बीपीको त्यो २१ सय

बीपीको त्यो २१ सय

शताब्दी छेउछाउमा छन्, मदनमणि दीक्षित । यो हिउँदमा ९६ वर्षमा उक्लिँदै छन् । वृद्ध वयमा पनि लेखनको नशा उत्रिसकेको छैन । नित्य चार दशक सतत एवं सक्रिय पत्रकारितामा निमग्न दीक्षित बीसको दशकयता भने साहित्य लेखनमा अधिक घोटिए । र, प्रतिफल नेपाली वाङ्मय जगत्ले माधवी, भूमिसूक्त, त्यो युग, जेन्डा, मेरी नीलिमा, ग्यास च्याम्बरमा मृत्यु, चरैवेतीसहित साढे तीन दर्जन राम्रा खुराक पायो ।

दशकौंपूर्व सीमान्त सहर वीरगन्जमा ‘माडसाब’ थिए उनी । प्रजातन्त्र आइसकेको थिएन । पहिला आफ्नै विद्यार्थी र पछिका साथी श्यामप्रसाद शर्मासँग संगत बाक्लिँदो थियो । तिनै श्यामप्रसादले एक दिन काठमाडौंको ‘हालखबर’ दैनिकका रङ्गनाथ शर्मासँग परिचय गराइदिए र सो छापा-खबरको प्रधानसम्पादकको जिम्मेवारी ग्रहण गरे । यसरी २०१४ को अन्त्यदेखि खबरसँग खेल्न थाले । तर, आफ्नो निष्ठा, प्रतिष्ठा र वैचारिक धरातलअनुरूप फैलिने आधार बिन्दु नपाएपछि एकाध वर्षमै उनले ‘हालखबर’ त्यागे ।

तथापि, स्मृति भने अझै ताजै छन्, त्यति बेला ‘हालखबर’ र तारिणीप्रसाद कोइरालाको ‘कल्पना’ दैनिकबीच तीव्र प्रतिस्पर्धा थियो । कल्पना तीन सय प्रति छापिन्थ्यो भने हालखबर दुई सय । उनले हालखबरको सम्पादनको जिम्मा लिएपछि बिक्री बढाएर २७ सयसम्म पुर्‍याए । उता कल्पना भने १५ सय छापिन थाल्यो ।

त्यति बेला बीपी कोइराला थिए, जननिर्वाचित प्रधानमन्त्री । एक दिन, बीपीका प्रिय भाइ तारिणीप्रसादले उनलाई ‘कल्पना प्रेसको मालिक’ बन्न आग्रह गरे । उनले स्वीकारेनन् । पछि, बीपीसँग भेट हुँदा कुरा निस्किएछ, ‘तपाईंलाई ‘कल्पना’को लागि प्रस्ताव गरिएको रहेछ, तर स्वीकार गर्नुभएछ नि ? ’ उनले ‘हो’ मात्रै भने।

‘समीक्षा’को तेस्रो अंकमा बीपी कोइरालाको व्यक्तित्व छापिँदा अन्तिममा एउटा हरफ पनि मुद्रित भयो, विप्र कोइरालालाई देख्नेबित्तिकै विराटनगरका तरुनीहरू भाग्छन् ।’ त्यही हरफले नियमित आइरहेको ६ सय रुपियाँ गुम्यो ।

प्युखा टोलमा बस्थे दीक्षित । उनीसँगै बस्थे भाइ महेशमणि दीक्षित पनि । एक दिन, महेशमणिले उनीसामु एउटा प्रश्न तेस्र्याए, ‘दाजु, तपाईंको बीपीसँग के कुरामा मतभेद छ ? ’ उनले भाइलाई प्रस्टै भने, ‘म कम्युनिस्ट पार्टीको समर्थक हुँ । तर, मैले अखबारमा पार्टी राजनीतिलाई प्रवेश गराएको छैन । र, मेरो बीपीसँग पनि खासै मतभेद छैन ।’

