स्कुटरवाली
पुरुषले पनि स्कुटर हाँक्छन् तर आमरूपमा यसलाई महिलाको सवारीसाधन मानिन्छ । मोटरसाइकलको तुलनामा महिला स्कुटर चलाउन सहज ठान्छन् । पुरुष मोटरसाइकल–चालकको हेपाइले कहिलेकाहीँ स्कुटरवाली हैरान हुन्छन् । स्कुटरवालीहरूको भनाइ छ, ‘अलि स्मार्ट भएर त हिँड्नै हुँदैन । जिब्रो पड्काउने, जिस्क्याउने गर्छन् । ट्रक, ट्रिपर र ठूला गाडीले पनि हर्न बजाएर हैरान पार्छन् ।’ विनीता मरहट्टाले शैलीका लागि केही स्कुटरवालीका तीता–मीठा अनुभव समेटेकी छिन् ।
प्रतिमा कार्की, मोडल
केही दिनअघि मात्र स्कुटरमा काठमाडौंदेखि बनेपा जाँदै थिएँ । स्कुटरमा दिदी र म दुईजना थियौं, त्यसैले गति कम थियो । १५ मिनेटपछि एउटा मोटरसाइकलले पछ्याइरहेको चाल पाएँ । मोटरसाइकलमा दुईजना पुरुष थिए । कहिले विस्तारै चलाउँथे, कहिले बेस्सरी बत्ताएर अगाडि गएर पर्खिन्थे । हामी दुवै जनालाई एकदम दिक्क लागिसकेको थियो । एकछिन त उनीहरूले जिस्क्याइरहेको थाहा नपाएझैं गर्र्यौं ।
स्कुटर चलाउन मभन्दा दिदी बढी अनुभवी हुनुहुन्थ्यो । उहाँले स्कुटर चलाउँछु भन्नुभयो । तीव्र गतिमा कुदाएर ती पुरुषको मोटरसाइकलसम्म पुर्याउनुभयो र बेस्सरी गाली गर्नुभयो ।
आफ्नो बाटो हिँड्दा पनि महिलालाई किन यस्तो गरिन्छ ? अलि स्मार्ट भएर त हिँड्नै हुँदैन । जिब्रो पड्काउने, जिस्क्याउने गर्छन् । ट्रक, ट्रिपर र ठूला गाडीले हर्न बजाएर हैरान पार्छन् । स्कुटर चलाएर हामीले कुनै नौलो काम गरेका होइनौं । जसरी पुरुषले आफ्नो सवारीसाधन चलाउँछन्, त्यसरी नै हामीले पनि आफ्नो सवारीसाधन चलाएका हौं । यसमा अनौठो मान्नुपर्ने वा जिस्क्याउनु पर्ने के नै छ र ? महिलालाई मात्र किन यस्तो व्यवहार गरिएको होला जस्तो लाग्छ ।
नम्रता केसी, नृत्यांगना
मलेखुबाट काठमाडौं आउँदै थियौं । स्कुटरमा पछाडि मेरो श्रीमान् हुनुहुन्थ्यो । उहाँले ध्यान दिएर चलाऊ है भन्दै हुनुहुन्थ्यो । राम्रैसँग चलाइराथेँ । एउटा घुम्तीमा अर्को तर्फबाट आएको ठूलो गाडीले हिर्कायो । हामी लड्यौं । धन्न ठूलो चोट लागेन । स्कुटरको एक छेउमा मात्र लागेको भएर बाँच्यौं । ह्यान्डिल भाँचियो, लुकिङ ग्लास पनि फुट्यो । यो एउटा डरलाग्दो अनुभव थियो । ठूलोले सानोलाई हेप्ने प्रवृत्तिको एउटा उदाहरण यही हो । गाडीले स्कुटरलाई धेरै नै हेप्छन् ।
स्कुटरले रमाइलो अनुभव पनि दिएको छ । एक दिन एउटा कार्यक्रममा जानुपर्ने थियो । साथीको घर गएर तयार हुने योजना थियो । म चाहिँ घर बस्दा लगाइरहेको लुगामै निस्किएँ । गार्डेन अफ ड्रिम नजिक पुगेर अचानक स्कुटर बन्द भयो । सेल्फ स्टार्ट नै भएन । बाटोको बीचमा बसेर किक हान्दा सबैले आफैंलाई हेरेजस्तो लाग्यो । लुगा पनि त्यस्तै लगाएको बेला बाटोमा यसरी रोकिनुपर्दा अप्ठेरो जस्तो लागिरहेको थियो । अहिले सम्झिँदा पनि उत्तिकै हाँसो लाग्छ ।
सुमित्रा श्रेष्ठ, कर्मचारी, जिविस चितवन
