मलेसियाको मज्जा
मोबाइलको स्क्रिनमा रहेका दर्जनौं एप्समध्ये एउटामा उनको औंलाले छोयो । ‘ग्र्याब’ नामक एप्समा आफू जाने ठाउँ र आफू रहेको लोकेसन टाइप गरे उनले । उताबाट ओके भयो । त्यहाँ कार ड्राइभरको नाम, कार भएको स्थान, आउन लाग्ने समय, चालकको मोबाइल नम्बर र आइपुग्न लाग्ने समय आदि एप्समा देखियो ।
धनकुटाबाट जीवनलाई मूर्तरूप दिने सपना पालेर १७ वर्षअघि मलेसिया पुगेका जीवन देवान गाउँलेले भने, ‘यहाँ तीन÷चार खालका भाडाका ट्याक्सी छन् तर पछिल्लो समय नेट र एप्समार्फत सस्तो र भरपर्दो ट्याक्सी (निजीकार) प्रयोग गर्न पाएका छौं ।’ एक खालको ट्याक्सी ग्र्याबभन्दा केही महँगो तर प्रयोग गर्न योग्य, अर्को खालको ट्याक्सी झन् महँगो झन्डै दोब्बर पर्ने र तेस्रो खालकोमा परियो भने लुटिने पनि ।
रोचक कुरो पनि सुनियो, लुटिएका गुनासा प्रहरीलाई सुनाउन गए तिनैले पनि उल्टै लुट्न सक्ने रहेछन् । क्वालालम्पुरको एउटा रेल स्टेसन छेउको हामी बसेको झन्डै सात सय कोठाको बाह्रतले भव्य संरचनाको आईबीआईएस होटेल परिसरमा उभिइरहँदा लगभग १० मिनेटमै एउटा निजी कार ‘ग्र्याब’ भनेअनुसार हामी उभिएकै ठाउँमा आइपुग्यो ।
भाडामा पनि प्रयोग गर्ने त्यस्ता ट्याक्सी मलेसियनले निजी प्रयोग गर्ने गुणस्तरीय कार रहेछन् । आफ्नो प्रयोग नभएर खाली बस्ने अवस्थाको सदुपयोग उनीहरूले ग्र्याबमार्फत गर्ने त्यो शैली नेपालका लागि पनि अनुकरणीय छ । इन्टरनेटको सुविधा भए सबैथोक हुने । डेस्टिनेसन इन्ट्री गरेर कारमा चढेपछि चालकलाई पनि ढुक्क । घरी देब्रे, घरी दाहिने, घरी सीधा अगाडि, घरी डाउन (अन्डरग्राउन्ड सडक) र अप (फ्लाइओभर), प्रविधिमार्फत चालकले गन्तव्य पहिल्याउने गरेको पायौं । सुनेको र अरूको यात्रा पढेको यो विषय आज आफैं अनुभव गरिरहेका थियौं ।
नेपाल आएपछि थाहा भयो, यही शैलीमा ‘टुटल’ एप्समार्फत काठमाडौं उपत्यकामै मोटरसाइकलले भाडामा यसरी नै मान्छे ओसार्ने काम सुरु भइसकेको रहेछ । मोटरसाइकलमात्र होइन, काठमाडौं उपत्यकामा ट्याक्सी पनि अनलाइन सेवाका लागि ‘उबर’ चाँडै सुरु गर्दैछन्, रवि सिंघल र प्रकाश न्यौपानेले । विश्वभर ‘उबर’ र ‘ओला’ एप्समार्फत ट्याक्सी सेवा सञ्चालनमा छ । राजधानीमा हालै ‘सारथि’ बाट मिटरमा उठेको बिलमात्रै तिरे पुग्ने सेवा सुरु भएको रहेछ ।
रात्रिकालीन सहरी दृश्यले हामी दुवैलाई घरपरिवार र नेपाल बिर्साइरहेको थियो । विकासको एउटा हद ‘क्वालालम्पुर’मा पायौं । यहाँको प्रमुख चिनारी ट्विनटावर र दोस्रोमा केएल टावर । दायाँबायाँ मोड्दै घरी जमिनमाथिको फ्लाईओभर त घरी गुडिरहेका मेट्रो÷मोनो रेलको मुनिबाट ती चालकले हामीलाई त्यही ट्विनटावर पुर्याए । बिहान सिंगापुरबाट कोचको यात्रा हुँदै क्वालालम्पुर आएका हामी भोकै त थिएनौं तर खाना खाएका थिएनौं । टावरसामु पुगेपछि हाम्रै प्रस्तावमा जीवनले भने, ‘दाजु-भाउजूलाई टावरमै भोजन गराउँछु अनि घुमाउँछु ।’ नभन्दै उनले न ट्याक्सीमा भाडा तिर्न दिए न खानाको । ‘नेपालमा तपाईं, मलेसियामा म’, उनले बोल्न दिएनन् । २२ वर्षअघि धनकुटा बहुमुखी क्याम्पस अध्ययनका क्रममा एउटै घरमा डेरा लिएर बसेका हामीबीच झन्डै पारिवारिक सम्बन्ध भएर होला सायद ।
ट्विनटावरको टुप्पो
नेपाल नौतले धरहराले चिनिएको छ । मलेसियालाई ८८ तले टावर त्यो पनि दुई÷दुईवटा । दुईवटा टावरको उचाइ र सौन्दर्य आफ्नो ठाउँमा होला, धरहरा झन्डै १० गुणा होचो भए पनि नेपाललाई सधैं उचाइमै राखेको थियो । भुइँचालोले भत्काएको धरहरालाई अब यस्तै सानदार, सौन्दर्यले भरिपूर्ण र कम्तिमा एक दिन बिताउने भव्य र आधुनिक बनाइनुपर्छ । टावरको गोलाइ पनि धरहराको दोब्बरले कहाँ भ्याउनु ? दिउँसो ट्विनटावर आलिसान र प्रभावशाली लाग्छन् भने रातिको समयमा चमकदार अर्थात् ‘चकित पार्ने क्षमता’ राख्छन् यिनले ।
आसपासमा केही गुफा थिए, डरलाग्दो भएकाले छेवैको एउटा गुफामा प्रवेशमा रोक लगाइएको थियो । नेपालमा पनि यस्ता थुप्रै गुफा छन् तर पर्यटकलाई आकर्षित गर्न व्यवस्थित नहुँदा थुप्रै नेपाली यसरी नै भ्रमणका लागि बिदेसिएका हुन् कि ?
भत्किएको धरहरालाई अवको अत्याधुनिक धरहरामा परिणत गरी ‘ल्यान्डमार्क’ बनाउने भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान नसेलाउने हो भने । उता ट्विनटावरलाई मलेसियाका तत्कालीन प्रधानमन्त्री डा.महाथीर मोहमदले पनि यो ट्विनटावरले अन्तर्राष्ट्रिय रूपमा चिनाउने ‘ल्यान्डमार्क’ भएको टिप्पणी गरेका रहेछन् । उनकै भनाइमा, ‘यी टावर साहस, प्रतिबद्धता, शक्ति, आत्मविश्वास, आशावादी, आविष्कार आदिको प्रतीक हुन् ।’
टावरलाई पृष्ठभूमिमा पारेर विभिन्न कोणबाट तस्बिर लिँदा समय बितेको पत्तै भएन । ४३औं वसन्तसम्म खिचिएका हजारौं तस्बिरभन्दा यहाँ खिचेको स्वाद पृथक् महसुस गरियो । जीवनसंगिनी कमलाले टावर र आसपासको दृश्यलाई मूल्यांकन गरिछन्, ‘मिल्ने भए आजको रात यही रमाइलोमा रुमलिन पाए हुन्थ्यो ।’ भुइँमा उभिएर टावरको टुप्पोतिर हेरेँ । मानौं त्यो टुप्पोले आकाशलाई चुमेको छ । २२ असार २०७४ । रातको १० जति बजेको हुँदो हो, फोटो खिचिसकेपछि पनि टावरलाई एकोहोरो नियाल्न मन लाग्यो ।
‘टुप्पोमा पुग्न पाए...’, अस्वाभाविक कल्पनाले मलाई हतास बनायो । दिउँसो त टावर चढ्न पाइने रहेछ तर त्यो पनि टुप्पोसम्म होइन ६८औं तलासम्ममात्र । रातको समयमा त्यो सम्भव थिएन । मन खुम्च्याएँ, मौन भएँ । जीवनसंगीलाई भनेँ, ‘लौ आऊ, टावरको टुप्पोजत्रै भएर फोटो खिचेर रहर मेटाऔं ।’ टावरको दायाँ र बायाँ परिसरमा रंगीबिरंगी पानीका नृत्यहरू कुनै डान्सबारभन्दा कम थिएनन् । ‘ओप्पो एफ वान एस’ लाई तल पारेर कहिले एक्लै, कहिले दुक्लै त कहिले तीनैजनाले टावरको टुप्पोलाई तस्बिरमा समकक्षी बनाएर साक्षी बनायौं ।
