कृष्णचरित्रको सरल वर्णन
‘हामी मक्किइसकेका बूढाहरूले ठाउँ खाली नगरेसम्म तिमीजस्ता नौजवानहरूले अघि बढ्न पाउँदैनन् । आफ्नो उमेर र अवस्थाको ख्यालै नगरी सधैं पदमा टाँसिएर बस्नु उपयुक्त होइन । वृद्ध पुस्ताले आफैं पाखा लाग्न जान्नुपर्छ । सत्ता नयाँमा पुस्तान्तर हुनुपर्छ (पृ. ४२७) ।’
आजको नेपालको राजनीतिसँग सुहाउँदो यो उद्धरण भूचन्द्र बैद्यद्वारा लिखित श्रीकृष्णको जीवनीपरक कृति ‘हे कृष्ण !’को हो । युद्धमा धराशयी भएर वाणको बिछ्यौनामा पल्टिरहेका भीष्मले अर्जुनसँगको संवादमा व्यक्त गरेको भावलाई लेखकले यसप्रकार प्रस्तुत गरेका हुन् ।
महाभारत कथा र गीतामाथि थुप्रै भाष्य लेखिएका छन्, कृष्णको जीवनी र दर्शनमाथि पनि प्रकाश पार्ने प्रशस्तै काम भएको छ । तर, यो क्रम रोकिएको छैन । बैद्यको यो कृति यही क्रमको एउटा शृंखला हो । कृष्णको जीवनीलाई लिएर नेपाली भाषामा लेखिएको यो सम्भवत: सबैभन्दा ठूलो ग्रन्थ हो । सरल भाषामा लेखिएको यो कृति कृष्णको बारेमा जान्न चाहने तर खासै जानकारी नभएका पाठकलाई लक्षित गरेर लेखिएको छ । समसामयिक शैली र त्यसै अनुसारका शब्द प्रयोग गरी लेखकले युवाहरूलाई पनि कृष्णको बारेमा पढ्न प्रेरित गर्न खोजेको भान हुन्छ । भक्तिमार्गबाट अनुप्राणित प्रस्तुत कृतिले कृष्ण चरित्रलाई अवतारवादसँग जोडेकोले आलोचनात्मक लेखाइको अपेक्षा गर्ने पाठकलाई भने यसले उत्साही नबनाउन सक्छ ।
को हुन् कृष्ण ?
शास्त्रमा एकभन्दा बढी कृष्ण नामका व्यक्तित्व भेटिन्छन् । अहिले व्यापक रूपमा पुजिने कृष्ण वासुदेव कृष्ण हुन् । वासुदेव कृष्ण पुराणमा वर्णित विष्णुका अवतार र महाभारतमा शीर्ष भूमिकामा रहेका कृष्णको समन्वयात्मक स्वरूप हो । विद्वान्हरूको एउटा मतअनुसार पुराणमा अवतारको रूपमा वर्णित वासुदेव कृष्णलाई नै महाभारत युद्धमा पाण्डवहरूको विजयको कारक बताउन पछिल्लो कालमा थपिएको हो । पाण्डुले दिग्विजय गर्ने क्रममा मगधका दीर्घ नामका राजाको वध गरेका थिए । त्यो समय मगधमा जरासन्ध राजा रहेको समानान्तर कथा पनि पाइने हुँदा यो तर्कमा दम देखिन्छ ।
तत्कालीन समयमा एकभन्दा बढी वासुदेव कृष्णको अस्तित्व भएबाट पनि यो कुराको संकेत मिल्छ । करवीरपुरका नरेश शृंगाल र करूष देशका नरेश पौण्ड्रकले पनि आफूलाई वासुदेव कृष्ण भएको दाबी गरेका थिए । देवकीपुत्र वासुदेव कृष्णले यी दुवै वासुदेव कृष्णहरूको बध गरेका थिए । यी प्रसंगले पौराणिक कालमा केही शक्तिशाली मानिसहरू आफूलाई ऐतिहासिक वासुदेव कृष्णसँग जोड्ने महत्वाकांक्षा राख्थे भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, ती ऐतिहासिक वासुदेव कृष्ण को हुन्, कस्ता थिए भन्ने जस्ता परिचर्चा अन्यत्र फेला परेको छैन ।