महेशमणिले कुनै विलम्ब नगरी सोधे, ‘तपाई के-के कुरामा बीपीलाई समर्थन गर्नुहुन्छ त ? ’ उनले भने, ‘बीपी यो मुलुकका प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको रूपमा म समर्थन गर्छु । अहिले चुनावका क्रममा केही मानिस स्वतन्त्र देखिएका छन्, ती स्वतन्त्रहरूप्रति बीपीले गरेका विरोधलाई म समर्थन गर्छु । बीपीको परराष्ट्र नीतिप्रति पनि मेरो समर्थन छ । टंकप्रसाद आचार्यले सुरु गरेका पञ्चवर्षीय योजनालाई बीपीले पुनः सुरु गर्ने कुरा गर्नुभएको छ, त्यसप्रति पनि मेरो पूर्ण समर्थन छ ।’

महेशमणिले प्रस्ताव राख्दै भने, ‘दाजु, हामी यी-यी कुरामा तपाईंलाई समर्थन गर्छौं भनेर बीपीलाई भनौं र अखबार निकाल्न पैसा मागौं ।’बीपी प्रजातन्त्रवादी, दीक्षित कम्युनिस्ट समर्थक । वैचारिक रूपले भिन्नभिन्न ढिस्कोमा उभिएका थिए । अखबार निकाल्न बीपीसँग आर्थिक अनुदान माग्ने कुरामा दीक्षित दाजु-भाइबीच सहमति भएपछि उनले टेलिफोन गरे ।

बीपीका स्वकीय सचिवले समय दिए । उनी सम्झन्छन्, ‘म निर्धारित समयमा बिहान ८ बजे पुगेँ र बीपीले मलाई घरको माथिल्लो तलामा बोलाउनुभयो । उहाँले के कामले आउनुभयो भनेर सोध्नुभयो ।’ उनले अखबार चलाउन आर्थिक सहयोग चाहिएको हुँदा पैसा माग्न आएको हुँ भनेर हाकाहाकी कुरा राखे । र, तपाईंलाई केही कुरामा आधारभूत रूपमा समर्थन गर्छु पनि भने ।

‘कति चाहियो ? ’ बीपीले सोधे । स्मृतिका पानाहरू पल्टाउँदै दीक्षित भन्छन्, ‘मैले बीपीसँग १५ मिनेटजति कुराकानी गरेँ । र, मलाई अखबार निकाल्न मासिक ६ सय रुपियाँ चाहिन्छ भनेँ । बीपीले हरेक महिनाको पैसा पहिलो हप्ता आएर लिएर जानुस्, पहिलो हप्तापछि मसँग पैसा रहँदैन भन्नुभयो ।’

महेशमणि भने निकै व्यग्र र आतुरतापूर्वक दाइलाई पर्खेर बसिरहेका थिए, कोठामा । उनमा एउटै कौतूहल थियो, बीपीले पैसा दिने भए वा भएनन् ? दीक्षितले एकै सासमा खुसीको खबर सुनाए । बीपीबाट प्राप्त हुने ६ सयले त अखबार प्रकाशनलाई मात्र ठिक्क हुन्थ्यो । कार्यालयको भाडा र वितरकको तलब कहाँबाट जुटाउने ? उनमा धर्मसंकट छायो । कार्यालय भाडा र वितरकलाई दिन महिनामा ६० रुपियाँ लाग्ने हिसाब निकालियो । दीक्षित सम्झन्छन्, ‘म भोलिपल्ट बीपीकहाँ गएँ र उहाँले ६ सय दिनुभयो । त्यसपछि मैले सान्दाइ, यो ६ सयले त नपुग्ने रहेछ, मैले हिजो भन्न बिर्सिएको रहेछु । कार्यालय-भाडा र वितरकलाई समेत दिनुपर्ने भएको हुँदा ६० रुपियाँ बढी हिसाब निस्कियो, ६० रुपियाँ थपिदिनु पर्‍यो ।’

