मन, माया र मान्छे
मलाई छोडी जाने ए मान्छे !
आफ्ना तस्बिर भिराएर
तिमीले मेरो ज्यान लिएर गयौ ।
आफ्ना तस्बिरको तमासा देखाइरहन
सदियौंदेखि
ग्रेटवालझैं ठड्याएर मलाई
यो भव्य सहरमा
मान्छे छाडेर
निर्जन तुल्य
तिमीले मेरो मन लिएर गयौ ।
डुप्लिकेट मन बोकेर
मान्छेहरू
मनको सेयर बजारमा
मायाको कारोबार चलाउन
बेलगाम घोडाझैं
व्याकुल
कित्ता कित्तामा
मायाको खरिद बिक्री चल्ने
मस्ट वान्टेड स्याटेलाइट नगर हो यो
जहाँ द्वारपाल बनाएर मलाई
सिंहचासरि
सदियौंदेखि
फिटिक्क चल्न नसक्ने गरी आसन्न पारिएको छ ।
मलाई छोडी जाने ए मान्छे
आफ्ना जुत्ता फुकालेर
तिमीले मेरा खुट्टा लगाई हिँड्यौं ।
कहीँ मन बन्धकी राखेर
माया किनी लान्छ्न्
कहीँ माया बेचेर
मान्छे किन्दै हिँड्छन्
मन, माया र मान्छे
कारोबार गर्ने यो अजब संसार हो
जहाँ दुई आँखा उघार्न लगाएर मलाई
स्वयम्भूझैं
सदियौंदेखि पूजा गर्दै आएका छन्
मलाई छाडी जाने ए मान्छे !
आँसु सारा मलाई दिई
मेरा दुइटै आँखा लिएर गयौ ।
(नेपालभाषाबाट कवि स्वयंद्वारा अनुदित)