अब पूर्णकालीन राजनीतिमा: विनोद चौधरी

अब पूर्णकालीन राजनीतिमा: विनोद चौधरी

काठमाडौं: सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्, त्यसअघि कहिल्यै भएकी थिइनन् । उनले विनोदको गाला मुसारिन्, हर्षको आँसु छचल्काउँदै ‘तपाईंलाई हाम्रो पार्टीमा देख्न चाहन्थें, मेरो सपना पूरा भयो' भनिन् । विनोदप्रति एकदम सकारात्मक भए पनि एमालेमा भएको उनलाई मन परेको रहेनछ ।

‘नजिकका साथी, नातागोता पनि खुसी छन्', चौधरीले भने, ‘म कम्युनिस्ट पार्टीमा भएको उनीहरूलाई चित्त बुझेको रहेनछ भन्ने कुरा बल्ल थाहा पाउँदै छु ।' त्यसो त विनोदकै भनाइमा उनी एमालेबाट सांसद बन्नु रहर थिएन, बाध्यता थियो । कांग्रेसबाटै सांसद हुन चाहन्थे उनी । तर गिरिजाप्रसाद कोइरालाको कोटरीले विनोदविरुद्ध यसरी कुरा लगाइदिएको थियो कि गिरिजाबाबुले उनलाई पत्याएनन् ।

दोस्रो संविधानसभा चुनावमा उनी नवलपरासी–२ बाट चुनाव लड्न चाहन्थे, एमालेले उनलाई नवलपरासी–१ मा शशांक कोइरालाविरुद्ध चुनाव लड्न भन्यो, उनी मानेनन् । ‘राष्ट्रले मानेको नेता बीपीका पुत्र, शशांकसँग व्यक्तिगत सम्बन्धका कारण पनि चुनाव लड्न चाहिनँ', उनले भने, ‘समानुपातिकतर्फ पार्टीले दोहोर्‍याउन आनाकानी गरेपछि जोडबल गरिनँ, पार्टीसँग मात्र होइन, राजनीतिसँगै एउटा दूरी बन्यो ।'

विनोदका अनुसार एमालेबाट सांसद बन्नु र यसपटक कांग्रेस प्रवेशमा तात्विक भिन्नता छ । १० वर्षअघि उनी आर्थिक एजेन्डालाई संसद्मा प्रवेश गराउने सीमित भूमिकाका लागि सांसद भएका थिए । यसपालि पूर्णकालीन राजनीतिज्ञ बन्न कांग्रेस छिरेका हुन् उनी । विनोदको सक्रिय सहभागिता नहुँदा सीजी ग्रुप अहिलेजसरी अघि बढ्न सक्छ कि सक्दैन भन्नेमा केही महिना मन्थन, छलफल चलेको थियो । अब फरक पर्दैन भन्ने कुरामा विश्वस्त भएपछि उनले राजनीतिको पोखरीमा हामफालेका हुन् । यसैले उनी अब पूर्णकालीन नेता हुन् । सीजी ग्रुपको साम्राज्य उनका तीन छोराको काँधमा सरेको छ ।

उनीसँग दुईतीन विकल्प थिए । ‘सीजी ग्रुपमै सक्रिय भएर हरेक वर्ष वाइवाईका एकाध प्लान्ट, एकाध होटल÷रिसोर्ट थप्दै जाने वा सक्रियता कम गरेर आर्जित धनसम्पत्ति इन्ज्वय गर्ने', उनी भन्दै थिए, ‘तेस्रो बाटो व्यापारको अनुभवलाई राजनीतिमा प्रयोग गर्ने, देशको समृद्धिमा केही योगदान गर्ने ।' उनले तेस्रो र कठिन बाटो रोजेका छन् । उनलाई संगत गर्नेहरू विनोदलाई अद्भूत क्षमताको चलाख मान्छे भन्छन्, साथीभाइले गुरुजी सम्बोधन गर्छन् । राम्रै सोचविचार नगरी हामफाल्दैनन्, डुबेरै काम गर्छन् ।

उद्योग वाणिज्य महासंघको राजनीतिमा त्यसैगरी लागे, महासंघलाई राष्ट्रिय परिदृश्यमा चिनाए । महासंघमा दोस्रोपटक अध्यक्ष बन्न असफल भएपछि सीजी ग्रुपलाई बहुराष्ट्रिय कम्पनी बनाउन दत्तचित्त रहे । उद्योग परिसंघ (सीएनआई) गठन गरेपछि यसको पनि छुट्टै पहिचान राख्न सफल भए । ‘अब शतप्रतिशत राजनीतिमा लागिसकें', उनी भन्छन् ।

सुरुमा शशांकको चुनाव क्षेत्रमा प्रचारमा सीमित भएका उनी रामछाप पुगे । डा. बाबुराम भट्टराईको पक्षमा भाषण गर्न गोरखा गए । धेरै ठाउँबाट कांग्रेसका उम्मेदवारले निम्तो गरेका छन् । सकेसम्म पुग्ने प्रयासमा छन् । समानुपातिक सूचीमा भएकाले यसरी भाषण गर्दै हिँड्ने बाध्यता थिएन । पूर्णकालीन राजनीतिज्ञ भइसकेकाले यसरी सक्रिय भएका हुन् उनी ।

