ट्याप वाटर इज द ड्रिंकिङ वाटर

ट्याप वाटर इज द ड्रिंकिङ वाटर

दस लेनको सडक अनि बीचको दुई लेनमा ढकमक्क गुलाबको फूल। लाग्छ, यी राता र सेता गुलाबका फूलहरू म जीवनमै पहिलोपटक देखिरहेकी छु। किनभने यी फूल त बगैंचामा मात्र फुलेको देखेकी थिएँ मैले। यिनलाई यसरी बीच सडकमा रोप्ने र फुलाउने सोच कुन मूर्खमा आयो होला?

सडकको दायाँबायाँ दुवैतिर बडेमानका रूखहरू, त्यो पनि झन्डै सडकभन्दा ठूलो ठाउँ ओगटेर उभिएका छन्। धूलो धूवाँ केही देखिँदैन ! बीच सडकमै कुनै रूखको फेदमा बसेर ध्यान गरूँजस्तो। कस्तो शान्त वातावरण ! कस्तो मनोरम दृश्य !!

माथि वर्णन गरिएको दृश्य किर्गिस्तानको राजधानी बिस्केकको हो। गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय भूमि सञ्जालको कन्फरेन्समा भाग लिन मसहित छजना नेपाली त्यहाँ पुगेका थियौं। त्यहाँ ठूल्ठूला महलहरू नभएका होइनन्, बजार क्षेत्र र रेस्टुराँहरू पनि धेरै नै छन्।

सडकको पेटीमा मानिसहरू आआफ्नै धुनमा हिँडिरहेका छन्, सडकमा गाडीहरू गुडिरहेका छन् । तर, ट्राफिक प्रहरीले सिठी बजाउँदै यताउता दौडेको दृश्य हामीले कतै देख्न पाएनौं । प्रत्येक चोकमा यहाँ ट्राफिक लाइट छ, मानिसहरूमा अनुशासन छ । फुटपाथ पनि उत्तिकै सफा र हराभरा छ।

एउटा मोहडाबाट सडक पार गर्न हामी यसो जेब्रा क्रसिङ अगाडि के अडिएका थियौं, स्पिडमा आउँदै गरेका गाडीहरू परबाट स्लो गर्दै आएर हाम्रा अगाडि टक्क रोकिए। अहा ! कति धेरै अनुशासित चालकहरू । घुम्दाघुम्दै सहरको बीचमा रहेको एउटा ऐतिहासिक पार्क 'भिक्ट्री स्क्वायर'मा पुग्यौं।

रंगीविरंगी फूलहरूले सजिएको बगैंचा, एउटै तहमा चटक्क पारेर मिलाएर काटिएको हरियो दूबोको चौर, ठूल्ठूला प्रतिमा र मूर्तिहरू, किर्गिज भाषामा लेखिएका शिलालेखहरू अनि अखण्ड दीप प्रज्ज्वलन भइरहेको परिसर देख्दा सायदै कसैको मन नलोभिएला। तर, भाषाको कठिनाइले गर्दा ती शिलालेखको भाषा पढ्न सकिएन । नजिकैको पर्खाल छेवैमा १९४५ कुँदिएको ठूलो ढुंगा थियो। त्यसैले अड्कल काट्यौं, यो ढुंगामा यस पार्कको स्थापना मिति लेखिएको हुनुपर्छ।

कलेज ड्रेसमा धेरै युवकयुवती त्यहाँ घुम्न आएका थिए। अखण्ड दीप प्रज्ज्वलन भइरहेको परिसरनजिकै दुइटी छात्रा गफमा मस्त हुँदै हाँसिरहेका थिए। हामीले उनीहरूसँग यो पार्क र यस राजधानीको इतिहासका बारेमा केही जानकारी लिन गफ गर्ने विचार गर्‍यौं । तर, उनीहरूले हाम्रो कुरा नै बुझेनन्।

उनीहरूले किर्गिज भाषामा के भने कुन्नि, हामीले केही बुझेनौं। के यो देशको स्कुल, कलेजमा अंग्रेजी विषय पढाइ नै हुँदैन? जिज्ञासाहरू धेरै थिए तर भाषागत कठिनाइका कारण हामीले जवाफ पाउन सकेनौं । हामी अन्तै मोडियौं। सोभियत संघबाट स्वतन्त्र भएको २६ वर्ष भइसक्दा पनि यो देशमा अंग्रेज र अंगे्रजीको प्रभाव नपरेको देख्दा हामी चकित पर्‍यौं।

पार्कको छेवैमा रहेको सपिङ मलभित्र घुम्ने योजना एकाएक बनेपछि हामी किर्गिस्तानी सामानहरू हेर्न हिँड्यौं। राम्रो र स्थानीय सामाग्रीहरू पाए चिनोस्वरूप किन्ने विचार थियो। तर, यहाँ पनि पार्कमा जस्तै भयो। न हाम्रो कुरा पसलेले बुझे, न त हामीलाई नै केही बुझाउन सके। मेरो मनमा धेरै कुरा खेल्न थाले।

