सर्वनाममा पोखिए बीना र नरेन्द्र
काठमाडौं : सुनमाया, तिमीलाई थाहा छ, हाम्रो घरको चुलो मुस्किलले सल्कन्छ
जब सल्कन्छ, म देख्छु, मुस्किलले सल्किएको चुलोको धूवाँमा
मेरी आमा सकिराझैं ब्रेकडान्स गर्छिन्
कहिले गाईको थुनमा, कहिले घरमास्तिरको पाखो बारीमा, कहिले घरका दैलामा
मेरी आमाका हात सर्याक सुरुक गर्छ।
यी हरफहरू हामी कवि र कविताको एकाउन्नौं शृंखलामा कवि बीना थिङ तामाङले शुक्रबार वाचन गरेकी हुन्। हरेक महिनाको पहिलो दिन सर्वनाम थिएटरमा यसैगरी कविता वाचन हुन्छ। कवि थिङले ‘आमा र धूवाँ' शीर्षकको कविताबाट वाचन सुरु गरेकी थिइन् भने ‘बा' शीर्षकको कविताबाट वाचन अन्त्य गरिन्। कवि थिङले आमाको महिमा, जातीय विभेद, शारीरिक बनावटलाई आधार बनाएर कविता वाचन गरेकी थिइन्।
अर्का कवि नरेन्द्र श्रेष्ठले ‘नयाँ वर्ष, ‘परालको त्यान्द्रो, प्रत्येक भट्टीमा पाइन्छ कवि र कविता पीडा, म र माछापुच्छ्रे लगायतका कविता वाचन गरेका थिए। सर्वनाम कविताप्रेमीले खचाखच भरिएको थियो। कवितामा तालीको गडगडाहट चलेको थियो।
‘प्रत्येक भट्टीमा रुमलिएको छ कवि कविता
ऐलाको झोकमा स्वाट्ट निल्छ कवि
अनि घोप्ट्याउँछ कविता
लाचारवश कविता चारैतिर मडारिँदै
उकुसमुकुस भएर केही छिन लरबराउँछ।'
नरेन्द्रले कविता बिट मारे।