जीवनले टावरको टुप्पोमात्र देखाएनन्, लिफ्टमार्फत टावरमुनि पुर्याए र भने, ‘यो अन्डरग्राउन्ड सब-वेको मजा लिऔं ।’ मैले काठमाडौंको रत्नपार्कछेउको अन्डरग्राउन्ड सब-वे सम्झिएँ । मध्यरातमा दिउँसोको १२ बजेजस्तै झलमल्ल टावरमुनिको सुन्दर बाटो (मान्छेका लागिमात्र) जहाँ फोहोरको ‘फ’ थिएन, पसलको ‘प’ पनि थिएनन् । झन्डै एक किलोमिटर त्यो सब-वे हिँड्नुको मजा अन्त कहाँ ? सब-वेबाट बाहिरियौं, अब मान्छेमात्र हिँड्ने पुल भेट्यौं ।
कलात्मक त्यो पुल पनि सब-वेजस्तै लामो रहेछ । मलेसियामा लुटिने कुरा धेरैबाट सुनेका थियौं । मध्यरातको १२ बजे झन्डै तीन किलोमिटर दूरीको होटेल पुग्नु थियो । ‘के गर्ने ग्र्याब मगाऊँ ? ’, जीवनको प्रश्न नसकिँदै संगी कमलाले भनिन्, ‘पर्दैन, यो भव्य विकाससँगको झिलिमिली जान्न, बुझ्न र महसुस गर्न हिँडेर घुम्नुको मज्जा ट्याक्सी (ग्र्याब) ले दिँदैन ।’
टेम्पल, टावर र दरबार
बिहानै चर्को घामले यात्रामा स्वागत गर्यो । आकाशमा कालो बादल बरालिँदा यात्रा बिथोलिने चिन्ता भयो । चालकलाई सोधेँ । उसले पानी पर्दा मुसलधारे पर्ने, छाताले नभ्याउने, सवारीसाधन रोक्नुपर्नेजस्ता अवस्थाको जानकारी गरायो । पुरानो एयरपोर्ट हुँदै अघि बढ्दा उसले थप्यो, ‘मुसलधारे पानी परेपछि क्वालालम्पुरमा नसोचेको जाम हुन्छ, अन्डरग्राउन्ड रोड ६.९ किलोमिटर त ठप्प हुन्छ ।’ चारदिने मलेसियाको समयमा सिंगापुरबाट कोचमा क्वालालम्पुर र अन्तिम दिन नेपाल फर्कंदै सकिने भएपछि बचेको दुई दिन हाम्रा लागि ‘सुन जोखाइ’ थियो।
थिएन ह्यु टेम्पल परिसरमा गाडी रोकियो । रोब्सन हाइटमा रहेको उक्त मन्दिर सन् १९८७ मा पूरा भएको रहेछ । मन्दिरको विशेषता अचम्मको पायौं, बुद्धिज्म, ताओइज्म (चीनको धार्मिक एवं दार्शनिक परम्परा) र कोन्फुसिआनिज्म (चीनका दार्शनिक कन्फुसियसले धर्म, दर्शन, मानव र परम्परा आदिलाई विचारमा ढालेर बनाएको वाद) को संगम रहेछ । भित्र पस्नासाथ बुद्धले ‘शान्ति’ को प्रकाश छरिरहेको आभास भयो ।
कान्तिपुर होलिडेबाट गएको हाम्रो ११ जनाको समूह आफ्नै पारामा मन्दिरको संरचना र मूर्ति आदिको कुरा गर्दै मनलाग्दी तस्बिर लिन थाल्यो । स्वयंसेवकले पटक-पटक इसारा गर्नुपर्यो । यो इसारामा नेपालका हामीजस्तै थुप्रै देशका लागि पनि थियो । बुद्धको भूमिबाट गएका र लुम्बिनी घुमिसकेका हामीले ‘बुद्ध’ शान्तिका प्रतीक हुन् भनेर आत्मज्ञान त्यहाँ देखाएको भए ‘बुद्धिमान’ ठहरिने थियौं कि ?
