलोको माला लगाइदिएको थियो । आउँदो प्रतिनिधिसभामा रामेछापमा कांग्रेसका उम्मेदवार बनेका पूर्णबहादुर तामाङलाई गाउँलेले ८५ किलोको माला लगाइदिए । समाचारमा आएका यी मालाका अलावा देशभर उम्मेदवार मात्रै होइन, प्रचारकले पनि माला लगाएका तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छन् । उसो त भ्रष्टाचारजन्य तथा फौजदारी मुद्दामा जेल परेर बाहिर निस्केकाहरूलाई पनि तिनका समर्थकले ढाडै भाँचिने गरी फूलमालाले पुरिदिएका दृश्य आम नागरिकले देखेकै हुन् ।

फूलमाला लगाउनुपूर्व राजनीतिज्ञहरूले फूलको अर्थराजनीति, त्यसको अर्थ र सदुपयोगबारे बुझ्न जरुरी छ । तिहारको समयमा नेपालमा ५० लाख मूल्यबराबरको फूल भारतबाट भित्रिने गरेकोबाट फूलमा समेत नेपाल स्वावलम्बी नरहेको देखिन्छ । फूलको जुन विम्ब र शोभा छ, राजनीतिक मञ्चमा बारम्बारको त्यसको प्रयोगले त्यो भत्किन पनि सक्छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नोमिनेसन गर्दा र उम्मेदवार हुँदा मात्रै यसको अधिप्रयोग गरिएबाट भोलि चुनाव जितेपछि र प्रधानमन्त्री अथवा राष्ट्रपति चुनिने अवस्थामा त्यसको कति प्रयोग गर्ने भन्ने प्रश्न पनि आउला नै ।

यस सन्दर्भमा केही युवा नेताहरूले मालाको सट्टा सामान्य शैलीमा प्रस्तुत हुने गरेका दृष्टान्तबाट सिक्न सकिन्छ । ती नेताहरू चुनावी प्रचारमा जाँदा फूलमा पनि प्रशस्त पैसा खर्च हुन्छ भन्दै फूलका माला लगाउनेका भीडमा पनि एक्लै माला नलगाई उभिने गरेका छन् । संस्कार र सभ्यताको मानक स्थापित गर्ने यस्ता प्रयासलाई ध्यान दिऔं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.