सुरक्षामा सरकार असफल : ओली

सुरक्षामा सरकार असफल : ओली

विराटनगर : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मिलाउने सवालमा सरकार असफल बनेको आरोप लगाएका छन्।

उनले शान्ति सुरक्षाको भरपर्दो विश्वास दिलाउन नसक्नु र उम्मेदवारहरुमाथि सृङ्खलाबद्ध रुपमा भइरहेको बम आतंकले सरकार असफल बनेको पुष्टि हुने बताए। ‘निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरुमाथि लगातार बम प्रहार भइरहेको छ,' ओलीले भने, ‘सरकारले त्यसलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न नसक्नु आश्चर्यको विषय बनिरहेको छ।' उनले सरकारसँग अनुसन्धान गर्ने निकाय भएकाले बम पड्काउनेहरुलाई पहिचान गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने माग पनि गरे।

‘सरकार बाहिर एउटा बोल्छ, भित्र अर्कै काम गरिरहेको हुन्छ,' विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने, ‘निर्वाचन पर सार्ने खालका प्रयास यस अघि पनि सरकारबाट भएकै हुन्। अहिले पनि निर्वाचन सार्नैका लागि यस्ता अवाञ्छित गतिविधि भइरहेका छन् की भन्ने शंका पैदा हुन थालेको छ।' ओलीले धेरै ठाउँमा उम्मेदवारमाथि बम प्रहार भइरहेको प्रसङ्ग केलाउँदै भने, ‘यस्तो काम कसले, कसरी र किन गराइरहेको छ भन्ने कुरा नै प्रष्ट हुन सकिरहेको छैन।' सरकारको कमजोरी पहिल्याउने पक्षले निर्वाचन भाँड्न, विथोल्न र लोकतन्त्रलाई धरापमा पार्न बम आतंक मच्चाएको हुन सक्ने उनको ठम्याई छ।

जसोतसो चुनाव सम्पन्न भएपछि यस्ता खालका सबै गतिविधिको अन्त्य हुने उनको दावी छ। ‘निर्वाचन बिथोल्ने र अनूचित कार्य बन्द गरिनु पर्छ,' ओलीले भने, ‘यस विषयमा सरकार र कर्मचारीलाई पनि सचेत गराउनु पर्ने अवस्था आयो।' निर्वाचन आचारसंहिता लागिसक्दा पनि आफ्नो सीमा नाघेर लोकतान्त्रिक मूल्य र मान्यता बिर्सदै सरकारले स्वेच्छाचारी रुपमा काम गरिरहेको उनको आरोप छ। ‘सरकार पनि स्वेच्छाचारी छ,' उनले भने, ‘सरकारका पार्टीबाट उम्मेदवार बनेकाहरु पनि त्यस्तै छन्।' प्रधानमन्त्री शेरबहादुर देउवाका पटक पटकका अभिव्यक्ति प्रति कटाक्ष गर्दै ओलीले त्यसलाई राजनैतिक सिद्धान्त केही नभएर हतासमा दिएको अभिव्यक्ति भनेका छन्।

उनले निर्वाचन भएर वाम गठबन्धनको सरकार बनेपछि लुटतन्त्रको अन्त्य हुने र लोकतन्त्र मजवुत भएर जाने बताए। एमाले अध्यक्ष ओलीले वाम गठबन्धनले चुनाव जितेर सरकार बनेपछि मुलुकमा लोकतन्त्र सुदृढ हुने, कानूनी राज्य र सुशासनको महसुस हुने, स्वच्छता र पादर्शीता हुने, भ्रष्टाचार नियन्त्रण हुने, जनताप्रति उत्तरदायी हुने र विकास निर्माणका ढोकाहरु खुल्ने दावी गरे।

संचारकर्मीसंग कुरा गर्नु अघि विमानस्थलको विशिष्ट कक्षमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार एवं कांग्रेस नेता महेश आचार्यसंग ओलीको भेट भएको थियो। उनले आचार्यसँग एक मिनेट जति भलाकुसारी समेत गरे। आचार्यलाई उनले निर्वाचनका बेलामा हुने चुनावी कार्यक्रमहरु नीति नियमभित्र बसेर गर्नु पर्ने सुझाव समेत दिएका थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.