नानी, नेपाली किताब पढेकी छैनौ ?
‘हाउ ओल्ड आर् यू ? ’ ‘व्हेयर डु यू स्टडी इन् ? ’ ‘एन्ड, इन् ह्विच् स्कुल ? ’प्रश्न भुइँमा खस्न नपाई उत्तर आउँदै थियो । अंग्रेजीमा सोधिएका प्रश्नका जवाफ प्रस्ट अंग्रेजीमै थिए।
‘इज् योर स्कुल रमाइलो ? ’ मैले यस्तो प्रश्न गरेँ ।
उनले अनुहार खुम्च्याइन् । अर्थात् स्मारिकाले । वर्ष ९, कक्षा ४ ।
मसँगै बसेका साथीले त्यही प्रश्न दोहोर्याए । हामी प्राय: बालबालिकालाई सोध्ने गर्छौं, स्कुल कत्तिको रमाइलो छ ? छ भने किन छ ? के कुराले रमाइलो लाग्छ ? छैन भने के कुराले नरमाइलो लाग्छ ? यसरी सोध्ने सिलसिला जारी थियो । जारी छ ।
स्मारिकाले भनिन्, रमाइलो नाइँ । ‘फन’ । अनि मैले थपेँ, ‘इज् योर स्कुल फुल अफ् फन् ? ’ ‘एस्’ भनिन् ।
सामान्यतया बालबालिकाहरू प्रश्नको अपेक्षित उत्तर ठम्याउन सके भने प्रश्नकर्ताको अपेक्षाअनुसार नै जवाफ दिन्छन् । तर हाम्रो कुनै अपेक्षा थिएन ।
अंग्रेजी लवजमै कुराकानी जारी थियो ।
मैले सोधें, ह्वाट् डु यू इन्जोय मोस्ट देन् ?
उनले कत्ति पनि नसोची बताइन्, ‘डान्स क्लास’ ।
‘नट् एनी एल्स ? ’
‘एस् । स्पोर्ट्स पिरियड् । गेम्स ।’
प्रस्टै छ कि बालबालिकालाई खेल्नमा जति रुचि अरू केमा होला र । त्यसैले त खेल विधिको जरुरी भएको छ शिक्षण सिकाइमा । गरेर सिक्ने तरिका खोजिएको छ । चौतर्फी विकासका लागि पाठ्यपुस्तकमा मात्र सीमित भएर सम्भव छैन । अनुभव गर र सिक भन्ने कुरामा जोड दिन थालिएको छ ।
आफूलाई आनन्द लाग्ने कुरा न कुनै विषय न विषयगत कक्षा नै । अनि मैले थप कोट्याएँ र स्मारिकालाई सोधेँ, ‘अनि तिमी साइन्स क्लासमा इन्जोय गर्दैनौ ? ’ उनको तर्क रमाइलो तर मननीय थियो । ‘सर नआउनुभएको दिन बोरिङ हुन्छ ।’ सरले क्लासमा रमाइला कुराहरू गर्नु हुने रहेछ । हाँसीहाँसी पढाउनुहुँदो रहेछ ।
अनि मैले प्रसंग मोडेँ । ‘अनि कुट्ने पनि होला नि कक्षामा ? ’
‘एकजना म्याम त डेन्जर हुनुहुन्छ । म्याथ पढाउने सर पनि ।’
‘अनि किन कुट्ने त ? ’
उनले देखेर, भोगेर सिकेको जीवन्त सिकाइ पेस गरिन् । ‘गल्ती गरेमा कुट्ने नि । गल्ती गर्यो भने त कुट्न परिहाल्छ नि ।’
उनले पढेका पुस्तकका नाम सोधेँ । नेपाली भाषाका पुस्तकको नाम भनिनन् । नेपाली लेखकको पुस्तकको नाम पनि लिइनन् । मैले ‘नेपाली किताब पढेकी छैनौ हो ? ’ भनेर सोधेपछि भनिन् ‘हामीलाई नेपाली किताब नै दिनुहुन्न, मोरल क्लासमा त लाइब्रेरी हुन्छ ।’
