चढ्नभन्दा बास बस्न कठिन
रक पिक्तुङ र रक पिटनकै भरमा अडिएको रोप (डोरी)मा झुन्डिँदै क्याम्प-२ पुगेका गाइड प्रकाश शेर्पालाई आरोहीको व्यवस्थापन गरेर आराम गर्ने हतारो छ ।सबैको काँधमा १५ केजीको भारी अनि आरोहणका सामग्री क्राम्पोन, वानस्पोट, आइसएक्स, रोप, हार्डनेस, ज्युमर, क्याराभिनर, हेलमेट, टर्च लाइट, डांग्री आदिले ढाकेको छ ।
आरोहीहरू थकित छन् । गह्रौं वानस्पोट जुत्ता अनि हातमा आइस एक्स बोकेर क्याम्प-२ पुगेका प्रकाश शेर्पा सुरक्षामा टाँगेका डोरी साथै राखेर टेन्ट मिलाउँछन् । अर्को चिन्ता थपिन्छ, रात कसरी कटाउने भन्ने । अन्य आरोही पनि उस्तै चिन्ता बोकेर टेन्टभित्र ढल्किएका छन् । उनीहरू अमादब्लम हिमाल आरोहणको सबैभन्दा चुनौतीका रूपमा क्याम्प-१ माथिको एल्लो टावर ज्युमर (लकसहितको डोरी)को सहायताले पार गर्दै त्यहाँ पुगेका हुन् ।
प्राविधिक रूपमा निकै कठिन मानिने अमादब्लम हिमाल आरोहण यात्रा अन्य हिमालभन्दा फरक छ । एल्लो टावर चढ्दा होस् या क्याम्प-२ मा दिसापिसाब गर्दा, सुरक्षित डोरीकै साथ चाहिन्छ । सानो गल्तीले मृत्यु नाच्छ । क्याम्प-२ मा तल र माथि दुई ठाउँमा गरी १५ वटा टेन्ट टाँग्न सकिन्छ । एउटा टेन्टमा नेपाली तीनजना र विदेशी दुईजना सुत्न मिल्छ । दोहोरिने र सुत्न नपाउने भन्ने चिन्ता पनि उत्तिकै हुन्छ । तर, आधार शिविर मेनेजरको व्यवस्थापनमा क्याम्प खडा हुन्छ।
बिहानै आरोहण सुरु गरी हिउँको खतरा भीर रहेको दब्लम ठाउँको मुनि क्याम्प-३ पर्छ । खतरा भन्दै आरोहीहरू त्यहाँ नबसी सय मिटर तलको मस्रुमरिच भन्ने ठाउँमा क्याम्प राख्छन् । जसोतसो यहाँ चारवटा टेन्ट टाँग्न मिल्छ । यहाँ पनि आरोहीहरू आनन्दले सुत्न पाउँदैनन् । टेन्टभित्र आधा शरीर ढल्काएर थकित शरीरमा निद्रादेवीलाई फकाउँदा फकाउँदै बिहान हुन्छ । अनि पुन: आरोहणलाई निरन्तरता दिनुको विकल्प छैन । अधिकांश आरोही र शेर्पा गाइड डराउँदै आरोहणलाई सफल बनाउँछन् ।
तेस्रो क्याम्पपछि अमादब्लमको (६,८१२ मिटर) चुचुरो चुमेर उही खतरा मानिने दोस्रो क्याम्पमै आएर बस्नुको विकल्प छैन । सफल आरोहण गरी काठमाडौं फर्केका आरोहण दलका गाइड दावा भोटे त्यो क्षण सम्झिँदा झस्कन्छन् । क्यानाडाका आरोही डेमोले पनि अमादब्लम आरोहण निकै चुनौतीपूर्ण भएको सुनाए । न्युजिल्यान्डका चर्चित गाइड रोमले पनि अमादब्लमको पहिलो अनुभव निकै कठिन लागेको बताए ।
उनले भने, ‘हामी हाई क्याम्पभन्दा माथि चढेदेखि कुनै दिन पनि सहज क्याम्पिङ भएन ।’ काठमाडौंबाट जहाजमा लुक्ला पुगेपछि नाम्चे, त्याङ्बोचे, पाङ्बोचे हँदै आधार शिविर पुगेका उनीहरू हाई क्याम्प र पहिलो क्याम्प सहज रूपमा पुगे । त्यस पछि भिरालो र अग्लो हिउँको पहरा चढ्दै बास बस्न खतरा मोल्नु पर्यो । यो हिमाल चढ्नुभन्दा बास बस्नै गाह्रो भएको आरोही गाइडहरूको अनुभव छ।
अमेरिकी आरोही माइकल, जेमी र न्युजिल्यान्डका आरोही व्राइन सकुशल फर्केकोमा खुसीले गद्गद् छन् । गाइड प्रकाश शेर्पालाई अँगालो हाल्दै खुसी साटे उनीहरूले । गाइड पासाङ र दावा भोटे, पेम्बा छेत्तर शेर्पा र आधार शिविर मेनेजर दाजाङ्बु शेर्पासँग पनि आरोहीहरूले खुसी साटे । व्यस्त मानिने अमादब्लम हिमालमा दिसापिसाबको व्यवस्थापन नहुँदा फोहोर भएको भन्दै सफाइमा जुट्नुपर्ने विदेशी आरोहीले सुझाव दिए । अमेरिकाको माउन्ट डेनालीमा जस्तै गरी दिसा बोकेर आधार शिविरमा ल्याई व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
खुम्बु क्षेत्रमा पर्ने अमादब्लम हिमाल सुन्दर हिमालमध्ये एक हो । यो हिमाल न्युजिल्यान्डका माइक जिलको टोलीसहित शेर्पाहरूले सन् १९६१ मार्च १३ मा पहिलोपटक आरोहण गरेका थिए । सन् २००६ मा हिमपहिरोबाट तीन शेर्पा र तीन युरोपेली आरोहीको मृत्यु भएको थियो ।