वैदिक कालदेखि नै कृष्ण नामका पात्र अस्तित्वमा थिए । वैदिक कृष्णलाई अंगीरस कृष्ण पनि भनिएको पाइन्छ । ऋग्वेदका कृष्णले अश्विनीकुमारलाई सोमपान गर्न आह्वान गरेका छन् । ऋग्वेदकै अर्को ठाउँमा कृष्णलाई विश्वकायका पिताको रूपमा बुझाइएको छ । विश्वकाय अर्थात् विश्वरूपको शरीर भएका व्यक्तिको प्रसंग गीतामा वर्णन गरिएको विश्वरूपसँग जोडेर व्याख्या गर्न सकिन्छ । महाभारतमा वर्णित कृष्णलाई मन्त्रद्रष्टाको रूपमा भने चित्रित गरिएको छैन । गीताको उपदेश दिँदै गरेका कृष्णलाई भगवत् धर्म र भक्ति मार्गको प्रतिपादकको रूपमा बुझ्न सकिन्छ ।
यी कृष्ण याज्ञिक कर्मको पक्षपाती भने नभएको पुष्टि मिल्छ । त्यस्तै, ऐतरेय ब्राह्मणमा हारित कृष्णको प्रसंग छ भने छान्दोग्यो परिषदमा देवकी(पुत्र कृष्णको चर्चा छ । पौराणिक कृष्ण र औपनिषदिक कृष्णमा माताको नाम मिल्नेबाहेक अन्य सादृश्य देखिँदैन । पछिल्लो समयमा कृष्ण नाममा जुन व्यक्तित्वको परिचर्चा हुने गरेको छ, त्यसमा यी सबै कृष्णहरूको मि िश्रत स्वरूप देखिन्छ ।
बैद्यकृत कृष्णचरित्र
बैद्यकृत कृष्णको जीवनीले कृष्णको प्रचलित व्यक्तित्वको विकल्पको बारेमा कल्पना गरेको छैन । पुराणवर्णित चमत्कारी र तारणहार कृष्ण नै पुस्तकका नायक हुन् । भागवत, हरिवंश, ब्रह्मवैवर्त पुराण र महाभारत प्रस्तुत कृतिको कथा वस्तुको प्रमुख आधार हुन् । थप सन्दर्भ ग्रन्थहरूलाई पुस्तकको अन्तमा सूचीबद्ध गरिएको छ । लेखकले कथावाचनलाई आकर्षक तुल्याउन ठाउँठाउँमा हल्का आख्यानीकरण पनि गरेका छन् । कृष्णसँग सम्बन्धित केही चमत्कारहरूलाई वस्तुनिष्ठ बनाउन प्रयास गरेको देखिए पनि अधिकांश चमत्कारहरूलाई लीलाकै रूपमा लेखकले सहजै स्वीकारेको देखिन्छ ।
पुस्तक १० अध्यायमा विभाजित छ । पहिलो अध्यायमा जन्मको घटना, दोस्रो अध्यायमा गोकुल, वृन्दावनमा रचेको बाललीला वर्णित छ । तेस्रो अध्यायमा कृष्णको मथुरा आगमनदेखि मथुरा त्यागसम्मका घटना छन् । चौथो र पाँचौं अध्याय द्वारका स्थापना र कृष्णको द्वारकाको राजनीतिसँग सम्बन्धित छन् ।
पाण्डवहरू वनबास गएपछि हस्तिनापुरको राजनीतिमा कृष्णको भूमिका बढ्न थालेको हो । पाण्डवको वनबास समाप्तिदेखि युद्धको तयारीसम्मको चर्चा छैटौं अध्यायको विषय बनेको छ । सातौं अध्यायमा भगवद्गीताको व्याख्या छ । महाभारत युद्धको चर्चा आठौं अध्यायमा र युद्धपछिको हस्तिनापुरको परिस्थितिलाई नवौं अध्यायमा समेटिएको छ । दसौं अध्यायमा कृष्णको द्वारका पुनरागमन, यादवहरूको नाश र द्वारकाको अन्तको वर्णन गरिएको छ।
कथाको विवेचना
