डिजिटल दुनियाँमा चुनाव

डिजिटल दुनियाँमा चुनाव

काठमाडौं : झन्डा फहराउने, भित्ता रंगाउने चुनावी प्रचार शैलीलाई डिजिटल दुनियाँले फरक बनाउँदै छ। बदलिँदो सञ्चार प्रविधिलाई उपयोग गर्दै नेताहरू फेसबुक र ट्विटर ह्यान्डल चलाउन थालेका छन्। कहिल्यै फेसबुक नचलाएका पाका नेताहरूसमेत फेसबुक पेज खोलेर दुई हात जोड्दै भोट मागिरहेको तस्बिर अपलोड गर्छन्। युवा पुस्तालाई फेसबुकले बिगार्‍यो भन्ने नेताहरू नै लाइक, सेयर र कमेन्ट गरिरहेका छन्। फेसबुक, ट्विटर, युट्युबमार्फत आफ्नो लोकप्रियता बढाउने दौडमा उम्मेदवार छन्।

कतिले ‘बुस्ट' (फेसबुकलाई पैसा तिरेर प्रचार) गरेका छन्। समृद्धिका लागि आफ्नो विजय आवश्यक रहेको भन्दै लगातार स्टाटस पोस्ट गरिरहेका छन्। पोस्टमा आफ्ना आकर्षक योजना, जनताको नाममा गरिएको वाचा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएका छन्। जतिजति मतदानको दिन नजिक आउँछ उतिउति सामाजिक सञ्जाल रंगीन हुँदै गइरहेका छन्। पार्टीका आधिकारिक ह्यान्डल, नेता, कार्यकर्ता, शुभचिन्तक सबैले खास दललाई जिताउन आग्रहसहितको स्टाटस लेखिरहेका छन्। दलको लोगो र नारासहितको आफ्नो फोटो सेयर गर्नेको होडबाजी चलेकै छ।

सबैभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने पार्टीमा पर्छन् नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी। नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र ‘विवेकशील साझा'का संयोजक रवीन्द्र मि श्र सामाजिक सञ्जालमै चुनाव हुने जसरी स्ट्याटस र ट्विट गरिरहेका छन्। घरदैलो कार्यक्रममा सहभागी भएको फोटोदेखि भावी योजनासमेत फेसबुक, ट्विटर र युट्युबमा यत्रतत्र पोस्ट गरिरहेका छन्।

प्रचारप्रसारका लागि सामाजिक सञ्जाल राम्रो माध्यम भएकाले यतातिर आकर्षण बढेको बताउँछन्, सोसल मिडिया मार्केटिङ एक्सपर्ट आकार अनिल। धेरै मान्छेसम्म आफ्ना कुरा पुर्‍याउन सामाजिक सञ्जालले प्रमुख भूमिका खेलिरहेको उनले बताए। ‘अरूबेला भन्दा चुनावी समयमा यसको प्रयोग अझै व्यापक हुन्छ,' उनले भने, ‘अभैm पनि केही नेता भने सोसल साइटमा छैनन्। फेमिलियर नभएर होला।'

नेताको यो रूप सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको पक्षमा भोट माग्नेहरू वरिष्ठ नेतादेखि सामान्य कार्यकर्तासम्मका छन्। विवेकशील साझा पार्टीका रवीन्द्र मि श्र दैनिक ५ देखि ७ वटासम्म फेसबुक स्ट्याटस र ट्विट गरिरहेका हुन्छन्। केही दिनअघि उनले एउटा ट्विट गरे, ‘जकडिएको नेपाली राजनीतिलाई बदल्न कति कठिन छ भन्ने कुरा स्पष्ट छ। तर, यो पटक त्यसलाई तोड्नै पर्छ नत्र भोट दिने जनताले दुःख पाउने र भोट पाउने नेताले सुख पाउने क्रम रोकिँदैन। सबैलाई भन्नुहोस्, फोन गर्नुहोस्, किनभने नेपालको राजनीति बदल्नु छ, नेपाल बदल्नु छ।'

