युट्युबबाट सेलिब्रेटी बनेकाहरू

युट्युबबाट सेलिब्रेटी बनेकाहरू

'भाग्यले नि छल्छ भन्थे, छल्दो रहेछ थाहा पाएँ'
यस गीतकी गायिका पूर्णिमा लामालाई भने यो गीतले निकै भाग्यमानी बनाएको छ । नवगायिका लामाले यस गीतलाई युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स धेरै बढेका छन् । यसरी युट्युबमा धेरैले लाइक र कमेन्ट गरेको देख्दा उनलाई निकै हौसला मिलेको छ ।

केही दोहोरी गीत गाइसकेकी पूर्णिमाको सोलो गीत भने यही पहिलो हो । यसमा शब्द उनकै दिदी मीरा लामा र संगीत गोविन्दमधुर आचार्यको रहेको छ । सामाखुसीस्थित लिंकन कलेजमा व्यवस्थापन विषयमा कक्षा १२ मा पढ्दै गरेकी पूर्णिमाले यही गीतको लोकप्रियतासँगै पाँचौं राष्ट्रिय राप्ती संगीत अवार्डसमेत हात पारिसकेकी छिन् ।

धादिङ गल्छी घर भएकी उनी एसएलसी दिएर काठमाडौं आएकी थिइन् । विद्यालय टेक्दादेखि नै गीत गाउने सौख राख्ने उनी काठमाडौं आएर गीत रेकर्ड गराएकी थिइन् । गीत एकाएक हिट भएपछि उनको अन्तर्वार्ता एक अनलाइन टेलिभिजनले लियो । यही क्रममा टेलिभिजनकर्मीले उनको स्वरलाई गायिका अञ्जु पन्तसँग पनि दाँजे । तर पूर्णिमाले भने गायिका पन्त आफूूभन्दा धेरै नै अग्रज भएकीले उनलाई गीत संगीतको अभिभावकझैं गरी आफूले सम्मान गर्ने बताइन् । उनले भनिन्, 'उहाँसँग हामीले आफूलाई दाँज्ने होइन, उहाँलाई पछ्याएर संगीत सिक्ने हो ।'

मातृभाषी गीत

मातृभाषी गीत गाएर युट्युबमा अपलोड गर्नेहरू पनि यतिबेला लोकप्रिय हुँदै गएका छन् । जसमध्ये थारू भाषाका गायक एवं गीतकार प्रदेशी कुसुम्या 'दर्पण' पनि एक हुन् । उनका गीतले पनि युट्युबमा अत्यधिक चर्चा पाएका छन् । उनले थारू भाषाका करिब तीन दर्जन बढी गीत गाइसकेका छन् । जसमध्ये करिब १६ वटा जति गीत उनले युट्युबमा अपलोड गरेका छन् । उनका गीतमध्ये केहीले ७० हजारमाथि भियोर्स बटुलेको छ ।

समग्रमा भन्नुपर्दा आफ्ना गीतलाई करिब पाँच लाखभन्दा बढीले श्रवण गरेकोमा आफूलाई निकै खुसी मिलेको पनि उनले बताए । कतिपय गीतमा अरूको लगानी हुनाले गाएबापत गायक कुसुम्याले केही रकम पारि श्रमिक पनि पाउने गरेका छन् । तर केही भने आफू स्वयंले लगानी गरेकाले त्यसको भियोर्स बढेसँगै उनलाई युट्युबले दिने शुल्क पनि बढ्दै जान्छ ।

