'लेडिज ब्यान्ड'को 'असामयिक अन्त्य'

'लेडिज ब्यान्ड'को 'असामयिक अन्त्य'

चार युवतीको 'द क्रिएटिभ लेडिज ब्यान्ड' एक बेला चर्चामा थियो । त्यति बेला ब्यान्डकी भोकलिस्ट र गिटारिस्ट अनु गुरुङको व्यस्तता कम थिएन । कहिले रेकर्डिङ, कहिले लाइभ प्रस्तुति अनि कहिले भिडियो सुटिङ । 'ती दिनहरू सम्झिँदा अहिले पनि मन फुरुंग हुन्छ', अनु सुनाउँछिन्, 'तर समय कहाँ सधैं एकनास हुँदो रहेछ र ।'

नेपालको दोस्रो लेडिज ब्यान्डका रूपमा रहेको 'द क्रिएटिभ लेडिज ब्यान्ड' सांगीतिक कार्यक्रम लिएर काठमाडौंदेखि भैरहवा, बुटवल, नारायणघाटदेखि चीनसम्म पुग्थ्यो । अनु गाउने र रिदम बजाउने, उनकै दिदी निशा गुरुङ लिड गितार, सुजाता श्रेष्ठ बेसिस अनि सजना केसी ड्रमर बजाउने । एउटा बेग्लै सांगीतिक माहोल थियो । सांगीतिक कार्यक्रममा चारैजना रमाउँदै पुग्थे । धेरैवटा कम्पिटिसनमा भाग लिएको ब्यान्डले 'टुबोर्ग उत्सव ब्यान्ड प्रतियोगिता'मा 'बेस्ट कम्पोज अफ दी इयर' जितेको थियो ।

crietive_gird_band

द क्रिएटिभ लेडिज ब्यान्डका सदस्यहरू ।

संगीतगुरु धनकाजी गुरुङको अभिभावकत्वमा २०५६ सालमा फर्म भएको थियो ब्यान्ड । त्यसको दुई वर्षमै गुरुङको निधन भयो । तर पनि ब्यान्डले सांगीतिक यात्रा अघि बढाइरह्यो । २०६० सालसम्म ब्यान्डबाटै 'नयन' नामक एल्बम पनि निस्कियो । अनुकै स्वर रहेको 'चाहन्थे तिमीलाई' र 'सोल्टी' गीतको भिडियो पनि सार्वजनिक भयो । ती सार्वजनिक भएपछि ब्यान्डले अझै चर्चा कमाउँदै थियो । सबैमा उत्साह बढ्दै थियो तर त्यो उत्साह एक वर्ष पनि टिक्न पाएन ।

ब्यान्डका सदस्यहरूलाई संगीत सिकाउने धनकाजी बितेपछि ब्यान्ड सुस्ताउँदै गयो । २०६१ तिर ब्यान्डकी बेसिस्ट सुजाता श्रेष्ठ अस्ट्रेलिया लागिन् । विस्तारै ड्रमर सजना केसी पनि जागिरतिर लागिन् । प्रशिक्षकको निधनले ब्यान्डकी लिड गिटारिस्ट निशाले एकातिर श्रीमान् गुमाइन्, अर्कातिर संगीतगुरु । उनीहरू निष्क्रिय भए पनि निशाकी बहिनी अनु एक्लै भए पनि ब्यान्डकै नाममा ट्र्याकमा गाउन थालिन् । एक वर्षसम्म जेनतेन ब्यान्डलाई धानेकी अनु पनि त्यसपछि सिंगापुरतिर लागिन् । त्यसपछि 'द क्रिएटिभ लेडिज ब्यान्ड'को नाममात्र बाँकी रह्यो ।