यो तर्कमा एउटा अर्को सत्य लुकेको हुन्छ । त्यो के भने ठूलाले सानालाई दबाएर राख्न सकिन्छ, नियन्त्रणमा राख्नुपर्छ । ठूलाले बोलेको कानुन, सानाका आवाज नसुने पनि हुन्छ । यो तर्कले यस्तै संस्कृति विकासमा मलजल गर्छ । हिंसात्मक मनोविज्ञान निर्माणमा पनि सघाउ पुगिआएको हुन्छ ।
‘गल्ती भनेको चाहिँ के नि ? ’ मैले सोधेँ ।
‘हल्ला गर्ने, धेरै बोल्ने, बेन्चबाट यताउता सर्ने, होमवर्क पूरा नगर्ने, मिलाएर नगर्ने ... ।’
एकछिन हामी सबै मौन । मौनतालाई चिर्दै उनी बोलिन्, ‘हाम्रै लागि त हो नि । तर मैले कुटाइ खाको छैन ।’
‘हो र !’ भनेर हामीले आश्चर्य व्यक्त गर्यौं । ‘हो नि’ भनिन् ढुक्कैले ।
उनले अर्को सन्दर्भ निकालिन् । ‘म्याथ सरले एक दिन ...’ भनिन् । अनि अडिइन् ।
‘कसरी ? ’
‘यी यसरी’ भनेर अभिनयात्मक उत्तर दिइन् र कथा सुनाउन थालिन् ।
कथावाचन:
एक दिन म्याथ सर आउनुभएन । अर्कै सर आउनुभो । पढाउनु भो । तर हामीले केही पनि बुझेका थिएनौं । सोध्नुभयो, ‘तिमारुले बुझेको हो ? ’ भनेर । हामीले एकमुष्ट जवाफ दियौं, ‘बुझेको हो सर’ । अनि त, ‘ल यो अभ्यास सप्पै गरेर ल्याउने त्यसो भए ।’ सरको त्यस्तो आदेश थियो । हामीले हुन्छ भन्ने भावमा मुन्टो हल्लायौं । तर हामीमध्ये कसैलाई पनि न छेउ न पुच्छर आयो । तर पनि, जे हो जस्तो लाग्यो त्यही गर्यौं । कतिले चाहिँ केही पनि छोएका थिएनन् । भोलिपल्ट म्याथ सर आइहाल्नुभो । हामीले गरेको हिसाब कुनै पनि मिलेनछ । त्यस दिन कक्षाका हामी सप्पैले कुटाइ खायौं । हिसाब गल्ती भएको भनेर ।
हाँस्दै मुस्कुराउँदै बोलिरहेकी थिइन् उनी ।
मेरो मनमा भने कथाहरू आइरहेका थिए । घटनाहरू बढिरहेका थिए ।
एक:
अक्षर मन परेन शिक्षकलाई । कापी कोठाको पल्लो कुनामा पुग्ने गरी हुर्राइदिए । बालकको मुहार मलिन भयो । एकाएक कान्ति क्षय भयो । कक्षाका सबैजना तर्सिए । शिक्षकको मुहारमा रिसको पारो चढ्यो ।
गल्ती कसको ? - मुस्कुराउँदै सिकाउन केले बाधा पुर्यायो ?
दुई:
बालकले हिज्जे गल्ती सारेछ । एक पानामा आठदस वटा नै । रातो कलमले कापी च्यातिने गरी ‘इन्टु’ लगाइदिए शिक्षकले । बालकलाई रुनु न के गर्नु भयो । घरमा त्यो घाइते कापी लिएर कसरी जाने ? अझ अर्को शिक्षकले त परीक्षा हलमा परीक्षाको उत्तरपुस्तिका नै धरधरी च्यातिदिए ।
गल्ती कसको ? -सिक्न बाँकी हिज्जे सिकाउने उपाय नभएकै हो त ?
