हस्तकला मेलामा लोकचित्रकला
काठमाडौं : नेपाल हस्तकला महासंघले भृकुटीमण्डपमा आयोजना गरेको पाँचदिने मेलामा लोकचित्रकला प्रतियोगिता पनि समावेश गरिएको छ। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा नेवारी, थारू र मिथिला कलाका करिब ३० जना लोककलाकार सहभागी छन्।
शनिबार पाटनका राजु चित्रकार सरस्वतीको चित्र बनाइरहेका थिए। उता विष्णु चित्रकार भीमरथारोहणका बेला चाहिने अष्टकला बनाउन मग्न थिइन्। अर्का कलाकार वीरेन्द्र चित्रकार भने कुलदेउताको ढकी (प्रवेशद्वार) बनाउन तल्लीन थिए। उनले भने, ‘एउटा पिँढी बितेपछि ढकी चित्र बदल्नुपर्ने हुन्छ।' उता किरण चित्रकार ढोका सजावटको चित्र बनाउँदै थिए भने चित्रकार सोसाइटीकी सरिता चित्रकार पञ्चबुद्ध बनाउँदै थिइन्। सरिता भन्छिन्, ‘समुदायले चित्रको महत्व बुझ्दै गएको छ। प्रत्येकजसो चाडमा छुट्टाछुट्टै चित्र बनाएर बिक्री गर्दा यसैबाट जीविकोपार्जन गर्नसक्ने अवस्था छ।'
हस्तकला मेलामा पश्चिमा थारू कलाकारहरू प्रायः कृष्णजन्माष्टमीमा पूजा गरिने अष्टिम्की चित्र बनाउन व्यस्त थिए। मैतीदेवीस्थित युनिभर्सल कलेजबाट आईएफए सकाएकी भूमिका चौधरीले पश्चिमा थारू समुदायमा अष्टिम्की चित्र मात्र परम्परागत कलाको रूपमा जोगिएको बताइन्।
बर्दिया, भुरीगाउँकी सञ्जिता चौधरी पूर्वीया थारूहरूले विवाहमा बनाउने कोहबर चित्र बनाइरहेकी थिइन्। त्यस्तै कञ्चनपुर, बेलौरीका नरेन्द्र राना थारू चित्रमा आफ्नो समुदायको जीवनशैली गोरुगाडा हिँडेको, कुवामा पानी भरिरहेको, आँगन बढारिरहेको, भारी बोकिरहेको आदि सिँगार्दै थिए। कञ्चनपुर, सिसैयाकी लक्ष्मी राना थारू ढकिया बनाउँदै थिइन्।
पाटनका उत्तम डंगोल छठ पर्वको चित्रण मिथिला लोककला कोर्दै गरेको भेटिए। आफूले मिथिला लोककला अध्ययन गरिरहेको पनि डंगोलले बताए। पुनम दास र सुनयना ठाकुर पनि मिथिला लोककला बनाउन निमग्न थिए। पुनम भन्छिन्, ‘मैथिलबाहेकले पनि हाम्रो कलामा हात हालेको देख्दा खुसी लाग्छ।' प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक पक्षले जानकारी गरायो।