कांग्रेस नेता निधि अस्पताल भर्ना
काठमाडौं: चुनावी दौडमा होमिएका कांग्रेस नेता विमलेन्द्र निधि श्वासप्रश्वासमा समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका छन् ।
एक सातादेखि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएको अनुभव गरेका उनलाई हिँडडुल गर्न गाह्रो भएपछि चुनाव प्रचारप्रसारका सबै कार्यक्रम रोकेर राजधानीको ओम अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका एमडी बाबुकाजी कार्कीका अनुसार निधिलाई ज्वरोसँगै श्वास फेर्न असहज र कमजोरी बढेको छ । अस्पतालका छातीरोग विशेषज्ञ डा. सुवोधसागर ढकाल र पेटरोग विशेषज्ञ डा. राउल पाठकको निगरानीमा रहेका निधिलाई निमोनिया भएको आशंका गरिएको छ ।
‘उहाँको स्वास्थ्य जाँचको सबै रिपोर्ट आउन बाँकी छ,' कार्कीले अन्नपूर्णसँग भने, ‘निमोनियाको आशंकासहित जाँच प्रक्रिया अघि बढाइएको छ । निधिलाई भेटघाटमा निषेध गरिएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका निधिलाई स्वास्थ्य समस्याका कारण प्रचारप्रसारमा समस्या पर्न सक्ने देखिन्छ । उनी राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोसँग चुनावी प्रतिस्पर्धामा छन् ।