पलायन
म घरको पाँचौं तलामा बस्छु । बस्छु के भन्नु, बाध्य छु । मुनि तलाका सबै कोठामा मैले-हामीले भाडा लगाएका छौं । त्यै भाडा नै हाम्रो आम्दानीको स्रोत हो । आफ्नो कोठाको बरन्डामा निस्केर म छरछिमेकका घरहरूमा बस्ने भाडावाललाई हेर्दै आनन्दसँग टोलाएर बस्छु । प्रायः सबै भाडावाल बिहान-बेलुका बरन्डामा निस्केर वरिपरि आँखा घुमाइरहेको पाउँछु । अर्को घरमा यौटी बूढीमान्छे लट्ठी टेक्दै वरिपरि घुम्दै हेरिरहेकी हुन्छिन् । तिनको साधारण परिचय पनि मलाई छैन । तिनको परिचय लिन खोज्नु मेरो मूर्खताको विषय हुन्छ भन्ने मैले सोचेको छु । तर, तिनका मौन आँखा सधैं आकाशतिर सलबलाइरहेका हुन्छन् । आकाशबाट तिनले के प्राप्ति गर्न खोजिरहेकी छन्, त्यो मलाई थाहा भएन ।
घरमुनि बरन्डाको एउटा भागमा चारपाँचवटा मिसिन राखेर लुगा सिइरहेको म देख्छु । चारपाँचवटी अधबैंसे महिला आएर त्यहाँ सधैं लुगा सिइरहेको देख्छु । मलाई किनकिन त्यो देखेर छक्क लाग्छ । सडकछेउको कोठा भाडामा लिएर यस्तो महँगो पसल राख्नुभन्दा ती महिलाले भाडा नलाग्ने जुक्ति गरेको देख्दा अचम्म लाग्छ । आखिर यस्ता काम चिनजानका मानिसबाटै आउने हुन् र काम राम्रो भएको देखेपछि स्वतः व्यापार आइहाल्छ । फेरि जाडोमा त दिनभरि घाममा बसेर काम गर्न अति रमाइलो हुन्छ । बजारमा आन्तरिक संघर्ष भइरहन्छ, त्यति नै यस्ता नयाँ उपलब्धिहरू आइरहन्छन् भन्नेमा म विश्वस्त छु ।
पल्लो कुनाको बरन्डामा दिउँसोको टन्टलापुर घाममा एकजना अशक्त वृद्ध एक्लै नुहाइरहेको देख्छु । ती वृद्धकी श्रीमती छैनन्जस्तो मैले सोचेको छु । सायद छोराबुहारीको मायामा उनी यस सहरको त्यो कौसीमा जिन्दगी काट्न संघर्ष गरिरहेका छन् । नुहाएपछि ती वृद्ध विस्तारै लुगाहरू फेर्छन् । एकछिनपछि हेर्छु- ती अशक्त वृद्ध आफैं लुगा धुन पनि तल्लीन हुन्छन् । अझै पछि दौरा, सुरुवाल, इस्टकोट लगाएर चिटिक्क परी कुर्सीमा आरामसाथ बसेको देख्छु तिनलाई । मलाई ती वृद्धको इतिहास खोज्न पटक्कै मन छैन तर उनको प्रशंसा गर्न चाहन्छु । यस्ता वृद्धहरू पनि आफ्नै खुट्टामा उभिएर बाँचेको देख्ता मलाई कताकता मनभित्र गौरव महसुस हुन्छ । होइन भने नेपालका धेरै वृद्धवृद्धा रुँदै वृद्धा श्रममा चक्कर लगाइरहेको मैले देखिरहेको छु ।
यो म बसेको एरिया पनि गजबको छ । यहाँ वरिपरिका घरहरू सबै सर्वसम्पन्न छन् । घर भाडाबाट उनीहरू सबै बाँचेका छन् । फेरि यो एरियाबाट जहाँ जान पनि सजिलो र सस्तो छ । हवाईजहाजबाट उडेर कहीँ-कतै जानु वा आउनुपर्दा पनि अत्यन्तै सजिलो छ । मेरो घरको पूर्वपट्टि एकजना महिलाले कौसीमा अति राम्रो उर्वर खेती गरी आफ्नो आयआर्जन गरिरहेकी छन् ।
ती महिलाको कौसीमा के छैन— कागती, खुर्सानी, गोलभेडा, मूला, काउली, भान्टा आदि विभिन्न सागसब्जी र थोरै फल पनि त्यहाँ सजिएका छन् । तिनलाई म सधैं आफ्नो कौसीबाट देखेर प्रसन्नताको अनुभव गर्छु । आफ्नो मेहनतले त्यसरी जीविका चलाउन सक्नु महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।