विदेशी पर्यटकलाई सामान बेच्न र पर्यटकीय विकासका लागि मात्रै भए पनि यी किर्गिस्तानीले अंग्रेजी भाषा किन नसिकेका होलान् ? तर, फेरि उनीहरूको आफ्नो भाषामाथिको निर्भरता र भाषाप्रतिको माया देख्दा एक हिसाबले खुसी पनि लाग्यो । हामी नेपालीमा त यो भावना क्षीण हुँदै गइरहेको छ।

अंग्रेजी बोल्न नजान्नेलाई मान्छे नै नठान्ने अनि आफ्नो भाषाको चाहिँ लिपि, व्याकरण सबैलाई होच्याएर स्ल्याङ (मिसमासे) शब्दहरूको प्रयोग बढी गर्ने गरेको सम्झेर मन अमिलो भयो। हरेक वाक्यमा कनीकुथी दुईचार अंग्रेजी शब्द घुसाएर शान दिँदै बोल्दा आफूलाई स्तरीय ठान्ने हाम्रो प्रवृत्ति (बानी) सम्झेर थकथक भएँ।

किर्गिस्तानको ९० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी क्षेत्र भएको कारण त्यहाँको ८० प्रतिशत जमिनमा खेती गर्न सम्भव छैन। त्यसैले ती भूभागलाई चरन क्षेत्रको रूपमा प्रयोग गर्दै पशुपालनलाई विशेष प्राथमिकता दिइएको रहेछ।त्यहाँका प्रमुख खाद्य उत्पादनम दुग्ध पदार्थ तथा मासुजन्य पदार्थ पर्दा रहेछन्।

खाद्य उत्पादनमा पूर्ण रूपले आत्मनिर्भर यो मुलुकले काजगिस्तान र रसियामा समेत खाद्यान्न निर्यात गर्ने गरेको थाहा पायौं। यस्तो अप्ठ्यारो भूभाग भए पनि सही ढंगले भूउपयोग गर्न सकिएमा आत्मनिर्भर बन्नसक्ने धेरै राम्रो उदाहरण हो यो। भौगोलिक हिसाबले नेपालको हिमालपारिका जिल्ला मनाङ-मुस्ताङजस्तो विकट ग्रामीण इलाका भएको यस देशमा सरकारले यातायातलाई विशेष प्राथमिकतामा राखेको छ।

हरेक गाउँगाउँमा सडक र यातायातका साधनहरू सजिलै पुग्ने भएपछि ग्रामीण उत्पादनहरूले पनि राम्रो बजार पाउँछन्। यसले उनीहरूलाई समृद्धिको मार्गमा अघि बढाइरहेको सजिलै देख्न सकिन्छ।

अठार घन्टाको दुबई एअरपोर्टको ट्रान्जिटले दिक्क र बिरामीजस्तै भएका हामीलाई त्यहाँको दमास होटेलमा बस्ने व्यवस्था गरिएको थियो।बिस्केकमा चिसो मौसम सुरु भइसके पनि होटेलचाहिँ धन्न न्यानो थियो।

खानाको स्वाद हाम्रो नेपाली खानाजस्तो नहोला र खान नसकिएला भनेर डराउँदै खानाको टेबलमा पुग्दा हरिया काँक्रा, रसिला फलफूल, पर्याप्त मात्रामा काजु, बदाम, ओखर लगायतका ड्राई फुड देख्दा असाध्यै खुसी लाग्यो।

खाना पनि नेपालीले खानेजस्तै चामलकै भात, तरकारी, अचार सबै हाम्रो भाषामा भन्नुपर्दा खानयोग्य। मासुचाहिँ अत्यधिक रातो भएकाले खाने आँट गरेनौं।आफ्नो भाषा, संस्कृति र उत्पादनमा आत्मनिर्भर हुन सक्नु, त्यसप्रति गौरव गर्नु र परिस्थितिअनुसार मनमोहक ढंगले त्यसको प्रदर्शन गर्न हामीले किर्गिस्तानीहरूबाट सिक्न एकदम जरुरी छ।

बिस्केकमा एक रात बिताएर तीन दिनका लागि हामी तालको नामबाट नाम रहन गएको सहर इसिक कुलको लागि प्रस्थान गर्‍यौं। साँझ पर्नै लागेको हुनाले झिसमिसे उज्यालोमा गाडीको सिसाबाट आँखाभरि अटाउन्जेल बाहिरको दृश्य हेर्ने कोसिस गर्दै थियौं हामी।