कांग्रेस पार्टी आफ्नो एउटा लक्ष्य र बाटो तय गरी आफ्नो सीजी ग्रुपझँै चल्नुपर्छ भन्ने ठान्छन् । राजनीतिमा नयाँ हुन्, कांग्रेस पार्टी कसरी चलेको छ भन्ने उनलाई गहिरो ज्ञान पनि छैन । ‘पार्टी सीजी ग्रुपझैं फङ्सनल हुनुपर्छ भन्ने ठान्छु', उनी सुनाउँछन् । पार्टीमा सुरुमै पाएको न्यानो मायाले उनलाई उत्साही पनि बनाएको छ । सात दशक पुरानो पार्टीमा नवप्रवेशी अनुभव गर्नुपरेको छैन । परस्पर विरोधी गुटको नेतृत्व गरिरहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पार्टीलाई समृद्धि लक्षित बनाउने अभियानमा अघि बढ्नुस् भनेका छन् । उनका अनुसार नेताहरूले आश्वासन दिएझैं काम गर्न पाए कांग्रेस नयाँ गति र दिशाको हुनेछ । ‘एउटा भाइब्रेन्ट संस्था जसको पुँजी र आधार होस्, प्रणालीमा चल्ने संस्था जसको नेतृत्वमा जो आए पनि पार्टी अघि बढिरहोस्, भिजनरी नेता नेतृत्वमा हुँदा द्रुत गतिमा उचाइतिर उक्लियोस्', उनको सपना छ ।

कांग्रेससँग गौरवशाली इतिहास छ, अनेक हन्डर खाएको र देश बुझेको नेतृत्वपंक्ति छ । समर्पित कार्यकर्ताको जमात छ । जेसुकै भए पनि केही नसोची भोट हाल्ने जनमानस छ । ‘सीजी ग्रुपझैं लक्ष्य र बाटो बनाउने हो भने पार्टीको कायापलट हुन्छ', उनी उत्साही बने, ‘पार्टी प्रणालीमा चल्न थाले देश प्रणालीमा चल्न थाल्छ ।'

यति उत्साही हुँदाहुँदै उनी राजनीतिको बिल्कुलै अनुभव नभएको स्विकार्छन् । पार्टी कसरी चल्छन् भन्ने गहिरो ज्ञान छैन । त्यसैले यस्ता टिप्पणी हतारमा गरियो कि भन्ने पनि लाग्छ । तैपनि सीजीलाई बहुराष्ट्रिय कम्पनी बनाउन पाएको सफलता सम्झिँदै किन नसकिएला र भन्ने आत्मविश्वास पैदा हुन्छ । उनका अनुसार कांग्रेस भएर समानुपातिकको सूचीमा पर्दा न उनले कुनै सर्त राखे, न कांग्रेस नेताले । महत्वाकांक्षाका लागि हतारिएका पनि छैनन् उनी ।

‘पहिला राजनीति बुझ्ने हो, संस्था राम्रो बनाउने हो', उनी थप्छन्, ‘पार्टीमा सबैको विश्वास जित्न सकूँ भन्ने नै हो ।' विश्वास जितेर केही ठोस काम गर्न सके पार्टीप्रति जनविश्वास थपिन्छ भन्ने छ । राजनीतिको माध्यमबाट वास्तविक परिवर्तन आउँछ भनेर विश्वास दिलाउने सकियोस् भन्ने छ ।

राजनीति र गभर्नेन्सका बारेमा आम धारणा (पब्लिक पर्सेप्सन) नराम्रोसँग बिग्रिएको छ । खासगरी युवामा राजनीतिप्रति वितृष्णा बढ्दो छ । ‘राजनीति नसुध्रिई ठूलो परिवर्तन हुन्न', उनी भन्छन्, ‘राजनीतिसँग विरक्तिएर बाहिर बसे राजनीति सुध्रिन्न ।' युवापुस्तालाई विश्वासमा लिएर नयाँ शिराबाट सुरु गर्न सकिन्छ भन्ने उनको विश्वास छ । राजनीतिका मुद्दा सल्टिएकाले अब विकास केन्द्रित राजनीतिमा जानुपर्छ ।

चुनाव प्रचारका क्रममा उनी नवलपरासीको बुर्जुवा भन्ने ठाउँमा थिए । एक हुल महिला (सबै पहाडे मूलका थिए)ले उनलाई सन्तु दाई (निवर्तमान सांसद देवकरण कलवार) साह्रै असल छन्, चुनाव लड्न पैसा छैन, आर्थिक सहयोग गर्दिनुपर्‍यो भने । चार वर्षअघि हृदयेयश त्रिपाठीलाई हराएका सन्तुको प्रतिस्पर्धा उनै हृदयेशसँगै छ। साइकलमा प्रचारमा हिँड्ने सन्तुप्रति ती महिलाको सद्भाव सम्झिँदा उनी खुसी हुन्छन् । ‘नेतृत्वले काम गर्ने शैली हल्का परिमार्जन गरे पुग्छ, सुशासन र समृद्धि सम्भव छ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.