नेपालसँग नयाँ आधारमा सम्बन्ध : चीन

नेपालसँग नयाँ आधारमा सम्बन्ध : चीन

काठमाडौं : चीनले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई ‘बेल्ट एन्ड रोड अवधारणा' (बीआरआई)को फ्रेमवर्कभित्र रही आर्थिक विकासमा पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ रूपमा विस्तार गर्ने रणनीति अख्तियार गरेको छ। नेपालस्थित चिनियाँ दूतावासद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा राजदूत यु होङ्ले चीनको वर्तमान राजनीतिक नेतृत्वले छिमेक एवं विश्वसँग नयाँ ढंगले सम्बन्ध विकास गर्ने नीति लिएको जानकारी दिएकी हुन्।

राजदूत यूले ‘बेल्ट एन्ड रोड अवधारणा'को फ्रेमवर्कअनुसार रेल तथा सडकलगायत पूर्वाधारका परियोजना, बन्दरगाह, औद्योगिक पार्क, प्रविधि पार्क र सीमापार आर्थिक क्षेत्र निर्माणमार्फत सबै मुलुकसँग आर्थिक विकासका सवालमा सहकार्य गर्न चाहेको बताइन्। ‘बेल्ट एन्ड रोड अनुसार सहकार्य गर्ने भनेको चीनले दिने र अरूले लिने भन्ने मात्र होइन। यसमा सबै मुलुकले चीनसँग परस्पर सहकार्यमार्फत लाभ लिने कुरा हो। यसमा दुवै पक्षको उत्तिकै योगदान हुन्छ', उनले भनिन्।

नेपालले बीआरआईमा सहभागी हुन चीनसँग सम्झौता गरेकोमा खुसी व्यक्त गर्दै यस अवधारणाबाट नेपालले आर्थिक विकासमा लाभ लिने विश्वास लिएको बताइन्। ‘परस्पर सम्मान, मित्रता, समावेशिता, पारदर्शिता र न्याय, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र शान्तिपूर्ण विकासका आधारमा चीन आफ्नो विदेश सम्बन्ध सञ्चालन गर्न चाहन्छ', राजदूत यूले भनिन्, ‘हामी अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ। तर, चीनको वैधानिक राष्ट्रिय स्वार्थमा हामी सम्झौता भने गर्दैनौँ।' उनले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रताका लागि चीनले सदैव सहयोग जारी राख्ने बताइन्।

नेपाल-चीनबीच सन् २००९ देखि व्यापक साझेदारीमा आधारित र दिगो मित्रताका आधारमा अघि बढेको उल्लेख गर्दै उनले भनिन्, ‘नेपालले कुनै पनि शक्तिलाई चीनविरुद्ध आफ्नो भूमि उपयोग हुन दिएको छैन। एक चीन नीतिप्रतिको अटुट प्रतिबद्धताको हामी सराहना गर्छौँ।' चीन अझै विकसित मुलुक नभएको जनाउँदै उनले आफ्नो क्षमताले भ्याएसम्म छिमेकी र अन्य मुलुकलाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाइन्।

चिनियाँ दूतावासका वरिष्ठ कूटनीतिज्ञसहित उपस्थित राजदूत यूले चिनियाँ कम्युनिस्ट पार्टीको एक महिनाअघि सम्पन्न १९ औँ नेसनल कंग्रेसमार्फत चिनियाँ नेतृत्वले लिएका निर्णयबारे अवगत गराएकी थिइन्। प्रत्येक पाँच वर्षको अन्तरालमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको नेसनल कंग्रेसले यसपटक सि जिनपिङ्लाई सन् २०२२ सम्मका लागि राष्ट्रपतिमा पुनः निर्वाचित गरेको थियो।

राजदूत यूले भूकम्पले क्षति पुर्‍याएको नेपाल—चीनबीचको तातोपानी नाका खोल्न चीनले प्रयास जारी राखेको जानकारी पनि दिइन्। ‘अरनिको राजमार्गलाई सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ। तातोपानी नाकाको नेपाल-चीन दुवैतर्फ भूकम्पले गहिरो क्षति पुर्‍याएकाले नाका सञ्चालनमा आइहाल्ने अवस्था अझै बनेको छैन। पुर्निर्माण हुँदै छ', उनले भनिन्।

राजदूत यूले चिनियाँ विज्ञको टोलीले केही साताअघि नेपालतर्फ रेल विस्तारबारे अध्ययन सुरु गरेको जानकारी पनि दिइन्। ‘नेपालतर्फ रेल विस्तार गर्न सम्भव छ या छैन भन्नेबारे अब विस्तृत अध्ययनपछि केही भन्न सकिनेछ। किनकि जटिल भूबनोटका कारण रेल विस्तारको काम निकै चुनौतीपूर्ण छ', उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.