फेरिएको मूलपानी क्रिकेट मैदानको कथा
मेलम्ची र मूलपानी क्रिकेट मैदान निकै लामो समयदेखि चर्चामा छ । मेलम्चीको पानी काठमाडौंवासीले अझै पिउन पाएका छैनन् भने मूलपानी क्रिकेट मैदानमा क्रिकेट खेलेको दृश्य देख्ने सौभाग्य यसै साता मिल्यो । नेपालका राष्ट्रिय टोलीका पूर्व र वर्तमान खेलाडीबीचको प्रदर्शनी खेलसँगै बहुप्रतीक्षित मूलपानी मैदानको यही शनिबार उद्घाटन भयो ।
मूलपानी मैदानको त्यो दृश्य निकै लामो प्रतीक्षा र कष्टपछि सम्भव भएको हो । मूलपानी क्रिकेट मैदानमा यसपछि सायद निरन्तर प्रतियोगिता हुनेछन् । राष्ट्रिय र विस्तारै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुनेछन् । तर, मूलपानी मैदानलाई कम्तिमा खेल्न योग्य बनाउन धेरैको सपना र मेहनत जोडिएको छ ।
मूलपानी मैदान नेपाली यूवा टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनसँगै नेपाल क्रिकेट संघ (क्यान) का तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहको पहलमा सुरु भएको परियोजना थियो । नेपाली युवा टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्काे उत्कृष्ट प्रदर्शन गर्न सुरु गरेपछि शाहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष एकेडेमी निर्माणका लागि पहल गरेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का तत्कालीन अध्यक्ष जगमोहन दालमियासँग नजिकको सम्बन्ध रहेका शाहले त्यही सम्बन्धमार्फत आईसीसीबाट नेपालमा आईसीसी एकेडेमीको परियोजना भित्र्याएका थिए । गत सेप्टेम्बर ७ तारिखमा निधन भएका शाहको भनाइलाई मान्ने हो भने उनकै कार्यसमितिका केही पदाधिकारीका कारण त्यो परियोजना नेपालले गुमाएको थियो ।
जिम हल, स्विमिङ पुलसहितको सुविधा रहेको सो एकेडेमी शाहले मूलपानीमै बनाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव विनोदशंकर पालिखेसँग मिलेर क्यानकै केही पदाधिकारीले एकेडेमी पोखरामा बनाउने लबिङ गरेका थिए । ‘मेम्बर सेक्रेटेरी (सदस्यसचिव) ज्यूको घर पनि पोखरामै हो । केही व्यक्तिहरू उहाँलाई खुसी बनाएर क्यानको अध्यक्ष बन्न पाइन्छ भनेर आईसीसी एकेडेमी उहाँको सहरमा बनाउनुपर्छ भनेर लागेका रैछन्, मैले पछि बुझेको थिए’, शाहले आफू थलिनु केही समयअघि अन्नपूर्ण पोस्ट्लाई दिएको कुराकानीमा भनेका थिए।
एकेडेमी स्थापनाका लागि अध्ययन गर्न अस्ट्रेलियाबाट आएका प्राविधिकहरूले समर्थक, सहजता र अन्य सुविधाका कारण एकेडेमी काठमाडौंमै बनाउनुपर्ने प्रतिवेदन बुझाउँदासमेत पोखरामा बनाउनुपर्ने अडान नरोकिएपछि आईसीसीले एकेडेमी दुबईमा सारिदियो ।
