माथिल्लो तामाकोसी आयोजना : मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु ’ भोलि
चरीकोट : स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग आइतबार ‘ब्रेक थु्र’ हुने भएको छ। आयोजनाको सबैभन्दा कठिन मानिएको सुरुङ मार्ग ८.४ किलोमिटर लामो छ। यससँगै कुल १८ किलोमिटर लामो सुरुङकको काम सकिएको छ। अब नौ सय ३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।
दोलखाको बिगुगाउँपालिकाको गोगरमा निर्माण भइरहेको चार सय ५६ मेगावाट क्षमताको यो आयोजनाको आइतबार सुरुङ मार्गको ‘ब्रेक थु्र’ गर्न लागिएको उनले बताए। हालसम्म आयोजनाको ९२ प्रतिशत काम पूरा भएको छ। आयोजनाबाट २०७५ असारभित्रमा पहिलो युनिट प्रसारण गर्ने तयारी समेत गरिएको छ। पहिलो युनिटले ९१ मेगावाट विद्युत् उत्पादन गर्नेछ।
बिगु गाउँपालिका प्रमुख युधिष्टिर खड्काले आयोजना निर्माणको गति उत्साहजना भएको बताए। राष्ट्रिय गौरवको यो आयोजना निर्माण अन्तिम चरणमा पुगेकोमा दोलखा उद्योग वाणिज्य सघंले पनि खुसी व्यक्त गरेको छ। विकासको कोसेढुंगाका रूपमा रहेको यो आयोजना नेपालको भाग्य र भविष्यसँग जोडिएको दोलखा उद्योग वाणिज्य सघंका महासचिव इन्द्र प्रधानको भनाइ छ।
आयोजनाको हाल बाँध, विद्युत्गृह र प्रसारणलाइनको काम तीव्र गतिमा अघि बढिरहेको छ। सडक राम्रो नहुँदा आयोजनाका लागि आवश्यक सामान ढुवानी गर्न समस्या भएको थियो। लामोसाँघु-खाडीचौर सडक पुनर्निर्माणको काम भइरहेकाले सामान ढुवानी गर्न समस्या भएको उनले बताए।
हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ। यस्तै गोगरबाट न्यु खिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ। २०७५ को मंसिरसम्म बाँकी चार वटा युनिटबाट पनि विद्युत् उत्पादन सुरु गरिनेछ। आयोजनामा सिभिल ठेकेदारका रूपमा चीनको सिनो हाइड्रो कर्पोरेसनले काम गरिरहेको छ।
आयोजनाबाट २०७५ असारभित्रमा पहिलो युनिट प्रसारण गर्ने तयारी गरिएको छ।
यस्तै हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति अस्ट्रियाको एन्ड्रिज हाइड्रोले गरिरहेको छ। प्रसारणलाइन निर्माण भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेसले गरिरहेका छन्। आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकामा भूकम्प, नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने भएको छ। यहाँबाट वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। आयोजनाको पहिलो वर्षको आम्दानी नौ अर्ब रुपैयाँ हुनेछ।