कथामा नयाँ रसायन

कथामा नयाँ रसायन

कथाकार इन्द्रबहादुर राई काठमाडौंमा पछिल्लोपटक समकालीन कथाका सन्दर्भमा समालोचकीय मन्तव्य दिँदै थिए । उनले आयामिक शैलीमा भने, ‘आजभोलि कथाको काँधमा टेकेर कथाकार ठिंग उभिन्छ, बिचरो कथा, झुकेको झुकेकै ।’

Gita-Tripathiजब कथाको विषयमा केही टिप्पणी गर्नुपर्ने समय आउँछ, मेरो दृष्टि कथा र कथाकारका बीचको लम्बाइ नियाल्न थाल्छ । आजभोलि कथाको ढिस्कोभित्र जीवन पुरिएको छ । कथा र जीवनको साइनोमा जीवन अन्तर्मुखी र कथाचाहिँ वाचाल छ अहिले । हेर्दा मानिसको जीवन सक्रिय देखिए पनि त्यो केवल यान्त्रिक गतिशीलता हो । आजको विश्व-समाजमा मानिसहरू यन्त्रले जोडिएका छन् र लेखनमा पनि यही हुन थालेको छ । त्यसैले एकाकार भएर कथालाई जीवन दिनसक्ने कथाकार नभए कथा र कथाकारका बीच एउटा ठाडो दूरी उभिन्छ । वर्तमान पीडाको स्वरूप नै वर्तुल आकारको छ । त्यसैले कथाकार कथानकको बीचबाट चारैतिर दृष्टि पुर्‍याउनसक्ने हुनु आवश्यक छ।

पाठकले कथामा वर्तमानका बेथिति र कष्टहरूको कार्य र कारणमा कारकको प्रतिविम्ब खोज्छ । त्यसैले पनि अर्जुनदृष्टि भएका समालोचक राईले भनेका होलान्— कथा आफैं बोल्छ, कथाकारले कथाको काँधमा टेकेर बोल्न थाल्यो भने त्यो कथा नभएर विज्ञप्ति बन्न जान्छ, खास कथा दबिन्छ ।
समकालीन कथाको सबैभन्दा पछिल्लो कथासंग्रह हो ‘कठपुतला’ । शीर्षकका निम्ति समाविष्ट शब्द नितान्त नयाँ छ । तर, यो स्वीकार्य छ । विचारहरू दर्शन बन्नु अघिसम्म बन्ने र भत्कने प्रक्रिया भइरहन्छन् तर शब्द बनेपछि भत्कँदैन ।

केहीको अर्थ विस्तार वा संकुचन होलान् । केही धेरै प्रचलनमा आउलान्, केही कम प्रचलित हुँदै फेरि गर्भमै फर्केलान् तर भत्किएर शब्दले कुरूपता मिल्काउँदैन । कठपुतला शब्दको निर्मितिमा सिंगो मानव इतिहास झस्किन्छ । हिजो कठपुतली शब्दले बुझाएको अर्थसँग लैंगिक विभेदकारी चेतना थियो र त्यसको विपर्यासमा आज कठपुतलाको व्यूत्पत्ति गरिएको छ । नेपाली भाषा साहित्यमा यस्ता धेरै शब्द सञ्चितिमा छन् । नेपाली समाजमा नारीलाई कमजोर देखाउने धेरै शब्द पनि प्रचलित छन् । तर, नवचेतनाले कलमी गरिएको यो शब्दको निर्माण प्रक्रिया भने विचारनीय छ ।

पारिजातको ‘मानुषी’जस्तै ‘कठपुतला’ शब्दमा पनि लैंगिक चेतना छ । नारी लेखनमा यस्ता शब्दहरू विपरीत लिंगीय चेतनाबाट निर्माण गरिनुले समाजमा सत्ता विघटनको क्रम लक्षित गरेको छ।

कठपुतलामा आठैवटा कथाको बाह्य संरचनामा आयामगत समानता पाइन्छ । अन्तर्दाह, पराकम्पन, कठपुतला, विमर्द, सत्य गरी पाँच कथाका शीर्षक प्रकृति प्रत्ययबाट व्यूत्पन्न शब्द हुन् भने परमात्मा समाहिता, विवस्त्र रामायण र सेतो बास्ना गरी तीनवटा कथाका शीर्षक समासयुक्त निर्माण प्रक्रियामा छन् ।

