रेस्लिङ : इन्जुरी एन्ड इमोसन
इटहरी : टेलिभिजनमा हेर्ने गरेको रेस्लिङ आँखैअगाडि देख्दा इटहरीका सुमन केसीले पहिले त विश्वासै गर्न सकेनन् । ‘नाटक हो कि जस्तो लाग्थ्यो,’ टेलिभिजन र सिनेमामा विभिन्न इफेक्टहरूको प्रयोग हुने सुनेका उनले भने, ‘तर एउटा फाइटमा त कुर्सी भाँच्चियो, खेलाडीको रगत नै आयो, साँच्चैको फाइट हुँदो रहेछ ।’
इटहरीकी सरिता भण्डारीको लागि रेस्लिङ खासै चासोको खेल होइन । ‘तर निकै रमाइलो लाग्यो,’ फाइट देख्दा बीचबीचमा तर्सिएको बताउने उनले भनिन्, ‘बीचबीचमा संगीत र म्युजिकले फिल्म नै हेरेजस्तो लाग्यो ।’
सोमबार इटहरीमा पूर्वमै पहिलोपटक रेस्लिङ आयोजना गरिएको थियो । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ टुर्नामेन्टमा नेपाल, भारत, हङकङ, अमेरिकालगायत विभिन्न देशका खेलाडीहरू सहभागी थिए ।
राजधानीबाहिर पूर्वमा पहिलोपटक रेस्लिङ खेल्दा दर्शक जति उत्साहित थिए, खेलाडीहरू पनि उत्ति नै रोमाञ्चित थिए । खेलाडीबीच कुटाकुट हुँदा दर्शकको अनुहारको भावभंगी पनि असहज देखिन्थ्योे । झन् एकले अर्कोलाई उचालेर पछार्दा दर्शक चर्को हुटिङ गर्थे । ‘विदेशमा जस्तै यहाँ पनि चर्को हुटिङ र म्युजिकले खेललाई आकर्षक बनायो,’ रेस्लर डेबिट भन्छन् ।
भारतबाट आएका रेस्लर मनीष राजपुत त झन् भारतभन्दा नेपालमा रेलिस्ङको चार्म बढी रहेको बताउँछन् । ‘भारतमा वास्तै हुँदैन,’ उनले भने, ‘नेपालका दर्शकमा धेरै उत्साह देखेँ ।’
रेलिस्ङ अर्थात् इन्जुरी
रेलिस्ङ हेर्दा कुस्तीको परिष्कृत रूप हो कि भन्ने लाग्छ । तर कुस्तीभन्दा रेस्लिङ फरक हुन्छ । रेस्लिङमा बक्सिङ, कराँते, तेक्वान्दो, कुस्ती सबै खेलका सीपहरूको मि श्रण हुन्छ । त्यसैले जुनसुकै खेल खेल्ने मानिसले पनि केही महिनाको अभ्यासपछि रेस्लिङ सिक्न सक्छ । तर सीप विकास गर्न, शरीर मजबुत बनाउन र राम्रो खेल देखाउन भने समय लाग्छ । किनकि यो खेल घाइते बनाउने खेल हो ।
‘रेस्लिङ भनेकै इन्जुरी हो,’ नेपालका चर्चित रेसलर नुवाकोटे टाइगर भन्छन्, ‘हड्डी नै भाँच्चियो भने चाहिँ समस्या हुन्छ, तर अरु सामान्य समस्याहरू त आइरहन्छन् ।’
हेर्नेलाई लाग्छ, रेस्लरहरू नाटक गरिरहेका छन् । तर अभ्यासको क्रममा पनि उनीहरू घाइते भइरहन्छन् । हड्डी भाँच्चियो भने झन् समस्या पर्छन् । रेस्लरहरूका अनुसार उनीहरूको छाला नै मरिसकेको हुन्छ, त्यसैले चोट खप्न सक्छन् । तर १५ सय एमजी ब्रुफिन खाएर खेलेको पीडा कसले बुझिदिने ? नेपाली रेस्लरहरूको अनुभव ।
