ग्याङ अफ फाइभ
‘च्याङ्वा है च्याङ्वा
डम्फुले आज क्या भन्छ
जाम, कता जाम, जाम...’
कुनै समय नेपाली जिब्रोमै झुन्डिएर विस्मृतिमा पुगिसकेको यो गीत फेरि उसैगरी चर्चित भयो लामो समयपछि । डीजे राजुले एकदमै फरक टोन र नयाँ बाजाहरूको प्रयोगमा उस्तै मेलोडीमा ‘रिमिक्स’ गरेपछि यो गीत पुनः जीवन्त भएको छ । त्यसपछि सहरका सांगीतिक जमघटहरूमा यो गीत छुटेको पाइँदैन ।
‘रिमिक्स’ मेलोडीमा तन्नेरीहरूले कम्मर मकार्उन थालेको धेरै भइसकेको छ । रिमिक्सकै प्रचलनलाई नियाल्ने हो भने त प्रश्न उठ्नसक्छ कुन रिमिक्स हो र कुन होइन । र्यापसहित मल्टिपल इन्स्ट्र्मेन्टहरूको प्रयोगमा पुरानो मेलोडी पस्किने विधिलाई रिमिक्स मान्ने हो भने पनि नेपाली संगीतमा त्यसको इतिहास कम्तीमा डेढ दशकभन्दा बढी हुन पुग्छ ।
रिमिक्सका विभिन्न तरिका छन् । तीमध्ये एक हो— ईडीएम (इलेक्ट्रोनिक्स डान्स म्युजिक) । विभिन्न जमघट, पार्टीहरूमा डिजिटल म्युजिकसँग मिक्स गरेर प्रस्तुत गर्ने विधि हो ईडीएम । यो बनाउने काम डीजेले गर्छन् ।
केही समययता नेपाली म्युजिक क्षेत्रमा निकै चल्तीमा आएको शब्द हो- डीजे । काठमाडौंलगायत सहरी क्षेत्रमा डीजे-एकेडेमीहरू प्रशस्तै खुलेका छन् । यी म्युजिक ‘स्कुल’को मुख्य उद्देश्य डीजे उत्पादन गर्नु हो । एकेडेमीमा म्युजिक सिक्न आउनेको संख्या उल्लेख्य छ । ०७२ देखि शान्तिनगरस्थित ‘स्पार्क डीजे एकेडेमी’ चलाइरहेका सौजन सुवेदी भन्छन्, ‘इडियम सिक्न आउनेको संख्या अहिले बढेको छ । ७÷८ कक्षा पढ्ने विद्यार्थी पनि म्युजिक सिक्न आउँछन् ।’
सुवेदी आफैं पनि डीजे हुन् । ‘डीजे डेविल’ भनेर चिनिने उनी सन् ०१२ देखि यही क्षेत्रमा छन् । सुरुमा उनले बुम एकेडेमीमा म्युजिकको अभ्यास गरेका थिए । लगभग दुई महिना म्युजिक सिकेपछि उनले यो क्षेत्रबारे धेरथोर थाहा पाए । ‘डिजेइङ’ गरेका गीतले उनलाई आनन्द दिन्छ । कहिलेकाहीँ त उनी यस्ता गीत घन्टौंसम्म सुनिरहन्छन् । डीजेहरूले गीतलाई तोडमोड गरेर फरक स्वादमा श्रोता÷दर्शसम्म पुर्याउनसक्ने बताउँछन्, उनी । भन्छन्, ‘सेन्टिमेन्टल गीतसमेत हामी नाच्न उपयुक्त हुने बनाइदिन्छौं ।’ डिजेइङ गरिएका गीतमा म्युजिक थपिनुका साथै नयाँ गीतसमेत जोडिन्छ । कुनै बेला त गीत नै ओल्टेपाल्टे हुन्छ ।