सिंगापुर पुगे पनि अनुको मनमा नेपालमै थियो रे । त्यसमा पनि 'द क्रिएटिभ लेडिज ब्यान्ड' त दिमागमै । त्यही झल्कोले तीन वर्ष सिंगापुर बस्दा अनुले सांगीतिक कार्यक्रम आयोजना गरिन् । आर्थिक रूपमा घाटै भए पनि उनले कार्यक्रम आयोजना गर्न छाडिनन् ।

'स्पार्कल' र 'द क्रिएटिभ लेडिज ब्यान्ड' जस्ता पुराना लेडिज ब्यान्डको असामयिक अन्त्य हुनुमा पहिलो कारण ब्यान्डका अभिभावक गुम्नु र अर्को कारण घरपरिवारको असहयोग रहेको पाइन्छ ।

नेपाल फर्किएपछि उनलाई पुरानो ब्यान्ड फेरि सक्रिय बनाउने चाहना थियो । कोसिस गरिन् तर साथीहरू कताकता पुगिसकेका थिए । संगीत क्षेत्रलाई माया मार्न नसकेपछि अनु अहिले एकल एल्बम निकाल्ने तयारीमा छिन् । उनको 'हो म तिम्रो मायामा हराएकी छु' बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ । 'लाइभ गाउनु र ट्र्याकमा गाउनुमा धेरै फरक हुँदो रहेछ, संगीतको नशा लाग्यो, छाड्न सकिनँ ।' नयाँ गीतहरू रेकर्ड गराइरहेकी उनी भन्छिन्, 'ब्यान्ड सक्रिय बनाउँछु भन्ने आशा अझै पनि मरेको छैन ।'

नेपालको पहिलो लेडिज ब्यान्डका रूपमा गठन भएको 'स्पार्कल'को अन्त्यको कथा अझ दर्दनाक छ । द क्रिएटिभभन्दा करिब ६ महिनाअघि स्थापना भएको स्पार्क सांगीतिक कार्यक्रम लिएर नेपालका विभिन्न जिल्लामा 'नेपाल टुर' गर्‍यो । कतार, हङकङसम्म पुगेर कन्सर्ट गर्‍यो ।

sparcial_band

 स्पार्कल ब्यान्डको प्रस्तुति र ब्यान्ड सदस्यहरू ।

२०५६ सालमा स्थापना भएको स्पार्कलको भोकलमा कावासोतीकी सुषमा गुरुङ, बेसमा पोखराकी शान्ति गुरुङ, ड्रममा झापाकी मनिका राई, लिडमा रापेछापकी रीमा सुनुवार र किबोर्ड र भोकलमा काठमाडौंकी रूपकमल क्षेत्री थिए । जमाना मेरो लागि एल्बम पनि निकाले । अरू गीत रेकर्ड हुँदै थिए । उनीहरूलाई जापान, सिंगापुरबाट पनि कार्यक्रमका लागि निम्ता आउँदै थियो । यसरी सक्रियता बढिरहेका बेला तत्कालीन अधिराजकुमार पारस शाहको गाडीको ठक्करबाट ब्यान्डका ब्याकबोनका रूपमा रहेका गायक÷संगीतकार प्रवीण गुरुङको निधन भयो । प्रवीणकी श्रीमती शान्ति ब्यान्डकी बेसिस्ट थिइन् । प्रवीणको निधनसँगै ब्यान्ड सुस्तायो । यसरी स्पार्कल ब्यान्डको पनि असामयिक निधन भयो ।

त्यसपछि ब्यान्डकी भोकलिस्ट सुषमा दुबईतिर लागिन्, लिड गिटारिस्ट रीमा यूके गइन् । बाँकी रहेका सदस्यहरू पनि निष्क्रिय भए । तर, प्रवीणकी श्रीमती शान्ति भने चुप लागेर बस्न सकिनन् । अन्य ब्यान्डमा मिसिएर भए पनि गितार बजाउँदै आएकी उनी केही वर्षयता अलि निष्क्रिय छिन् । बेलाबेला पिस बुद्ध ब्यान्डमा बजाउँदै आएकी शान्ति भन्छिन्, 'अझै पनि स्पार्कललाई जगाउन पाए हुन्थ्यो जस्तो लाग्छ तर पुराना साथीसँग भेटघाट छैन, नयाँसँग टिम नै मिल्दैन ।'