त्यसैगरी थारू भाषाका अर्का गायक विजय चौधरीले पनि आफ्ना चार÷पाँच वटा गीत युट्युबमा अपलोड गरिसकेका छन् । आफ्ना गीत हजारौं दर्शकले हेरिसकेकोमा आफूलाई नयाँ सिर्जनामा ऊर्जा मिलेको उनले बताए । गायक चौधरीको प्रस्तुति जटायुले हाल कभर सङ्गमा प्रस्तुति दिएर युट्युबमा निकै चर्चित बनेको छ ।

jatau

जटायु रेकर्डसमार्फत जटायु म्युजिकल हबमा विगत एक वर्षदेखि उनीहरूले विभिन्न गीतमा प्रस्तुति दिँदै आएका छन् । उक्त समूहमा सितार, गितार र किबोर्डमा निरन डंगोल, सारंगीमा श्यामेल गन्धर्व, तबलामा न्ह्युछे मुनिकार, बाँसुरीमा निकेश महर्जन रहेका छन् । त्यसैगरी पाल्साङ लामाको भोकल र अविन शाक्यको निर्माण रहेको यस समूहमा अमित डंगोल ब्यान्ड म्यानेजर रहेका छन् भने हेमन्त महर्जनले भायोलिन बजाउँछन् । हाल यो समूहले पश्चिमा गीतलाई तबला, सारंगी, बाँसुरीलगायतका संगीतको फ्युजन गराएर पूर्वीय शैलीमा ढालिएका गीतसंगीत बजारमा ल्याएको छ । हाल 'सेप अफ यु'ले धेरै नै चर्चा पाएको यो समूहका अन्य गीतहरूले पनि औसतमा १२ लाख भ्युअर्स कटाउने गरेको छ ।

सात वर्षमै चर्चा

युट्युबकै कारणले सानै उमेरमा ठूलै चर्चा पाउनेमध्येमा पर्छिन् गायिका जिम्मीछोकी घिसिङ । सात वर्षकै उमेरमा उनले गाएको 'तिमीले बाटो फेर्‍यौ अरे' गीत श्रोता एवं दर्शकले अत्यधिक मन पराए । दर्पण राईको गीत र टंक बुढाथोकीको संगीत रहेको उक्त गीतको भ्युअर्स ४२ लाख ६० हजार नाघिसकेको छ ।

नेपालमा चल्तीका गायकगायिका अझै पनि कम छन् । पहिले गीतसंगीतमा स्थापित हुन निकै दौडधुप गर्नु पथ्र्यो । युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स बढेसँगै अहिले नयाँ गायकगायिकाहरू पनि सेलेब्रेटी हुँदै गएका छन् ।

गायक भक्तराज आचार्यको गीत 'जहाँ छन् बुद्धका आँखा' गाउँदै घिसिङ गीतसंगीतको क्षेत्रमा लागेकी थिइन् । त्यसपछि 'हजार सपना', 'बाबा परदेश नजानु है'लगायतका गीत गाएकी उनले पछि आफ्नै युट्युबमार्फत् गीत अपलोड गर्न थालिन् । युट्युबकी रानी भनेर पनि चिनिने उनले एक चलचित्रमा पनि काम गर्ने भएकी छिन् ।

आफ्नो मामाहरूबाट पाएको हौसलाका कारण सांगीतिक क्षेत्रमा लागेको बताउने घिसिङले झन्डै एक दर्जन गीत गाइसकेकी छिन् । च्यान्दु तामाङका साथ उनले गाएकी गीत 'यो नाता'ले एक लाख ८५ हजार भ्युअर्स पाएको छ । त्यसैगरी स्मारिका लामासँग उनले गाएको 'बाटो छेकेरै अनुहार हेर्छु भन्छ'गीत झन्डै ९३ हजार दर्शकले हेरिसकेका छन् ।

उनको पछिल्लो गीत 'ठूलालाई आदर, सानालाई गर्छु माया'मा भने चन्द्र तामाङ ब्लोनको गीत र सुरेश अधिकारीको संगीत रहेको छ । यसलाई झन्डै ६ लाख दर्शकले युट्युबमा हेरिसकेका छन् । उनको युट्युबको च्यानलाई आठ हजार ६ सयभन्दा बढीले सब्सक्राइब गरेका छन् । तामाङ र नेपाली भाषामा मात्रै नभई हिन्दी र अंग्रेजी गीत समेत उनले गाउने गरेकी छिन् । युट्युब सेलिब्रेटी बनिसकेकी उनी स्वयम्भूस्थित अरुणोदय एकेडेमीमा कक्षा ५ मा पढ्छिन् ।