नाकाबन्दीको बेला धेरै फरक अनुभूति गर्न पाइयो । एक दिन भक्तपुरबाट सतुंगल जान निस्केकी थिएँ । बाटोमा झोलाभरि साग बोकेकी बूढीआमाले लिफ्ट माग्नुभयो । लोकन्थली आइपुगेर स्कुटरबाट झरेपछि ती आमैले दुई हात जोडेर झुकेर धन्यवाद दिनुभयो । उहाँको त्यो भावुकताले आनन्दित बनाएको थियो । वर्षौंदेखि स्कुटर चलाए पनि यसरी कसैको सेवा गर्ने मौका मिलेको थिएन।
उहाँको आशीर्वादले दिएको खुसी अविस्मरणीय छ । स्कुटरको यात्रामा रमाइला अनुभव त अवश्य सँगालिन्छ । स्कुटर चलाउन थालेको आठ वर्ष भइसकेको थियो । आफ्नै दिदीको लागि नयाँ स्कुटर हेरिदिन शो रुम जानुपर्ने भयो । उहाँले मलाई जान्ने सुन्ने भनेर स्कुटर छान्न सँगै लानुभएको थियो । आफ्नो पुरानो स्कुटर चलाइरहेको बानी, त्यस्तै सोचेर नयाँ स्कुटर टेस्ट गर्न खोज्दा एक्सिलेटर स्वाट्टै घुमाएछु । शोरुमबाट करिब सय मिटर जति टाढा हाइवेमा एकैचोटि पुगेछु । शोरुमका स्टाफहरू आएर एकजनाले हातबाट एक्सिलेटर छुटाए, अर्कोले स्कुटरको पछाडि समाएर रोके । जान्ने भनेर स्कुटर छान्न गएको मान्छे कहिल्यै स्कुटर नै नछोएको जस्तो पो भएँ ।
रोजिना खड्का विष्ट, कर्मचारी, टिचिङ हस्पिटल
केही सातापहिले मात्र सामान्य तर रमाइलो अनुभव भयो । कुमारीपाटीबाट टिचिङ हस्पिटल जाँदै थिएँ । एउटा आर वन फाइभ मोटरसाइकलले पछ्याइरहेको थियो । मैले उसलाई साइड दिएँ । मोटरसाइकल अगाडि गयो । त्यसको पछाडि ‘मम सेज ड्राइभ स्लो’ लेखिएको थियो । त्यो देखेर मलाई बेस्सरी हाँसो लाग्यो । मेरो मामुले मलाई त्यस्तै भन्नुहुन्थ्यो । त्यो दिन मास्क लगाएकी थिइनँ । म हाँसेको उसले पनि देख्यो र हाँस्यो । कहिले म अघि, कहिले ऊ अघि गर्दै टिचिङसम्म पुग्थ्यैाँ। त्यहाँ पुगेपछि मैले नै साइड छोडिदिएँ । ऊ अगाडि गयो । म आफ्नो कार्यालयतिर लागेँ।
रानी श्री पौडेल, विद्यार्थी
साइकल पनि चलाउन नजान्ने मैले स्कुटर चलाउनु ठूलो कुरा थियो । पहिले त स्कुटरमा पछाडि बस्न पनि डर लाग्थ्यो । बल्लबल्ल स्कुटर चलाउन सिकेर बाहिर निस्कँदा कति पटक हेल्मेट नै नलगाई हिँडेकी छु । बाटोमा पुगेर हेल्मेट लिन फर्किंदा आमाले भन्नुहुन्थ्यो, ‘तैंले कहिल्यै स्कुटर चलाउन सक्दिनस् ।’ पहिला आपूm स्कुटरको पछडि सिटमा बस्न डर लागेजस्तै अहिले अरूलाई राख्न डर लाग्छ । दिदीलाई भने सजिलै राखेर काठमाडौं सहर डुलाउन लैजान्छु । बाटोमा सधैं गीत गाउँदै फिल्मी डायलग बोल्दै हिँड्छौं । कहिलेकाहीँ छेउछाउका मान्छे उनीहरूसँगै बोलेजस्तो गरेर अचम्म मान्छन् ।
एक पटक घरमा नभनी बाहिर गयौं । ड्याडीले फोन गरेर ‘पाँच मिनेटमा घर आइपुग्नु’ भन्नुभयो । खानेकुरा बनिसकेको थियो । त्यसलाई प्याक गरेर घर हिँड्यौं । पछाडि सिटमा बस्नुभएको दिदीले मलाई खुवाउँदै आफू पनि खाँदै गर्दा हामी घर पुग्यौं । समयमा घर पनि पुगियो, स्वादिलो खाने कुरा गुमाउनु पनि परेन । यो स्कुटरकै कारण सम्भव भयो ।