यस्ता स्टाटस लेख्दै उनी आफ्ना फलोअर्सलाई सेयर गरिदिन आग्रहसमेत गर्छन्। मि श्र मात्र होइन, विवेकशील साझाकै अन्य नेता तथा कार्यकर्ता पनि सामाजिक सञ्जालमा भिडिरहेकै छन्। त्यस्तै, सामाजिक सञ्जालमा सक्रिय हुने नेता हुन्, कांग्रेसका गगन थापा। समृद्धिको महत्वाकांक्षी योजना, त्यो पूरा गर्ने अठोट सहितको सुन्दर स्ट्याटसहरू उनका वालमा मनग्य भेटिन्छन्। घरदैलो अभियानका फोटोहरू वालमा अपलोड गरेका हुन्छन्। दैनिक ५ भन्दा धेरै ट्विट गरिरहेका हुन्छन्। कात्तिक २९ गते उनले एउटा प्रतिबद्धता ट्विट गरे, ‘देशभित्र अपार सम्भावना छ, गरिखाने वातारण मात्रै भयो भने स्वदेश र विदेशमा रहेका यही देशका नागरिकले ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी र उद्यमशीलताको विकास गर्नेछन्। म जुनसुकै अवस्थामा पनि समृद्धिको यी अठोट पूरा गर्नका निम्ति समर्पित छु।'

उनको ट्विटपछि लाइक र रि-ट्विट गर्नेको लर्को लाग्यो। मिश्र र थापाजस्तै बाबुराम भट्टराई पनि कम छैनन्। सामाजिक सञ्जाल निरन्तर प्रयोग गरिरहने पूर्वप्रधानमन्त्रीमा उनी पर्छन्। उनीहरू आफूलाई सोधिएको प्रश्नमा मौन बस्छन्। तर, प्रशंसा गरिएका ट्विटहरू रि-ट्विट गर्ने र स्टाटस सेयर गर्ने गर्छन्।
एमालेका युवा पुस्ता सोसल मिडियामा माहिर मानिए पनि वरिष्ठ नेताहरूचाहिँ पोख्त देखिन्नन्। केपी ओली, झलनाथ खनाल, ईश्वर पोखरेल सामाजिक सञ्जालमा सक्रिय छैनन्। सक्रिय नदेखिए पनि केपी ओलीले त ट्विटरमा ‘हेडर' नै राखेका छन्, ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने।' कांग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सामाजिक सञ्जालमा उतिसारो झुल्किँदैनन्।

माओवादीका धेरै नेता सामाजिक सञ्जालमा दह्रो गरी उपस्थित भएका छैनन्। जनार्दन शर्मा, गिरिराजमणि पोखरेलजस्ता नेता फेसबुकमा भोट माग्दै गरेको भिडियो नै पोस्ट गरिरहेका छन्। आफैं नभिड्ने नेताहरू आफ्ना कार्यकर्तामार्फत लागिपरेकै छन्। उम्मेदवारको रोचक जीवनी कहानी लेख्ने, त्यसलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउने बाढी पनि मौलाएको छ।

विकासे नारा

हरेक चुनावअघि नेताहरूले एउटा वाचा गर्छन्, ‘म समृद्धि र विकासका लागि प्रतिबद्ध छु।' यो नारा अहिले पनि उत्तिकै चर्चित छ। नारा चर्चित हुने तर देशको अवस्था सुधार नहुने रोग जगजाहेर छ। विकासे नारा सहितको स्टाटस सामाजिक सञ्जालमा देख्दा धेरैलाई हाँसो पनि उठ्दो हो। नेताले गर्ने विकासमाथि धेरैको शंका छ। त्यो शंका सामाजिक सञ्जालमा पनि आउने गर्छ।

कांग्रेसले त आफ्नो विजयपश्चात् देश कस्तो हुन्छ भन्ने सुन्दर परिकल्पना सहितको भिडियो नै बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएका छन्। ट्विटरमा पनि उसले यो भिडियोलाई ‘पिन ट्विट' बनाएर राखेको छ। भिडियोमा रोमाञ्चक र अद्भुत तरिकाले देशको विकास भएको देखाइएको छ। युट्युबमा यस्ता भिडियो सयौंको संख्यामा छन्। लाखौंको संख्यामा हेरिएका यस्ता भिडियोको अन्तिम सर्त प्रस्ट छ, त्यो हो ‘भिडियोमा देखाइएको जस्तो देश बन्न मेरो दललाई भोट दिनुहोस्।'

विकासप्रेमीका रूपमा पछिल्लो समय उदाएका रवीन्द्र अधिकारीले कात्तिक २५ का दिन एउटा भिडियो सहितको स्ट्याटस लेखे, ‘देशभक्त पोखरेलीको छोरो, देश विकासमै तल्लीन छ एकोहोरो।' यही स्ट्याटसको मुनि सालिक पराजुलीले लेखे, ‘शुभकामना। तर, पोखरा लेखनाथ महानगरपालिकाभित्र पर्ने यति नजिकैको फुर्सेखोलादेखि दोपहरे हुँदै कृस्तीसम्मको बाटो अहिलेसम्म पनि कालोपत्रे नहुनु आफैंमा लज्जास्पद छ। आशा छ, आगामी दिनमा सम्पूर्ण वडावासीले तपाईंजस्तो देश हाँक्ने युवा नेताको महसुस गर्न सकुन्।'