बीपी अलि कडै रूपमा देखिए र उनले भने, ‘तपाईंले हिजो जति रकम माग्नुभएको थियो, मैले त्यति रकम आज दिएँ । अरू त म दिन सक्दिनँ । यतिले हुँदैन भने नगर्नुस्, ननिकाल्नुस् अखबार ।’ दीक्षितले थप केही भन्न चाहेनन् । बीपीको आर्थिक अनुदानपछि निस्किन थाल्यो ‘समीक्षा’ साप्ताहिक । ३० वैशाख २०१७ देखि । राजा महेन्द्रले प्रजातन्त्रको गलामा छुरी धस्नुभन्दा आठ महिनाअघि प्रकाशन प्रारम्भ भएको ‘समीक्षा’लाई सिंगो पञ्चायतकालभरि ‘बीपीको अखबार’को ट्याग लाग्ने क्रम चलिरह्यो । तर, बीपीले तीन महिनासम्म मात्रै खर्च थेगे । दीक्षित सम्झन्छन्, ‘मैले बीपीबाट २१ सय रुपियाँ पाएँ, त्यत्ति हो ।’ तर, तीन महिनाका निम्ति १८ सय दिनुपर्ने भए पनि २१ सय किन दिए, बीपीले ? अहिले पनि दीक्षितका मनमा यो प्रश्न खेलिरहन्छन् ।

त्यही समय, बीपीले तत्कालीन सोभियत संघको भ्रमणमा दीक्षितलाई पनि सामेल तुल्याए । १७ जनाको टोली उडेको थियो, मस्कोतिर । तर, दीक्षित सोभियत संघबाट फर्किंदा देखे, अखबार त बन्द । महेशमणिलाई सोधे, ‘अखबार किन बन्द भयो ? बीपीले सहयोग गरिरहनुभएको छैन ? ’ महेशमणिले जवाफ दिए, ‘उहाँसँग माग्न त गएको थिएँ तर मलाई थाहा छैन भनेर फर्काइदिनुभयो ।’

आखिर, बीपीले ‘समीक्षा’लाई दिँदै आएको आर्थिक सहयोग किन बन्द गरे त ? दीक्षित भन्छन्, ‘बीपीले पैसा बन्द गर्नुको एउटा रहस्य मैले पत्ता लगाएँ । हामीले ‘समीक्षा’को दोस्रो अंकदेखि ‘व्यक्तित्वको खोजी’ नामक कोलम सुरु गरेका थियौं । टंकप्रसाद आचार्यबाट सुरु गरेर तेस्रो अंकमा बीपी कोइरालाको राखेका थियौं ।’

‘समीक्षा’को त्यही तेस्रो अंकमा बीपी कोइरालाको व्यक्तित्व छापिँदा अन्तिममा एउटा हरफ पनि मुद्रित भयो, ‘तर, विप्र कोइरालालाई देख्नेबित्तिकै विराटनगरका तरुनीहरू भाग्छन् ।’ त्यही एक हरफले नै महिनाको प्रथम सप्ताह नियमित रूपमा आइरहेको ६ सय रुपियाँ गुम्न पुग्यो । आफैंले आर्थिक टेको दिइरहेको अखबारले आपत्तिजनक प्रसंग उप्काएपछि बीपीले आर्थिक सहयोग बन्द गरेको क्षण दीक्षित अझै पनि सम्झन्छन् ।

१ पुस २०१७ पछि समयले बेग्लै दिशा समात्यो । एउटा शासनप्रणालीका भर्खर पलाउँदै गरेका पालुवाहरू चुँडिए र अर्कै शासनव्यवस्था, राजनीतिक शैली प्रारम्भ भयो । र, प्रजातन्त्र अपहरणमा परेलगत्तै वीपीको जेल-जीवन आरम्भ भयो । २०२५ सालमा बीपी जेलबाट छुटे । उनी जेलबाट छुट्दा स्वागत गर्न जानेहरूका पंक्तिमा दीक्षित पनि थिए । त्यसलगत्तै बीपीले थाले, देश-दौडाहा । उनलाई विराटनगरमा भेटेका बेला राजासँग निकट रहेका ऋषिकेश शाहले भनेछन्, ‘तपाईंलाई महाराजाधिराजले फेरि जेल पठाउने भएका छन् ।मैले गोप्य तरिकाबाट थाहा पाएको हुँ ।’ नौ वर्ष जेल-जीवन भोगेका बीपी पुनः जेल जान चाहँदैनथे । त्यसलगत्तै बीपी र गणेशमान सिंह दुवैले भारतमा निर्वासित जीवन रोजे ।