पालो केएल अर्थात् क्वालालम्पुर टावरको थियो । पाँच वर्ष लगाएर बनाइएको टेलिकम्युनिकेसन (टेलिभिजन ब्रोडकास्टिङ र रेडियो एन्टेना) का लागि बनाइएको यो टावर सन् १९९६ देखि प्रयोगमा आएको हो । ‘फ्रि टु एयर’ टेरेस्टोरियल टेलिभिजन स्टेसन पनि रहेछ त्यहाँ । १३८१ फिट अग्लो यो टावर विश्वकै सातौं अग्लो फ्रिस्ट्यान्डिङ टावरका रूपमा परिचित छ । पालो पर्खिएर लिफ्टबाट रुफटपमा पुग्यौं । हिजो साँझ ट्विनटावर चढेर मलेसिया चिहाउने रहर दोस्रो दिन दिउँसो पूरा भयो । यसअघि झन्डै १५ मिनेटका लागि समूहमा ट्विनटावर पुग्दाको मजा हिजो रातिको ‘विशेष’ दृश्यहरूले ‘फिका’ बनाइदिएको थियो ।
केएल टावरबाट मलेसियाको राजधानी हेर्दा लाग्थ्यो मानौं हामी प्लेनबाट सहरी दृश्य चिहाउँदैछौं । धेरै परसम्मका दृश्य अनुमान गर्न सकिन्थ्यो, टाढाका जंगलदेखि खुला ठाउँसम्म । केही पर दैनिक सरदर हजारजना चढ्ने ट्विनटावर समकक्षी उभ्याइमा हामीलाई पुन: निम्ता दिँदै थियो । समयका सामु बिहानै त्यहाँ पुगेर पनि ८६ तला पुग्नेसम्मको सुविधा हाम्रा लागि ‘ह्लासामा सुन छ कान मेरो बुच्चै’ झैं भयो । केएल उक्लिनुअघि उनीहरूले खिचिदिएका हाम्रा तस्बिर लिफ्टबाट माथि रुफटपमा पुग्दा क्लालालम्पुरको रातको झिलिमिली दृश्यसमेतलाई पृष्ठभूमिमा राखेर फ्रेममा तयार भइसकेका रहेछन् ।
मलेसियामा राजा जनताका प्यारा रहेछन् । तालिकामा हामीलाई उनकै दरबार घुमाउन लैजाने पनि रहेछ । राजाको जन्मदिन र रमदानमा मात्रै त्यो दरबार सर्वसाधारणका लागि खुला हुँदोरहेछ । एक मलेसियनले अहिलेसम्म बनेका सबै राजा जनताका प्यारा रहेको जनाए, ‘अल किङ्स आर काइन्ड किङ’ । मैले नेपालका केही पूर्वराजाको स्मरण गरेँ । एक सय चारवर्षे राणाशासन ढालेर ल्याएको प्रजातन्त्रलाई एक दशकमै निमोठ्ने राजा सम्झेँ ।
पञ्चायती शासन व्यवस्था सुरु हुँदैदेखि प्रजातन्त्रको पुनर्बहाली गर्न लडेका प्रजातन्त्रप्रेमी जनता सम्झेँ । अनि सम्झेँ, बहुदललाई कुल्चिएर ‘कु’ गर्ने राजा पनि । स्थानीयका अनुसार, मलेसियामा रहेका नौ सुल्तान पालैपालो प्रत्येक पाँच वर्षमा राजा हुने, संसद्को दुई तिहाइ पुगेमात्र प्रधानमन्त्री हुने, प्रधानमन्त्री चार÷चार वर्षमा फेरिने र राजा होस् वा प्रधानमन्त्री मुस्लिम हुनैपर्ने प्रावधान रहेछ । पुरानो तर प्रभावशाली दरबारलाई गेटबाटै चिहाएर फर्कियौं ।
सन-वेको संसार