लेखकले कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका छन् । चमत्कारहरूलाई पनि स्वाभाविक जस्तो लाग्ने गरी उल्लेख गर्न खोजिएको छ । गोवद्र्धन पर्वतलाई कृष्णले औंलामा उठाएको प्रसंगलाई भने लेखकले यथारूपमा स्वीकार्न सकेका छैनन् । लेखनलाई आकर्षक तुल्याउन चर्चित र जनजिब्रोमा प्रचलित अंशहरू जस्तै ‘फूलको आँखामा फूलै संसार’, ‘उडायो सपना सबै हुरीले’ आदि उद्धरण पनि प्रयोग गरेका छन् । इलियट आदि पश्चिमा साहित्यकारका भनाइहरूले पनि स्थान पाएका छन् ।
थियो रे, भयो रे, सुनिन्थ्यो, भनिन्छ, क्यारे जस्ता अभिव्यक्तिको प्रयोग गरेर कथनमा मिठास भर्न खोजिएको छ । गोकुलका नन्दले गलबन्दी लगाएको र आँखाबाट बग्दै गरेको आँसुलाई गलबन्दीले पुछेको जस्ता वर्णनले परिवेशलाई जीवन्त तुल्याएको छ । ग्यारेन्टी, एजेन्ट, परेड, कम्पाउन्ड, गोद, गार्ड, तकलिफ, मजाक, इन्तजार, चौक, नर्भस, मिसन, बबाल, डम्मी, टसल, साइड, स्कार्फ, डिभिजन, कोर्ट, लाइन, क्याम्प, रुलिंग, घबराहट, रिजेन्ट, तमन्ना, फ्ल्यासब्याक, ब्याकअप, फ्यान, मुलाहिजा, ह्विप जस्ता शब्दहरूको प्रयोगले समसामयिक लवजलाई विम्बित गर्न खोजेको छ । पौराणिक पात्रले बोल्ने संवादमा यस्ता आधुनिक अंग्रेजी शब्दहरूको प्रयोगचाहिँ अनौठो नै लाग्छ । एउटै शब्द ‘लफडा’ दर्जनौंपटक प्रयोग भएका भेटिन्छ।
आख्यानीकरण गर्ने क्रममा केही प्रसंग थपिएका पनि छन् । केही पौराणिक प्रसंगमा त्रुटि पनि भएको देखिन्छ । कृष्णले खोजेर ल्याइदिएका गुरु सान्दीपनिका पुत्रको नाम पुनर्दत्त हुनुपर्नेमा पूर्णदत्त भएको छ (पृ. १२४) । अर्जुनको तीर्थयात्रा १२ वर्षको भएको कथा पढिएकोमा प्रस्तुत पुस्तकमा पटकपटक १२ महिनाको मात्र भनिएको छ (पृ. २१३, २१४) ।
जबकि यो समयमा अर्जुनले नागकन्या उलुपीसँग विवाह गरेर सन्तान जन्माएका, मणिपुरकी राजकुमारी चित्रांगदासँग पनि विवाह गरी सन्तान जन्माएका र त्यसपछि द्वारका पुगेर शुभद्रा हरणसमेत गरेका थिए । १२ महिनाको अवधिमा यति धेरै घटना पक्कै पनि हुन सक्दैनन् । जरासन्ध र भीमसेनको मल्लयुद्धको प्रसंगमा त्यस कालखण्डका चारजना कुस्तीबाज भनेर दुर्योधनको पनि नाम लिइएको छ (पृ. २२५) । दुर्योधनलाई गदायुद्धका महारथी मानिए पनि मल्लयुद्ध विशारद पनि भनेको पाइँदैन । दुर्योधनको सट्टा शाल्व हुनुपर्ने जस्तो लाग्छ । पाण्डवहरूको गुप्तबासको समयमा अर्जुनले तेस्रोलिंगीको भेष धारण गरेर विराट राजकुमारी उत्तरालाई नाचगान सिकाएर बसेको कथा सुनिएकोमा प्रस्तुत पुस्तकमा अर्जुनलाई ‘समलिंगी’को भेषमा दरबारमा बसेको उल्लेख गरिएको छ (पृ. २८१) ।
भीष्मले आफ्नो नाम एक प्रसंगमा देवदत्त (पृ. ३३७) र अर्को ठाउँमा (पृ. ३३५) देवव्रत बताउँदा कुरा बाझिएको छ । पाण्डवहरूको वनबास र गुप्तबासको कुल अवधि १३ वर्ष रहेको प्रस्ट छ । यो अवधिमा अर्जुनले विभिन्न साधना गरेर प्रशस्त हातहतियार र दक्षता पनि हासिल गरेका थिए । तर, लेखकले यो समय अवधिलाई १४ वर्ष (पृ. ३४८) बताएका छन् । पाण्डुको जन्मजात पाण्डुरोगलाई ल्युकेमिया बताइएको छ । जन्मजात ल्युकेमिया भएको बालकको आयु लामो नहुनु पर्ने, पाण्डुरोगलाई छालासँग सम्बन्धित समस्या बताइएको पाइन्छ ।