म्युजिक कम्पनीका गीत

कुन म्युजिक कम्पनीले गीतलाई बजारमा ल्यायो, त्यसको आधारमा पनि गीतले युट्युबमा चर्चा कमाउने गरेको छ । हाल चर्चामा आएका गीतहरूमा म्युजिक नेपाल, सङ्स नेपाल, एसियन म्युजिकलगायतका कम्पनीका गीतहरूलाई पनि दर्शकले मन पराएको पाइन्छ । त्यसैगरी कतिपय गीतमा म्युजिक भिडियो राम्रो भएकै कारण पनि भियोर्स बढी हुने गरेका छन् । विनोद बानियाँले गाएका गीत 'म त बलेनिमा'को भिडियोमा पल शाह, एलिसा राई र विनोदको नृत्य र अभिनयले गीतलाई अझै लोकप्रिय बनाएको छ ।

मोडल एलिसाको म्युजिक भिडियोको कलेक्सनलाई झन्डै एक लाख ७० हजार दर्शकले हेरेको पाइन्छ । त्यसैगरी पल शाहका म्युजिक भिडियो कलेक्सनलाई भने चार लाख दर्शकले हेरिसकेका छन् । उता गोविन्द थापामगर र पूर्णकला बीसीको कसम मायाको भिडियोलाई २३ लाख दर्शकले हेरिसकेका छन् । उक्त गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

युट्युबमा नयाँ गायकगायिकाको गीत रिलिज गर्दै चर्चित बनाउने च्यानलमध्येको सङ्स नेपाल पनि हो । गत महिनामात्रै रिलिज भएको रवि वज्राचार्यको 'तीता मीठा'ले २७ हजारभन्दा बढी भियोर्स तानिसकेको छ । रोमान्टिक लभ सङको रूपमा रहेको यस गीतमा माया गर्ने एक जोडी एक आपसबाट निकै टाढा रहेता पनि उनीहरूबीचको माया भने निकै गाढा रहेको देखाइएको छ ।

गायक बलबहादुर अर्माजा (बलदीप)को लोक पपगीत 'नीरमाया'ले युट्युबमा गीत अपलोड गरेको ६ दिन पनि नकट्दै सात हजारभन्दा बढीले हेरिसकेका थिए । त्यसैगरी गत महिना युट्युबमा राखिएको दिल्पु मोक्तानको 'फुल्ने फूल'लाई हालसम्म झन्डै ४९ हजार दर्शकले हेरिसकेका छन् ।

एक साता अगाडि सङ्स नेपालमार्फत् युट्युबमा राखिएको सुरज पासखलाको पपगीत 'तिम्रै खुसी'ले २६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । गीतको शब्द, संगीत र एरेन्जमेन्ट भने टेकनन्द लामाको रहेको छ । गीत असाध्यै मिल्ने दुई साथीहरूको कथामा आधारित छ । केटाले केटीलाई असाध्यै माया गर्ने भए तापनि केटीले भने उनलाई एउटा असल साथीको रूपमा मात्रै हेरेको गीतको भिडियोमा देखाइएको छ ।

नेपालमा चल्तीका गायक, गायिका अझै पनि कम छन् । पहिले गीतसंगीतमा स्थापित हुन निकै दौडधुप गर्नुपथ्र्यो । युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स बढेसँगै अहिले नयाँ गायकगायिकाहरू पनि सेलेब्रेटी हुँदै गएका छन् । विभिन्न कार्यक्रममा उनीहरूलाई पनि पारि श्रमिक दिएर आमन्त्रण गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.