'स्पार्कल' र 'द क्रिएटिभ लेडिज ब्यान्ड' जस्ता पुराना लेडिज ब्यान्डको असामयिक अन्त्य हुनुमा एउटा कारण ब्यान्डका अभिभावक गुम्नु र अर्को कारण घरपरिवारको असहयोग रहेको पाइन्छ । स्पार्कलकी शान्तिका अनुसार सुरुमा ब्यान्डमा सक्रिय हुने युवतीहरूको विवाह भएपछि परिवारले पनि रोक्छन् । कति व्यावहारिकतामा फसेपछि चाहेर पनि ब्यान्डमा सक्रिय बन्न सक्दैनन् । रहरले सांगीतिक यात्रामा लाग्नेहरू आर्थिक रूपमा सबल बन्न नसक्दा पनि बीचैमा छाड्छन् । शान्ति भन्छिन्, 'छोरी मान्छेलाई घरपरिवारबाटै सपोर्ट हुँदैन । त्यसैले पनि धेरै ब्यान्ड टिक्न सक्दैनन् ।'

नयाँलाई पनि उस्तै चुनौती

पुराना लेडिज ब्यान्ड बन्द भएपछि पनि नयाँ पुस्ताका युवतीहरूले धमाधम ब्यान्ड स्थापना गरिरहेका छन् । तर, उनीहरूको पनि भविष्यको अवस्था के हुने हो थाहा छैन ।पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय रहेको लेडिज ब्यान्ड हो, गोर्खाली गर्ल्स । पाँच वर्षअघि स्थापना भएको यो ब्यान्डले काठमाडौंसँगै धरान, बुटवल लगायतका सहरमा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेको छ ।

धरान, हेटौंडा र दोलखाका पाँच युवती मिलेर दुई वर्षअघि स्थापना भएको गोर्खाली गल्र्सको भोकलमा गीता तामाङ, लिड गिटारमा सुषमा घलान, बेस र भोकलमा सिसम राई, रिदममा सबिता थिङ र ड्रममा साङ्डोमा शेर्पा छन् । वुमन इन कन्सर्ट ट्यालेन्ट हन्टमा जितसमेत हात पारेको ब्यान्डलाई पनि यति बेला पुरानै 'दिदी समूह'को समस्याले सताएको छ । ब्यान्डकी भोकलिस्ट गीता र रिदम सबिता विदेशतिर लागेपछि अहिले ब्यान्डमा तीन सदस्यमात्र बाँकी छन् । ड्रमर साङ्डोमाका अनुसार अहिले तीनजना प्राक्टिस त गरिरहेका छन् तर कन्सर्ट गरिहाल्ने अवस्था छैन । उनीहरू तीनजनाले नै भए पनि ब्यान्डलाई निरन्तरता दिने योजनामा छन् । साङडोमा भन्छिन्, 'म्युजिकमा सेक्युरिटी नदेखेपछि परिवारले पनि सपोर्ट गर्दैन । पढाइका कारण बिदेसिने कारण पनि नयाँ लेडिज ब्यान्डलाई चुनौती छ ।'

अहिले सांगीतिक क्षेत्रमा गोर्खाली गल्र्सजस्तै भर्खर अध्ययनरत युवतीहरूको क्याक्टस, भिक्टोरिया, जड्स लगायतका लेडिज ब्यान्ड सक्रिय छन् । पाल्पामा युवतीहरूको द सर्कल र होस्टलमा बस्ने युवतीहरूको द हाउस अफ होप ब्यान्ड पनि सक्रिय छन् । उनीहरूलाई पनि ब्यान्ड कहिलेसम्म टिक्ने हो चिन्ता छ । साङ्डोमा भन्छिन, 'सबैको अवस्था सधैं टिक्लान् भन्ने छैन, आर्थिकदेखि सबै कुरा मिलाउन समस्या छ, त्यसमाथि सामाजिक दृष्टिकोणले पनि लेडिज ब्यान्डलाई गाह्रो छ ।'

