सिम कार्ड नं. ४५६९३

सिम कार्ड नं. ४५६९३

नेपाल देशमा भर्खरै मोबाइलको दुनियाँ सुरु भएको थियो ।अरूले के गर्थे ?
मचाहिँ ! मोबाइलमा कुरा गरिरहेको मानिस देखेँ भने टक्क उभिन्थेँ । जादुमा लठ्ठिएको दर्शकजस्तो लठ्ठिन्थेँ ।
सपना देख्ने गिदीबाट र्‍याल चुहिन्थ्यो । ‘एक दिन म पनि मोबाइल बोक्नेछु ।’
मोबाइलको जुग सुरु हुँदा लोकल छाला जुत्ता कम्पनीको कामदार थेँ । कारखानामा उत्पादित सामान झोलामा बोकेर पसल पसल पुर्याउँथेँ ।
Ramesh-Sayan-photoमासिक पन्ध्र सय मेरो ज्याला थियो । कोठा भाडा सात सय । कलेज, ट्युसन फी, रासन पानी, अग्रमबग्रम खर्च झन्डै पच्चीस सय । घाटा एक हजार !

ती मालिक जसले मलाई बाँच्न सिकाए । कम तलब दिएर आम्दानीमाथि सिर्जनशील बन्न सिकाए । घाटा कसरी पूर्ति गर्दैछस् भनेर कहिल्यै केरकार गरेनन् । यसकारण उनलाई असल मालिक भन्ने गरेको छु । नत्र मैले अधिकांश मालिकलाई असल भनेको छैन । यिनै मालिकको कारण मभित्र मोबाइल बोक्नसक्ने हिम्मत छ भनी पत्ता लगाएँ ।

एक दिन, नेपाल टेलिकमले सिमकार्ड बाँड्दै छ भन्ने खबर अखबारमा भेटेँ । कलेजको लाइब्रेरीबाट अखबार चोरेर घर ल्याएँ । प्रेमिकाको फोटो र पत्रपत्रिकामा आउने यौन जिज्ञासाको भित्री पाना सँगै सिरानीमुनि जतनले राखेँ ।

नेपाल टेलिकमको बुद्धि थियो, सिमकार्ड लिन चाहने गरिब जनताले अनिवार्य सरकारी अधिकृतको ग्यारेन्टी लिनुपर्ने । ‘फलानो मैलै चिनेजानेको असल मान्छे हो !’ भनी अधिकृतले सही ठोक्नु पर्थ्यो । यसको अर्थ हुन्थ्यो, ‘फलानो सरकारको मान्छे हो, आतंककारी हैन ।’ सभ्य भाषामा ‘फलानो सरकारी मान्छे हो, माओवादी हैन ।’

मैले खोजेँ अधिकृत आफन्त ! जसले मलाई सरकारको मान्छे भनी प्रमाणित गरून् । तर मेरा आफन्तहरू त कि किसान कि मजदुर भेटिए ! जो सरकारको मान्छे हुनसक्ने कुरै भएन ।
कोसिस गर्छु । एकैपल्ट हार्ने मेरो बानी हैन ।
एक सरकारी कार्यालयको ढोकामा पुगेँ । च्याएँ । देखेँ, अधिकृत जातको मनुवा ।
अधिकृत बालुवामा लोटाले पानि खन्याए टाइपको रूखो रहेछ ।
कडा स्वरमा सोध्यो ‘के काम थियो ।’

मेरो कामिरहेको हातमा नेपाल टेलिकमको फारम थियो ! ‘सर यसमा सही गर्दिनु पर्‍यो !’
अधिकृतले हप्कायो ‘तिम्लाई चिन्दिनँ । के काम गर्छौ ? ’
हानुवा गोरुको जस्तो अनुहार थियो उसको । मान्छेको अनुहार त्यति खस्रो र रिसाहा कहिल्यै देखेको थिइनँ ।
‘काम के गर्छौ !’ को उत्तर पर्खेन । बाहिर जाने उर्दी दियो । कस्तो मूर्ख ! प्रश्न सोध्ने उत्तर नपर्खिने !
उसको उर्दी बेवास्ता गर्दै भनेँ, ‘महेन्द्र मोरङमा बीबीएस पढ्छु सर ।’
‘विद्यार्थीलाई किन चाहियो मोबाइल ? ’