देशमा नयाँ राजा फेरिएपछि भने २०३३ सालमा राष्ट्रिय मेलमिलापको आह्वान गरेर बीपी नेपाल फर्किए । तर, उनको जेलयात्रा, रिहाइ, निर्वासन सबैमा दीक्षित सदैव सन्निकट नै रहे । उनी सम्झन्छन्, ‘बीपी बनारसमा बस्दा मैले उहाँसँग चारपटक अन्तर्वार्ता लिएर प्रकाशित गरेँ ।’ त्यस क्रममा राजा वीरेन्द्रको शुभराज्याभिषेकका बेला नेपाल नआएर राजाको अपमान गरेको सुझाव पनि दिएका थिए । बीपी भने आफूले नयाँ राजालाई अपमान नगरेकोमा दृढ थिए । वीरेन्द्र र बीपीबीच मुम्बईमा भेट भएको थियो, त्यही समय । उनले वीरेन्द्रसामु क्यान्सरको उपचार गर्न युरोप जान अनुमति मागेका थिए । तर, वीरेन्द्रले काठमाडौंमा आएर कुरा गरौंला भनी टारेपछि बीपीको मन मरेको दीक्षितको ठम्याइ छ ।


२०३६ सालमा जनमतसंग्रह घोषणा भएपछि राजनीतिक माहोल केही खुकुलियो । यस परिवेशले राजनीतिक चहलपहल बाक्लिँदै पनि गयो । २०३८ सालतिर ‘रूपरेखा’का सम्पादक उत्तम कुँवरले चाबहिलस्थित आफ्नो निवासमा भव्य भोजको आयोजना गरेका थिए र निम्त्याइएका थिए, दीक्षित पनि । त्यही भोजमा बीपीलाई पनि बोलाइएको रहेछ । जुन कुराप्रति दीक्षित पूर्णतः बेखबर थिए ।

दीक्षित आश्चर्य मान्दै भन्छन्, ‘उत्तमकहाँ पुग्दा बीपीलाई पनि देखेपछि चकितै परेँ ।’ त्यही भेट नै बीपी र उनको अन्तिम भेट बन्यो र त्यो बेला बीपीले केही कुरा राखेका पनि थिए । त्यसमध्ये एउटा कुरा दीक्षित अझै स्मरण गर्छन्, ‘त्यति बेला बीपीले नेपालका राजाको शासनमाथि कसैले धावा बोल्छ भने राजाको गर्दन तल र मेरो गर्दन माथि हुन्छ भनेर बोल्नुभयो । मैले उहाँले भन्नुभएको कुराको अर्थ त बुझेँ तर भाषा भने राम्रो नभएको मैले महसुस गरेँ ।’

२०३९ सालमा बीपीले भौतिक देह परित्याग गर्दा दीक्षित कलैयामा थिए । पारिवारिक कामका क्रममा कलैया पुगेका उनले बीपीको देहावसान भएको खबर रेडियोबाट थाहा पाए । बीपीको देहावसानको खबरलगत्तै उनी कलैयाको दूरसञ्चार कार्यालयमा हान्निएर गए र टेलिफोनबाटै काठमाडौंमा छोरा विनोद दीक्षितलाई बीपीको अवसानबारे सम्पादकीय लेखाए । कलैयाबाट टेलिफोनबाट टिपाइएको बीपीप्रति श्रद्धाञ्जलि अर्पिएको सम्पादकीय ‘समीक्षा’को २०१७-२०५२ को यात्राका एक उम्दा, प्रभावशाली र ऐतिहासिक सम्पादकीय रहेको कुरा दीक्षित अहिले पनि स्मरण गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.