गतिलो अस्त्र

सामाजिक सञ्जाललाई दलले प्रचार अस्त्रका रूपमा लिएका छन्। युट्युबदेखि फेसबुक, ट्विटरसम्म पार्टी प्रचारका सामग्रीले भरिएका छन्। थोरै भए पनि आफूले अहिलेसम्म गरेका राम्रो कामको सूची देखाएर जनताको ध्यानाकर्षण गरिरहेका छन्। आफूलाई जिताए विकासका यी फेहरिस्त अझै लम्बिने उनीहरूको दाबी छ। राप्रपाका कमल थापाले त ट्विटरमा ‘राप्रपा नै किन ? ' भन्ने शृंखला नै चलाए। गरिबी निवारण गर्ने उपायदेखि नेपाल बन्द नगर्नेसम्मको प्रतिज्ञा नै जनाएर भोट मागे। सामाजिक सञ्जालमा अरू बेला पनि सक्रिय देखिने थापाको बेग आजकाल बढेको छ।

आफू र आफ्नो पार्टीलाई लागेका आरोपहरूलाई खण्डन गर्ने र प्रतिपक्षीलाई खुइल्याउने प्रचलन पहिले पनि सामाजिक सञ्जालमा देखिएकै हो। चुनाव नजिकिँदै गर्दा झनै बढेको छ। बाबुराम भट्टराईले आफ्ना प्रतिद्वन्द्वी नारायणकाजीलाई व्यंग्य गर्दै कात्तिक २९ गते ट्विट गरे, ‘मेरा प्रतिद्वन्द्वी एकजना नेवार व्यवसायी कहाँ पुगेर जातीय आधारमा भोट मागेछन्। ती व्यवसायीले भनेछन्- सबै जनैधारी एक भए के होला ? उनी ट्वाँ परेछन्।' यसै ट्विटमा नवराज भुसालले मेन्सन गरे, ‘डा. साहेब, हजुरजस्तो नेताले पनि यस्तो तुत्छ अभिव्यक्ति दिने हो भने अरू उम्मेदवारबाट हामीले कस्तो अपेक्षा गर्ने, कृपया शालिन हुनुहोस्।'

भट्टराईको यो ट्विटले निकै आलोचना खेप्यो। त्यसो त अरू बेला पनि उनलाई सामाजिक सञ्जालमा गाली गर्नेहरूको कमी थिएन। तर, चुनावको मुखमा नेताहरूले आफूहरूलाई कसरी प्रस्तुत गर्छन् भनेर बुझ्नका लागि एउटा प्रतिनिधि उदाहरण मात्र हो यो। अरूलाई आलोचना गरेरै होस् सबै दलका प्रतिनिधि आफूचाहिँ जनताकै पक्षमा रहेको कुरा जोड्न छुटाउँदैनन्। तरिका फरक-फरक छन्, चुनाव प्रचार शैली एउटै छ। प्रायः विकास÷समृद्धिका नारा देखिन्छन्। कांग्रेस नेता विश्वप्रकाश शर्मा ३७ हजारले लाइक गरेको आफ्नो पेजमा घरीघरी मेचीस्थित ‘सिद्धि हाइड्रोपावर' को कुरा गर्छन्। शर्मा मात्र होइन, आफू उम्मेदवार भएको क्षेत्रमा विकासको मूल नै फुटाउने धेरैको वाचा हुन्छ। जनताका अधिकारका कुरा जोडिएर लेखिन्छ।

सामाजिक सञ्जालमा गरिएको पार्टी प्रचारमा आफूहरूले निगरानी गरिरहेको बताउँछिन्, निर्वाचन आयुक्त इला शर्मा। उनले भनिन्, ‘अहिले हामीले समिति नै बनाएर यसमाथि निगरानी गरिरहेका छौं।' कुनै समय सामाजिक सञ्जालमा नदेखिने तर चुनाव नजिकिएसँगै फेसबुकमा सक्रिय भएका सामाजिक सञ्जाल प्रयोगकर्ता हुन्, राजकुमार गुरुङ। लमजुङ घर भएका उनी निर्वाचन सम्बन्धमा अहिले विभिन्न स्टाटस हालिरहेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दा त्यसको प्रभाव धेरै पर्ने हुनाले पार्टीहरूले यसलाई चुनावी प्रचारका लागि प्रयोग गर्नु सामान्य रहेको ठान्छन् उनी। उनले भने, ‘भोट कसलाई दिने भन्ने कुरा हाम्रो विषय हो। प्रचार गर्नु उनीहरूको काम हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.