यही साता भएको खेलका क्रममा टाइगरको ढाडमा चोट लाग्यो । हङकङका युरासियन ड्रागनसँग भिडिरहेका उनी रिङ बाहिर आएपछि बाहिर बसिरहेका अमेरिकाका प्रो रेस्लरले प्रहार गरेको बैसाखीबाट उनलाई चोट लाग्यो । अघिल्लो प्रतियोगितामा टाइगरले प्रो रेसलरको खुट्टा भाँचिदिएका थिए । ‘म आफैं पटक-पटक फ्याक्चर भएर महिनौं रेस्टमा बसेको छु,’ टाइगर भन्छन् ।
३८ वर्षीय रेस्लर सूर्यबहादुर गुरुङ (ठाकु) अभ्यासको क्रममा पनि घाइते भइरहने बताउँछन् । ‘हाम्रो छाला नै मरिसकेको हुन्छ, घाइते हुने र खेल्ने क्रम चलिरहन्छ ।’ हड्डी भाँच्चियो भने चाहिँ अलि समस्या हुने बताउँदै उनले थपे, ‘यो पटक १५ सय एमजी ब्रुफिन बिहान, बेलुका खाएर र मसाज गरेर खेलेको हुँ ।’
भारतका मनीष राजपुत टाइगर र ठाकुको भनाइमा सहमत छन् । ‘इन्जुरी भइरहन्छ, तर धैर्य चाहिन्छ,’ उनी भन्छन्, ‘तर घाइते भएपछि राम्रो केयर चाहिन्छ ।’ उनी विगत सात वर्षदेखि रेस्लिङसँग आबद्ध छन् । अहिले अरूलाई रेस्लिङ सिकाउँछन् ।
इमोसनल इभेन्ट
नेपालमा रेस्लिङको क्रेज निकै अघिदेखिको हो । विदेशी स्पोर्ट्स च्यानलसँगै नेपालमा पनि रेस्लिङ हेर्ने दर्शक बढेका हुन् । टेलिभिजनमा देखाइने खेलले दर्शकमात्र होइन, खेलाडी पनि बने । प्रायः धेरै खेलाडीहरू टीभीमा देखेपछि रहरले कुत्कुत्याएर खेलाडी बनेका छन् ।
विगत दुई वर्षदेखि रेस्लिङ खेल्दै आएका ललितपुरका डेबिटले रहरैरहरमा नुवाकोटे टाइगरलाई भेटे । टाइगर नेपालका लोकप्रिय रेस्लर हुन् । तिनैसँग प्रशिक्षण लिइरहेका उनले अहिले प्रतियोगिता खेल्न थालेका छन् । अहिले उनी रेस्लिङमा रमाइलो मान्छन्, तर कुटाइ खाएको देख्दा उनका परिवार भने आत्तिन्छन् । झन् सुरुसुरुमा त परिवारले नै रेस्लिङबाट निरुत्साहित गर्ने गरेको उनी बताउँछन् ।
‘अन्तर्राष्ट्रिय गेममा पहिलो पटक दर्शकको रूपमा आमा, हजुरबुवासहित परिवार आएका थिए,’ डेबिट सम्झन्छन्, ‘उहाँहरू मैले कुटाइ खाएको देखेर सुरुमा रुनु भयो रे, तर अन्त्यमा जितेपछि खुसी हुनुभयो ।’
नुवाकोटे टाइगरले पनि २० वर्षको उमेरदेखि रेस्लिङ खेल्न थालेका हुन् । उनका लागि रेस्लिङ खेल्ने सुरुवाती दिनहरू खासै उत्साहजनक थिएन । परिवारका सदस्यले नखेल भन्थे तर उनी भागीभागी खेल्न जान्थे । भन्छन्, ‘थानकोटमा हिमालयन टाइगरको प्रशिक्षण केन्द्र धाउँथेँ ।’ आठ वर्षको निरन्तरतापछि अहिले उनले खेलमा सफलता पाएका छन् ।
यता दुई वर्षदेखि रेस्लिङ खेल्दै आएका ठाकु ट्रेकिङ कम्पनीका सञ्चालकसमेत हुन् । रेस्लिङ उनको सौख हो । बिहान १० देखि २ बजेसम्म दैनिक कार्यालयमा रहने उनी त्यसबाहेकको समय रेस्लिङमा बिताउँछन् । खेलमा चोटले उनलाई खासै प्रभाव नपारे पनि उनको परिवारलाई भने कहिलेकाहीँ चिन्तित बनाउँछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक नै टेबल र कुर्सीले कुटाइ खाएको देख्दा श्रीमती भावुक भएर रोएको उनले पछि थाहा पाएका थिए ।