उनले मसँग सीधै मोबाइल खोस्ने हिम्मत राख्नुपर्थ्यो । बियर ख्वाएर रड्डी गरे । उनले त्यस दिन बियर नख्वाएको भए आजसम्म पनि एक थोपा बियर नखाई बाँचिरहन सक्थेँ होला । त्यसपछि सयौंपल्ट बियर पिएर ह्याङ भएको छु ।

मैले उत्तर दिन सकिनँ । अघि नै जारी भएको बाहिर जाने उर्दी शिरोपर गर्दै बाहिर निस्केँ ।
मेरो लुरे अनुरोध बतासमा काँसको फूल बिलाएझैं बिलायो । मेरा लुला गोडाले अधिकृतको ढोका हाप्यो ।
मेरो बुताले म सरकारी मान्छे नहुने रहेछु ।
भोलिपल्ट रुन्चे स्वरमा कलेजमा केटी साथीलाई सुनाएँ, ‘ओइ मैले मोबाइल लिन नपाउने भएँ नि।’

मैले मोबाइल किन्न लागेको योजना कसलाई सुनाऊँ कसलाई सुनाऊँको भावमा पहिलोपल्ट उसैलाई सुनाएको थिएँ । साथी आधा खुसी आधा डाहाको भावमा परेकी थिई ।
साथीलाई मैले सरकारी अधिकृतबाट आफू प्रमाणित हुन नसकेको कुरा सुनाएँ ।
उसले डाहा त्यागी । सहयोग गरी ।
उसको बा सरकारी जागिरे ! अधिकृत उनका हाकिम !
साथीले बालाई भनी, ‘मेरो साथीले सिमकार्ड लिन लागेको छ । सहीछाप गरिदिनु पर्‍यो ।’ म साथीको घर जाने आउने गर्थें । बाले मलाई राम्रै चिन्थे । म असल हुँ भनी ठान्दा रहेछन् ।आफ्ना हाकिमलाई सिफारिस गरिदिने भए । तर, साथीका बाले सजिलै काम गरिदिएर म किन सानु हुने भन्ने भावमा केही प्रश्न सोधे । मैले उत्तर दिएँ ।

प्रश्न : ‘विद्यार्थीलाई किन चाहियो सिमकार्ड ? ’
उत्तर : ‘एउटा छाला जुत्ता कारखानामा काम गर्छु । सामानहरू बेच्न टाढाटाढा जानुपर्छ । धेरै अर्डर ल्याएँ भनेँ मालिकले धेरै कमिसन दिन्छ । मोबाइल भयो भने फोनबाटै बसीबसी अडर लिन सजिलो हुन्छ ।’

प्रश्न : ‘सिमकार्ड मात्रले के गर्छौ, मोबाइल महँगो हुन्छ ? ’
उत्तर : ‘मेरो मालिक इन्डिया गइरहन्छ । दिल्लीको चोर बजारमा सस्तो मस्तो मोबाइल पाइन्छ रे । उतैबाट ल्याइमाग्छु ।’
साथीको बाको अनुहार उज्यालियो ।
उनले सर्त राखे । ‘तिम्रो मालिकलाई भनेर मलाई पनि सस्तोमस्तो मोबाइल मगाइदेऊ है त ।’
मैले सर्त मानेँ ।

उनले हाकिमलाई सिफारिस गरिदिए । मैले सिमकार्ड पाएँ ।
जोगबनीका थुप्रै मोबाइल पसलमा मोबाइलको मूल्य सोधी हिँडे । खल्तीको औकातले छेउटुप्पो भ्याएन । मोबाइलको दाम सोध्ने । हातमा सिम लिएर सुम्सुम्याउने र घर फर्किने काम धैरै पल्ट भयो । पर्दाको हिरोइनलाई आफ्नी हिरोइन सम्झेर कल्पेजस्तो सोकेसको मोबाइललाई एउटा न एउटा त मेरै हो भनी कल्पेँ ।