दिनहरू राम्रैसँग बितिरहेका थिए । तर, एक रात मेरो सपनाको महल भताभुंग भयो । रातको लगभग १२ बजेतिर मेरै छिमेकीको कुनै कोठामा कुटपिट भएजस्तो ठूलो आवाज आयो । मलाई बाहिर निस्कन पनि डर लाग्यो । त्यही पनि मैले थाहा पाएँ, पल्लो घरमा दाजुभाइबीच भयंकर कुटपिट भएको रहेछ । पुलिस पनि आइसकेको बुझेँ । म त आकाशबाट खसेजस्तो भएँ । गाइँगुइँबाट थाहा भयो— दाजुभाइ पटक्कै मिल्दा रैनछन् । सायद दुवैजना यौटै केटीलाई प्रेम गर्दा रैछन् अनि त्यसको पर्दा छ्यांग खुलेपछि दाजुले भाइलाई कुटपिट गर्न थालेछ । कतिसम्म भने भाइको ज्यान नै गएछ र पुलिस आउन बाध्य भयो ।
यस्तो स्वच्छ एरियामा यति नराम्रो कलुषित घटना भइदियो । म आफ्नै कोठामा फर्केर चुपचाप सुत्न बाध्य भएँ । तर, मनमा आएका अनेकौं प्रसंग- बेप्रसंगका घटना-दुर्घटनाले रातभरि निदाउन सकिनँ । अझ के-कसो हुने हो, म त्रसित भएर बसिरहेको छु ।
अर्को एक रात फेरि कोलाहल मच्चिएको सुनेँ । म अचानक निद्राबाट बिउँझिएँ र बाहिर निस्किएँ । बत्तीको थोरै उज्यालोमा मैले देखेँ— एउटी महिलालाई अर्को जवान मर्दले बेस्सरी घिच्याउँदै थियो । त्यो जवान मर्द भन्दैथ्यो, ‘आज म तँलाई छोड्नेवाला छैन । कि खुरुक्क मेरो पछिपछि आइज, होइन भने तेरो दुर्गति हेरिनसक्नु हुनेछ । यही सहरमा मेरो घर छ । तर, मेरो श्रीमती भएर यहीँ डेरा लिएर बस्न मिल्छ तँलाई ? ’
महिला रोएको आवाजले यो टोललाई नै थर्काइरहेको छ । ऊ भनिरहेकी छे, ‘हजुर ! म आफ्नो घर जान तयार छु तर त्योभन्दा पहिले आफ्नी आमालाई कहाँ पठाउनुपर्ने हो पठाउनुस् । हजुरको आमाले त्यस घरमा टिक्न दिए पो ! कत्ति रात मैले रोएरै काटेकी छु । अब फेरि गएर म सधैं रोएरै बसौं त्यो घरमा ? म बरु बाहिर जे काम पनि गर्न तयार छु । तर, त्यो घरमा गएर बस्ने मेरो क्षमता छैन ।’
यस्ता गाँजेमाँजे कुराले मेरो निद्रा किन बिगारूँ भन्दै म पनि आफ्नै कोठामा आएर सुतेँ । यस्ता प्रसंग-बेप्रसंगका कुरा र घटनाले म पनि केही रातदेखि राम्ररी निदाउन सकेको छैन ।
यस्तै अर्को एक बिहान खाना खाएर ओछ्यानमा पल्टेको मात्र के थिएँ, वरपरको आवाजले मलाई अचानक बिउँझायो । वरपरका कोठाहरूबाट आइरहेको आवाजले थाहा पाएँ— कुनै पार्टीको मिटिङ भइरहेको छ । त्यहाँबाट आएका स्पष्ट-अस्पष्ट आवाजले मलाई डिस्टर्ब गरे ।
- ‘यसपालि पार्टीको टिकट मैले नै पाउनुपर्छ । किनभने म यहाँको पुरानो र इमानदार कार्यकर्ता हँ।’
- ‘यहाँ को पुरानो, को नयाँ ! जसलाई जनताले छान्छन्, नयाँ भने पनि, पुरानो भने पनि उसैलाई भने हुन्छ । त्यसकारण टिकट त मैले पाउनुपर्छ ।’
- ‘मलाई त टिकट सिकट केही पनि चाहिँदैन । तर, पार्टीले मलाई एक लाख रुपैयाँ सहयोग गर्नुपर्छ ।’
- अर्को अनौठो र नयाँ आवाज पनि मेरो कानमा ठोक्कियो ।
- अर्को आवाज झन् चर्को सुनियो, ‘मलाई त पाँच लाख नभई भएको छैन, नत्र म विद्रोही उम्मेदवारका रूपमा आइदिऊँला !’
यस्ता चाहिने÷नचाहिने कुराले हाम्रो देशका पार्टीहरूको गतिविधि बुझ्न मलाई केही गाह्रो परेन । तर, यो चोक त गजबको रहेछ— यौटा रहस्यमय चोक।
यस्तैयस्तै घटनाले मलाई आफ्नै घरमा बसिरहन पनि असाध्यै दिक्क लागेर आयो । सहरबाट अलिक टाढा कतै डेरा लिएर बस्न मन लाग्यो । यो घरलाई सधैं भाडामा लगाउन सकिने कुरामा विश्वस्त भएँ । र, एक दिन म कतै टाढाको सहरमा पुगेँ । सुटुक्क डेरा लिएर बसेँ । त्यहाँ बस्दा मलाई अलौकिक आनन्दको अनुभव भयो ।