तीन :
बालकले चित्र दुरुस्तै बनाएन । शिक्षकले सोचेजस्तो बनाएन । अझ पुस्तकमा दिइएझैं बनाएन । अलिक फरक तरिकाले बनायो । चित्र मिलेन र फेरि बनाउनू भनेर कापीमा निर्देशन लेखियो । बालकले सोच्यो, कस्तो बनाए चाहिँ हुन्छ होला । त्यो पनि भनिएको छैन । शिक्षकको आवश्यकताबमोजिम गर्नेबारे चिन्तन गर्दै छ बालक । कल्पनाशीलता वा सिर्जनशीलता, कसलाई चासो ।
गल्ती कसको ? - सिर्जनामा बालमनको परिकल्पना बिर्सिन्छौं । हाम्रै आँखाले हेर्छौं र ‘इन्टु’ लगाइदिन्छौं । बालबालिकाको मौलिक तर्क, विचार र भावनाको कदर गर्न सकिन्न र ?
चार :
गणितको दुनोट भन्न जानेन । कक्षाका सबैलाई आउँछ । उसलाई आउँदैन । खरर्र भन्न सक्दैन । घरमा पसल छ । पसलको कारोबार भने ऊ स्वयम् गर्छ । सामान बेच्ने र पैसा फिर्ता दिने काम राम्रोसँग गर्छ । कक्षामा पढाएको हिसाब गर्न त गर्छ तर अर्कै अर्कै तरिकाले गर्छ । उत्तर कुनै पनि मिल्दैन । शिक्षकले भने, ‘तेरो टाउकोमा गोबर छ कि गिदी ? ’ उसलाई थाहा छैन के छ टाउकोमा । तर गोबरको धेरै प्रयोग उसलाई आउँछ, घरमै सिकेको । किताबको गणित जान्दैन ।
गल्ती कसको ? - बालकले गरेको प्रयत्नमा कुनै न कुनै विचार हुन्छ । चिन्तन, तर्क र आधार हुन्छ । सोच्न नै बन्द गर्ने गरी ‘तिम्ले गरेको मिलेन’ मात्र भनेर उसले कहिले सिक्ने ?
पाँच :
डायरीमा अभिभावकको हस्ताक्षर गराउन भुलेछ । अभिभावकले पनि ख्याल गर्नु भएन । शिक्षकले ‘यत्ति पनि सम्झिन नसक्ने के सम्झिएलास्’ भनेर कराए र त्यसबापत १० पाना पाठ सार्ने काम दिए । त्यसपछि डायरीमा हरेक दिन अभिभावकको हस्ताक्षर गरिएको पाइयो । त्यो हस्ताक्षर स्वयम् बालकले गर्न थालेको कुरा कसैलाई थाहा भएन ।
गल्ती कसको ? - बालबालिकाका कुरा सुनौं । अभिभावकलाई सिकाइ संस्कृतिमा समेटौं ।
छ :
होमवर्क गर्न दिइएको प्रश्न बालकले बुझेन । उत्तर त लेख्नै थियो । किताबहरूबाट जे सही हो जस्तो लाग्यो त्यही लेख्यो । तर उत्तर जाँचिएन । नजाँचिने भएपछि होमवर्क गर्न छाड्यो । एक दिन ‘आजसम्मको सबै होमवर्क ल्याउनू’ भन्ने उर्दी आयो । गरेको भए पो दिन सक्नु । त्यसपछि लौरो हत्केलामा नाच्यो । शिक्षकको हत्केला गालामा नाच्यो ।
गल्ती कसको ? - बालबालिकालाई सिक्न प्रेरित गर्ने कि सार्न ? के सानालाई समयमा काम नगरेको दण्ड दिनैपर्ने हुन्छ ?