सुवेदीजस्तै अर्का डीजे हुन्- प्रतीक भट्टराई (डीजे ट्रिक्स्टर) । लगभग तीन वर्षदेखि उनी विभिन्न कार्यक्रममा डीजे भएर उभिएका छन् । कहिले क्लबमा त कहिले सार्वजनिक कार्यक्रममा उनी सहभागी हुन्छन् । यस क्षेत्रमा लागेर जिन्दगीमा नयाँ योग्यता थपिएको अनुभूति हुन्छ उनलाई । मास्टर्स पढ्दै गरेका भट्टराई म्युजिकका पारखी हुन् । त्यसैले त शिक्षकले पढाउँदै गर्दा उनी प्रायः डिजेइङमा नयाँ ‘टेक्निक्स’ सोच्दै हुन्छन् । दिउँसोभरि काममा जान्छन् । थकाइ लागे पनि बेलुका म्युजिक अभ्यास गर्न शान्तिनगरस्थित स्पार्क एकेडेमीमा पुगेकै हुन्छन् । ‘डीजेमा जति अभ्यास गर्यो, उति खारिने हो’, उनले भने, ‘यसमा कल्पनाशीलताको पनि खुबै जरुरी हुन्छ ।’
रहरको पछिपछि
डीजे बन्नु तन्नेरी पुस्ताको एउटा रहर हुनसक्छ । हाल नरदेवी बसिरहेका अमित वैद्य (डीजे टाइसी)ले डिजेइङ गर्न थालेको लगभग तीन वर्ष भयो । उनलाई चल्तीका अन्य गीतभन्दा डिजेइङ गरेका गीत मन पथ्र्यो, सानैदेखि । कार्यक्रममा जाँदा यस्ता गीत बजेको सुन्थे । डीजे बनेर म्युजिकसँग खेल्ने उनको रहर त पुरानै होे । त्यसैले समय मिलाएरै भए पनि उनी म्युजिकको अभ्यास गर्न एकेडेमी पुग्थे । अहिले उनी विभिन्न कार्यक्रममा डीजे भएर उपस्थित हुन्छन् । डिसेम्बरमा हुने ब्याटल अफ डीजेमा उनको पनि उपस्थिति देखिनेछ । पूर्ण रूपमा यसै क्षेत्रमा लागेका वैद्यलाई भविष्यमा राम्रो डीजे बन्ने धोको छ । भन्छन्, ‘अहिले यो क्षेत्र राम्रो हुँदै आएको छ । मान्छेहरूले पनि विस्तारै बुझ्न थालेका छन् ।’
डीजेहरूले दुइटा गीत एकैपटक बजाइरहेका हुन्छन् । एउटा दर्शकले सुन्छ, अर्को डीजेले मात्र हेडसेटमा सुन्छ । बाहिर बजिरहेको गीतमा डीजेले आफूले मात्र सुनिरहेको गीत मिसाइदिन्छ । जुन कुरा दर्शक÷ श्रोताले थाहै पाउँदैनन् ।
यस्ता सिर्जनशील काम मानिसले रहरमै गर्ने हुन् । बाध्यतामा सिर्जनशीलता हराउँछ सायद । सुवेदी रहरैरहरमा यसमा लागे । सुरुमा परिवारले डीजे बन्नु सट्टा अन्य कुनै राम्रो जागिर खान सुझाएका थिए । तर, मान्छेको ‘प्यासन’ त्यत्तिकै कहाँ छुट्थ्यो र ! अरूको कुरा सुनेनन् । यसैमा लागिरहे । पछिपछि उनको म्युजिकप्रतिको लगाव देखेर घरबाट पनि सहयोग हुन थाल्यो ।
भविष्यमा डीजे र प्रोड्युसर दुवै बन्ने इच्छा बोकेका सुवेदीलाई लाग्छ, ‘अहिले यसको भविष्य राम्रो हुँदै गएको छ ।’ केही समय अघिसम्म ‘डीजे’को अर्थ धेरैले बुझेका थिएनन् । समय फेरियो । समयसँगै मानिसका विचार पनि फेरिँदै गए । सहरमा नयाँनयाँ प्रविधि भित्रिएसँगै नयाँ पुस्ता ती प्रविधिसँग अभ्यस्त बन्दैछन् । सुवेदी पनि यसबाट टाढा रहन सकेनन् । उनी अहिले विभिन्न क्लबदेखि कार्यक्रमसम्म डीजे भएर पुग्छन् । नेपालका प्रायः सहरमा उनी डिजेइङ गर्न पुगेका छन्, दर्शकलाई मनोरञ्जनमा झुमाएका छन् । डिजेइङ गर्नु एउटा टेक्निक हो । ‘डिजहरूले दुइटा गीत एकैपटक बजाइरहेका हुन्छन् । एउटा दर्शकले सुन्छन् भने अर्को डीजेले मात्र हेडसेटमा सुन्छ’, उनले भने, ‘बाहिर बजिरहेको गीतमा डीजेले आफूले मात्र सुनिरहेको गीत मिसाइदिन्छ । जुन कुरा दर्शक÷ श्रोताले थाहै पाउँदैनन् ।’
डिजेइङको आकर्षक कुरा भनेकै म्युजिकभित्र खेलिने टेक्निक हो । त्यसैले पनि यसमा लाग्नेहरू बढिरहेकै छन् । यहाँ थरीथरीका जुक्ति अपनाएर मोबाइल गेम खेलेजस्तै म्युजिक वा शब्दसँग खेलिन्छ । धेरैले यो तरिकालाई मन पराउँछन्, केहीलाई मन पर्दैन । जे होस्, कार्यक्रममा दर्शक उफार्न र मनोरञ्जन दिन डीजेको भूमिका उल्लेख्य हुन्छ ।
नेपालमै पहिलो...
नेपालमा डीजेको संख्या बढिरहँदा पनि यससम्बन्धी प्रतियोगिता भएको सुनिँदैन । कहिलेकाहीँ क्लबहरूले दर्शकलाई मनोरञ्जन दिन डीजेसहितका कार्यक्रम सञ्चालन गर्छन् । तर, यसलाई लिएर ठूल्ठूला ‘शो’ भएको देखिँदैन । यसपालि माहोल अलि बेग्लै छ । यही १६ मंसिरमा नेपाल र गोवाबीच दरबारमार्गस्थित देजाबु क्लबमा डीजे कम्पिटिसन हुँदैछ । यसमा नेपालबाट पाँचजनाले भाग लिएका छन् । कार्यक्रममा डीजे डेभिल, ट्रिक्स्टर, जे वाउ, टाइसी, इभिल सहभागी हुँदैछन् ।
‘क्रियटो ए टु जेड’ले आयोजना गर्ने उक्त कार्यक्रम एक दिनको हुनेछ । ‘यो नेपालको पहिलो ब्याटल अफ डीजे हो’, कार्यक्रमका आयोजक सायर क्षेत्री भन्छन्, ‘विदेशमा यस्ता कार्यक्रम भइरहे पनि हाम्रोमा भएको थिएन । अब सुरु भयो ।’ कार्यक्रमका लागि झन्डै साठी लाखदेखि एक करोड रुपैयाँ खर्च हुने उनको अनुमान छ ।
नेपालबाट भाग लिएकामध्ये तिनै एक पात्र हुन्- भट्टराई । यसका लागि हिजोआज उनको मेहनत बढेको छ । अचेल प्रायः उनी एकेडेमीतिरै हुन्छन् । दिउँसोभरि विभिन्न अभ्यास गर्छन्, नयाँ टेक्निक प्रयोग गर्छन् । कार्यक्रमकै लागि दैनिक तीन घन्टा अभ्यासमै खर्चिरहेका छन् । त्यसो त अघिपछि अभ्यास गर्थे, विभिन्न कार्यक्रमा हिँड्थे । महिनाको दुईतीनवटा कार्यक्रममा उनको सहभागिता हुन्थ्यो । यो अरू पनि देशका प्रतिस्पर्धीसँग पहिलोपटक नेपालमै हुने भएकाले विशेष रहने उनले बताए । उक्त कार्यक्रममा बिट म्याचिङ, मिक्सिङ, वर्ड प्ले, स्क्राचिङ जस्ता थुप्रै क्षमता देखाउनुपर्ने उनले बताए।