कहिले त लाग्यो ग्राहकको भीडभाड भइरहने पसलबाट एक सेट टिपेर टाप कसौं । तर मेरो कमजोर मुटुले हिम्मत गरेन । उबेला मुटु बलियो भइदिको भए, कथाले यही ठाउँबाट यु टर्न हान्ने थियो । (अब तपाईंले सरल रेखामा हिँडेको सीधासाधा कथा पढ्नुपर्ने भयो ।)
तर अचानक मेरो हातमा मोबाइल पर्‍यो ।

म जुन घरमा डेरा गरी बस्थेँ । त्यो घर नवीन पौडेल नाम गरेका भूमिगत नेताले भाडामा लिएका थिए । उनी मोबाइल बोक्थे । मैले मोबाइलको सिम खरिद गरेको खबर उनलाई भयो ।
उनले मलाई सामसुङ ब्रान्डको पुरानो फोन उधारो उपहार दिए ।

उपहारमा एउटा सर्त लागू भयो, ‘मैले फोन गरेको बेला फोन उठाउनु ! सोधेको प्रश्नको जवाफ दिनु ! ’ उनी सोध्थे, ‘घर आसपास कुनै नौलो मान्छे देखिएका छन् कि ! फलानु नेता आइपुगेको भए मलाई कुरा गराऊ ।’

त्यो घरमा माओवादी नेताको ठूलो चहलपहल थियो । केन्द्रीय स्तरका नेताहरू आउँथे । जिल्लाका नेताको त मुख्य अड्डा भइहाल्यो । धेरै नेताले मेरो फोन उधारोमा प्रयोग गरे ।
सिमकार्ड लिने बेला सरकारको मान्छे भनी प्रमाणित भएको थेँ । तर फोन असरकारी मान्छे प्रयोग गर्थे । घरिघरि लाग्थ्यो, ‘सरकारलाई मुर्गा हानेँ । अब सरकारले मलाई कुन दिन घोक्रे हान्छ । अकारण असहिद बन्छु । चुरिफुरी सकिन्छ ।’

नवीन पौडेलको परिवारबाहेक त्यो घरमा नीलम पौडेल नाम गरेकी एक पात्र पनि डेरा गरी बस्थिन् । यी पात्र असाध्य रहस्यमय । थुप्रैपल्ट एसएलसी दिइसकेकी तर नहारेकी । एक दिन पास हुने हिम्मत बोकेकी । कतै काम गर्थिन् । उनको पनि मोबाइल थियो । मोबाइल सेट मेरोजस्तै नवीन पौडेल दाइको ‘उधारो उपहार’ । सिम मेरोजस्तै निजी ।
(नीलम पोडेलबारे उत्ति थाहा पाउँदिनँ तर कथामा उनी फेरि जोडिनेछिन् । अहिले कारखानाका मेरा मलिकबारे बताउँछु ।)

छाला जुत्ता कारखानाको मालिकलाई मैले मामा भन्न पर्‍यो । मेरो साथी जसले मेरो इमानदारिताको ग्यारेन्टी लिएर मलाई काममा लगाइदिएको थियो । उसले कारखानाको मलिकलाई मामा भन्थ्यो ।
साथीको नातालाई निरन्तरता दिने हुँदा उनी मामा नाता पर्न गए ।
मामाको नाम दुइटा थियो । एउटा राहुल ! अर्को जहुर ! जहुर मस्जिदमा काम लाग्थ्यो । राहुल मन्दिरमा ।

धार्मिक हिसाबले क्रान्तिकारी थिए । हिन्दु साथीसँग राहुल । मुस्लिम साथीसँग जहुरको नामबाट परिचित । उनी मन्दिर जान्थे । उनी मस्जिद जान्थे ।
इन्डियातिर गएर महिनौं बस्थे । यता उनको व्यापार पन्ध्र सय महिनाको भरमा मैले धानिदिनु पथ्र्यो । उनी विराटनगरका डेरावाल हुन् । जनकपुरको धनी मान्छे हुँ भन्थेँ । म पत्याउँथेँ । तर पत्याउने गुण उनको जीवनशैलीमा थिएन । यसकारण उनलाई सादा जीवन उच्च विचारका भनी चित्त बुझाउन सकिन्छ ।