शाहले गत ६ भदौमा काठमाडौंमै भएको क्यानको निर्वाचित समितिको विशेष साधारणसभामा पनि नेपालले आईसीसी एकेडेमी गुमाउनुपर्दा र त्यसबेलाबाट सुरु भएको मैदान अझै पूरा नहुनुमा दुःख पोखेका थिए । नेपाली क्रिकेटमा अध्यक्षको हैसियतले सबैभन्दा लामो समय काम गरेका शाह अहिले यो संसारमा छैनन्, यद्यपि उनले यो धर्ती छाडेको झन्डै तीन महिनापछि नै मूलपानी मैदान प्रतियोगिता आयोजनाका लागि योग्य र खुल्ला भएको छ ।
राष्ट्रिय टोलीका केही खेलाडी र अन्य सरोकारवालाहरूले आफ्नो अग्रसरतामा मूलपानी मैदानलाई नयाँ स्वरूपमा ल्याएका छन् । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, ब्याट्सम्यान सुवास खकुरेल र क्यानका प्रमुख कार्य सञ्चालक (सीओओ) छुम्बी लामाले यसमा विशेष अग्रसरता लिए ।
माओवादी कोटाबाट दलजित श्रीपालीले खेलकुद मन्त्रालय सम्हाल्दा सीईओ ज्ञानेन्द्र लामा, सुवासलगायत अन्य खेलाडी र सरोकारवालाहरूलाई लिएर मूलपानी मैदानको विषयमा ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका थिए । क्यान निलम्बनमा रहेको अवस्थामा कसले निर्माण कार्यलाई अघि बढाउने ? मन्त्री श्रीपालीले आवश्वासन दिएपछि यही टिम तातियो मैदानलाई खेल्न योग्य बनाउने अभियानमा।
‘हामीसँग मैदानको अभाव छ । कीर्तिपुर मैदानमा पनि केही न केही कार्यक्रम भइरहेका हुन्थे । खेलाडीहरूले अभ्यास गर्नसम्म नपाउने । त्यसैले निर्माणाधीन मूलपानी मैदानलाई चाँडै पूरा गर्न सकिए त्यो समस्या पनि समाधान हुने थियो भन्ने उद्देश्यले मैले खेलाडीसँग सल्लाह गरेर अघि बढाएको हुँ’, सीईओ लामा भन्छन्, ‘त्यसमा खेलाडीहरूको पनि उत्तिकै मेहनत परेको छ । उनीहरूको सक्रियतामै मैदानलाई खेल्न योग्य बनाएका छौं ।’
उनीहरूले मन्त्री श्रीपाली समक्ष पेस गरेको १७ लाखको बजेटमध्ये राष्ट्रिय खेलकुद परिषद्बाट १६ लाख ९२ हजार निकासा हुने भयो । यद्यपि राखेपका प्राविधिकहरूले यो रकममा मैदान खेल्न योग्य नबन्ने प्रतिवेदन बुझाएपछि प्रक्रियामा केही समस्या थपियो ।
लामो समयदेखि काम पूरा नहुँदा खेलाडी र क्रिकेटप्रेमीहरू नै मूलपानी मैदानमा यति चाँडै खेल सम्भव होला भनेर विश्वस्त थिएनन् । उद्घाटन भएको झन्डै १५ वर्षपछि मूलपानी मैदानमा पहिलो पटक खेल सम्भव भएको छ ।
यद्यपि अभियान रोकिएन । राखेपबाट पेस्की रकमसमेत नआउँदै पनि खेलाडीहरूले आफ्नै खर्च र अनुरोधमा सरसामान जुटाएर मैदान सम्याउने, खाली रहेको झन्डै सय मिटरको दूरीमा बार लगाउने, मैदानको बीच भागमा रहेको चारवटा पिचलाई निर्माण गर्ने काम भयो । त्यस क्रममा चाहिने इन्धन, पानी, कामदारलाई खुवाउने खाना÷खाजाको व्यवस्था पनि उनीहरू आफैंले गरे ।
काम निकै अघि बढिसकेको थियो । खेलकुद परिषद्बाट चार लाख ९२ हजार रकम पेस्की पनि निकास भइसकेको थियो । तर, त्यति नै बेला कसैले अख्तियारमा उजुरी गरीदियो । अख्तियारले खेलकुद मन्त्रालय र त्यहाँबाट खेलकुद परिषद्लाई पत्राचार भएपछि मैदानलाई पूर्णता दिने काममा अवरोध आयो।