पहिलो कथा अन्तर्दाहमा निकै संवेदनशील विषयको उठान गरिएको छ । नेपाली पितृसत्तात्मक समाजमा नारीले भोग्ने यौन शोषणको स्वरूप निकै भयावह छ । तर, यहाँ विकृतिजन्य चरित्र भएका किशोरहरूबाटै यौनहिंसाको सिकार भएको किशोरको फरक विषयलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ । दोस्रो कथा पराकम्पन अभिजात्य परिवारको कान्छो छोरा पुरुको आफ्नो जीवनप्रतिको स्वतन्त्र निर्णयलाई परिवारले समस्याका रूपमा लिएपछि बनेको उसको कमजोर मनोविज्ञानमा आधारित छ । भूकम्पका बेला आफ्नै पत्नीप्रति असामान्य देखिए पनि अर्को पराकम्पनले उसको फाटेको विश्वासलाई यथास्थानमा ल्याई जोडिदिएको छ ।

यी दुवै कथामा घटना र प्रसंगहरूको विस्तारले आन्तरिक बुनोट तन्किएको अनुभव हुन्छ । चरित्र वा घटना प्रधानताको परम्परागत शैलीभन्दा फरक आन्तरिक र बाह्य विस्तृत समस्याहरूले यी कथाका पात्रहरू आपसमा सम्बद्ध भएर पनि फेरि असम्बद्धजस्तो देखिएका छन् । यी दुई कथाका मुख्य पात्रहरू लभु र पुरुका मानसिक अवस्थामा समानता देखाएर कथालाई मनोवैज्ञानिक मोड दिइएको छ तर लभुको चरित्र निर्माणमा पाठकले द्वैधताको स्थिति अनुभव गर्छन् ।

स्वयं गतिशील हुँदाहुँदै सांस्कृतिक रूढताले स्थिर बन्न पुगेको नारी चेतनालाई नयाँ सम्भावनामा डोर्‍याउने यी कथाहरू आलोचनात्मक यथार्थवादी कथा हुन् ।

आमाले हुर्काएकाले कमजोर र लुरे भएको मान्ने एउटा पक्ष देखिन्छ भने अर्कोतिर उसको स्वभाव र लवजलाई लिएर परिवार, समाज र खराब साथीहरूले गरेको टिप्पणीका आधारमा पाठकले उसमा ट्रान्स जेन्डरको अड्कल काटिरहेका हुन्छन् तर विकृतिको सिकारले असामान्य मनोविज्ञानमा पुगेर कथा टुंगिन्छ । दोस्रो कथामा संस्मरणका टुक्राहरू धेरै छन् । संकेत मात्र गरे पुग्ने ठाउँमा पनि व्याख्या धेरै भएजस्तो लाग्छ । पुरुष मनोविज्ञानको कमजोर पक्षलाई देखाउन खोज्दा मोहिनीको भूकम्प लगत्तैको क्रियाकलाप अलि अस्वाभाविक जस्तो लाग्छ । नुहाउन गएको पराक्रमको खोजी नगरी एकैचोटि उसको परिवारको चिन्ता गरिरहनुका बीच केही कुरा छुटेको महसुस हुन्छ । पाठकले प्रसंगको पूर्णता खोज्छ ।

‘कठपुतला’ आजको यान्त्रिक विश्वकै प्रतिनिधि कथा हो । यस कथाले मानवता र मातृत्वलाई एकै उद्देश्यमा संयोजन गरेको छ; वर्तमान विश्वमा पुरुषका अहम्ले सिर्जनहीन बन्दै गएको पर्यावरण र जीवनको सन्दर्भलाई एकैचोटि छामेको छ । मानिस र रोबोटबीचको प्रत्येक संवाद प्राकृतिकता र यान्त्रिकताका बीचको असहमति हो । यसले विश्व बजारीकरण र उत्तरऔपनिवेशिक संस्कृतिले जगाएको प्रकृति विपरीतको उपभोगवादी प्रवृत्ति, पर्यावरणीय संकट र कथाकारको विश्व चेतना प्रतिविम्बित गरेको छ ।

‘परमात्मा समाहिता’ शिल्पगत रूपले खारिएको कथा हो । यसमा भाषिक तर्कले अल्मल्याउँदैन, बरु रहस्य र कुतुहलताको अन्तिम बिन्दुमा पुर्‍याएर जीवनको सबैभन्दा सुन्दर र कुरूप क्षणलाई एकैपटक अँगाल्न बाध्य बनाउँछ । दुई देशीय सम्बन्धको यस कथामा नारी दोहोरो शोषणको नमीठो स्वाद मिसिएको छ ।