सात :
बालकले कुरा बुझेन । प्रश्न सोध्यो । ‘यत्ति पनि जान्दैन । कहाँ छ दिमाग ? अघि ध्यान कहाँ थियो ? ’ शिक्षकको तीखो प्रश्नबाण तेर्सियो । ‘हो त म त नजान्ने रहेछु । मैले त प्रश्न पनि नसोधे भयो । सबैजनाको हाँसोको पात्र मात्र बनिन्छ ।’ बालकको निक्र्योल यस्तो रह्यो।
गल्ती कसको ? - प्रश्न सोध्न अवसर सिर्जना गरौं ।
यसखाले धेरै कथाव्यथा स्कुलमा भेट्न सकिन्छ । घरमा पाउन सकिन्छ । हामी नै पात्र हुन सक्छौं । यसखाले घटनाले बालबालिकामा पर्ने नकारात्मक असर हामीले नजरअन्दाज गरिरहेका छौं । बालबालिकाका सबै कार्य, विचार, सोच र व्यवहार अपेक्षितजस्तै हुनुपर्छ भन्ने मान्यताले व्यक्तिगत रुचि र क्षमताका आधारमा हुने सिकाइको सिद्धान्तलाई स्थान दिँदैन । हामीलाई सामान्य लागेका कुराले कसैको जिन्दगीको रङ नै फेरिदिन सक्छ ।
थोमस अल्बा अडिसनले कैयौं पटकको प्रयत्न र भूलपश्चात् बल्ब बनाउन सफल भएको कथा गर्वसाथ सुनाइरहेका हुन्छौं । एउटा बालकले सिक्ने क्रममा गरेको प्रयत्नलाई भने सीधै गलत घोषित गर्न किञ्चित पछि पर्दैनौं । सोच्ने अवसरको मूल थुनिदिन्छौं । बालकले कुन तर्क वा सोचका आधारमा काम गरेको छ हेर्दैनौं ।
यस्तै सोचिबसेँ केही बेर ।
मैले अचानक स्मारिकालाई सोधेँ, अहिले यो जंगल केक खाँदासम्म तिमीले कतिवटा किताब पढ्यौ ? उनी ब्ल्याक फरेस्ट केक खाँदै थिइन् । केक चपाउँदै भनिन्, ‘एक सय जति ।’
उनले पढेका पुस्तकका नाम सोधेँ । नेपाली भाषाका पुस्तकको नाम भनिनन् । नेपाली लेखकको पुस्तकको नाम पनि लिइनन् । मैले ‘नेपाली किताब पढेकी छैनौ हो ? ’ भनेर सोधेपछि भनिन् ‘हामीलाई नेपाली किताब नै दिनुहुन्न, मोरल क्लासमा त लाइब्रेरी हुन्छ ।’
यस्तो त नहुनुपर्ने भन्ने सोचेर चियाको चुस्की लिएँ ।
साथीले अर्को प्रसंग निकाले । ‘स्मारिका तिम्रो त कत्ति धेरै स्कुल चेन्ज है ।’
मैले प्रश्न थपेँ, ‘हालसम्म कतिवटा स्कुलमा पढ्यौ नि ? ’
दायाँ हातका चार औंला मेरा आँखाअघि तेर्सिए ।
‘सबैभन्दा धेरै सम्झिने स्कुल नि ? ’ उनले पहिले पढेको स्कुलको नाम भनिन् ।
‘किन नि ? ’
‘किन भने, नकुटी पढाउने । रमाइलो । मिल्ने साथीहरू । गल्ती गर्दा त ... ।’ फेरि गल्ती गर्दा सजाय हुने कुरा दोहोर्याइन् । केही मिलेन वा अपेक्षित भएन भने गल्ती हुन्छ भन्ने बुझाइले उनको मनमा पनि बास गरेको छ । तर रमाइलो स्कुल नै मनपर्ने स्कुल हुने कुरामा उनको जोड भने प्रष्टै बुझिन्छ।
उनले खाएको केक गालातिर पनि टाँसिएको थियो । हामीले जिस्कायौं, ‘केक खाको मिलेन । गल्ती भयो । कुटौं अब ? ’ भनेर । उनले ‘अँ... नाइँ’ भनिन् र मौन बसिन् ।
उनी जीवनमा के बन्छिन् त भविष्यको गर्भमा छ । वर्तमानको हुर्काइमा निर्भर छ । तर सोच्दैछु, के उनको निश्छल भावना, चञ्चल स्वभाव, ओठको कञ्चन मुस्कान र प्रस्तुतिको ऊर्जा उत्तिकै रहिरहला ?