झन्डै एक महिनाको प्रयासपछि नयाँ समिति बनाएर काठमाडौं जिल्ला खेलकुद विकास समितिमार्फत रकम निकासा गर्ने गरी काम अघि बढाउने व्यवस्था मिल्यो । त्यसपछि बाँकी रहेको मैदानको कामले पूर्णता पायो । मैदानको चार पिचमध्ये उद्घाटन खेलका लागि एउटामात्रै पिच पूर्ण रूपमा तयार पारिएको थियो । त्यसका लागि थप खेलाडीहरूकै ३० हजार रकम खर्च भएको छ ।
अवरोधका बीच पनि मैदान खेल्न योग्य बनेको छ । उद्घाटन भएको झन्डै १५ वर्षपछि मूलपानी मैदानमा पहिलो पटक खेल सम्भव भएको छ । लामो समयदेखि काम पूरा नहुँदा खेलाडी र क्रिकेटप्रेमीहरू नै मूलपानी मैदानमा यति चाँडै खेल सम्भव होला भनेर विश्वस्त थिएनन् । त्यो विश्वास राष्ट्रिय टोलीका कप्तान पारस खड्का आफैंलाई पनि थिएन ।
त्यसैले मैदानको उद्घाटन खेलमा भेट्रान्स ११ बाट खेलेका पारसले भने, ‘मैले यो मैदानमा सन्न्यासअघि खेल्न पाइएला भनेर सोचेको थिइनँ । यो खुसीको कुरा मैदानमा क्रिकेट खेल्ने सपना पूरा भएको छ ।’ मूलपानी मैदान खेल्न योग्य बन्दा उनीलगायत अन्य खेलाडी र क्रिकेट समर्थकहरू पनि खुसी छन् । मूलपानी मैदानमा एकेडेमी निर्माण गर्ने जयकुमारनाथ शाहको अभियान केही हदसम्म भए पनि पूरा भएको छ ।
उनको आत्माले पनि शान्ति महसुस गरेको हुनुपर्छ । यो अभियानलाई पूर्णता दिलाउन लागिपरेका खेलाडी र सीईओ लामालगायत त यत्तिकै पनि खुसी छन् ।मैदानको क्षेत्रफल, खेलाडीका लागि व्यवस्थित पभेलियन, अम्पायर रूपलगायत प्रशासनिक भवन पनि रहेको मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य छ । अझ त्यहाँबाट देखिने मनोरम दृश्य सबैलाई लोभ्याउने खालको छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आईसीसी वा एसीसीको विश्वास जित्न मैदानमा अझै धेरै सुविधाको व्यवस्था गर्नु अत्यावश्यक छ ।
मैदानमा अझै ड्रेनेजको व्यवस्था छैन । ड्रनेजबिनाको मैदानमा प्रतियोगिता सञ्चालन गर्न सकिँदैन । विशेषगरी पानी परेको अवस्थामा ड्रेनेजको आवश्यकता रहन्छ । मैदान भिजाउन बोरिङको व्यवस्था छैन । बत्तीको सीधा लाइन पनि छैन । यसका साथै मैदानलाई अझै केही लेवलिङ गरेर घाँस उमारेपछि मूलपानी क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको बन्ने छ । सबैभन्दा ठूलो कुरा क्यान आईसीसीको निलम्बनमा रहेको अहिलेको अवस्थामा मैदानको रेखदेख गर्ने निकायको अभाव छ । थप मर्मत र नियमित रेखदेख नहुने हो भने मूलपानी मैदान फेरि पुरानै अवस्थामा पुग्ने छ । त्यसैले मैदानलाई थप बिग्रन नदिन रेखदेखसहित मेैदान मर्मतको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्ले लिनु मनासिव देखिन्छ ।