फिल्म तान्द्रो : युद्धको मिथ्या दस्तावेज

फिल्म तान्द्रो : युद्धको मिथ्या दस्तावेज

सशस्त्र युद्धताका सेनाको गोली लागेर गंगाबहादुर लामा घाइते भए । उनले पानीबिना ५६ घन्टा र अन्नबिना ९६ घन्टा तड्पिएको पीडालाई ‘दसवर्षे जनयुद्ध: स्मृतिका डोभहरू’ नामक पुस्तकमा उतारे । सोही पुस्तकको अंशबाट साम्देन भुटियाले सिनेमा बनाए । जसको नाम दिइयो ‘तान्द्रो’ ।

२४ कात्तिकबाट तान्द्रो देशभर चलिरहेको छ । तान्द्रोलाई व्यावसायिकभन्दा कला र विषयवस्तुको कोणबाट हेर्दा न्याय हुन्छ । सतिशकुमार गौतमले निर्माण गरेको सिनेमामा रामबाबु गुरुङ र निश्चल बस्नेतले पनि सघाएका छन् । पटकथाकारका रूपमा उभिएका छन् कवि उपेन्द्र सुब्बा ।

raju_syangtan_1गंगाबहादुर लामाको भूमिकामा देखिएका छन् दयाहाङ राई । बुद्धि तामाङ, रामबाबु गुरुङ, कमलमणि नेपाल, मणिराम पोखरेल, सरस्वती चौधरीलगायतको अभिनय पनि सिनेमामा हेर्न सकिन्छ ।

कमरेड कोसिस (दयाहाङ राई)को सांस्कृतिक टिम सांस्कतिक कार्यक्रम गर्दै एउटा गाउँमा पुग्छ । कार्यक्रम सकेर त्यही खाना खान्छ । गाउँमा शाही सेनाले आक्रमण गर्छ । घुँडामा गोली लागेको उनलाई साथीहरूले छाड्छन् । उनी पानी र अन्नबिना बारीमा तड्पिएर बस्छन् । उनको पीडा र गाउँलेको तिरस्कारमा सिनेमा केन्द्रित छ ।

कमरेड कोसिसको भूमिकामा रहेका दयाहाङ राईको कोसिस प्रशंसालायक छ । दोस्रो भागपछि सिनेमाको सम्पूर्ण अंश दयाहाङमा केन्द्रित हुन्छ । दर्शकलाई अल्छी लाग्न नदिने सिनेमाको सबल पक्ष हो । दयाहाङको जीवन्त अभिनय हेरिसकेपछि वरिष्ठ सिनेकर्मी नीर शाहले उनीजस्ता कलाकार ५० वर्षमा एकपटक मात्र जन्मिन्छन् भनेको अस्वाभाविक लाग्दैन ।

सिनेमाको अर्को राम्रो दृश्य हो बालिकाको भूमिका । बालिकाले सिनेमालाई उठाउन मद्दत गरेकी छिन् । सारा गाउँलेले कोसिसलाई तिरस्कार गर्छ तर बालिकाले उनलाई चाउचाउ बिस्कुट किनेर लगिदिन्छ । घरबाट पानी लैजान नदिएपछि बालिकाले हत्केलामा पानी ल्याएको दृश्यले मन छुन्छ।

मकैबारीमा लडिरहेको कोसिसले मसिना ढुंगा थुपारेको बिम्ब सुन्दर छ । एकपछि अर्को ढुंगा राख्दै जाँदा ढुंगा पटकपटक भत्किन्छ । जसलाई अधुरो सपनासँग तुलना गर्न सकिन्छ ।

दसवर्षे सशस्त्र युद्धबारे बनेको सिनेमाको पंक्तिमा तान्द्रोलाई राख्दा कमजोर छैन । युद्धमा घाइते सिपाहीले भोगेको पीडालाई दस्तावेजीकरण गरिएको छ । तान्द्रोले पक्ष विपक्षको एकोहोरो रटान लिएको छैन । एउटा घाइते सिपाहीले भोगेको दर्दनाक पीडालाई कलात्मक र मार्मिक ढंगले उतारेको छ ।