लाइभ फिल्मझैं
रेलिस्ङ खाली फाइटमात्र होइन, यो भावना, संगीत र अभिनयसहितको बेजोड प्रस्तुति पनि हो । एक पटक रेलिस्ङ प्रत्यक्ष हेरेको मानिस अर्को पटक रेलिस्ङ हम्मेसी छुटाउँदैन । रेस्लरको खतरनाक इन्ट्री, फाइट अनि फाइटपछिको सेलिब्रेसन, खेलभर संगीत र अभिनयले रेलिस्ङलाई प्रत्यक्ष फिल्मझै बनाउँछ । रेस्लरको अनुहारको खतरनाक भावभंगीले दर्शकलाई जिरिंग बनाउँछ । इटहरीमा आयोजित रेलिस्ङमा बीचबीचमा डिजेइङ पनि प्रस्तुत गरिएको थियो ।
त्यसैले हेर्नेलाई यो नाटकीय पनि लाग्छ । इटहरीमा भएको खेलमा प्रो रेस्लरले टाइगरलाई वैशाखीले हान्दा धेरैलाई नाटकमात्र लाग्यो । ‘मैले उसको खुट्टा भाँचेपछि उसले मिल्ने भनेको थियो,’ टाइगरले भने, ‘तर खेल्दा एक्कासि उसले मलाई बैसाखीले हानेर रिस पोख्यो ।’
खर्चिलो खान्की
रेस्लिङ खेलाडी हेर्दै भीमकाय शरीरका हुन्छन् । जिम जानु र दिनहुँ एक दर्जनभन्दा बढी अन्डा, दूध, केरा, मासु खानु आम रेस्लरहरूको दिनचर्या हो । यस्तो खान्कीले उनीहरूलाई स्वस्थ, मजबुत बनाउँछ र बढी शक्ति प्रदान गर्छ । रेस्लिङ खेलाडीहरू खानपान र कसरतमा ध्यान दिन्छन् । ‘बिहान १५ वटा अन्डा र बेलुका आधा किलो कुखुराको मासु कम्तिमा खाने गरेको छु,’ प्रोटिन नियमित खाने गरेको बताउँदै टाइगरले भने, ‘त्यसबाहेक गेम नजिक हुँदा साता दिनदेखि तयारी सुरु हुन्छ ।’
‘दिनको कम्तिमा ६ सय रुपैया डाइटमै खर्च हुन्छ,’ प्रोटिन र जिमको खर्च भने संघले व्यहोरिरहेको बताउँदै टाइगर भन्छन्, ‘गेम नजिक हुँदा दिनकै १५ सय रुपैयाँ खर्च हुन्छ ।’
रेलिस्ङ खेलाडी शरीर मजबुत बनाउन र शक्ति आर्जन गर्न खान्कीदेखि कसरतसम्म सक्रिय हुन्छन् । त्यसको लागि नियमित जिम जाने र शरीरको आकार बढाउने गर्छन् । तर शरीरको आकारले रेलिस्ङमा मुख्य भूमिका भने खेल्दैन । ‘विभिन्न खेल खेलेकाहरू पनि टेक्निक सिकेर रेस्लिङ खेल्न सक्छन्,’ टाइगर भन्छन्, ‘मुख्यतः टेक्निक हो, जीउ ज्यान भयो भने त्यो सुनमा सुगन्ध जस्तै हो ।’
नेपालमा २०७३ सालदेखि संस्थागत रूपमा रेलिस्ङ सुरु भएको नेपाल रिङ रेलिस्ङ संघकी अध्यक्ष सुनिता थापा बताउँछिन् । खेलाडीहरूको विकासको लागि प्रतियोगितादेखि अन्य सुविधामा संघले ध्यान दिइरहेको छ । नेपालमा ढिलो आए पनि नेपाली खेलाडीहरू भने विश्वस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको टाइडर, डेबिट र ठाकुको एक मत छ ।