मुटु जोगाऔं

मुटु जोगाऔं

 

पचास कटेका व्यक्तिलाई मात्र हुने ठानिएको हृदयरोगका कारण अचेल २५ वर्षका युवासमेत सिकार हुने गरेका छन् । ‘हर्ट एट्याक’ भनेर बुझिने यो समस्या बदलिएको जीवनशैली र भोजनका कारण भएको चिकित्सक मत छ । आफ्नै बारीमा फलेका अनाज र सागपात खाने पुर्खाको चलनविपरीत बजारबाट किनेर ल्याइएका, प्याकिङ गरिएका र प्रशोधित खाना खाने चलन, खानाको शुद्धताका बारेमा चेतनाको अभाव, विज्ञापन र मोडलिङबाट प्रभावित भएर खाना र जीवनशैली बदलेका कारण मुटुरोगी बढिरहेको अनुमान गर्न सकिन्छ ।

उसो त कतिपयमा यस्तो समस्या वंशाणुगत हुन्छ । त्यस्तोमा समस्या देखिनेवित्तिकै अस्पताल लैजाने र सँगसँगै प्रारम्भिक उपचार गर्नुपर्छ । ज्यानै लिने यस्ता समस्यामा हेलचेक्र्याईं गर्नुभन्दा केही विषयमा ध्यान दिँदा मुटु जोगिन सक्छ ।

पहिलो, आम मान्छे मुखको मिठो र बानीका दास हुन्छन् । आदत छाड्न तिनलाई कठिन हुन्छ । तर अमूल्य जीवनलाई स्वस्थ्य र दीर्घायु राख्न खानपान र रहनसहनमा अनुशासित हुनुपर्छ । अचेल चाडपर्व, जन्मदिन, विवाह र अन्य उत्सवमा माछामासु र रक्सीलाई प्रतिष्ठाका रूपमा लिइने गरेको देखिन्छ । ‘उत्थान’ का काम गर्ने देशीविदेशी संस्थाले गरिबका नाममा प्रशस्त रकम खर्चेर ‘ककटेल’ पार्टी नै राख्छन् र त्यहाँ पनि यस्तै गरिष्ठ भोजनको बाहुल्य रहन्छ ।

पूर्वीय मान्यताविपरीतका यस्ता आयातित चलन स्वास्थ्यका लागि घातक छन् । त्यस्तै, ‘प्रिजर्भेटिब’ हालेर प्याक गरिएका बजारिया चाउचाउ, चिप्सजस्ता जंकफुड र ‘स्वादे’ रसायन राखेर बनाइएका खाना खाने चलन बढ्दो छ युवा पुस्तामा । बजारमा गएर या सीधै बजारको खाना किनेर खाने चलन प्राकृतिक हुँदै होइन ।

हाम्रा पितापुर्खाले ‘स्वयंपाक्य’ अर्थात् आफैं पकाएको खाना सर्वोत्तम मान्थे । तर त्यसविपरीत घरबाहिर गएर या घरबाहिरको खाँदा धेरै आधुनिक र सभ्य भइने भ्रममा पनि छन् आजका युवकयुवती । घरैमा प्राकृतिक तरिकाले पकाइएका सरल, सुपाच्य र रेसादार भोजन लिनु मुटु र सम्पूर्ण शरीरका लागि स्वास्थ्यकर छ । दोस्रो, ग्रामीण भेगमा शारीरिक श्रम बढी हुने गरेका कारण मुटुजन्य रोग कम देखिन्छ ।

सहरमा भने मान्छे ‘टेबलवर्क’ मा केन्द्रित हुने, प्रतिष्ठा, सम्मान र धनको प्रतिस्पर्धामा बढी लाग्ने हुनाले शारीरिकमात्रै नभएर मानसिक समस्या पनि निम्तने गरेको देखिन्छ । शरीर सुस्त हुने तर मनमा तनाव हुने भएपछि त्यसले निम्त्याउने असन्तुलनले मुटुमा समस्या आउँछ । यसका लागि दैनिक नियमित कसरत गर्ने वा स्वस्थ्य चउर र बाटोमा दौड्नु उत्तिकै लाभकर होला।

तेस्रो, खानालगत्तै सुत्नुलाई चिकित्सक गलत मान्छन् । खाना खाएको एक वा दुई घन्टापछि मात्रै सुत्नु उचित ठानिन्छ । चौथो, आम्दानी बढ्दै जाँदा सहरमा माछामासुको खरिद र उपभोग बढेको छ । सँगै, भुटेका र तारेका गरिष्ठ भोजनले मुटुको कार्यसञ्चालन असहज बनाउँछ । मासुमा पर्याप्त ‘स्याचुरेटेड फ्याट’ रहने हुँदा बदलामा सन्तुलित शाकाहारी खाना खानु नै उचित हुन्छ ।

पाँचौं, बढ्दो वायु प्रदूषणका कारण पनि मुटु खतरामा परेको छ । सरकारले सार्वजनिक स्थानमा धूमपान निषेध गरे पनि त्यसको कार्यान्वयन नहुनु, नियमित मर्मतसम्भार नगरेका सवारीसाधनले आर्थिक लेनदेनमै हरियो स्टिकर लिएर कालो धुवाँ फाल्नु, सम्पूर्ण सवारीको आधाभन्दा बढी रहेको मोटरसाइकलले गर्ने प्रदूषणको त जाँचसमेत नहुने गरेका कारण आम नेपालीको मुटुमाथि नै खतरा छ।

यसका लागि प्रशासन, प्रहरीको सशक्त क्रियाशीलता त आवश्यक छ नै, नागरिक सचेत हुनु पनि उत्तिकै आवश्यक छ । छैठौं, बिरामी नभएसम्म अस्पताल नजाने प्रवृत्तिका कारण पनि नेपाली मुटु सधैं खतरामा छन् । उल्लेखित सबै विषयलाई ख्याल गर्दै नियमित स्वास्थ्य परीक्षण गर्ने र जीवनलाई सधैं सकारात्मक ढंगले सोच्ने हो भने अवश्य पनि मुटुरोग नियन्त्रणमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.