तर, सिनेमा अपेक्षाकृत बन्न सकेन । अस्वाभाविक लाग्ने कैयन दृश्यहरू छन्, जसले सिनेमालाई कमजोर बनाएको छ । युद्धकालमा माओवादी कलाकार प्राय: १५ देखि २३ वर्षका हुन्थे । एकजना कमान्डरमात्रै अलि पाका देखिन्थे । हट्टाकट्टा युवा सेनामा लड्न जान्थे । तर, सिनेमामा त्यसको ठीक विपरीत छ । त्यसबारे निर्माण पक्षले हेक्का राखेको देखिन्न । सिनेमाका कलाकारहरू युद्धकालीन कलाकारजस्ता देखिँदैनन् । उनीहरू काठमाडौंका थिएटरबाट वनभोज खान हिँडेका युवाहरूजस्ता देखिन्छन् ।

माओवादी युद्ध र जनताबीचको सम्बन्धबारे भ्रम सिर्जना गर्न ‘तान्द्रो’ काफी छ । सिनेमालाई राम्रो बनाउने नाममा सर्वसाधारण मानिसलाई खलपात्रको रूपमा उभ्याइएको छ ।

सिनेमामा प्रमुख पात्र स्थापित नहुँदै मध्यभाग पार हुन्छ । सिनेमाले के भन्न खोजेको हो ? कथा कहाँ जाँदैछ ? केही मेसो पाइन्न । लेखकको पुस्तक पढेर जाँदामात्रै सिनेको ‘सेटअप’ बुझिन्छ । सिनेमाको रिलमात्रै अघि बढ्छ । दर्शकपछि नै हुन्छ । सिनेमाले दर्शकसँग संवाद नै स्थापित गर्न सक्दैन ।

दोर्जे र महिला कलाकारको माया अस्वाभाविक लाग्छ । युद्धकालमा जाँडरक्सीका घ्याम्पाहरू सबैभन्दा धेरै फोर्नेमा कलाकारहरू पर्छन् । कलाकारभित्र जाँडरक्सी पूर्णत: वर्जित थियो । कलाकारहरू नयाँ सांस्कृतिक क्रान्तिका सिपाहीहरू भएको दाबी गर्थे । दोर्जे (रामबाबु गुरुङ)ले युवतीको कुममा हात राख्दै जाँड खाएको दृश्य पूरै उल्टो छ । महिला कमरेडप्रति त्यस्ता अस्वाभाविक व्यवहारलाई सांस्कृतिक विचलनको रूपमा लिइन्थ्यो । सांस्कृतिक विचलन भएको ठहर भएमा कालोमोसो दलेर गाउँ घुमाई श्रम शिविरमा राखिन्थ्यो । अस्वाभाविक प्रेमिल दृश्यले सिनेमालाई अविश्वसनीय र कमजोर बनाएको छ ।

सेनाको गोली लागेर दोर्जे ढल्छ । उसकी प्रेमिका डाँको छाडेर रुँदै त्यहीँ पुग्छे । एकछिन अघिसम्म गोलीको पर्रा बर्सिरहेको ठाउँमा उसकी प्रेमिका पुगेर डाँको छाडी रुँदा उसलाई गोली लाग्दैन । युद्धमा त्यस्तो छुट नहुनुपर्ने हो । तर, सिनेमामा भयो । यो दृश्य गम्भीर दर्शकका लागि अपच हुन्छ ।

गोली चलिरहेको छ । बालिका शान्त भएर हेरिरहेकी छे । यो असम्भव कुरा हो । त्यस्तै छापामारले हात नधोई खाना खाएको, जुन घरमा सेल्टर लियो त्यस घरको घरबेटीले उनीहरूका लागि एक्लै खाना पकाएको, घटनास्थलमै एकदिन बितिसक्दा पनि सेनाले बन्दुक ताकेर कुदिरहेको, बीचबीचमा चाइनिज धुन बजेको, माओवादीले बाघचाल खेलिरहेको, दिउँसो आक्रमण भएको छ, राति पनि माओवादी त्यहीँ भएको, यी अमिल्दा दृश्य छन् । जसले सिनेमालाई झुर बनाउन योगदान गरेको छ ।