पितृस्नेह खोज्दै नेपाल आइपुगेकी श्रुतिलाई कैलाशकुट आ श्रममा महापुरुष ठानिएको उसको बाबुले नै पवित्र जलका नाममा नशालु चिज दिएर यौनशोषण गरेको छ । पवित्र मन्त्रको उच्चारणभित्रका तथाकथितहरूको नकाब उतारिएको भए पनि यस कथाले पाठकको मनलाई विदीर्ण पारिदिन्छ । प्रेमी गुमाएर विक्षिप्त बनेकी छोरीलाई अझै दु:खी बनाउन नचाहेकी आमाले बाबुको असली चरित्र लुकाइदिनु नै छोरीका लागि दुर्भाग्य बनेको छ । कथा विलक्षण शैलीमा समाप्त भए पनि एउटै व्यक्तिलाई दुईपटक अत्याचार गर्ने छुट दिनु यस कथाको कमजोर पक्ष अनुभव हुन्छ।

विमर्दमा पितृसत्ताभित्रको निरीहताको प्रस्तुति छ । यो नेपाली समाजका आमपुरुषको समस्यामा आधारित कथा हो । एउटा शिक्षित र समाजमा उच्चताभासले बाँचेको बाबु पात्र पत्नीको मृत्युपछि कति लाचारीमा जीवन गुजार्न बाध्य हुन्छ भन्ने विषयको कारुणिक चित्रण यसमा छ । परम्परालाई ढुंगाको अक्षर मान्ने बाबुको ६÷७ वर्षको छोरा निर्जलमा विस्तारै निर्जलाको अनुभूति आउन थालेपछि उसले यो कुरा अन्तर्वार्तामार्फत सार्वजनिक गरिदिन्छ ।

छोराको यो स्वीकारोक्तिलाई आफ्नो अभिमानमा चोट पुर्‍याएको ठान्दै बाबुले घरबाट निकाल्दा उसलाई जन्म नदिए पनि आमाले भन्दा कुनै कमी नगर्ने कान्छी आमाको वात्सल्यले उसलाई बाँधिराखेको सन्दर्भ निकै मार्मिक छ । बाबुको अवहेलनापछि अनेक संघर्ष गरी विदेश पलायन भएकी निर्जला विद्यावारिधि अध्ययनका सिलसिलामा भारतमा कार्यपत्र प्रस्तुत गर्न आएका बेला एक दिनका लागि घर आएकी छ र आमाको मृत्युले वैभवशाली बाबुको पतनको अवस्था देखेर भित्रभित्रै कुँढिएकी छ ।

नारीबिना पुरुषको जीवन रिक्त र शून्य मात्र नभएर भोको र नांगो पनि हुने यथार्थ कथाले समेटेको छ । घरबाहिरको बाघ आमा छँदा घरभित्र पनि बाघै थिए, जब आमा गइन्, घरभित्रका कामको मेलोमेसो थाहा नपाएका बाबुको पराश्रित जीवन कष्टकर हुँदै गयो । निर्जलाले बाबुको व्यवस्थापन गरिदिने प्रयास गरेकी भए पनि आफ्ना हात नचल्नेका दुर्दशा सुरु हुन कति दिन नलाग्ने सत्यलाई कथाले व्यक्त गरेको छ । वर्तमान पितृसत्तात्मक समाजको स्वरूपले तथाकथित मर्दपनभित्रको विकराल विमर्दतालाई देखाउन यो कथा सफल भएको छ ।

छैटौं कथा विवस्त्र रामायणले मिथकका माध्यमबाट वर्तमान समाजको नारीप्रतिको सोचमाथि व्यंग्य गरेको छ । समाख्यातासहितको आत्मकथात्मक शैलीको यस कथामा सहनशीलताका आधारमा नारी पुज्या मानिने पूर्वीय हिन्दू समाजको प्रयोजनहीन सोचमाथि कडा प्रहार गरिएको छ ।

आत्मसमीक्षात्मक तार्किक अभिव्यक्तिका साथ विगतलाई वर्तमानमा रिलबद्ध गरिएको यस कथामा मिथकलाई भाषिक विस्थापन क्षमताका आधारमा सफलतापूर्वक नयाँ मूल्यमा विश्लेषण गरिएको छ । विश्लेषकका रूपमा रामायणका नारी पात्रहरू स्वयंको उपस्थिति छ । मीनाक्षी र मैथिली कथाकारका विशिष्ट पात्र हुन्, तिनले कथाकारका युगचेतनालाई प्रकाशित गरेका छन् ।