भट्टराईजस्तै व्यस्त छिन्, जोस्लिन राई (डीजे जे वाउ) । कार्यक्रम नजिकिँदै गर्दा आफूहरू कसरी राम्रोसँग प्रस्तुत हुने भन्ने कुराले उनी नियमित अभ्यासरत छिन् । कार्यक्रम फगत मनोरञ्जनात्मक मात्र नहुने, बरु प्रतिस्पर्धा हुने भएकाले धेरै मेहनत गरिरहनु परेको उनको भनाइ छ । क्लास नै लिएर यो क्षेत्रमा हात हालेको भर्खरै पाँच महिना भयो राईको । यो बीचमा उनले धेरै कार्यक्रममा सहभागिता जनाइसकेकी छन् ।
डीजेको कमाल
बनिसकेका गीतलाई विभिन्न टेक्निक प्रयोग गरेर नयाँ स्वादमा पस्किने काम गर्छन् डीजेहरूले । उनीहरूको काम भनेकै टेक्निकहरूमा खेल्ने हो । यसमा ‘बेसलाइन’, ‘की’ जस्ता कुराहरू मिलाउनुपर्छ । कतिपय अवस्थामा दुई गीतलाई जोड्नुपर्छ । यसरी जोड्दा गीतको शब्दहरू मिसिनु हुँदैन । एउटा सकिने बित्तिकै अर्को सुरु हुनु पर्यो, बजिरहेको गीतको शब्दबाटै अर्को गीत पनि बज्नु पर्यो । मानौं, कुनै गीत ‘जुध्नु भएन’मा गएर टुंगिन्छ भने डीजेका काम गीतलाई रोकिन नदिन ‘जुध्नु भएन’ भन्ने शब्दबाट अर्को गीत सुरु गरिन्छ ।
पछिल्लो समय सांस्कृतिक कार्यक्रमहरूमा यस्ता गीतहरू सुन्न पाइन्छ । डीजेहरूले दर्शकहरूलाई झुमाउन गीतमाथि विभिन्न प्रयोग गरिरहेका हुन्छन् । भट्टराई भन्छन्, ‘गीतको बीचबीचमा ‘इफेक्ट’ खेलाउनेदेखि गीतमा ‘हटक्यु’ राखेर खेलाउनुपर्छ ।’ बिट म्याचिङ, ड्रपिङ वान, मिक्सिङ, वर्ड प्लेजस्ता कुरा यसभित्र आउँछन् । राई भन्छिन्, ‘डीजेको क्षमता नै यही हो । दुइटा फरक स्लो गीत र फास्ट गीतलाई पनि उस्तै बनाएर हामी लगातार एउटै गीत जसरी बजाइदिन सक्छौं ।’
गीतमा डीजेहरूले कहिलेकाहीँ ड्रमजस्ता म्युजिक पनि थपिदिन्छन् । रमाइलो वातावरण छ भने त्यहाँ मान्छेहरूलाई थप मनोरञ्जन दिन उनीहरूले अनेक हत्कण्डा अपनाउँछन् । विशेषगरी क्लबहरूमा यस्तो दृश्य देखिन्छ । मोबाइलमा भएका गीत बजाउनु आजको पुस्तालाई कुनै नौलो कुरै भएन । त्यसो भए सामान्य मान्छे र डीजेबीच के फरक भयो त ? डीजेहरू गीत बजाउने मात्र नभएर गीतभित्रै स्वाद थप्ने पनि काम गर्छन् । राई भन्छिन्, ‘एउटा सामान्य गीत चार मिनेटको हुन्छ । तर, यो चार मिनेटभित्र हामी नरोकिईकन थुप्रै गीत बजाइदिन सक्छौं ।’ डीजेहरू नरोकिईकनै लगातार गीत बजाएर दर्शकलाई झुमाउन सक्छन् ।
यसरी डिजेइङ गर्दा पुस्ताअनुसार गीतलाई परिवर्तन गर्न सकिन्छ । शब्द भने उही नै रहन्छ । एउटै गीतलाई नयाँनयाँ तरिकाले प्रस्तुत गर्नु डीजेहरूको शैली हो । यसमा सिर्जनशीलता र भावनाको भरपूर प्रयोग हुने बताउँछन् वैद्य ।