कत्ति महँगा तरकारी !

कत्ति महँगा तरकारी !

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आफूले अहिलेसम्म गोलभेंडा खाइरहेकाले आफू हुनेखाने वर्गको हो भनेर दाबी गर्न मिल्ने भन्दै हाँसो र व्यंग्य गर्न थालेका छन् । हुन पनि अहिले बजारमा गोलभेंडालगायतका तरकारीको मूल्य अकासिएको छ ।

अन्नपूर्ण पोस्ट्का संवाददाताले गत शुक्रबार र शनिबार गरेको अवलोकनमा बिचौलियाहरूका कारण तरकारीको मूल्य खाइनसक्नु गरी महँगिएको देखाइएको छ । किसानका खेतबारीबाट तरकारी उपभोक्तासम्म पुग्दा तीन तहका बिचौलिया हुँदै पुग्छ- किसानबाट तरकारी किन्ने ‘स्थानीय व्यापारी’, कालीमाटीका थोक बिक्रेता र कालीमाटीबाट तरकारी किनेर पसलमा लगी बेच्ने खुद्रा व्यापारी ।

शुक्रबार काभ्रे र धादिङका किसानले स्थानीय व्यापारीलाई काउली र गोलभेंडा प्रतिकिलो ५० रुपैयाँ, बन्दा प्रतिकिलो ३० रुपैयाँ र घिउसिमी प्रतिकिलो ४० रुपैयाँमा बेचे । ती व्यापारीले ढुवानी, प्याकिङ र नाफा गरी प्रत्येक किसिमका तरकारीमा प्रतिकिलो आठ रुपैयाँ बढाएर काठमाडौं कालीमाटीका थोक व्यापारीलाई बेचे । कालीमाटीका थोक व्यापारीले सटर भाडा, दैनिक खर्च र आफूलाई नाफा जोडेर प्रतिकिलो गोलभेंडा ९५ रुपैयाँ र अन्य तीनथरी तरकारी प्रतिकिलो ८५ रुपैयाँमा खुद्रा व्यापारीलाई बेचे ।

यसरी उनीहरूले प्रतिकिलो गोलभेंडामा ३७, प्रतिकिलो काउलीमा २७, प्रतिकिलो बन्दामा ३७ र प्रतिकिलो घिउसिमीमा ३२ रुपैयाँ बढाएको देखिन्छ । ढुवानी खर्च र नाफा जोड्दा तरकारीको खुद्रा मूल्य झन् धेरै हुन्छ । संवाददाताले गरेको अवलोकनमा शनिबार बिहान खुद्रा व्यापारीले काउली प्रतिकिलो ११० रुपैयाँ, गोलभेंडा ११५ र बन्दा र घिउसिमी १०५ रुपैयाँमा बेचेको पाइयो । खुद्रा मूल्य नतोकिएको र सरकारी अनुगमन कमजोर भएकाले खुद्रा मूल्यमा ठाउँ हेरी थपघट हुन सक्छ । यसरी किसानले पाउने मूल्य र उपभोक्ताले किन्ने मूल्यमा सय प्रतिशतभन्दा बढी फरक परेको छ । त्यहीमाथि ढुवानी गर्दा तरकारी बिग्रने भन्दै बिचौलियाहरूले किसानलाई प्रतिक्विन्टल १० किलो तरकारीको मूल्य दिँदैनन्, त्यति मात्रामा तरकारी नबिग्रने भए पनि । किसानले बढी मूल्य खोजे भने तरकारी व्यापारी (बिचौलिया) हरूले किसानका तरकारी नकिनिदिएर खेतबारीमै सुक्ने परिस्थिति निर्माण गरिदिन्छन् ।

नियामक निकाय आपूर्ति विभाग कालीमाटीमा बेलाबेलामा मात्रै अनुगमनमा जाने र खुद्रा व्यापारीमाथि अनुगमन नहुँदा तरकारीको मूल्य बिचौलियाहरूका कारण यसरी बढेको हो । गतवर्ष तरकारीले राम्रो मूल्य नपाएकाले अहिले किसानहरूले कम तरकारी उत्पादन गरेका कारण र निर्वाचनका बेला भएकाले राज्यका नियामक निकायहरूको ध्यान नपुग्दा तरकारीको मूल्य बढेको देखिन्छ, तर तरकारी छोइनसक्नु महँगो हुनुको कारण भने बिचौलियाहरू नै हुन् ।

बिचौलियाहरू तरकारीको मूल्य निर्धारणमा हाबी हुँदा एकातिर तरकारी उत्पादन गर्ने किसानहरूले उचित मूल्य पाइरहेका छैनन् भने उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भइरहेका छन् । तरकारी उत्पादक र उपभोक्ताबीच यति तहमा बिचौलिया नहुने वा बिचौलियाहरूले पाउने नाफाको दर (प्रतिशत) तोकिदिने हो भने तरकारी त्यति महँगो हुन्थेन ।

तरकारी जस्तो अत्यावश्यक खाद्यवस्तुको मूल्य निर्धारण पूरै बजारको हातमा छोडिदिँदा र बजार अनुगमन नगर्दा खासगरी गरिखाने वर्गका सर्वसाधारण जनतालाई हातमुख जोड्न पनि धौधौ भएको छ । वस्तु र सेवा वितरणमा अपनाइएको खुला बजार नीतिका कारण पनि तरकारीलगायत दैनिक उपभोग्य वस्तु यति महँगो भएका हुन् । राम्ररी अनुगमन नगरी उपभोग्य वस्तुको मूल्य निर्धारण पूरै बजारको हातमा छोडिदिँदा उपभोक्ताको ढाड त सेकिने नै भयो ।

बजारमा सरकारी नियन्त्रण र नियमन अत्यन्त कमजोर भएकोमा उपभोक्तावादी संगठन र बौद्धिक वर्गले सरकारमाथि गरेको आलोचना पनि स्वाभाविक र जायज छ । तरकारी उत्पादक र उपभोक्ताका बीचमा बहुतहमा हुने बिचौलियाहरूलाई विस्थापित गर्ने सरकारी संयन्त्र हुने या बिचौलियाहरूले गर्ने मूल्य निर्धारणमा सरकारी नियमन हुने हो भने तरकारीको मूल्य ह्वात्तै घट्न सक्छ । प्रत्येक नागरिकको भान्सालाई असर पर्ने यस विषयमा सरकारको तुरुन्त ध्यान जानैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.