कारखानाको लगानी ठूलो थिएन । यसकारण आम्दानी सानो थियो । उनी चलेका थिए । म चलेको थेँ । कारखाना चलेको थियो ।
उनी इन्डिया गएको बेला प्रत्येक हप्ता जोगबनी गएर उनलाई फोन गर्नु पथ्र्यो । आम्दानी-खर्च विवरण बुझाउनु पथ्र्यो ।
एक दिन मैले निजी मोबाइलबाट फोन गरेँ । मोबाइल किनेको खबर सुनाएँ । सेट अर्काको हो । सिम मेरो हो भन्ने खबर गरेँ । अनुरोध गरेँ ‘मामा इन्डियाबाट सस्तोमस्तो मोबाइल सेट ल्याइदिनुस्।’
मामाले हुन्छ भने ।
म खुसी भएँ ।

उनी एक महिनापछि घर फर्के । नभन्दै नोकियाको एघार सय मोडलको नयाँ सेट बोकेर आएछन् ।
कस्ता ज्ञानी मालिक । कस्ता असल मालिक ! कस्ता विश्वासिला मालिक ! म त भावुक भएँ ।
त्यस दिन मामाले मलाई बियर ख्वाए । पहिलोपल्ट बियरको तीतो झोल चाखेँ । मेरो मुख टर्रियो । मेरो बेस्वादलाई स्वादिलो बनाउन मामाले बियरमा कोकाकोला मिसाइदिए । स्वाद फेरियो ।
कोक मिसिएको स्वादिलो बियर खुबै पिएँ ।
मैले छादेँ । मलाई छाद्नुको स्वाद थाहा थियो । मात्नुको स्वाद थाहा थिएन । जे थाहा थियो त्यही गरेँ ।

मामाले आफ्नै डेरामा लगेर सुताए । बिहान टाउकोमा हम्मरले हानेजस्तो पीडा भयो । मामाले प्रेमले मेरो टाउको छामे । प्रेमले टाउको नदुख्ने औषधि किने । प्रेमले ख्वाए । म फेरि भावुक भएँ।उनले मेरो भावुकतामा अचानक अट्याक हाने । बियर र कोकाकोलाको ककटेल ह्याङ एकैपल्ट उत्रियो ।

‘भान्जा तिम्लाई मोबाइल काम छैन । तिम्रो तलबले मोबाइल खर्च थाम्दैन । मोबाइल मलाई देऊ । पार्टीहरूसँग अडर लिन सजिलो हुन्छ । इन्डियाको पार्टीहरूसँग सामान अडर गर्न पनि सजिलो हुन्छ ।
बोल्न बिर्सिएँ । मसँग शब्द र आवाज छ भन्ने भुलेँ ।
मामाले नै सम्झाए, ‘के भयो भान्जा ? ’
मैले हुन्छ भनेँ । बेहोशीमा हुन्छ भनेँ ।

होशमा फर्किएपछि फेरि भनेँ । ‘मामा आज घरबाट आमा आउँदै हुनुहुन्छ । बसपार्क आएर पीसीओबाट फोन गर्छु भन्नु भ’को छ । आमालाई बसपार्क लिन जानु पर्छ । आमा आउन ढिला हुन्छ । मामालाई भोलि ल्याएर दिन्छु सिमकार्ड ।’
ठूलो विश्वासमा मलाई कारखाना सुम्पेर इन्डियातिर बस्ने मालिकले मेरो सानातिना असत्यलाई पनि सत्य मान्न सक्नुपर्छ ।
उनले ‘हुन्छ’ भने
‘भोलि सिम ल्याएर देऊ है त ।’
मैले टाउको हल्लाएँ ।

मालिकलाई लाग्यो होला ! (लाग्यो होला हैन ! तपाईं पाठकले लाग्यो नै भन्न सक्नुहुन्छ ।) ‘म मालिक हुँ । मालिकसँग मोबाइल छैन । नोकरसँग मोबाइल छ । सँगै हिँड्दा नोकरले मोबाइलमा गफ हान्छ । मैले उसको अनुहार हेरेर टोलाउनु पर्छ ।’
यो औकातको न्यूनतम बिन्दु हो ।