‘सत्य’ तुलनात्मक रूपमा भिन्न विषयवस्तुमा उनिएको छ । शक्तिराष्ट्रहरूको चलखेलले अल्पविकसित राष्ट्रभित्र आउने समस्यालाई दिव्यदृष्टिजस्तो गरी आकलन गरिएको यस कथाले विश्वको नेपालप्रतिको आकर्षण केका लागि भन्नेबारे प्रश्न उठाएको छ । फेरिचेको केही घन्टाको यात्रामा आकस्मिक र रहस्यमय किसिमले भेटिएको एउटा जीर्ण विदेशी अधबैंसेका स्वैरस्मृतिजस्ता लाग्ने संवादले नेपालको भविष्यबारे सतर्क हुन प्रेरित गर्छ । यहाँ कथाकार अर्चना थापाको विश्वदृष्टि र अध्ययन तथा सूचनासँगको गहिरो लगावलाई अलका र पामर अर्नोल्डको संवादबाट प्रस्तुत गरिएको छ ।

‘सेतो बास्ना’ कथामा शिक्षित भएर पनि उपेक्षित नारीपात्रहरू रमिता र गौरिकाको भोगाइका केन्द्रीयतामा विद्रोह प्रस्तुत गरिएको छ । सहरिया परिवेशको सुखी देखिने जीवनभित्रका पीडाहरूले कथा मार्मिक बनेको छ । नेवारी संस्कृतिमा साना छोरीहरूलाई गुफा राख्ने परम्पराबाट तिनका बालमनोविज्ञान र कलिलो संवेदनामाथि पुग्ने गरेको चोट यस कथामा प्रस्तुत भएको छ ।

सेतो शब्द स्वच्छता र स्वतन्त्रताको प्रतीक हो भने बास्ना फूलको सौन्दर्य । गुफाकालीन समयदेखि मानसिक कुण्ठामा रहेकी गौरिकालाई बहिनीको मृत्युले झनै विक्षिप्त बनाएको छ । कथामा तुषार मल्लिका र प्रेमा शाह नारी चेतनाका संवाहक ऐतिहासिक पात्र हुन् । तिनको नौलो उपस्थिति निकै आकर्षक लाग्छ । प्रयोगपरक शैलीको यस कथाले लीला दर्शनभन्दा पनि न्यायिक परिचयको अनुभव गराएको छ ।

‘कठपुतला’का कथाहरू बहुचेतनामुखी छन् । सामान्य पाठकलाई कथा बुझ्न सामाजिक, सांस्कृतिक, मनोलैंगिक-जातीय र पर्यावरणीय समाजशास्त्रलाई बुझ्नु आवश्यक पर्छ, बौद्धिक पाठकले भने नयाँ चेतनाको तिख्खर स्वाद लिँदै जान्छ । यसका कथाहरूको विकास भनेकै अर्थका सम्भावनाहरूलाई झनझन खुला राख्दै जाने शैली हो । कथामा केही शब्दको नव निर्माण भएको छ र केहीले परम्परागत अर्थ छोडेका छन् । कठपुतला र जोइलाजस्ता केही शब्दले समाजमा प्रचलित रूढ पितृसत्ताका विपरीत भिन्न संरचनाको संकेत गरेको छ ।

कथाहरू जीवन र विज्ञान सन्दर्भित छन् तर प्रकृति गौण भएर पनि मुखर छ । विस्तृतताको पृष्ठभूमिमा मिथकीय पुनव्र्याख्याका पौराणिक आधारहरू छन् । स्वयं गतिशील हुँदाहुँदै सांस्कृतिक रूढताले स्थिर बन्न पुगेको नारी चेतनालाई नयाँ सम्भावनामा डोर्‍याउने यी कथाहरू आलोचनात्मक यथार्थवादी कथा हुन् । आख्यान पुष्टताका हिसाबले पनि यी स्वस्थ छन् ।

कथाकारको समाजलाई हेर्ने दृष्टि एकपक्षीय देखिँदैन । उनका दुई दृष्टिहरू समान किसिमले अघि बढिरहँदा एकातिर सम्म मैदान छ र अर्कोतिर निकै ठूला विभेदका खाडल परेका देखिन्छन् भने त्यहाँ रोकिएर खाडलको र मैदान बीचको होचाइ र अग्लाइमा देखिएका समस्याहरू केलाउनु उनका कथाका विशिष्ट प्रवृत्ति हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.