नारी नियतिको परिदृश्य

नारी नियतिको परिदृश्य

उपन्यासकार सानु शर्मा ‘विप्लवी' उपन्यास लिएर आएकी छिन् । यसअघि उनका तीनवटा उपन्यास प्रकाशन भइसकेका छन् । ‘विप्लवी' विद्रोहजनित स्त्रीभाव हो । यसले यस कृतिकी नारी पात्र वा नायिका निश्चय पनि विद्रोही होला भन्ने आरम्भिक अनुमानबाट औपन्यासिक पठन आरम्भ हुनेछ, तर अन्त्यसम्म यसको गूढार्थ भेउ भने पाइँदैन । यसो हुनाको कारण उपन्यासको विषयभावले हो ।

उपन्यासमा तीन नारी पात्र प्रमुख छन् र त्यसका केन्द्रमा ‘म' पात्रको रूपमा ‘सासा' अर्थात् सम्पन्न वर्गकी सहर्षा राणा छिन्, जो आफ्नो प्रेमका लागि आफ्नो वंशजीय अहम् सबै त्यागेर निम्न वर्गका पुरुषसँग प्रेमभावमा लिप्त छिन् । त्यतिमात्र होइन, आपूmले प्रेम गरेको पुरुषसँग आफ्नो परिवारको अनिच्छामा पनि विवाह गरी सुखद् जीवनको सुदूरकल्पना भोग्न सहर्ष तयार हुन्छिन्, तर नियति सोचेजस्तो हुँदैन ।

उनको प्रेमी, पति, पुरुष छटेलमात्र होइन, उनलाई ‘युज'का रूपमा व्यवहार गर्ने ‘हिप्पोक्रेट्स' निस्कन्छ । यस कुराको खुलासा उनका दुई सखी ‘ज्योति' र ‘सन्ध्या'सँग मनका वह जस्तो पोखेपछि उनीहरूबीच एउटा विद्रोहको स्वर कोठेगोष्ठी जस्तो भएर उत्पत्ति हुन्छ, तर बाहिर व्याप्तिन भने पाउँदैन ।

ज्योति पनि आपूmभन्दा निकै ‘एजेड' पुरुषका मोहमा बाँधिएर आफ्नै नियतिमा जेलिन पुगेकी युवती हुन् भने सन्ध्या (सम्भवतः) कुरूप भएकीले पुरुषसत्ताको आडम्बरलाई आरम्भदेखि नै नकारात्मक र क्रोधात्मक रूपले व्यवहृत गर्ने नारीका रूपमा देखिन्छिन् । यी तीन नारीको आफ्नै कथा, व्यथा छ । यसैबाट उपन्यासको कथानक विस्तार भएको छ ।

उपन्यासले पुरुषसत्ताको विद्रोह गर्न नभई त्यसबारेको छलकपटलाई चित्रण गर्ने विषय बनाएकाले यहाँ नारी पात्रको उग्र विरोध छैन । अलिअलि विद्रोह आफ्नो ढंगबाट गर्न खोज्ने ज्योतिको नियति अन्ततः अर्कै बन्छ, जुन अति नै हृदयविदारक छ । सासा आफ्नो वैवाहिक परिवारको छल र शोषणबाट विरक्तिएर जर्मनीमा अध्ययन गर्न जान्छिन् र त्यस क्रममा त्यहाँ एक ठिमाहा नेपाली युवकसँग भेट हुन्छ । तिनैसँग आकर्षित हुँदै जान्छिन् । अन्ततः एक दिन मदिरा सेवनको अवस्थामा सहवासको आनन्द पनि लिन पुग्छिन् ।

त्यसपछिको परिणाम के हुन्छ ? केही कुतूहल बने पनि त्यहाँ पनि पुरुषको छली अनुहार एउटा अर्को रूपमा उदांगिन्छ र त्यसको विरोधमा विद्रोहभन्दा त्यसको निन्दा गरी जीवनमा नारी एक्लै बाँच्न सक्छ भन्ने सोचमा अगाडि बढ्छिन् नायिका । अनि पुरुषले दिने माया भनेको शारीरिक संवेदना नभई शरीरको तातोमात्र रहेछ भन्ने बोध पनि यहीँनिर हुन्छ ।