यस्तो मनको विज्ञान बोकेर कुन मालिक हिँड्न सक्छ ! मालिकले मबाट मोबाइल खोस्नु ठीक कुरा हो ।तर उनले मसँग सीधै मोबाइल खोस्ने हिम्मत राख्नुपथ्र्याे । बियर ख्वाएर रड्डी गरे । उनले त्यस दिन बियर नख्वाएको भए । आजसम्म पनि एक थोपा बियर नखाई बाँचिरहन सक्थेँ होला । त्यसपछि सयौंपल्ट बियर पिएर ह्याङ भएको छु ।

फकाई फकाई खोस्नु उनको सदासर्वदा कमजोरी हो । उनी कायर हुन् । डरपोक हुन् । मालिकभित्र हुनै नसक्ने कमजोर गुण हो । मलाई यस्ता कमजोर मालिक मन पर्दैन ।
भोलिपल्ट कारखाना गइनँ । बरु काम छाड्छु तर मोबाइल छाड्दिनँ । सुतेँ तर निद्रा लागेन । मोबाइल सपना हो । काम बाध्यता । बाध्यता र सपनाको चपेटामा फसेँ ।
पर्सिपल्ट पनि कारखाना गइनँ ।

पर्सिपल्ट साँझ, कामरेड नवीन पौडैल दाइ जंगलको बंकरबाट घर आए । हालखबर सोधे । उनी खुबै मीठो बोल्थे । गुलियो पारामा भने ‘भाइ पार्टीको साथी बिरामी छ । भाइको दुई महिनाको घरभाडा बाँकी थियो । दिनु पर्‍यो ।’
मेरो अनुहार हावा खुस्किएर खुम्चिएको बेलुनझैं सानो भयो । मालिकले तलब नदिएको पनि दुई महिनै भएको छ । घर भाडा पनि दुई महिनाकै बाँकी छ । रासन दोकानमा पनि दुई महिनाकै उधारो छ । कलेज फी तिर्न बाँकी छ । एकाउन्टको ट्युसन फी पनि दुई महिनाकै बाँकी छ । कहिलेकाहीँ मालिकको हिसाब छलेर झ्याप हानेको थोरै पैसो समोसा र भैंसीको मम खर्चमा सक्किसकेको छ ।

मेरो अर्थिक संसार दुई महिनामा अल्झेको छ ।
पर्सिपल्टको भोलिपल्ट ‘खुम्चिएको सानो अनुहार बोकेर कारखाना गएँ ।’ युद्ध लड्न नसकेर आत्मसमर्पण गरेको कायर सैनिकको जस्तो मनोविज्ञान छ मभित्र ।
मामा मालिकले थर्कायो दुई दिन कहाँ गयो ? काममा किन नआको ? यसरी काम चल्दैन । स्टक के कसो छ । म इन्डिया गएपछिको हिसाब बुझाऊ ?
मैले यी प्रश्नको उत्तर दिनुअघि मामाको हातमा सिमकार्ड फालिदिएँ ।
मामा मालिकले हिसाब बिर्सियो ।
खुसीले खल्तीबाट पन्ध्र सय निकालेर दियो । सिमको मूल्य एघार सय पैंतीस, बाँकी मलाई बक्सिस्।
यसरी एउटा रहर घुम्यो ।

यो कथा यही सक्किन्थ्यो तर नीलम पौडेल, जसले केटाकेटीले चुंगीको डोरी तन्काएझैं उनले यो कथा अलिकति तन्काइन् ।
नीलम पौडेलले सिमकार्ड किन्ने ग्राहक खोजिन् । मोबाइल सेट नवीन दाइले, पार्टीलाई चाहिएको छ भनेर फिर्ता मागेछन् । भाँडोबिनाको रासन के काम ?
उनले मोबाइलको रहर थोरै दिनमा पूरा गरिन् । उनी कतै काम गर्थिन् । मेरोजस्तै उनको पनि दुई तीन महिनामा एकपटक तलब आउँथ्यो होला । मेरोजस्तै उनको पनि उधारोमा अल्झेको जिन्दगी थियो होला ।