सिनेमाले देखाउन खोजेको अर्को महत्वपूर्ण पक्ष हो गाउँ र घाइते मानिसबीचको सम्बन्ध । जनजाति समुदायमा एउटा कहावत प्रचलित छ- ‘शत्रुलाई पनि मलम लगाउन सिक्नुपर्छ ।’ तर, सिनेमामा स्थानीय जनजाति समुदायका मानिसलाई निर्दयी बनाइएको छ । यो अस्वाभाविक लाग्छ । जुन गाउँमा उनीहरूले नाटक देखाए, त्यही गाउँमा खाना खाए । त्यही गाउँमा घटना घट्यो । गाउँको एकजना सर्वसाधारणको पनि मृत्यु भयो । यतिमै एउटा घाइतेप्रति निर्मम हुनुपर्ने कारण बलियो छैन।

युद्धकालमा जनाधार भन्ने शब्द प्रचलित थियो । जनाधार भनेको पार्टीलाई माया गर्ने जनता बस्ने गाउँ भन्ने बुझिन्थ्यो । जनाधार भएको ठाउँमा मात्रै कार्यक्रम गरेर त्यही खाना खाइन्थ्यो । अन्यथा जनधारबिनाको गाउँमा कार्यक्रम गरेपछि कम्तिमा चार घन्टा हिँडेर सुरक्षित स्थानमा जानुपर्थो । तर, उनीहरू त्यही बसे । यसको मतलव त्यो जनाधार भएको गाउँ थियो । जनाधार भएको गाउँमा घटना हुनेबित्तिकै सांस्कृतिक टिमको कमान्डरलाई त्यस्तो दुर्व्यवहार कसरी हुन सक्छ ? जसको आफन्तको अनाहकमा मृत्यु भयो, उसको परिवार आक्रोशित हुनु स्वाभाविक थियो । पूरै गाउँ नै तिरस्कारमा उत्रिनु असम्भव छ ।

यदि त्यस्तो तिरस्कार गर्ने गाउँ थियो त उनीहरू किन कार्यक्रम देखाएर त्यही बसे ? खाना खुवाउने, रमाइलो मानीमानी नाटक हेर्ने दर्शकले एउटा घाइते सिपाहीलाई पानीसमेत नदिने यस्तो हुन सक्दैन । अमानवीयताको पराकाष्ठा सिनेमामा देखाइएको छ । यदि कोसिसलाई भोलिपल्टसेनाले भेटेको भए मार्न पाउँदैनथियो । उनको खाना र उपचारको व्यवस्था हुनुपथ्र्यो । यो युद्धबन्दीको नियमअन्तर्गत पर्छ । मकैबारीमा लडिरहेको घाइतेलाई गाउँहरूले पानीसमेत नदिनु अनौठो मात्रै होइन, गाउँका मानिसलाई निर्दयी र अनपढ बनाइएको छ ।

माओवादी युद्ध र जनताबीचको सम्बन्धबारे भ्रम सिर्जना गर्न यो सिनेमा काफी छ । सिनेमालाई राम्रो बनाउने नाममा सर्वसाधारण मानिसलाई खलपात्रको रूपमा उभ्याइएको छ । तान्द्रो देश बाहिरका दर्शकले हेर्दा कमरेड कोसिसप्रति सहानुभूतिभन्दा गाउँलेप्रति धेरै वितृष्णा जनाउनेछन् । सशस्त्र युद्धको अवधिमा त्यस्तो भएन भन्न सकिन्न । तर, त्यो आमप्रवृत्ति थिएन, अपवाद थियो । अपवादलाई आमप्रवृत्तिको रूपमा उभ्याउनु मूर्खता हो । जसले स्वयम् युद्धका घाइते गंगाबहादुर लामाको अपमानमात्रै भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.