नारीको यस्तो नियति देखेपछि यहाँ एकपल्ट सुधी पाठकजनलाई लाग्न सक्छ, इब्सेनकृत डल्स हाउसकी ‘नोरा', गोपालप्रसाद रिमालकृत मसानकी ‘युवती' जस्तै यस उपन्यासकी प्रमुख नारी पात्र ‘सासा' जति नै आधुनिक युग आए पनि आदिम परम्परादेखि परपीडक खेलबाट प्रताडित हुँदै आएकी नारी प्रतिनिधि पात्र हुन् र त्यस्तो पीडक खेलबाट अतिशय प्रताडित हुँदै आउनु परेको आजको यथार्थ चित्रणलाई यस उपन्यासले प्रदर्शन गर्दै जाँदा विषयवस्तुनिहित घटनाक्रमको विस्तारमा यस्तो लाग्न थाल्छ, कुनै पनि पुरुष थाँक्रोमा बेरिनुपर्ने नियति निर्धारण गरिएको नारी त एक प्रकारले लहरा पो रहिछिन् भन्ने यो भावसँगै उपन्यासको अन्त्यनिर केही अनुत्तरित जिज्ञासा पनि सँगसँगै हिँडेको बोध हुन्छ ।

हुन त उपन्यासमा एकातिर नारी स्वतन्त्र रूपमा आफ्नो जीवन बाँच्न पाउनुपर्ने भन्ने सोच भएको न्यून पुरुषको प्रवेश पनि छ, अर्कोतिर नारीसित स्वार्थवश निकट हुने पुरुष छ, जो सदैव नारीसँग छल गर्दै आफ्नो अभीष्टि पूरा गर्छ । यी कुरा उपन्यासका पठन अन्त्य भइसकेपछि पनि बोध भइरहन्छ, अनि उपन्यासको समापनपछि पाठकीय मनमा धेरै नभए पनि केही प्रश्न उब्जिन पुग्छ ।

जस्तो आजको यस अत्याधुनिक समयमा पनि सम्पन्न वर्गकी युवती निम्न वर्गका पुरुषसँग प्रेमविवाह गर्न सहमत हुनु स्वाभाविक देखिन्छ त ? के पुरुष भनेको यस्तै परपीडक छलकपटीको रूप हो ? पुरुषको आदर्श प्रेम के आजको समयमा पूर्ण रूपमै मृत भएको हो त ? नारीपुरुषबीचको सम्बन्ध मित्रवत् नरहेर शारीरिक आवश्यकता पूर्ति मात्र हो त ? यी सबैसँग जुध्न सक्ने सामथ्र्यवान् शिक्षित नारी भएर प्रायः थकित, पीडित र नियतिको जालामा किन बन्धित छन् ? के नारी स्वतन्त्रता भनेको आपूmमाथिको प्रत्येक माखेसाङ्लाबाट उन्मुक्त हुनु नभई आपूmले रोजेको पुरुषसँग सम्बन्ध सम्पर्क गर्नु हो ? परम्परादेखि चलेर आइरहेको बुहार्तन परम्पराको कारक पुरुषसत्ता मात्रै हो ? नारीमाथि दमन नारीले बढी गर्छ कि पुरुषले ?

प्रश्न त अभैm धेरै थुप्रिन सक्छ, तर यो एउटा विद्रोही औपन्यासिक कृति नभएर नारी नियतिको यात्रामा स्वतन्त्र बाँच्न पाउने सोचको दृष्टि भएको उपन्यास हो भनेर पठन गर्दा, कृतिको यथोचित पाठकीय न्यायबोध हुन्छ । उपन्यासकारको आख्यान लेखनीमा कमसलपना छैन; कसिलो र सबलता पर्याप्त भेटिन्छ । कमजोर फर्मुला भएको कृति हुनबाट धेरै स्तरसम्म जोगिएको छ, यो नै यस उपन्यासको वैशिष्ट्यगत उपलब्धि हो ।

पुस्तक: विप्लवी
विधा: उपन्यास
लेखक: सानु शर्मा
प्रकाशक: फिनिक्स बुक
पृष्ठ: २५०
मूल्य: २५० रुपैयाँ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.