नयाँ सेट किन्नसक्ने तागत भएन । उनी मेरै हाराहारीको जीवन बाँच्थिन् ।
उनले सिमको मूल्य राखिन् रु. दुई हजार ।
सिमकार्ड मैले किन्ने भएँ ।
पन्ध्र सय नगद, पाँच सय उधारो पन्ध्र दिनका लागि ।
नीलमको सिम मालिकलाई दिएँ । मेरो सिम फिर्ता लिएँ ।
मालिक खुसी भयो । म खुसी भएँ ।
अझै बाँकी छ मोबाइलको कथा । अब कथामा नीलम पौडेलको काम छैन । उनी यहीँबाट बिदा हुन्छिन् ।

नवीन पौडेल दाइले दुई महिनापछि पार्टीलाई मोबाइल सेट चाहिएको छ भन्दै उधारो उपहार फिर्ता लिए । मेरो अनुहार फेरि हावा खुस्केको बेलुनजस्तो खुम्चियो । अब मसँग पनि नीलम पौडेलको जस्तै चारो छ, भाँडो छैन ।

मेरो साइँलो दाजु काठमाडौं बस्नुहुन्थ्यो । उहाँ पनि मोबाइल प्रयोगकर्ता । दाजुको मुड चल्यो भने एउटा मोबाइल भाइलाई उपहार दिनसक्ने क्षमता राख्नुहुन्थ्यो । तर, दाजुको मुड पक्रनै गाह्रो । सातआठ झमटमा एक दिन दाजुको मुड पक्रेँ ।दाजुले प्रयोग गरेर अघाइसकेको एउटा पुरानो सेट उपहार पाएँ ।मोबाइलको पूर्णकालीन धनी भएँ ।

हातमा मोबाइल भएपछि मैले भ्याएजति मान्छेलाई फोन नम्बर बाँडँे । असाध्य चिनेकाहरूदेखि अलिअलि चिनेकाहरूसम्मलाई मेरो मोबाइल नम्बर राख्नुस् काम लाग्छ भन्दै दिएँ । खल्तीमा मोबाइल बज्यो भने मन खुसी हुन्थ्यो । कहिलेकाहीँ त फोनै न आए पनि रिङ टोन बजाएर फोन उठाउँदै कुरा गरिरहेको अभिनय गर्थें । चिन्दै नचिनेका मान्छेले पनि मसँग मोबाइल नम्बर मागिदिऊन् जस्तो लाग्थ्यो ।

एक दिन अलिअलि चिनेका एक आफन्तलाई मेरो फोन नम्बर गजबले काम लाग्यो । उनी बिरामी भएर कोसी अञ्चल अस्पताल विराटनगर गए । मलाई फोन गरे । कोठाबाट टिफिनमा खाना कोचेर भेट्न गएँ ।
उनी खुसी भए ।
म पनि खुसी भएँ । मैले सेवा गर्न पाएँ ।
उनले थपे, ‘मोबाइलको जमाना आयो । जमानाकै कारण बाबुसँग भेट भयो ।’
उनले खाना खाइसके ।

म खालि टिफिनको बट्टा बोकेर बाहिर निस्केँ ।
बाहिर मेरो साइकिल छैन । चोरले मेरै बाटो हेरेर बसेको रहेछ । साथीको साइकिल मागेर आफन्तलाई खाना पुर्‍याउन अस्पताल गएको थेँ । चोरले चोर्‍यो।
एक गरिब मान्छेको साइकिल हराउनु र एक मध्यमवर्गीय मनुवाले किस्ताबन्दीमा किनेको कार हराउनु बराबर हो ।

साथीलाई मैले साइकिल तिर्नुपर्ने भयो ।
मामा मालिकको कारखानाको कामले साइकिल किन्न सक्दिन थेँ । मसँग बेच्ने जिनिस केही थिएन । मैले चार हजारमा सिमकार्ड बेचेँ । त्यो पैसाले साइकिल किनी तिरेँ ।
धनकुटातिरको मान्छेको हातमा मेरो मोबाइल नम्बर पर्‍यो । बारम्बार फोन गरेँ खरिदवालाको हालखबर सोधिरहेँ ।

एक, दुई वर्षपछि नेपाल टेलिकमले छ्यापछ्याप्ती सिमकार्ड बाँड्यो ।
मैले चार हजारमा बेचेको सिमकार्ड फेरि आफैले निकालेँ । अहिले तपाईंले फोन गरिरहने मोबाइल नं. सिम कार्ड नं. ८८८८८४५६९३ को कथा यही हो । जुन अब सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.