आत्मसन्तुष्टिले मात्र टिकाएको छ
अनु गुरुङ, भोकल÷रिदम, द क्रिएटिभ लेडिज ब्यान्ड

anu_gurungब्यान्ड छिन्नभिन्न भए पनि मैले संगीत छाड्न सकिनँ । यही ब्यान्डले संगीतमा डुबायो । बीचमा साथीहरूलाई एकजुट गराएर ब्यान्ड ब्यूँताउने कोसिस पनि गरेँ तर अहिलेसम्म सकेकी छैन ।
अरू यस्तै ब्यान्डसँग मिलेर ब्यान्ड जोगाउने मन छ तर अर्को ग्रुप भएपछि पहिलाजस्तो कुरा मिल्दैन । आफूले परिवारको सपोर्ट पाए पनि अरूले नपाउँदा वा इन्ट्रेस्ट नगर्दा ब्यान्डलाई ब्यूँताउन सकेकी छैन तर कोसिसमा छु । संगीत छाड्न नसकेपछि अहिले झन्डै १० वर्षपछि गीत रेकर्ड गराउँदै छु।

एल्बम बिक्री हुँदैन भन्ने थाहा छ र पनि यो क्षेत्र छाड्न नसकेर एल्बम निकाल्ने तयारीमा छु । मेरो लागि त संगीत सुखदुःखको साथी हो । संगीत एक किसिमको नशा नै रहेछ, झन् डुब्यो अझै डुब्न मन लाग्ने । यसैबाट एउटा परिचय पाइयो । त्योभन्दा ठूलो कुरा आत्मसन्तुष्टि पाइयो । त्यसैले मात्र टिकाएको छ अहिलेसम्म ।

पुरुषप्रधान समाज नारीलाई समस्या
शान्ति गुरुङ, बेसिस्ट
स्पार्कल ब्यान्ड

5_1ब्यान्ड टुटे पनि संगीत छाड्न सकेकी छैन तर पहिलाजस्तै लेडिज ब्यान्ड नै बनाएर हिँड्न गाह्रो छ । लेडिज ब्यान्डका सदस्यलाई लामो समय निरन्तरता दिन चारैतिरबाट चुनौती छ । सुरुमा साथीहरूसँग मिलेर जोशजाँगरका साथ काम गरिन्छ । तर पढाइ बिग्रिन्छ, समाजले के भन्छ जस्ता कुरा गरेर आमाबुवाले त्यति राम्रो मान्दैनन् । उनीहरूलाई सम्झाइबुझाई निरन्तरता दियो, विवाह भएपछि धेरैका श्रीमान्ले सपोर्ट गर्दैनन् ।

संगीत क्षेत्र बुझ्ने श्रीमान् थोरैले मात्र पाउँछन्, धेरैले बुझ्ने कोसिस नै गर्दैनन् । ब्यान्डमा एकदुई जनाले मात्र बुझेर हुँदैन । त्यसपछि उनीहरू घरव्यवहार, बालबच्चा जस्ता कुराले बाँधिन्छन् । यसरी चाहेर पनि ब्यान्डलाई निरन्तरता दिन सक्दैनन् । अर्को आर्थिक रूपमा पनि सक्षम बन्न नसक्दा निरन्तरता दिन समस्या हुन्छ । सबैभन्दा ठूलो कुरा हाम्रो समाज पुरुषप्रधान छ । त्यसलै महिलाले यसरी समूह बनाएर गाउन हिँडेको पच्दैन । त्यसैले अनेक बहानामा अवरोध भइरहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.