शनिबारको दिन थियो । मलेसिया घुमाइको अन्तिम दिन सन-वे लगुनको मजा लिनु थियो । केही वर्षअघिमात्र भक्तपुरमा सुरु भएको ‘काठमाडौं फन भ्याली’ जस्तै बुझेको थिएँ, सन-वेलाई । अलि विस्तारित रूप आएको छ, काठमाडौंमा ‘हुपी ल्यान्ड’ । सन-वे पसेपछि थाहा भयो, सन-वे हात्ती रहेछ अनि फन भ्याली र हुपी ल्यान्ड कमिलाजस्तै ।
वाटर पार्क, एनिमल पार्क, वाइल्ड लाइफ पार्क, एक्ट्रिम पार्क, एम्युजमेन्ट पार्क, स्क्रिम पार्क, निकोलोडिन पार्क, पार्कैपार्क एउटै सन-वेभित्र । कताबाट सुरु गर्ने कहाँ पुगेर टुंग्याउने ? गाइडले गेटमा पुर्याएर छोडेपछि गाइड-बुकको सहारामा अघि बढ्नुको विकल्प थिएन । यात्रा दलका सबैको पहिलो अनुभव भएकाले अलमल नै भइरह्यौं । हामीले थाइल्यान्डको सफारी वल्र्ड र सिंगापुरको सेन्तोसा आइल्यान्डको दिनभरको घुमाइमा पनि यसरी नै अल्मलिएका थियौ । तीन तला जति अन्डरग्राउन्ड गए जसरी लिफ्टमा सलल बगेर ओर्लियौं । बाघभालुसँगको साक्षात्कारदेखि भूतको चर्तिकलासम्म, बञ्जीजम्पदेखि घिर्लिङमा सरर कावा खानुको मज्जाले सन-वेले मन जित्यो ।
पानीसँग जोडिएका दर्जनौं खेल, चिप्लेटी र पौडी आदिमा सबै रमायौं । ११ मध्ये गुरु अधिकारी, राजकुमार घिमिरे र मेरो जोडी ६ जनामात्रै अलि साहसिलो खेलका लागि दुई घन्टा लाइनमा बस्यौं । झन्डै चार तलामाथिबाट ट्युबमा बसेर पानीसँगै चिप्लेटी खेल्दा र त्यो ६ जनाको हाम्रो ट्युब एकैपटक झन्डै एकतला तल हाम्फालेझैं झर्दाको पल मनभरि कहिल्यै नमेटिने गरी बस्यो ।
बातु केभ सुनेदेखि नै पुग्ने लालसाले अन्तत: त्यहाँको यात्राको साइत पनि जुर्यो । सन-वेको दिनभरको रमाइलोले थकित ज्यान पनि भोलिपल्ट बिहानै चंगा भयो बातु केभ हेर्ने लालसाले । नेपाल फर्किन १२ बजे नै क्वालालम्पुर इन्टरनेसनल एयरपोर्ट पुग्नु थियो । जीवन भाइले ‘ग्र्याब’ मगाएर केभ पुर्याएर समयमै ल्याउने ग्यारेन्टीका साथ समय पनि दिए । ओर्लिनासाथ अग्लो विष्णुको उभिएको सुनौलो मूर्ति देखियो । हामीलाई काभ्रे साँगाको शिवको उभिएको मूर्तिकै झझल्को आयो । तीन तला जति उचाइमा पुग्नेगरी सिढी चढेर गुफाभित्र पस्यौं।
मलेसियाको महत्वपूर्ण आकर्षण बातु केभ सेलन्जर राज्यको गोम्बक जिल्लामा पर्दो रहेछ । तमिल आर्किटेक्चरमा के. थम्बुसमी पिलेको परिकल्पनामा सन् १८९१ मा बनाइएको कृत्रिम गुफालाई सबैले प्राकृतिक गुफा नै ठान्नेगरी मनमोहक थियो । आसपासमा केही गुफा थिए, डरलाग्दो भएकाले छेवैको एउटा गुफामा भने प्रवेशमा रोक लगाइएको थियो । नेपालमा पनि यस्ता थुप्रै गुफा छन् तर पर्यटकलाई आकर्षित गर्न व्यवस्थित नहुँदा थुप्रै नेपाली यसरी नै भ्रमणका लागि बिदेसिएका हुन् कि ?