हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमाण्डर

हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमाण्डर

काठमाडौं : एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् ।

उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन् । उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी दिएपछि व्यस्तता ह्वात्तै बढेको हो ।

‘अहिले पहिलेझैं रुटिङमा चल्दैन जिन्दगी,’ रिमालले अन्नपूर्णसँग पछिल्लो व्यस्तताका विषयमा कुरा गर्दै भने, ‘बिहान उठेदेखि अनगिन्ती फोन, जिल्ला-जिल्लाका निर्वाचन परिचालनको समन्वय, दैनन्दिन बनाउनुपर्ने कार्यक्रमले खाना खाने, सुत्नेसम्मको समय बदलिएको छ ।’ उनी अहिले हरेक दिन बिहानै ८ बजे नै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय पुगिसकेका हुन्छन् । ‘बेलुकी कति बेला घर पुग्ने ठेगानै हुन्न,’ उनले भने ।

एमालेमा समग्र निर्वाचन परिचालनका लागि पार्टी अध्यक्ष केपी ओली आफैंले जिम्मेवारी लिएका छन् । उनको कार्यव्यस्तता र आफैं झापा ५ को उम्मेदवारसमेत रहेकाले रिमाललाई कार्यभार थपिएको हो । उनीलगायत एमाले अनुशासन विभाग संयोजक अमृत बोहोरा, मुकुन्द न्यौपाने, अग्नि खरेल, डा. पुष्पराज कँडेललगायत नेता निर्वाचन परिचालनको काममा व्यस्त छन् ।

एमालेका विष्णु रिमाल, कांग्रेसका बालकृष्ण खाँण, माओवादीका रामबहादुर थापालगायत नेता उम्मेदवार नभए पनि सबैभन्दा बढी व्यस्त देखिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पनि रिमाललाई जस्तै ‘भ्याइनभ्याइ’ छ । जिल्लाबाट आउने सूचना केन्द्रित गर्ने, निर्वाचन परिचालनको नयाँ योजना बनाउने र बनाइएको योजना कार्यान्वयनमा लैजान नेता-कार्यकर्ता परिचालन गर्ने काममा उनी व्यस्त छन् । पार्टी सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व र डडेलधुराबाट प्रत्यक्षतर्फका उम्मेदवार रहेका कारण कांग्रेसले नेता खाँणकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको छ ।

उनी नेतृत्वको परिचालन समितिअन्तर्गत रहने गरी कांग्रेसले विभिन्न उपसमिति गठन गरेको छ । ती सबै उपसमितिलाई परिचालन गर्ने, पार्टी नेतासँग समन्वय गर्ने र बाहिरी सञ्चारसँग पनि उत्तिकै सम्पर्कमा रहनु पर्दा खाँणसँग अहिले समय हुँदैन । उनको पनि खाना खाने र सुत्ने समयको कुनै ठेगान छैन । ‘चुनाव जित्न जति उम्मेदवार, पार्टी संगठन, मतदातासँगको पहुँच र प्रभावले भूमिका खेल्छ, त्योभन्दा बढी पार्टीका उम्मेदवारलाई जिताउन खटिनुपर्दा व्यस्तता बढेको छ,’ खाँणले अन्नपूर्णसँग भने ।

माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाको व्यस्तता पनि उस्तै छ । माओवादीले केन्द्रमा पार्टी अध्यक्षले नै हेर्ने गरी प्रदेश, जिल्ला र क्षेत्रीयस्तरमा निर्वाचन परिचालन समिति बनाए पनि केन्द्रीय निर्वाचन परिचालन समिति भने बनाएको छैन । तर वरिष्ठ नेता थापा कतै पनि उम्मेदवार नभएका कारण दैनन्दिन कार्यालयमा आउने सूचना केन्द्रित गर्ने, पार्टी अध्यक्षलगायत नेतासँग समन्वयमा रहने र नयाँ परिचालनका योजना बनाउनेमा व्यस्त देखिएका छन् । ‘अध्यक्ष आफैंले पनि समग्र परिचालनको योजना बनाइरहनुभएको छ ।

त्यसमा बादलजीले पनि कार्यालयमा रहेर अहिले थप परिचालनका योजना बनाउने गर्नुभएको छ,’ माओवादी केन्द्रीय कार्यलयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले भने, ‘एमालेसँग तालमेलसहित निर्वाचनमा रहेको कारण पनि कतिपय संयुक्त परिचालनकै योजना बन्ने र कार्यान्वयनमा लैजाने काम भइरहेका छन् ।’

कांग्रेस नेता खाँण नेतृत्वको समितिले प्रतिनिधि तथा प्रदेशसभाका सबै उम्मेदवारलाई निर्वाचन जिताउन पार्टी संघ÷संगठन परिचालनको काम गर्नेछ । ‘हामी ब्याक फोर्सका रूपमा हुन्छौं,’ खाँणले अन्नपूर्णसँग भने, ‘पार्टी कमिटीलाई कसरी परिचालन गर्ने, प्रतिपक्षीको तयारी कस्तो छ, कसरी जाँदा अझै प्रभावकारी हुन्छ भन्नेमा हामी केन्द्रित हुन्छौं ।’

एमाले नेता रिमाल भने निर्वाचन परिचालन समितिले समग्र निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न निर्देशकको भूमिका खेलिरहेको बताउँछन् । ‘उम्मेदवार जग्गेका बेहुला-बेहुलीजस्ता हुन्, जग्गेमा बसेका बेहुला-बेहुलीलाई जे गर भनिन्छ, त्यस्तै गर्छन् । उम्मेदवार पनि त्यस्तै हुन्,’ रिमालले अन्नपूर्णसँग भने, ‘उहाँहरू (उम्मेदवार) फिल्मका एक्टर र हामी निर्देशकजस्तै भएका छौं ।’

राष्ट्रिय जनता पार्टीका नेता केशव झा उम्मेदवारको चुनावी दौडभन्दा परिचालनको काम चुनौतीपूर्ण रहेको बताउँछन् । ‘क्षेत्रगत हिसाबले निर्वाचन परिचालन गर्नुपर्ने कामको जिम्मेवारी बाँडफाँड गरे पनि खर्चिलो बन्दै गएको निर्वाचन, प्रतिपक्षीको भड्किलो रणनीति सबैसँग जुधेर ‘म्यानेज’ गर्न असाध्यै गाह्रो छ’, झाले अन्नपूर्णसँग भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.