राजधानीबाट झन्डै पाँच किमि जति यात्रा गर्नेबित्तिकै कतै हरिया फाँट त कतै नांगा डाँडाहरू देखिन थाले । ससाना राम्रा घरहरू, भूकम्पबाट कत्ति पनि जोखिम नहुने। सायद देशको राजधानी भनेको यस्तै हुनुपर्छ।

न भीडभाड न त धूवाँ धूलो, न ट्राफिक जाम न त सहरै ढाक्नेगरी ठूल्ठूला अपार्टमेन्ट भवनहरू । साह्रै व्यवस्थित बसोबास। सुविधा भने जेको पनि छ। त्यहाँ चौबीसै घन्टा मार्टहरू खुल्दा रहेछन् । सडकमा खाल्डाखुल्डी पनि रहेनछन्।

गाडीमा पाँच घन्टा यात्रा गर्दा पनि खासै धक्का खानु परेन। पहाड फोडेर बाटो बनाउन हामी मात्र पछाडि परेका रहेछौं जस्तो महसुस भयो। राति १० बजे इसिक-कुलको होटेल थ्री क्राउन्स् पुगियो।

मौसम धेरै चिसो थियो, त्यसमाथि चिसो सिरेटो चलिरहेको थियो। राति भएकाले अड्कल मात्र काट्न सकियो, हिमालमै आइपुगिएछ कि। भोलिपल्ट बिहानको मिर्मिरे उज्यालो र घामको किरणसँगै निद्रा खुल्यो। बाहिरको चिसो सम्झेर सिरक छोड्न मन थिएन तर नयाँ ठाउँ अनि इन्टरनेटमा सर्च गर्दा देखिएको तालको दृश्य नांगो आँखैले हेर्न मन आतुर थियो।

ताल भन्नेबित्तिकै दिमागमा हाम्रो पोखराको फेवाताल, बेगनास तालको सम्झना आउँछ मलाई। तर होटेलबाहिर निस्केर दुई सय मिटर अगाडि हिँड्दा कुनै समुद्र अगाडि पुगेको भान भयो।

वरिपरि टलक्क टल्किएका हिमाल, बीचमा समुद्ररूपी ताल, समुद्री तट, मोटर बोट, प्यारासेलिङ लगायतका मनमोहक र मनोरञ्जनात्मक सुविधाहरू देख्दा यो कुनै हिमाली ताल हो भनेर पत्याउन गाह्रो भयो।आयोजकमध्ये एक किर्गिस्तानी नागरिक (जो अंग्रेजी बुझ्थे)लाई यो ताल हो कि समुद्र हो भनेर सोधेँ पनि।

उनले हाँस्दै भने, ‘यो ताल नै हो। वरिपरि हिमालबाट घेरिएको यो ताल संसारकै दोस्रो ठूलो हिमाली ताल हो। झन्डै एक सयभन्दा बढी खोलाको पानी आएर मिसिन्छ यो तालमा।' उनले यस तालको नामको पनि अर्थ बुझाउँदै भने, 'इसिक-कुल भनेको न्यानो ताल हो। हिमाली ताल भए पनि यो कहिल्यै जम्दैन र यसको पानी मध्य हिउँदमा पनि न्यानो हुन्छ।'

प्रकृतिले धनी इसिक-कुल क्षेत्रजस्ता दर्जनौं रमणीय पर्यटकीय स्थल हाम्रा देशमा नभएका होइनन्। तालहरू पनि कति हो कति छन्। तर, हामीले तिनको सदुपयोग र संरक्षण गर्न ढिला गरिरहेका छौं।

तालको छेउछाउमा कसैले कपडा धोएको देखिएन, किनारामा रहेका होटेलहरूले ढलको निकासका रूपमा तालको प्रयोग गरेको पाइएन, कसैले प्लास्टिकजन्य फोहरहरू फालेको देखिएन। कसैले पनि ताल क्षेत्र अतिक्रमण गर्न खोजेका छैनन् । पानीमा जलकुम्भीका झाङ पनि देखिएनन्।

अहा ! कति सुन्दर, कति सफा ! प्राकृतिक सम्पदाको संरक्षण गर्नमा पनि किर्गिज नागरिक अगाडि रहेछन् भन्ने महसुस भयो। प्रदूषणरहित किर्गिस्तानको बसाइ वास्तवमै अविस्मरणीय र उपलब्धिमूलक रह्यो।अझ रमाइलो कुरा त के भने होटेलमा पिउने पानी भनेर माग्यो भने त्यहाँका होटेल मालिकहरू ट्वाँ पर्दा रहेछन्।

आयोजक मध्येका ट्रान्सलेटरको मद्दतबाट आफ्नो कुरा बुझाउँदै 'मिनरल वाटर' माग्दा एउटै जवाफ पाइयो, ‘ट्याप वाटर इज द ड्रिंकिङ वाटर।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.