त्यस्तै, भीमसेन र दुर्योधनबीच गदा युद्ध हुँदा अर्जुनले भीमसेनलाई ‘दायाँ काँध’ (पृ. ४६९) नभएर बायाँ जाँघको इसारा गरेका हुन् । द्युतसभामा दुर्योधनले द्रौपदीलाई आफ्नो बायाँ जाँघमा बस्न आमन्त्रण गरेकाले भीमसेनले दुर्योधनको त्यही जाँघ भाँच्ने संकल्प गरेका थिए । जाँघमा प्रहार गर्नु युद्धको नियमविपरीत थियो, काँधमा प्रहार गर्नु अस्वाभाविक हुँदैन थियो । नियमविपरीत जानका लागि नै भीमलाई संकेत गर्नु परेको थियो, नियमानुसार त भीमले प्रयास गरेकै थिए । कृष्णपत्नी रुक्मिणीले पुत्र प्रद्युम्नको विवाह रुक्मिणीकी पुत्रीसँग गराइदिएकी हुनुपर्नेमा नाति अनिरुद्धसँग गराइएको प्रसंग पनि त्रुटिपूर्ण देखिन्छ (पृ. ५४८) ।
मुद्राराक्षस र शुद्धाशुद्धिका समस्या बाँकी नै छन् । ‘वारणावत’ लाई पुस्तकभरि ‘वारणाव्रत’ भनिएको छ । उल्लिखित सन्दर्भहरूबाहेक पनि अन्य कतिपय प्रसंग प्रस्ट भएका छैनन् । पूतनालाई ‘बालहत्यामा कुख्यात’ (पृ. ३३) बताइएको छ । कंशले कृष्णको हत्या गर्ने मनशायले मात्र पूतनालाई त्यो जिम्मेवारी दिएको परम्परागत कथाभन्दा फरक पूतनाको त्यो अतिरिक्त परिचयको पृष्ठभूमि पुस्तकमा खुल्दैन ।
देवकीलाई विवाहको समयमा ‘बालिका’ अवस्थाकी बताइएको छ (पृ. १०) । उता वसुदेवलाई वृष्णि खलकको अग्रणी बताइएकाले (पृ. २) वसुदेव वयस्क उमेरका ठान्नुपर्ने हुन्छ । त्यो बेला अनमेल र बालविवाह गरिन्थ्यो भन्ने पनि ग्रन्थमा खुल्दैन । देवकीले एक वर्षपछि नै पहिलो सन्तान जन्माएको (पृ. १३) चर्चाले देवकीलाई बालिका नै मान्नु उपयुक्त देखिँदैन।
प्रस्तुत पुस्तकले पाठकबाट महाभारत, पुराणको पूर्वज्ञानको अपेक्षा गरेको भान पनि पर्छ । उदाहरणका लागि पाण्डवको द्रौपदीसँग विवाह भएपछि धृतराष्ट्रले विदुरलाई उनीहरूलाई ससम्मान हस्तिनापुर ल्याउन निर्देशन दिएका थिए । यो प्रसंगलाई लेखकले धृतराष्ट्र कणिकको उपदेशबाट निर्देशित भएको व्याख्या गरेका छन् । पुस्तकमा यसअघि कणिकको उल्लेख भएको छैन ।
महाभारत कथाअनुसार भने पाण्डवहरूलाई वारणावत पठाउनुअघि धृतराष्ट्रले कणिकसँग परामर्श गरेका थिए । शत्रुलाई बेलैमा समाप्त पार्नुपर्छ तर अघिल्तिर भने करुणा, स्नेह देखाउन चुक्नु हुँदैन भन्ने कणिकको सल्लाहप्रति यो प्रसंग इंगित छ । यसको पूर्व ज्ञान नभएको पाठक यो बिन्दुमा अलमलिने सम्भावना रहन्छ । एउटा अर्को सन्दर्भमा लेखकले अर्जुनको मृत्युले द्रौपदीलाई विधवा बनाउने तर्क गरेका छन् (पृ. ५२०) ।
पाँच पतिमध्ये एक पतिको मृत्यु हुँदैमा पत्नीलाई विधवा भन्न मिल्छ र ?
महाभारत र कृष्णका कथामा आउने विभिन्न सन्दर्भले समसामयिक राजनीतिक घटनाहरूलाई विभिन्न कोणबाट प्रकाश पार्ने काम गरिरहेका बोध हुन्छ । कतिपय ठाउँमा लेखकका व्याख्याले त्यसलाई संकेत पनि गरेका छन् । द्रोणसँग बदला लिने द्रुपदको संकल्पलाई ‘एकबुँदे सङ्कल्प’ (पृ. १७३) बताएर बुँदे सहमति गर्ने समकालीन राजनीतिको खिल्ली उडाएका छन् लेखकले । माग पूरा गराउन निराहार बस्ने दुर्योधनको संकल्पलाई आमरण अनशन (पृ. २६०) को संज्ञा दिएका छन् । एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्ने प्रचलनको उदाहरण ‘दुर्वासा कार्ड’ (पृ. २५६) ले दिएको छ ।
दुर्वासाजस्तो रिसाहा ऋषिलाई १० हजार चेलासहित पाण्डवहरूकहाँ भोजनका लागि पठाउने दुर्योधनको योजनालाई लेखकले दुर्वासा कार्ड नाम दिएका हुन् । वनमा १० हजार शिष्यसहितको दुर्वासालाई भन्नेबित्तिकै खुवाउन सम्भव हुँदैन र यही कारण दुर्वासाले पाण्डवहरूलाई श्राप दिन्छन् भनेर दुर्योधनले यो चाल चलेका थिए । यसबाहेक अन्यत्र पनि कथाको बीचबीचमा लेखकका टिप्पणीहरू समसामयिक विकृत राजनीतिलाई व्यंग्य गर्ने वा प्रकाश पार्ने ढंगले आएका भेटिन्छन् ।
शीर्षकको सान्दर्भिकता
पुस्तक कृष्णको बारेमा भए पनि पुस्तकको ठूलो अंश महाभारत कथा र खास गरेर कौरव, पाण्डवको द्वन्द्वले ओगटेको छ । महाभारत युद्धका विभिन्न पात्र र तिनका चरित्रको पनि विस्तृत चर्चा भएकाले कृष्णको व्यक्तित्वका कैयौं पाटाहरूमाथि पर्याप्त चर्चा हुन पाएको छैन । कृष्णको भूमिकालाई आह्वान गर्ने पृष्ठभूमि तयार गर्न त्यस्ता परिचर्चाको उपादेयता भए पनि पुस्तकको प्रयोजनको लागि तिनलाई संक्षिप्त गर्नु उपयुक्त हुन्थ्यो ।
माथि उल्लेख भएझैं पुस्तक कृष्णावतारको महिमागान नै हो । लेखकको कृष्णप्रेम पुस्तकभरि छताछुल्ल भएको छ । कृष्णका कमजोरी, त्रुटि आदि पनि थिए भन्ने कुरा कल्पना पनि गरिएका छैनन् । कृष्णको प्रसंगलाई बताउने क्रियापदहरू आदरार्थी छन् । स्वयं पुस्तक लेखन नै कृष्णबाट प्रेरित भएर लेखिएको स्वीकार्दै आफ्नो लेख्यभावलाई नै कृष्णार्पण गरेका छन् लेखकले । कृष्णको तारणहार व्यक्तित्वलाई पहिचान गरेपछि व्रजका गोपगोपनीहरूले जुनसुकै काम कुरामा पनि कृष्णलाई ‘हे कृष्ण’ भनेर गुहार्न थालेका थिए (पृ. ५८) । प्रकारान्तरले लेखकले आफ्नो लेखकत्वलाई जगाउन र कृष्णचरित्रलाई अक्षरमा उतार्न स्वयं कृष्णलाई नै ‘हे कृष्ण’ भनेर गुहारेको बुझ्न सकिन्छ।
पुस्तक : हे कृष्ण !
लेखक : भूचन्द्र बैद्य
प्रकाशक : एडुकेसनल पब्लिसिङ हाउस
पृष्ठ संख्या : ६२२
मूल्य: रु. ५९५